२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
विचार

त्रिवि र अबको नेतृत्व

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वको सरकारले यसअघि प्रक्रियाभन्दा फरक हिसाबले खुला प्रतिस्पर्धाको विधि अपनाई देशका विभिन्न विश्वविद्यालयमा उपकुलपतिहरू छनोट तथा नियुक्त गर्न लागेको छ। यस सन्दर्भमा देशकै सबैभन्दा ठुलो, ज्येष्ठतम र उच्च अध्ययन तथा अनुसन्धानको राष्ट्रिय मानक मानिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नेतृत्व चयन कस्तो हुन्छ भन्नेबारे सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको छ।

हुन पनि, आजको सन्दर्भमा प्राज्ञिक विशिष्टतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता अत्यन्तै टड्कारो छ। त्रिवि आजका दिनसम्म पनि सबैभन्दा धेरै विद्यार्थीहरूबाट रुचाइएको विश्वविद्यालय भए तापनि विगत केही दशकदेखि खासगरी विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान र आविष्कारका दृष्टिले त्रिविले आफ्नो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न त सकेको छैन भने आफ्नो विरासतसमेत जोगाउन सकेको छैन तर अबको बाटो भनेको समस्यातिर औंला तेर्साउनेभन्दा पनि सामूहिक प्रयासबाट विश्वविद्यालयलाई कसरी पुनः उत्कृष्टताको दिशामा लैजाने भन्ने बहस हुन आवश्यक छ।

त्रिविको उत्पत्ति र विकासमा विभिन्न जनसमुदायको सामूहिक सहभागिता, व्यक्तिगत समर्पण र दान–दातव्यको ठुलो योगदान छ। विद्यादान र समर्पणको उन्नत संस्कृति त्रिविको मूल चेतना हो। यस अर्थमा त्रिवि एउटा यस्तो संस्था हो, जुन सामाजिक एकात्मकता, सामूहिक सहभागिता र व्यक्तिगत समर्पणको सम्मानमा आधारित छ। यसै मूल परिभाषाभित्र रहेर विश्वविद्यालयले आफ्ना नैसर्गिक मूल्य र मान्यतालाई पुनः आत्मसात गर्दै त्यसैअनुरूप सोच, लक्ष्य, रणनीति र कार्यनीति तर्जुमा गरी अगाडि बढ्न सकियो भने विश्वविद्यालयको गुणस्तर र प्रभावकारितामा सार्थक सुधार ल्याउन सकिनेछ।

त्रिविमा कार्यरत प्राध्यापकहरूबारे विभिन्न वास्तविकताभन्दा परका धारणा र भाष्यहरू निर्माण हुँदै गरेको देखिएको छ। वास्तविकता के हो भने यहाँ धेरै समर्पित विज्ञ प्राध्यापकहरू समेत छन्, जसले आफ्नो सुख, सुविधा र समयलाई दाउमा राखेर विश्वविद्यालयलाई जोगाइराखेका छन्। कठिन परिस्थितिमा पनि आफ्नो दायित्व बिर्सेका छैनन्। नेपालको विश्वविद्यालय प्रणालीमा योगदानको भावना जति बलियो छ, यिनीहरू त्यसैको सशक्त प्रतिनिधि हुन्। जजसले अहिलेसम्म कुनै लाभको पदमा बसेनन्, कठिन अवस्थामा पनि विश्वविद्यालयको साख बचाइराखे, तिनीहरूको योगदानलाई बिर्सनु र सबैलाई समान रूपमा लाञ्छित गर्नु कदापि विवेकपूर्ण सोच मान्न सकिँदैन किनभने यिनै व्यक्तित्वहरू त्रिविको वास्तविक सम्पत्ति हुन्।

विगत लामो समयदेखि दबिएर गुमनामजस्तै भएर बस्न बाध्य पारिएका यिनै प्राध्यापकहरूको नेतृत्व क्षमता र समर्पणलाई सही तरिकाले उपयोग गर्न सकियो भने त्रिविले पुनः गति लिन सक्छ। अमुक देशको अमुक विश्वविद्यालयको अनुभवप्राप्त नेतृत्व ल्याउने कुरा गर्दा यो सधैं सकारात्मक हुँदैन। नेपथ्यबाट ल्याइएको नेतृत्वले स्थानीय परिस्थिति, जटिलता र विश्वविद्यालयको मूल संस्कृतिलाई बुझ्न र आत्मसात गर्न असम्भव नभए तापनि त्यति सजिलोचाहिँ छैन।

