२१ मंसिर २०८२ आइतबार
image/svg+xml
विचार

छिमेकको छाया

बाइरोडको बाटोमा

यति बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भारत भ्रमणका क्रममा भएका भेट र भइरहेका गतिविधिले सबैको ध्यान तानेको छ। अमेरिकालगायत पश्चिमा मुलुकसँगको सम्बन्ध आफ्ना ठाउँमा हुँदाहुँदै पनि भारतले रुससँगको आफ्नो पुरानो र गहिरो सम्बन्धलाई निरन्तरता दिन चालेको कदमको पनि चर्चा भइरहेको छ। यसले भारतलाई आगामी दिनमा कुन स्थितिमा पुर्‍याउँला वा यस क्षेत्रको भूराजनीतिक अवस्था कस्तो रहला भन्ने विमर्श पनि भइरहेकै छन्।

भारतमा पुटिनको भ्रमण सन्दर्भसँगै नेपालको चर्चा पनि भइरहेको छ। गत भदौ २३ मा भएको जेनजी अभियान, त्यसलाई योजनबद्ध ढंगले गरिएका दुरुपयोग, हत्या र भोलिपल्ट भदौ २४ मा गरिएको आगजनी, तोडफोड र लुटपाटपछि यहाँको वातावरण फेरिएको छ। अन्यथा, यतिबेला मुलुकमा पूर्वयोजनाअनुसार पुटिनको भ्रमण हुने थियो। तिनलाई स्वागत गर्न मुलुकका प्रधानमन्त्रीलगायतका संयन्त्रहरूको यतिबेला व्यस्तता हुने थियो।

पुटिनको नेपाल भ्रमणसँगै भूराजनीतिक चर्चापरिचर्चा हुनु स्वाभाविक हुन्थ्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङमा भ्रमण हुँदा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक र एकल भेटका साथै रुसी राष्ट्रपति पुटिनसँगको भेट र नेपाल भ्रमणको सुनिश्चितताको चर्चा त्यतिबेलै थियो। ओलीले आफूलाई भूराजनीतिको अहिलेको अवस्थालाई बेवास्ता गर्दै पश्चिमाहरूलाई सशंकित तुल्याएको चर्चा पनि त्यतिबेला भएकै हो तर यतिबेला पुटिनको भारत भ्रमण र त्यहाँका गतिविधिले स्वाभाविक रूपमा नेपाल भ्रमणको सम्भावना र विश्वमा नेपालबारे हुनसक्ने चर्चा–परिचर्चाको अवसर भने गुमेको रूपमा यतिबेला लिइँदै छ।

बिस्तारै अब राजनीति र अर्थनीतिको केन्द्र हाम्रै छेउछाउमा आइपुगेको अवस्था देखिँदै छ। चीन र भारतको बढ्दो अर्थतन्त्र र चौतर्फी देखिएको प्रगतिले अब यस क्षेत्रको महत्त्व बढ्ने छ। पश्चिमा संसारले अब यतातिर हेर्नैपर्ने अवस्था देखिँदै छ। चीनले प्रविधि र अन्वेषणको क्षेत्रमा गरिरहेको प्रगतिले पश्चिमाहरूलाई पहिल्यै सशंकित तुल्याइसकेको हो। यसबिच भारतले गरिरहेको तीव्र विकासको असर यस क्षेत्रमा स्वाभाविक रूपमा पर्ने नै छ। भारत र चीनबिचमा रहेको नेपालका निम्ति त्यो प्रगतिको प्रभाव पर्नु अन्यथा हुँदैन।

चीन र भारत दुवै देशले आपसमा व्यापार र सम्पर्क बढाएर आर्थिक फड्को मार्न र प्रगतिमा लाग्न भूमिका खेलिरहेका छन्। अहिले जुन स्तरमा उनीहरूबिच व्यापार र सम्पर्क भइरहेको छ, त्यसले पनि आगामी दिनमा फरक पार्नेछ। यतिबेला विश्व फेरि बहुधु्रवीय हुने क्रममा छ। पश्चिमा रजगज र प्रभावले मात्र अब विश्व चल्दैन। रुस र युक्रेनबिच चार वर्षदेखि युद्ध भइरहेको छ। यस युद्धका क्रममा रुसको अर्थतन्त्र धराशायी हुन्छ भन्ने ठानिए पनि त्यस्तो भएन। रुससँग तेल खरिद नगर्न अमेरिकाले लगाएको प्रतिबन्धको असर पनि खासै धेरै परेन। रुसी तेलका सबैभन्दा ठुला खरिदकर्ता पनि चीन र भारत हुन्।

अहिलेको बदलिँदो परिवेशमा उदाउँदो चीनको आफ्नै धुरी निर्माण भइरहेको छ। यसको सम्बन्ध रुसलगातका मुलुकसँग छ। चीनले आक्रामक ढंगले सम्बन्धलाई विस्तार गरिरहेको छ। त्यति मात्र होइन, पश्चिमाहरूले अन्य मुलुकलाई विकास निर्माणमा सहयोग गरेनन्, हामी तिमीलाई अगाडि बढाउँछौं भन्ने हिसाबले चीन अगाडि बढेको छ। आफ्नो नजिक छिमेकमा मात्र होइन, अफ्रिकी मुलुकसम्म उसको प्रभाव विस्तार भइरहेको छ।

पश्चिमा संसारलाई एक्लै टक्कर दिइरहेको रुसको चीनसँग अत्यन्त राम्रो सम्बन्ध छ। रुस र चीनजस्ता मुलुकको साथ नपाएको भए उत्तर कोरियाले आफूलाई टिकाइराख्न सक्ने थिएन। त्यति मात्र होइन, त्यो देशले जसरी हातहतियारको विकास र परीक्षण गरिरहेको छ, त्यसमा ऊ एक्लैको क्षमता पुग्छ भन्ने होइन। त्यसमा भूराजनीतिक लाभहरूले उसलाई त्यो ठाउँमा पुर्‍याएको छ।

भारतले अमेरिकालगायतका पश्चिमा मुलुकसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउन भूमिका खेलिरहेको छ। यसका साथै रुसजस्तो पुरानो सहयोगी मुलुकसँगको आफ्नो सम्बन्धलाई झन् गहिरो पनि बनाउँदै गइरहेको छ। यसपटकको पुटिनको भ्रमणकै क्रममा पनि अनेकन् रणनीतिक र सामरिक महत्त्वका निर्णय गरेका छन्।

भारतले खरिद गरेका रुसी उत्पत्तिका हरितयार र रक्षा उपकरणका लागि आवश्यक पर्ने पार्टपुर्जा संयुक्त रूपमा भारतमै उत्पादन गर्ने गरी सहमति भएको छ। यसलाई प्रविधि हस्तान्तरण र संयुक्त भेन्चरमार्फत कार्यान्वयन गर्नेसमेत भनिएको छ।

भारत रुसबाट कच्चा तेलको दोस्रो ठुलो आयातकर्ता हो। त्यसैले यी दुई मुलुकले ऐतिहासिक सम्बन्ध, भावी आर्थिक उन्नति आदिलाई ध्यानमा राखेर काम गरिरहेका छन्। युरोपेली संघ र अमेरिकासँगको व्यापार आदिमा असर पर्नसक्ने ठान्दा ठान्दै पनि भारतले रुसलाई महत्त्व दिएर अगाडि बढ्नुमा बदलिँदो विश्वव्यवस्थालाई संकेत गर्छ। अब विश्व अर्थतन्त्रका नयाँ खेलाडी आइरहेका छन्। सबैभन्दा धेरै वस्तु र सेवा उत्पादन गर्ने चीन र भारतले उच्चस्तरमा कच्चा पदार्थको खपत गरिरहेका छन्। आर्थिक वृद्धिका हिसाबले पनि यिनले विश्वलाई आश्चर्यमा पार्दै छन्।

यस्तो अवस्थामा नेपाल भने कुन अवस्थामा रहने हो ? जेनजी अभियानसँगै यहाँ भइरहेको वाह्य चलखेलको चर्चा पनि उच्चस्तरमा छ। तत्कालीन प्रधानमन्त्री ओली भर्खरै चीन भ्रमणबाट आएका थिए। उनी लगत्तै भारतको भ्रमणमा जाने तयारी गर्दै थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उनको व्यक्तित्व बढिरहेको ठानेका बेला कसरी एकाएक नेपाल यस्तो अवस्थामा पुग्यो भन्ने प्रश्नको जवाफ अझै आइसकेको छैन।

केही घण्टाकै बिचमा प्रधानमन्त्रीलगायतले निवास छाडेर हिँड्नुपर्ने गरी खेलिएको खेलमा भूराजनीतिको प्रभाव कति छ? यो खेल खेल्नेहरू को हुन् भनेर औंला ठडिएका छन्। यसले एक किसिमको बुझाइ र अबको दिनको तयारीमा पक्कै पनि देशभित्रका शक्तिहरू लागेका हुनुपर्छ। त्यसो त नेपालमा हुने सबैजसो परिवर्तनमा विदेशीको हात देख्ने गरिएको छ। तर, त्योभन्दा पनि महत्त्वपूर्ण हामीकहाँ संस्थाहरूको निर्माण नै हुन पाएको रहेनछ। त्यसैले अरूलाई चलखेल गर्न सजिलो भएको भने पक्कै हो।

त्यसैले अब बदलिँदो विश्व राजनीतिसँगै हामीकहाँ पनि अनेकानेक स्थिति देखिने अनुमान गर्न सकिन्छ। भूराजनीति र बदलिँदो विश्वपरिवेशलाई हेरेर मुलुकलाई बलियो बनाउन सक्ने किसिमको राजनीतिक नेतृत्व अब मुलुकले खोज्न थालेको बुझ्न सकिन्छ। यस्तो अवस्थामा यहाँको आन्तरिक राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ। भारत र चीनजस्ता मुलुकमा भइरहेको परिवर्तनको असर पनि यहाँ पर्नेछ। तिनले गर्ने आर्थिक उन्नतिको प्रभाव यहाँ नपर्ने भन्ने हुँदैन। तर, त्यसका लागि भूमिका खेल्न सक्ने नेताहरू यहाँ हुन्छन् वा हुँदैनन्, सन्देह छ।

नेपालमा थोरै मात्र पनि सुझबुझ भएको र अन्तर्राष्ट्रिय परिस्थिति बुझेर लगानी भित्र्याउन सक्षम राजनीतिक व्यक्तित्वको अभाव छ। आखिर यतिबेला भारत र रुसबिचको यो भेटघाट, सम्झौता र सहमति पनि आर्थिक पक्षसँगै जोडिएको छ। यिनीहरू आफ्नो व्यापार विस्तार कसरी गर्ने भन्नेमा अग्रसर छन्। आर्थिक रूपमा बलियो भएसँगै आफ्नो सामरिक शक्ति बढाउन पनि उनीहरूले भूमिका खेल्नु स्वाभाविक हुन्छ।

नेपालमा जुन हिसाबमा पश्चिमा प्रभाव रहँदै आएको छ, त्यसमा पनि बिस्तारै पुनर्विचार हुन थालेको छ। त्यति मात्र होइन, सबैभन्दा बढी छिमेकतिरै ध्यान जानुपर्छ भन्ने सोच पनि आउन थालेको महसुस हुन्छ। अमेरिकालगायतका मुलुकले बिस्तारै आफ्नो आर्थिक सहायता कटौती गर्दै आफैंमा सीमित हुन थालिसकेको अवस्थामा हामीले पनि आफ्नो उन्नतिका निम्ति छिमेकीसँगै कसरी आर्थिक गतिविधि बढाउन सकिन्छ भनेर हेर्ने अवस्था आउँदै छ। छिमेकीहरू आफैं मिलेर अगाडि बढ्न खोज्दै छन्।

छिमेक र देशहरूमा भइरहेका गतिविधिमा ध्यान दिँदै अगाडि बढ्ने रणनीति यतिबेला आवश्यक छ। देशभित्र उन्नत राजनीतिक व्यवस्था, जनता सबैमा विश्वासको वातावरण र विश्व बहुध्रुवीय परिस्थितिको आँकलनसहित अगाडि बढ्ने बेला भएको छ। उति परको रुस र छेवैको भारतमा भएका गतिविधिदेखि चीनका उन्नतिसम्मले हामीलाई झकझक्याएनन् भने फेरि हामी पछि पर्छौं नै।  

प्रकाशित: २१ मंसिर २०८२ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App