३ वैशाख २०८३ बिहीबार
image/svg+xml
विचार

विक्रम संवत् नेपालको मौलिक संवत्

विक्रम संवत् प्रारम्भ हुने मेष संक्रान्तिको दिन हो। यो संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत् ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। प्राकृतिक रूपमा प्राचीनकालदेखि चलनचल्तीमा आइरहेको संवत् हो। यो संवत् विक्रमादित्य राजासँग जोडिएको छ। के हो त यो संवत्को ऐतिहासिक पक्ष?

वैदिककालदेखि तिथिका आधारमा चल्दै आएका संवत्हरूमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा अप्ठ्यारा धेरै हुने गर्थे। नेपालमै चलेका शाके संवत्, विक्रम संवत्, नेपाल संवत् आदि तिथिका आधारमा चल्दै आएका संवत्हरू हुन्। शाके संवत्भन्दा विक्रम संवत् १३५ वर्ष जेठो संवत् हो। त्यस्तै नेपाल संवत् त झनै पछिको संवत् हो। यो विक्रम संवत्भन्दा ९३६ वर्षपछि चलेको संवत् हो। इस्वी संवत्भन्दा पनि पहिले चलेको विक्रम संवत् इस्वी संवत्भन्दा ५७ वर्ष जेठो छ। यस प्रकारको पुरानो संवत्लाई तिथिहरूबाट हुने थपघटको झन्झटबाट मुक्ति दिलाउन ज्योतिषहरूको सल्लाह र सुझावबाट चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन्। विक्रम संवत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैका आधारमा महिनाका दिनहरू निर्धारण गरिएका हुन्। मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ वैशाख महिना सुरु हुन्छ।

विक्रमादित्य राजाबारे श्री नयनाथ पौड्यालले सम्पादन गरेका भाषा वंशावलीमा उल्लेख भएअनुसार धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा नारायणहिटी बनाई तीर्थसमेत चलाएका र त्यसै बेलादेखि विक्रम संवत् प्रचलनमा आएको उल्लेख छ।

काभ्रेको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती छ। विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन्। यस क्षेत्रमा विक्रमादित्यको राजाको कुनै अस्तित्व नभएको भए यसरी मूर्तिको पूजा गर्नुपर्ने कुनै आधार हुने थिएन होला। यी विक्रमादित्य राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पु¥याएका थिए। काशीमा विश्वनाथको मन्दिर स्थापनासमेत गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्डमा उल्लेख छ।

पशुपति पुराणमा ‘अथ सूर्यवंश प्रवर्तते’ अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा विक्रामादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम संवत् सुरु भएको मानिन्छ।

 योगी नरहरिनाथले देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने कुरा ‘श्री वीर पालःनृपतिःततः अभूत तस्मत अभूत विक्रमपाल भूपः’ भनी उल्लेख गरेको पाइन्छ।

कतिपय व्यक्तिले विक्रम संवत् नेपालको संवत् नै होइन भन्ने गरेको पनि पाइन्छ। यो भारतको उज्जयनीबाटै उठान भएको संवत् मानेका छन्। यी चक्रवर्ती र पराक्रमी राजा विक्रमादित्यबारे त्यहाँ कतै उल्लेख गरेका प्रमाणहरू पाइँदैनन् पनि भनेको पाइन्छ। त्यो कुरा आफैंमा गलत हो। विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् पं. भगवान्लाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी त्यसको अध्ययनको आधारमा लिच्छविकालमा उल्लेख भएको संवत्लाई विक्रम संवत् हो भनी प्रस्ट पारेका छन्। अर्का भारतीय विद्वान् प्राध्यापक राधागोविन्द बासकले ‘भारतको उत्तरपूर्व भागको इतिहास’मा लेखेका छन्। ‘मानदेवको पालाको चाँगुको संवत् ३८६ को अभिलेख विक्रम संवत्को हो। साथै उनले चपली गाउँमा रहेको संवत् ४८९ सम्मका संवत् पनि विक्रम संवत् हुन् भनी बताएका छन्। नेपालका विद्वान् शंकरमान राजवंशीले पूर्वलिच्छविकाल र उत्तरलिच्छविकालका संवत्हरू शक संवत् होइनन्, विक्रम संवत् मानेका छन्। यसप्रकारका प्रमाणित आधारहरूबाट के देखिन्छ भने विक्रम संवत् नेपालको आफ्नो मौलिक र प्राचीन संवत् हुन्।

यसबाहेक यस संवत्को प्रचलन नेपालका विभिन्न अभिलेखहरूमा पाइन्छ। लिच्छवि शासनकालमा निर्मित हरिसिद्ध मन्दिरमा ‘विक्रम संवत् ७११’ उल्लेख भएको वंशावली छ। ‘विक्रम संवत् ९४५’मा हरिसिद्धि नाटक मञ्चन भएको उल्लेख हरिसिद्धि उपपुराणमा रहेको छ। फर्पिङमा कनकेशर मन्दिरको ढोका फेरेर मुकुट चढाएको उक्त अभिलेखमा ‘विक्रम संवत् १२९७’ उल्लेख छ। जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीके श्रेयोस्तु’ उल्लेख छ।

 गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा ‘विक्रम संवत् १६९६’ उल्लेख छ। मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा ‘विक्रम संवत् १७१९ पौष वदी ४’ उल्लेख छ। भक्तपुरको दरबारनजिकैको गहिरो धाराको पश्चिमतिर भित्तामा ‘विक्रम संवत् १७३५’ उल्लेख गरिएको अभिलेख छ। भक्तपुरको दरबारकै तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा ‘विक्रम संवत् १७४१’ उल्लेख छ।

भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा ‘विक्रमाब्द १७६४ र नेपाल संवत् ८२८’ उल्लेख छ। मकवानपुरका राजा मानिकसेनले ‘विक्रम संवत् १७८४ कार्तिक शुदी ७’ उल्लेख गरेका छन्। यसप्रकार मल्लराज्यहरूमा पनि पूर्वमल्लकालदेखि नै अभिलेख हस्तलिखित पाण्डुलिपिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको देखिन्छ।

नयनाथ पौडेलले अभिलेख संग्रहमा भक्तपुर राजदरबारको कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा ‘विक्रम संवत् १७३४’ उल्लेख भएको कुरा गर्नुभएको छ। त्यस्तै भुवनलाल प्रधानले राजा भूपतेन्द्र मल्लले ‘विक्रम संवत् १७६३’को उल्लेख गरेको कुरा बताएका छन्।

इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा उल्लेख गरेका छन्।

नेपाल एकीकरण हुनुपहिले नेपालमा रहेका विभिन्न ससाना राज्यमा पनि विक्रम संवत् प्रचलनमा रहेको थियो। यस कुराको उल्लेख इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक आफ्नो पुस्तकमा विक्रम संवत् १७२१ मा लमजुङमा  वीरमर्दन शाह राजा थिए। पछि विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए। यिनका नाति वीरमर्दन शाह हुन्।

विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी उल्लेख गर्दै विक्रम संवत् १७२१ मा ‘वीरमर्दन शाहका दरबारमा ज्योतिषी काम गरी रागिनासमा बिर्ता पाई बस्याका सदानन जोशी हुनु’ भनेर त्यति बेला पनि विक्रम संवत् चलनचल्तीमा रहेको कुरा उल्लेख गरेका छन्।

नेपाल एकीकरण भएपछि पृथ्वीनारायण शाहले पनि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारमा अभिलेख राख्न लगाए र यस विक्रम संवत्लाई मान्यता दिएको देखिन्छ। यसले पनि के देखाउँछ भने यो संवत् प्राचीन समयदेखि नै यस क्षेत्रमा प्रचलित संवत् हो।

यसप्रकार चौथो शताब्दीतिरका उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिएर राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई ‘विक्रमादित्य’ अंकित गराएका थिए। नेपालका लिच्छवि राजाहरूसँग मगदका गुप्त राजाहरू अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासँग वैवाहिक सम्बन्ध जोड्नका साथै आफ्ना मुद्रामा सन् ३३० तिर ‘लिच्छवय, लिच्छवि दौहित्री’ अंकित गरेकोबाट अनि लिच्छविराजको पराक्रमबाट प्रभावित भई चन्द्रगुप्त द्वितीयले चौथो शताब्दीमा ‘विक्रमादित्य’को उपाधि लिएको देखिन्छ। यसले के देखाउँछ भने नेपालका चक्रवर्ती सम्राट विक्रमादित्यको प्रभाव त्यस समयसम्म पनि चम्किरहेको देखिन्छ।  

प्रकाशित: २ वैशाख २०८३ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %