१४ माघ २०८२ बुधबार
image/svg+xml
विचार

देश बदल्न व्यवहार बदल

‘तिमी तिम्रो व्यवहार होइनौं, व्यवहार बदल्न सकिन्छ।’

माघ ६ गते उम्मेदवारी दर्ता भएसँगै मुलुक चुनावमय भएको छ। उम्मेदवार तथा मतदाताबिच उत्साह छाएको छ। चुनावी परिणाम कस्तो आउने हो, चासोे छ। कतिपय उम्मेदवार ‘नाटकीय’ प्रचारप्रसारमा उत्रेका छन्। ‘भाइरल’ हुन अस्वाभाविक क्रियाकलाप गरेका छन्। अशोभनीय कार्यसमेत गर्न पछि परेका छैनन्। नामांकनको केही दिन अघिसम्म पनि दलहरूमा तनाव, एकता प्रयास एवं आन्तरिक संघर्षका रोचक दृश्य पनि देखिए। तथापि यो आलेख अमुक दल वा व्यक्तिलक्षित नभई तिनका प्रवृत्तिप्रतिको दृष्टिकोण हो।

जेनजी आन्दोलनले यथास्थितिमा देश नचल्ने सन्देश दियो। देश बदल्न नयाँ सोच तथा दृष्टिसाथ पार्टी तथा नेताहरू बदलिनुपर्ने सशक्त आवाज उठ्यो। सोही भावनालाई बुझेर प्रायः सबै दलले यसलाई प्राविधिक ढंगबाट सम्बोधन गरे।

नेपाली कांग्रेसले सबैभन्दा बढी यसको अन्तरमर्म बुझेको पाइयो। रूपान्तरण औपचारिकतामा मात्र सीमित रहनुहुँदैन भन्ने ठान्यो। सहमतिबाट देशले खोजेको पुस्तान्तरण नहुने देख्यो र विधि एवं प्रक्रियाबाट पार्टीको नेतृत्व बदल्ने अभ्यासमा अघि बढ्यो। यसको नेतृत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरे र सफल भए पनि।

नेपालको आन्तरिक राजनीति विधिभन्दा व्यक्तिप्रधान हुँदै आएको थियो। संस्थागत विकासको संस्कार प्रायः अन्त्य भएको थियो। विधिले भन्दा व्यक्तिवादी चरित्र हाबी हुँदै गयो। यसले लोकतन्त्र तथा शासन व्यवस्थालाई नै कमजोर बनायो। आन्तरिक वैचारिक विवादले दल विभाजनमा टुंगने चलन चल्यो। दलभित्रका बहुमत पक्षसँग आत्मसमर्पण वा पार्टी टुक्राउने विकल्पबाहेक अरू देखिन छाडेको थियो।

तथापि असम्भव जस्तो देखिने थितिलाई तोड्न कांग्रेसमा साहस जाग्यो। यसमा चौवन्न प्रतिशत महाधिवेशन प्रतिनिधि तथा एक सय ३२ मध्ये तीनजना केन्द्रीय सदस्य फर्मुला मन्सुर, अर्जुननरसिह केसी र उमा रेग्मीको साथ महामन्त्रीद्वयले पाए। पार्टीमा रूपान्तरणको जोखिम उठाए। राजनीतिमा विधिको शासनको एक अनुकरणीय अभ्यास देखाए। विधानको ‘विशेष महाधिवेशन’ अधिकार प्रयोग गरी संस्थागत बाटो अँगाले। वैधानिक तवरबाट नेतृत्व परिवर्तन गरी गगनकुमार थापालाई पार्टीको सभापति चयन गर्न सफल भए।

गगनले असहमत पक्षसमेतलाई जुटाएर पार्टीलाई निर्वाचनमा उतारे। एक कुशल तथा सुझबुझ भएका नेता देखा परेका छन्। नेपालको राजनीतिमा एक नयाँ आशा एवं भरोसाका केन्द्र भएका छन्। बिपी कोइराला तथा कृष्णप्रसाद भट्टराईपछि गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा कांग्रेसले प्रस्तुत गरेको छ। उनमा ‘भिजन’ छ तर ‘टेस्टेड’ नेता हुँन बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र साह तथा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन्। अन्य दलका नेता पनि यस दौडमा छन्। तथापि फागुन २१ को चुनावमा कांग्रेस, रास्वपा र एमालेबिच नजिकको प्रतिस्पर्धा देखिएबाट यो आलेख यही सेरोफेरोमा केन्द्रित भएको हो।

बालेन्द्र साहको रास्वपा प्रवेशले राष्ट्रिय राजनीतिमा एक तरंग ल्याएको छ। झापा क्षेत्र नम्बर ५ को उम्मेदवारीले चुनावी गर्मी अरु बढाएको छ। महानगर प्रमुख हैसियतमा व्यवस्थापकीय कुशलता उनले देखिएका हुन्। काममा विश्वास राख्ने छवि बनाएका छन्। उनको राजनीतिक शक्ति सामाजिक सञ्जालका ‘फलोअर’ बनेको छ। प्रशासनिक काम तथा व्यक्तिगत विचार यसमार्फत अभिव्यक्त गर्ने गरेका छन्। महानगरपालिको नेतृत्वमा सम्हालेपछि बैठकको प्रत्यक्ष प्रसारण, नेवारी संस्कृति, सम्पदा तथा सडक एवं फुटपाथ व्यवस्थित गर्न समेतमा उनी सफल भएका हुन्।

तथापि कार्यकाल बाँकी छँदै उनको राजीनामाले मतदाताका विश्वास तोडिएको छ। उनी नगरवासीलाई धन्यवाद दिन चुकेका छन्। चुनावी बाचामा प्राथमिकतामा पारेको फोहोर व्यवस्थापन विफल भएको छ।

सुकुमबासी, कवाडी पेसा तथा साना फुटपाथ व्यापारीप्रति निर्मम देखाए। अन्यायपूर्ण ढंगबाट नगरवासीका घर भत्काए। सामाजिक सञ्जालमा प्रायः अभिव्यक्ति अशोभनीय, असन्तुलित तथा अपमानजनक पाइन्छन्। उनका समर्थक निम्न स्तरीय गालीगलौजमा उत्रने गरेका छन्। समाज तथा युवा वर्गमा यसबाट पर्ने प्रभावबारे सोचेका देखिँदैनन्। ‘सिंहदरबार जलाई दिन्छु’ भन्ने ‘स्टेटस’को असरले सिंहदरबार साँच्चै जलाइएको यथार्थमा ध्यान दिएका छैनन्।

सुत्केरी, बालबच्चा, बिमारी, अपांग, अशक्त तथा वृद्धप्रति संवेदनशील भएनन्। दमनकारी नीति लिएर मानव अधिकारको उलंघन गरे। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सुकुमबासी व्यवस्थामा तोकेका पहिचान, अभिलेख तथा व्यवस्थापनको उपाय नखोजी मानव बस्तीलाई आतंकित पारे।

स्थानीय सरकार समेतले अदालतको आदेश तथा नेपाल पक्षराष्ट्र मानव अधिकार सम्बन्धी महासन्धि तथा सम्झौता पालना गर्नुपर्ने बाध्यता बिर्सिए। प्रश्न सुन्न नचाहने व्यक्तिको परिचय पाए। प्रधानमन्त्री उम्मेदवार भएपछि पनि ‘प्रस्तावित बहस’मा एक बाहना बनाएर भाग नलिने घोषणा गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी छवि बनाएका अडानवादी नेता हुन्। त्यसका दुवै फाइदा र बेफाइदा झेलेका छन्। संघीयताका बहसमा ‘एक मधेस एक प्रदेश’ विरुद्धको अडानले मधेस विराधी छवि बनाए पनि सात प्रदेशको व्यावहारिक सम्झौतामा राष्ट्रलाई पुर्‍याए। संविधान जारी गर्न सकस परेका बेला सुशील कोइराला सरकारलाई साथ दिएर गाँठो फुकाइदिए।

 २०७२ सालमा ‘नाकाबन्दी नखोली भारत भ्रमण नगर्ने’ अडानबाट राष्ट्रले स्वाभिमानको अनुभूति गर्‍यो। चुच्चे नक्सा संसद्बाट सर्वसम्मतबाट परित गराएर एक राष्ट्रवादी नेताको परिचय पाए।

तर दोस्रो प्रधानमन्त्रीको कार्यकालमा माओवादीसँगको एकीकरणपछि करिब दुईतिहाइको सरकारलाई उनले टिकाउन सकेनन्। दुई पटक संसद् विघटन गरे। राष्ट्रिय मानव अधिकार आयोग, गुठी संस्थानलगायत नागरिकका अधिकार खुम्चाउने गरी संसद्मा विधेयक दर्ता गराए।

पीडितले न्याय खोज्ने थलो माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोके। कतिपय नेतालाई निर्दोष करार गरेर न्यायाधीशको भूमिकासमेत निर्वाह गरे। संक्रमणकालीन न्यायलाई राजनीतिक औजार बनाएर बिस वर्षसम्म शान्ति प्रक्रिया अड्काउने तीन नेतामध्ये एक भए। संवैधानिक परिषद्लाई राजनीतिक भर्ती गर्ने केन्द्र बनाए। भागबन्डाको राजनीतिलाई अविच्छिन्न राखे।

चैत्र १५ गतेको तीनकुने घटनाको न्यायिक छानबिनको मागलाई बेवास्ता गरेर एक गम्भीर भुल गरे। पत्रकारसहित दुई युवाको ज्यान लिने, तोडफोड तथा आगजनी गर्नेलाई उन्मुक्ति दिए। राप्रपाका केही नेतालाई राजद्रोह सम्बन्धी मुद्दा लगाएर घटनालाई दबाए।

दण्डहीनतालाई प्रश्रय दिए। यसैको प्रतिफल भदौ २३ को जेनजी आन्दोलनमा १९ कलिला बालबालिका तथा युवाले ज्यान गयो। २४ गतेको अवस्था हिंस्रक बनेपछि दिगो भनिएको सरकार २७ घण्टामा ढल्यो। जेनजी आन्दोलनको शान्तिपूर्ण अवतरण दिन असफल भए। जेनजी भावनालाई अझ पनि आत्मसात गर्र्न नसक्नु अर्को विडम्बना हो।

‘उज्ज्वल फाउन्डेसन’को एक कार्यक्रममा बालेनलक्षित एक प्रश्नमा जेनजीका अभियन्ताले भने– बालेनमाथि हाम्रा पनि प्रश्न छन्। जेनजी आन्दोलन कुनै दल विशेषको पक्षमा छैन। सरकारसँगको दश बुँदे सम्झौता कार्यान्वयन हाम्रो प्रमुख चासो हो।

राजनीतिक फाइदा कसैलाई नलिन आग्रह गरे। साथै सामाजिक सञ्जाल (एआईसमेत) दुरुपयोगप्रति सचेत गराए। सञ्जाल चलाउन नागरिकले जानेका छन् तर त्यसमा साक्षर भने भएका छैनन्।

निर्वाचन आयोगमा बालेनको नामांकन फारमप्रति पत्रकार किशोर श्रेष्ठको प्रश्नमा ओइरेका घटिया गालीप्रति केदार शर्माको टिप्पणी छ– यति निकृष्ट मान्छेको समर्थनबाट आउने नेतृत्व उत्कृष्ट हुन्छ भनेर कसरी अपेक्षा गर्ने?

प्रकाशित: १४ माघ २०८२ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App