खानामा पहुँच बढेपछि मोटोपन विश्वमा नवीन चुनौतीका रूपमा आयो। नेपाल अपवाद रहेन। असहज तौल भएकाको जनघनत्व बढ्दो छ। भारी शरीर चिनी रोग, मुटुसम्बन्धी समस्या, क्यान्सरलगायत दुई सत्रभन्दा अधिक लक्षणको कारक देखियो। तौल घट्दा धेरै रोगबाट छुटकारा पाइने भएकाले मानिसले दुब्लाउने इच्छा गर्नु अस्वाभाविक भएन।
शरीर छरितो बनाउने चाह भए पनि तौल व्यवस्थापन सरल छैन। खान्कीमा नियन्त्रण, जिमखानाको यात्रा अनि मिठोमसिनो खानामा बन्देज लगाउँदासमेत शरीर घटाउन नसकेर लाचार भएका मानिस धेरै देखिन्छन्। आखिर खाना कम गरेर पसिना बगाउँदा पनि जिउ किन दुब्लाउँदैन त ? भन्ने प्रश्नले सबैलाई घचघच्याउँछ। खान नपाउँदा सर्वनाश नहोस् भनेर प्रकृतिले नै खाद्यान्न भण्डारण क्षमतासहितको काया बनाएकाले दुब्लाउने काम अति कठिन हुने ठान्छिन्, अमेरिकाको येल विश्वविद्यालयमा मोटोपन विशेषज्ञ प्राध्यापक एनिया जेस्ट्रिबफ। खान्कीमा कमी हुनेबित्तिकै दिमागले अनिकालको महसुस गरी शारीरिक प्रक्रियालाई सुस्त बनाउने भएकाले भोजन घटाएर मात्र दुब्लाउन कठिन देख्छिन् जेस्ट्रिबफ।
त्यसमाथि खान्कीको सहजै पहुँच भएको अहिलेको अवस्थामा जिउ घटाउने काम झनै कठिन देखियो। दुब्लो बनाउने औषधि आवश्यकता बन्यो। सन् २०२५ सम्ममा संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय एफडिएले तौल घटाउने सात औषधि बजारमा ल्याउन अनुमति दियो। ती औषधिहरू सर्वव्यापी भए, नेपाली बजारमा पनि पुगे।
प्रचलनमा रहेका मोटोपन घटाउने औषधि प्राय: दुई ढाँचाबाट काम गर्छन्। एक चरित्रको औषधिले भोक लाग्न नदिने परिस्थिति सिर्जना गर्छ भने अर्को समूहले खाएको भोजनलाई अत्यधिक दहन गरी शरीरमा बोसो नजम्ने अवस्था बनाउँछ। बजारमा आएका दबाइले सेवनकर्ताको तौल ३ देखि १२ प्रतिशतसम्म घटाउन मद्दत गरेको देखिन्छ। शरीरको तौल ५ प्रतिशत मात्र पनि घटाउन सके मुटुसम्बन्धी रोग, चिनीका बिरामीलगायतका धेरै रोगमा फाइदा दिन्छ भन्ने चिकित्सकीय ठहर छ। त्यसैले उल्लिखित औषधिहरू प्रथम नजरमा लाभप्रद देखिएका छन्। भारी शरीर भएकालाई आकर्षित गरेको छ औषधिले।
कुनै पनि रासायनिक तत्त्व शरीरमा पुगेपछि साइड इफेक्ट (पार्श्व प्रभाव) हुन्छ नै। प्रश्न कुन तहको भन्ने मात्र हो। तसर्थ मोटोपनको औषधिको साइड इफेक्ट छैन भन्ने होइन। पार्श्व प्रभावहरू देखिएका छन्। केही सेवनकर्तामा टाउको दुख्ने, पेटको समस्या, मिर्गौला र पित्त थैलीमा ढुंगा जम्ने, प्यान्क्रियासमा शिथिलतालगायतका समस्या देखियो। सानो समूहले आँखाको ज्योति गुमाएको पनि भेटियो। उल्लेखित समस्याको जानकारी हुँदाहुँदै पनि तौल घट्दा व्यक्तिले बेहोर्ने क्षतिको दाँजोमा उल्लेख्य स्वास्थ्यलाभ गर्ने देखिएकाले औषधि प्रयोगको अनुमति दिएको दाबी गर्यो एफडिएले।
पछिल्लो समय औषधि खाएर तौल घटाएकाहरूले दबाइको सेवन छोड्ने बित्तिकै पूर्वावस्थामा फर्किएको देख्दा औषधिको दीर्घकालीन प्रयोग आवश्यक देखियो। केही समय खाएर दुब्लाएपछि औषधि त्याग्ने सोच बनाएकालाई यो आविष्कार भरदार भएन। तौल घटाउन हाल प्रयोगमा रहेका औषधिहरू बजारमा भित्रिएको धेरै भएको छैन। रासायनिक तत्त्वको दीर्घकालीन प्रभाव जान्नका लागि कम्तीमा १०–२० वर्षको तथ्यांक आवश्यक पर्छ। दुब्लाउने औषधि बजारमा आएको केही वर्ष मात्र भएकाले नवीन रासायनिक तत्त्वले मानव शरीरलाई दीर्घकालीन हिसाबले कस्तो व्यवहार गर्छ भन्ने प्रश्नको उत्तर छैन।
त्यसो त वजन व्यवस्थापन गर्ने औषधि विगतमा पनि नआएको होइन। सन् १९९० मा तौल घटाउन निकै उत्साहका साथ प्रयोगमा आएको औषधि फेनफ्लुरामिनले मुटुको भल्बलाई निकम्मा बनाउँछ भन्ने भेउ पाउन एक दशक लाग्यो। एक दशकपछि मात्र प्रतिबन्ध लाग्यो दबाइमा। त्यस बेला औषधि खानेले वजन घटाएको बदलामा मुटुरोग भित्र्याएको यथार्थ बिर्सनुहुँदैन। उल्लिखित परिस्थितिलाई विश्लेषण गर्दा बजारमा आएका नवीन औषधिहरू तत्कालै प्रयोग गरिहाल्नुको बदला उक्त औषधिको समष्टिगत लेखाजोखा गर्न आवश्यक छ। चिकित्सकहरूले पनि नवीन औषधि लेख्नुअघि महँगा दबाइले दिने तत्कालीन लाभ र सम्भाव्य हानीबारे रोगीलाई स्पष्ट जानकारी गराउन आवश्यक छ।
औषधिले दुब्लाउने अवस्था सरल देखिएन। त्यस्तो घडीमा आफ्नो जिब्रोले खोजेको खान्की फलानो तरिकाले खाँदा वजन बढ्दैन भन्ने ठोकुवा गर्ने विज्ञ भए कति असल हुन्थ्यो ? दुर्भाग्यवश त्यस्तो जादुको छडी पत्ता लागेको छैन। यद्यपि उक्त दिशामा प्रगति नै नभएको भने होइन। त्यसै प्रसंगका अन्वेषणको पुनरावलोकन सान्दर्भिक देखियो। उही संरचना र समान मात्राको खान्की विभिन्न समयमा खाँदा व्यक्तिको तौलमा फरक पर्छ त ? भन्ने प्रश्नको उत्तर दिएका छन् अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका प्राध्यापक एवं चिनी रोग विशेषज्ञ डा. जोसेफ बास नेतृत्वको समूहले, सन् २०२२ मा जर्नल साइन्समा एक रिसर्च आर्टिकल प्रकाशित गरेर। दिन वा रात कुन बेला खायो भन्ने कुराले शारीरिक वजनमा भूमिका खेल्ने कुरालाई मोलिक्युलर लेभलमा दर्साए बासले। सूर्यको प्रकाश रहँदै खाना खाने आदतले मोटोपनको सम्भाव्यता घट्ने निष्कर्ष दिए उनले।
त्यस्तै किसिमको एक फरक अन्वेषणमार्फत समान क्यालोरी भएको गहकिलो भोजन बिहान र बेलुका खाँदाको फरक दर्साएका छन् इजरायलको हेब्रु युनिभर्सिटीका प्राध्यापक ओरेन फ्रोय सम्मिलित टोलीले, सन् २०१३ मा जर्नल ‘ओबेसिटी’मा। उक्त आलेखमा बिहानको खान्कीलाई प्रधान मान्ने मानिसभन्दा बेलुका गहकिलो भोजन गर्ने व्यक्ति मोटो हुन्छ भन्ने सन्देश दिए फ्रोयले। उल्लिखित दुई अन्वेषणहरूले सूर्य नडुब्दै खान्की खान मात्र सल्लाह दिएन, बरु पूर्वार्धको भोजनलाई महत्त्व दियो।
सन् २०२१ को डिसेम्बर महिनामा जर्नल एपेटाइटमा प्रकाशित एक अन्वेषणले खाने रफ्तारले व्यक्तिको तौलमा भूमिका खेल्ने देख्यो। छिटो खाने व्यक्ति समकक्षीको दाँजोमा मोटो हुन्छन् भन्ने रह्यो। समय लिएर खाँदाको फाइदालाई सूक्ष्म रूपमा चित्रण गरेका छन् लेखकले। त्यस्तै जर्नल अफ इन्डोक्राइनोलोजी सोसाइटीमा गत वर्ष प्रकाशित एक लेखमा बेलायतको न्युक्यासल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रथम गास खाएको झन्डै १५ मिनेटपछि पाचन प्रणालीले २० किसिमका पाचन (गट हर्मोन) हर्मोन उत्पादन गर्ने अनि ती रासायनिक तत्त्वहरूले व्यक्तिलाई तृप्त महसुस गराउने बताए। त्यसैले लामो समय लिएर खाँदा व्यक्ति छिटो अघाएको महसुस गर्ने भएकाले वजन घटाउन सहायक देखियो।
सन् २०१८ मा जर्नल अफ न्युट्रिसनल साइन्समा प्रकाशित एक अनुसन्धानमा बेलायती अनुसन्धानकर्ता डा. रोना एन्टोनीले आफूले खाने प्रथम भोजनको तालिका ९० मिनेटपछि सार्दा मात्र पनि वजन व्यवस्थापनमा फाइदा हुने देखियो। त्यस्तै रात्रिकालीन भोजनको समयलाई डेढ घण्टाअगाडि ल्याउँदा थप लाभ हुने देखियो। खानाको समय तालिका मात्र पनि हेरफेर गर्दा पातलो बन्न सकिन्छ भन्ने अनुसन्धानको निचोड थियो। इन्टरमिटेन्ट फास्टिङसमेत भनिने दिनको १६ घण्टा क्यालोरीजन्य खान्की नखाने आदतले मानिसको तौल मात्र नघट्ने, बरु खराब कोलेस्ट्रोलको मात्रामा समेत सुधार भई मुटुको क्रियाकलापमा समेत फाइदा पुग्ने बेहोराका दर्जनौं नतिजा प्रकाशित भएका छन्। त्यस्तै अर्को अन्वेषणले बेलुकाको खाना खाएपछि छोटो हिँडाइले लामो समयसम्म क्यालोरी दहन हुने देखायो। त्यस्तै माइक्रोबायोम पनि भनिने पाचन प्रणालीमा रहने ब्याक्टेरियाको समूहको बनोट असल भएको खण्डमा तौल व्यवस्थापन सहज हुन्छ। प्रशोधित खान्कीहरूले माइक्रोबायोमको सन्तुलन बिगार्ने भएकाले प्याकेटमा आउने चलानी खान्कीको बदला स्थानीय उत्पादनमा जोड दिनुपर्ने देखियो।
मोटोपनसँग धेरै किसिमका रोगहरू जोडिएर आउने भएकाले स्वस्थ जीवनका लागि तौलको व्यवस्थापन आवश्यक छ। औषधिमार्फत पातलो बन्ने विधि जोखिमपूर्ण देखियो। भातको मात्रालाई न्यून गरी परम्परागत दालभात तरकारीमा घिउ थप्दा पर्याप्त देखियो भने मौसमी फलफूलले भोजनलाई थप मजबुतीकरण गर्यो। सूर्योदयदेखि सूर्यास्तका बिचमा मात्र क्यालोरी लिने, गहकिलो भोजन पूर्वार्धमा मात्र खाने, हतार नगरी चपाएर खाने आदत बसाल्ने अनि सन्ध्याकालीन भोजनपछि टहल्ने बानीले जिब्रोको स्वादमा सम्झौता नगरी छरितो शरीर अनि स्वस्थ जीवन बिताउन सकिन्थ्यो होला।
प्रकाशित: १ वैशाख २०८३ १०:१८ मंगलबार