विश्वविद्यालयको आजको जटिल परिस्थितिमा बाह्य नेतृत्वले प्रायः संस्थागत असन्तुलन सिर्जना गर्ने जोखिम धेरै रहन्छ। त्रिविलाई अहिले आफ्नै घरको आँगनमा तयार भएको सिद्धहस्त नेतृत्व चाहिन्छ, जसले प्रतिकूलतालाई नजिकबाट देखेको छ, विषमतालाई बुझेको छ, जसले अभावका बाबजुद आफ्नो दायित्व निभाएको छ, विश्वविद्यालयको हरेक चोक र कुनालाई आफ्नै आँखाले नियालेको छ, व्यवधान र समस्यासँग जुधेर केही उल्लेख्य उपलब्धिसमेत हासिल गर्न सफल भएको छ।

 विश्वविद्यालयको नेतृत्वमा बाह्य व्यक्ति चाहिन्छ भन्ने तर्क व्यावहारिक देखिँदैन। यसखाले प्रवृत्तिले विश्वविद्यालयको दीर्घकालीन अहित निम्त्याउन सक्छ । जबकि विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरी फर्केका र निरन्तर रूपमा विश्वस्तरीय अनुसन्धानमा सक्रिय रहेका तथा विश्वका अति प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्यात्मक अनुसन्धानहरूको नेतृत्व गरिरहेका प्राध्यापकहरूको ठुलो समूह छ, जो राजनीति दल–विशेषसँग कहिल्यै पनि आबद्ध छैनन्।

दलविशेषमा अनाबद्धताकै कारण यसअघि उनीहरू कहींकतै न त देखाइए, न त सुनाइए। ती प्राध्यापकहरूको खोजी गर्नु वर्तमान राज्यको दायित्व हो। त्यसैले पहिलो प्राथमिकता आफ्नै प्रतिभाको पहिचान, सम्मान र उत्थानमा केन्द्रित हुनुपर्ने देखिन्छ। विश्वविद्यालयका विभिन्न कठिनाइ र चुनौतीपूर्ण परिस्थितिहरूमा हाल प्रतिष्ठित र विश्वविद्यालयलाई अपरिहार्यताका रूपमा उभ्याउन खोजिएका व्यक्तित्वहरू अन्तकतै रमाइरहेका बेला त्रिविका धेरै प्राध्यापक विश्वविद्यालयको उत्थानका लागि संघर्ष गरिरहेका थिए, जसका कारण विश्वविद्यालय पूर्ण रूपमा धराशायी हुनबाट बच्यो र उनीहरूको अथक प्रयासले अझै पनि विकासयोग्य संस्थाको रूपमा त्रिविलाई अड्याउन सम्भव भयो।

न्यूनतम स्रोत र सहयोगी वातावरण उपलब्ध गराइयो भने यिनै प्रतिभाहरूले उल्लेखनीय नेतृत्व दिन तथा अनुसन्धान र प्राज्ञिक उपलब्धि हासिल गर्न सम्भव तुल्याउन सक्छन्। अर्कैबाट विकसित र सम्पूर्ण सुविधा सम्पन्न ठाउँमा अनुसन्धान गर्नुभन्दा अभावबिच पनि सिर्जनशीलता देखाउनु ठुलो कुरा हो र यो क्षमता त्रिवि तथा त्रिविका प्राध्यापक र कर्मचारीमा स्पष्ट रूपमा देखिएको छ।

विश्वविद्यालयको नेतृत्वको सोच, संस्कार र प्रवृत्तिले पूरै संस्थाको दिशा तय गर्ने गर्छ। विगत केही दशक यताको नेतृत्वमा थोरै अनपेक्षित व्यवहारगत एवं प्रणालीगत समस्या देखिएकै हुन्, जसलाई आगामी नेतृत्वले सुधार गर्नैपर्ने देखिएको छ। सबै तहका जनशक्तिको क्षमता, विज्ञता र राय–सुझावलाई व्यवस्थित रूपमा संकलन, प्रशोधन र परिचालन गर्न सकिएको अवस्थामा ठुलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। यस विषयमा त्रिविमा पहिले कमै मात्र उदाहरण भेटिए तापनि अबको नेतृत्वलाई ठुलो अवसर प्राप्त छ– खुला संवाद र सामूहिक परामर्शको संस्कृति विकास गर्ने । सानो समूहको स्वार्थभन्दा माथि उठेर सबै पक्षको सहभागिता र सहकार्यको सुनिश्चितताले त्रिविलाई बलियो, संगठित र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन सक्छ।

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् विश्वविद्यालयमा जनशक्ति भर्नाका केही निर्णयहरूले दीर्घकालीन असर पुर्‍याएका छन्। ती विगतका अनपेक्षित घटनाक्रमलाई सम्झनामा राखी अब आगामी नीति र व्यवस्थापनमा ध्यान दिन उपयुक्त हुन्छ। सेवा प्रवेश र पदोन्नतिको असान्दर्भिक एवं प्रत्युत्पादक प्रक्रियालाई अब व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक प्रणालीमा रूपान्तरण गर्न एकदमै आवश्यक छ। नियमित खुला प्रतिस्पर्धा, विषय–विशेषगत योग्यताको आधारमा छनोट र सम्बन्धित निकायको निष्पक्ष व्यवस्थापनले त्रिविलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ । हाल त्रिविमा प्रशासनिक र शैक्षिक जनशक्तिबिचको अनुपातलाई पनि विशेष रूपमा हेर्नुपर्ने देखिन्छ । यस सन्दर्भमा शैक्षिक प्राथमिकतायुक्त संस्थामा प्राध्यापकीय जनशक्तिको भूमिका केन्द्रमा हुनुपर्छ। सूचना–प्रविधिमैत्री प्रशासनिक सेवा र चुस्त कार्यशैली अवलम्बन गरेर हालको प्रशासनिक ढाँचालाई आमूल रूपमा परिवर्तन गरी प्रभावकारी बनाई ठुलो प्रशासनिक लागत घटाई शैक्षिक गतिविधिलाई प्रश्रय दिनुपर्छ।

त्रिविलाई प्राज्ञिक प्राथमिकताको संस्था बनाउन अर्को महŒवपूर्ण पक्ष भनेको अनुसन्धान र विकासमा उल्लेखनीय योगदान पुर्‍याएका प्राध्यापकहरूको सेवा निरन्तरताको व्यवस्था गर्नुपर्ने पनि देखिन्छ किनभने वर्तमान परिवेशमा वैदेशिक विश्वविद्यालयहरूबाट दीक्षित प्राज्ञिक जनशक्तिको स्वदेशप्रतिको आकर्षण न्यून एवं त्यति भरपर्दो देखिएको छैन। स्वदेशमा उत्पादित प्राज्ञिक जनशक्तिले पर्याप्त साधन–स्रोतको अभावमा देशविदेशको अनुभव तथा स्वदेशमा उचित प्रयोगात्मक प्रशिक्षण दिन सकिएको छैन।

विशेष गरी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा अध्ययन–अनुसन्धान गर्ने प्रयोगशाला–आधारित प्राध्यापकहरूका लागि अनिवार्य अवकाशको सट्टा स्वेच्छिक अवकाश रोज्न सक्ने लचिलो व्यवस्था हुन वाञ्छनीय देखिन्छ। हाम्रो जस्तो स्रोतमा सीमितता र विश्वासको संकट भएको देशमा एउटा जीवन्त प्रयोगशाला विकास गर्न दशकौं लाग्छ। जब त्यस्तो प्रयोगशाला बन्दै–नबन्दै सम्बन्धित प्राध्यापक अनिवार्य अवकाश जान्छन्, निजसँगै प्रयोगशालाले आफ्नो गरिमा गुमाउने सम्भावना प्रबल रहन्छ । यस्तो अवस्थामा नयाँ व्यक्ति आए पनि पुरानो उपलब्धि कायम राख्न र स्रोत परिचालन गर्न फेरि वर्षौं लाग्छ।

त्यसैले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले निरन्तरतासहितको नेतृत्व हस्तान्तरणका लागि यस्ता प्राध्यापकलाई आजीवन प्राध्यापकका रूपमा सेवा गर्ने वातावरण दिएका हुन्। त्रिविले पनि अनुसन्धान र प्रयोगशाला विकासमा उल्लेख्य योगदान गरेका प्राध्यापकहरूलाई विशेष सम्मान र सेवा–सुविधा प्रदान गरी सक्रिय रहन प्रोत्साहन गर्न आवश्यक छ। यसले विश्वविद्यालयको प्राज्ञिक विशिष्टता जोगाउन र थप उपलब्धि हासिल गर्न ठुलो सहयोग पुर्‍याउनेछ। यसका अतिरिक्त दशकौंको प्रयासमा बनेर एउटा निश्चित उचाइ प्राप्त गर्न सक्दा–नसक्दै बिचमै अलपत्र छाडेर जाने अवस्था बन्दा त्यसको दूरगामी नकारात्मक असरसमेत पर्न सक्छ।

त्यसैले योगदानी प्राध्यापकहरूको सम्मान र निरन्तरता त्रिविको भावी पुस्तालाई निःस्वार्थ सेवा, अनुसन्धानमा लगाव, प्रयोगशाला विकास र विश्वविद्यालयप्रति प्राणप्रतिष्ठित सेवाभावका लागि एउटा महत्त्वपूर्ण प्रेरणाको आधार बनाउन त्रिविको आगामी नेतृत्व क्रियाशील रहनसमेत आवश्यक छ। एक प्राध्यापक साँचो अर्थमा आफैंमा एउटा संस्था भएको स्विकार्न र प्राध्यापकहरूले पनि सोहीबमोजिमको आचरण र व्यवहारमा खरो रूपमा उत्रिन सक्नुपर्छ।

अबको त्रिवि नेतृत्वले विशिष्टीकृत क्षेत्रका सर्वोत्कृष्ट युवाहरूको सेवा प्रवेश सुनिश्चित गर्दै अध्ययन–अनुसन्धानको प्रक्रियामा राज्यको कानुनबाहेक अन्य कहींकतैबाट अनावश्यक नियन्त्रण एवं परिचालित हुनुपर्ने अवस्थाको अन्त्य गरी प्राणप्रतिष्ठित सेवा प्रवाहको वातावरण उपलब्ध गराउन सक्यो भने त्रिविको प्राज्ञिक गुणस्तर स्वतः अभिवृद्धि भएर जानेछ।

त्रिविले पछिल्लो समय अपनाएको युवा वैज्ञानिक तथा प्रविधिज्ञहरूलाई अनुसन्धान विशिष्टताका आधारमा नियुक्त गर्ने प्रक्रियालाई अझ व्यवस्थित, व्यापक र नियमित गर्न आवश्यक छ, ताकि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र नवीन प्रविधिमा दक्षता हासिल गरेका युवा प्रतिभाको त्रिवि सेवा प्रवेश प्रभावकारी बनोस्।

त्रिवि अचल सम्पत्तिमा विश्वकै धनीमध्येको एक विश्वविद्यालय हो । उपलब्ध जग्गाजमिनको उन्नत परिचालन, विधिसम्मत प्रवर्धन र समुचित उपभोग गर्न सकियो भने अनुसन्धान प्रयोगशाला निर्माण, अत्याधुनिक उपकरण खरिद र विदेशी प्रतिभा आकर्षणमा ठुलो भूमिका खेल्न सक्छ। अनुसन्धान परामर्शलाई प्रभावकारी बनाई विश्वविद्यालयको प्रमुख आयस्रोतका रूपमा विकास गर्दै चर्को शैक्षिक शुल्कलाई आयआर्जनको ठुलो हिस्सा बनाउने प्रचलित प्रवृत्तिलाई निरुत्साहित गर्नसमेत उत्तिकै आवश्यक छ किनभने यसलाई विश्वविद्यालयको नैसर्गिक मूल्य, मान्यता, उद्देश्य एवं सेवा प्रवाहको स्वरूपमा आएको गम्भीर विचलनका रूपमा हेरिएको छ।

त्रिविको पुनरुत्थानको यो अवसरलाई सार्थक बनाउन राज्य, विश्वविद्यालय प्रशासन, प्राध्यापक, विद्यार्थी र सम्पूर्ण नेपाली समाजले सकारात्मक सहकार्य गर्नुपर्छ । अबको बाटो भनेको विश्वविद्यालयलाई आफ्नो मूल परिभाषा ‘सामाजिक एकात्मकता, सामूहिक सहभागिता, व्यक्तिगत समर्पणको सम्मान र विद्यादानको सिद्धान्त’मा फर्काउने हो। प्राध्यापकहरूलाई साँचो अर्थमा स्वसञ्चालित संस्थाका रूपमा विकास हुन दिने हो। यो गर्न सकियो भने त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक साख र उपादेयता अक्षुण्ण रहनेछ र यसले आउने पुस्तालाई गुणस्तरीय शिक्षा र अनुसन्धानको अवसर प्रदान गर्नेछ । त्रिवि मात्र होइन, समग्र राष्ट्रको शैक्षिक र प्राज्ञिक उन्नतिमा यसले ठुलो योगदान पुर्‍याउनुका साथै मार्गनिर्देशसमेत गर्ने निश्चित छ।

–रेग्मी त्रिवि, भौतिक शास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन्।  

प्रकाशित: १५ जेष्ठ २०८३ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %