दान एक संस्कृत शब्द हो जुन नेपाली भाषामा पनि समान अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले समस्त मानव जातिमा अर्काको हितका लागि केही दिनु, खासगरी आवश्यकता परेका वा असहाय व्यक्तिहरूलाई सहायता गर्नु भन्ने जनाउँछ। यो भौतिक वस्तु (जस्तै पैसा, खाना, लुगा आदि) वा अमूर्त कुरा (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) पनि हुन सक्छ।
अन्न, वस्त्र, धन, अंग, रगत तथा विद्या, शिक्षा वा ज्ञान दिने परम्परा रही आएको छ जसमध्ये विद्या, शिक्षा वा ज्ञान दिनुलाई सर्वोत्तम दान मानिन्छ। अरूको सहायता गर्न, धार्मिक पुण्य कमाउन, अहंकार घटाउन र सेवा भाव बढाउन र समाजमा समानता ल्याउन मानव समुदायले दान गर्ने गरिन्छ।
पञ्चदान एक परम्परागत बौद्ध धार्मिक पर्व हो जसलाई विशेष रूपमा नेवारी बौद्ध समुदायले मनाउँछन्। यो पर्व विशेषतः नेपालको काठमाडौं उपत्यकामा प्रचलित छ। पञ्चदान शब्दको अर्थ हुन्छ: पञ्च भनेको पाँचवटा वस्तु, दान भनेको दिनु हो।
यस पर्वमा पाँच प्रकारका वस्तु - सामान्यतया चामल, गहुँ, नून, तोरी (तेल), र मुछो (सुक्खा फल/कठोर खाना) गरिब, भिक्षु, र अन्य धर्मावलम्बीलाई दान दिइन्छ।
पञ्चदान पर्व गुंला महिनामा (नेवार बौद्ध पात्रोअनुसार, विशेष बर्सादको समयमा) मनाइन्छ। यो खासगरी गुंला धर्म अन्तर्गतको एक महत्त्वपूर्ण पक्ष हो। नेपाली पात्रो अनुसार यो भाद्र/साउनमा पर्छ।
पञ्चदानले "दीन-दुःखीलाई सहयोग गर्ने", "सहयोगी सङ्घलाई समर्थन गर्ने", र "खराब आचरण भएको कर्म सुधार्ने" उद्देश्य राख्दछ।
दानले लोभलालच कम गराउने, गरिब तथा जरुरत परेका मानिसको सेवा गर्ने जस्ता धार्मिक सन्देश दिन्छ भने समृद्ध समुदाय र समाजको निर्माणमा समभाव कायम राख्ने सामाजिक सन्देश दिन्छ।
भक्तपुरको पञ्चदान
भक्तपुरको पञ्चदान भाद्र महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ। यस दिन भक्तपुरमा अवस्थित बौद्ध विहारहरू, चैत्य र विहारहरूलाई सफा गरी पूजा गरिन्छ। "बाहाल" (विहार) मा रहेका बुद्ध र बोधिसत्वका प्राचीन मूर्तीहरूलाई झिकेर शोभायात्रा गरिन्छ।
भक्तपुरको पञ्चदानमा नेवारी गुँला बाजाको प्रदर्शनी र धार्मिक गीत संगीतले भजनकिर्तन गर्ने चलन छ। यस पर्वले स्थानीय नेवार समुदायबीच आपसी मेलमिलाप बढाउने अवसरको रूपमा लिइन्छ।
भक्तपुरको पञ्चदानमा फरक विशेषता
काठमाडौँ उपत्यकाको पाटनमा र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरमा मनाइने पञ्चदान पर्वमा केही भिन्नता भने देख्न सकिन्छ। भक्तपुरमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका पाँच महाविहारमा विराजमान रहेका दीपंकर बुद्धका मूर्तिहरूलाई नगर परिक्रमा गराएर यो पर्व मनाइन्छ।
यस परिक्रमाको क्रममा परम्परागत गुँला धाः बाजा बजाउने प्रचलन पनि छ, जुन बाजा पञ्चदान पर्वमा मात्र बजाउने गरिन्छ। त्यस्तै गरी यो पर्वको अवसरमा परम्परागत विहार र बहीहरू तथा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शन गर्ने पनि गरिन्छ।
भक्तपुरमा नगर परिक्रमाको क्रममा प्रशन्नशील महाविहार, झौर-बही, चतुर्ब्रम्ह महाविहार, जय कीर्ति विहार र कुथुबही विहारमा रहेका पाँच दीपंकरलाई नगर परिक्रमा गराइने गरिन्छ। नगर परिक्रमा गराउनु अघि ती पाँच दीपंकरलाई सूर्यमढी अवस्थित आदिपद्म महाविहारमा भेला गराउने प्रचलन छ। यस भेलामा विशेष पूजाआजा गरेपछि ती पाँच दीपंकर बुद्धलाई बाजागाजा सहित नगरका टोलहरू परिक्रमा गराइन्छ।
उक्त परिक्रमामा दीपंकर बुद्ध सङ्गसँगै बौद्ध परम्पराअनुसार बौद्धमार्गीहरू दान पात्र जसलाई गुलुपा पनि भनिन्छ। हातमा लिई भिक्षाटनमा सहभागी हुने प्रचलन रहेको छ। अन्त्यमा दीपंकरहरूलाई संयुक्त पञ्च दान गर्ने चलन अन्तर्गत भक्तपुर टौमढीको पश्चिम डबलीमा सबै दीपंकरलाई लस्करै राखेर बाजा गाजा सहित संयुक्त पञ्चदान गरेर यो पर्व समापन गरिन्छ।
ललितपुरको पञ्चदान
एउटा प्रख्यात जनश्रुति अनुसार पाटन नगरमा भिक्षाका लागि भिक्षु दीपंकर आएका बेला उनलाई तत्कालीन राजाले धेरै दान दिए पनि उनले ग्रहण गरेनन्। त्यसैगरी त्यस बेलाको पाटनको गुइत विहारमा बस्ने लक्ष्मी थकु नामक एक गरिब महिलाले श्रद्धापूर्वक दिएको भिक्षा दान भने भिक्षु दीपंकरले बढो कृतज्ञताका साथ ग्रहण गरे। यो घटना सुनेपछि राजाले सुनारको रूपमा काम गरेर धन आर्जन गर्न थालेछन्।
यसरी आफ्नै पसिनाले आर्जित धन बाट विभिन्न वस्तु सङ्ग्रह गरी राजाले भिक्षु दीपंकर सामु समर्पण वा भिक्षा दान गरेको अवस्थामा भने उनले ग्रहण गरेछन्।
यसै जनश्रुति अनुसार बौधमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ। यसरी दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ। यस पर्वमा बौद्धमार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दीपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्।
ललितपुरमा पञ्चदान गुंला महिनाभर विभिन्न मठमा अलगअलग दिनमा मनाइन्छ तर प्रायः गुंला अन्त्यतिर (भाद्र महिनातिर) विशेष रूपमा मनाइन्छ। ललितपुरको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), क्वबहा महाविहार, हाकबहा आदि ठूला विहारहरूमा विशेष पूजा र कार्यक्रम हुन्छ। गुंला धर्म अन्तर्गत दिन/दिनै विहारमा भिक्षुहरू आउँछन् तर पञ्चदानको दिन दान धेरै भव्य रूपमा गरिन्छ।
स्थानीय समुदायले विशेष रूपमा तोरमा, चिवरा, फलफूल, पञ्च अन्न, र धातुका सामानहरू पनि दान दिन सक्छन्। ललितपुरमा पञ्चदानलाई अझ आध्यात्मिक साधनाका रूपमा लिइन्छ। बालबालिका र युवाहरू पनि पूजा, सेवा, दानमा सहभागी हुन्छन्।
पञ्चदानमा किसानको भूमिका
पञ्चदान पर्वमा किसानको भूमिका सामाजिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण हुन्छ, यद्यपि त्यो भूमिका प्रत्यक्ष रूपमा देखिनेभन्दा बढी अप्रत्यक्ष र आधारभूत छ। पञ्चदान धार्मिक पर्व हो तर त्यसको आधारभूत संरचना कृषि उत्पादन र आपूर्तिमा आधारित छ, त्यसैले किसानकै योगदानमा आधारित पर्व पञ्चदान हो।
पञ्चदानमा दिइने पाँच मुख्य वस्तु - चामल, गहुँ, तोरी, नून (खाद्य रूपमा), र मुचा (सुक्खा खाद्य) ग्रामीण समुदायका कृषकले उत्पादन गरेका खाद्य सामग्रीहरू जस्ता अधिकांश वस्तु किसानले उत्पादन गरेका अन्नहरू हुन्। चामल (धान) र गहुँ खेतबारीमा लगाइन्छ, सिँचाइ, मिहिनेत र मौसमसँग जुधेर उत्पादन गरिन्छ। तोरीको तेल कृषकले खेती गर्ने प्रमुख नगदे बालीमध्ये एक हुन्।
किसानले उत्पादन गरेको अन्न, तेल, मसला आदिले स्थानीय बजार भरिन्छ। धार्मिक दानका सामग्रीहरू स्थानीय कृषि उत्पादन नभई सम्भव हुँदैन। गाउँघर र सहर नजिकका किसानहरू आफैंले पनि धर्मका लागि अन्न छुट्याउने परम्परा राख्छन्।
नेवार परम्परामा "दान पात्र राख्ने" चलन छ। जसमा वर्षभरि थोरैथोरै गरी दान गर्न राखिएको अन्न विशेष दिन (जस्तै: पञ्चदान) मा चामल, गहुँ, नून, तोरी र मुचा जस्ता कृषि उत्पादन गरिब, भिक्षु, र अन्य धर्मावलम्बीलाई दान दिइन्छ।
पञ्चदान धनी व्यापारी वा शहरी वर्गको पर्व होइन। किसानले पनि धार्मिक कर्तव्यको रूपमा सहभागिता जनाउँछन्।
किसानहरू आफूले उत्पादन गरेका खाद्य तथा नगदेबाली पञ्चदानका दिन विहार बहीमा पुगेर दान दिनु, प्रसाद ग्रहण गर्नु, र शोभायात्रा हेर्नुजस्ता काममा सक्रिय हुन्छन्।
"समाजमा समानता, दया र सहअस्तित्व" किसान समुदायले आफू उत्पादन गरेको अन्न बाँडेर देखाउँछ। यसले समुदायमा 'अन्नदाता' को स्थानमा किसानलाई पनि सम्मानित गरेको हुन्छ ।
पञ्चदान पर्व गुंला महिनामा (नेवार बौद्ध पात्रो अनुसार, विशेष बर्सादको समयमा) मनाइन्छ। यो खासगरी गुंला धर्म अन्तर्गतको एक महत्त्वपूर्ण पक्ष हो। नेपाली पात्रो अनुसार यो भाद्र/साउनमा पर्छ।
पञ्चदानको ऐतिहासिकता
किम्बदन्ती अनुसार नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो “पञ्चदान पर्व”। पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावणमा पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ।
पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। साउनमा गुँला पर्व पनि मनाउने गरिन्छ। शाक्य मुनी बुद्धलाई बुद्ध हुने भविष्यवाणी गर्ने बुद्ध नै दिपंकर बुद्ध थिए।
पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाएपछि दोस्रो पटक भने भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ।
सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्चदानको अर्थ “पुण्य दान” हुने गर्छ। र, नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत छ। यही महिनामा सम्पूर्ण नेपालीमाझ असारको धान रोपाई सकिएपछि साउन १५ को दिन खिर खाने चलन छ। यसरी घरमा पाकेको खिर दानको रूपमा बाहेक घर परिवार, नाता गोता, इस्ट मित्र सबैलाई खुवाउने चलन पनि छ।
बौद्ध मार्गी नेवार समुदायले आफ्नो क्षेत्रमा रहेका विभिन्न विहार, बही, चोक सहित घरमा पनि दानशाला बनाउने र त्यहाँ बाट अन्न, फलफूल, गेडागुडी र दक्षिणा आदि दान दिने गर्छन्। बुद्ध धर्मका अनुयायी मध्ये बज्राचार्य, बुद्धाचार्य, शाक्यहरू अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन्।
शाक्य मुनी बुद्धको बोधि ज्ञान प्राप्तिपछि विभिन्न मार्गको रूपमा बुद्ध धर्म विकसित भयो। काठमाडौँ उपत्यकाका नेवारहरूमा ती विकसित मार्गहरू (श्रावक यान, महायान र बज्र यान) मध्ये बज्र यान बुद्ध धर्मको प्रभाव छ।
यसरी बज्र यानि परम्परा अनुसार उनीहरूले विभिन्न संस्कृतिहरू विकास गरेका छन्। जुन परम्परा अनुसार विभिन्न चर्या विकास अनि प्रयोग गरी यही जन्ममा नै बुद्ध हुन सकिने सिद्धान्त अपनाएको देखिन्छ।
ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाका नेवार बौद्धहरूले प्राचीन कालदेखि नै दानको अभ्यासलाई निकै महत्त्वपूर्ण स्थान दिँदै आएका छन्। जस अनुरूप विभिन्न तरिकाले दान दिने अभ्यास पनि गर्दै आएका छन्।
यसरी दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकास गरिएको पर्व नै पञ्चदान पर्व मान्न सकिन्छ। यस समुदायको साथै बौद्ध धर्ममा पनि यो पर्व बुद्ध बोधिसत्त्वको पूजा गर्ने पर्वको रूपमा परिचित रहेको छ।
भिक्षादान अनि दान ग्रहणको परम्पराले दान दिने र लिने, दुवै पक्षको धार्मिक तथा आध्यात्मिक प्रगति र मोक्ष प्राप्त हुने विश्वास छ। मानव जीवनलाई सार्थक बनाउन अरूलाई सहयोग गर्नु पनि हो र यसरी दान गर्दा अलौकिक सुख: प्राप्त हुने भएकाले दान गर्नु, सहयोग गर्नु अनुसरणीय नै हो। जुनै पनि समुदायको पर्व अनुसरण गरेर गक्ष अनुसार सक्दो दान गर्नु राम्रो मानिन्छ । दानले सबैलाई मद्दत र सहयोग पुग्दछ।
पञ्चदान पर्वको अवसरमा शील, शान्ति, प्रज्ञा, मैत्री-भावना, विश्वबन्धुत्व भावनालाई समेत साझा संस्कृतिका रूपमा विकास गर्दै नेपालको मौलिक र साझा संस्कृतिका रूपमा रहेका हरेक समुदाय अनि सम्पदाको अध्ययन, अन्वेषण र संरक्षण गर्नु हामी सबै नेपालीको साझा दायित्व र कर्तव्य हो। दुःखित मनमा मानवताको मलम लगाउने कार्य अर्थात् दान सबैले गर्नुपर्छ। पञ्चदान पर्व सबैले आ-आफ्नो ठाउँबाट मनाउने परम्पराको विकास गर्दै सबैको संस्कृति, पर्व इत्यादि को संवर्द्धन गरौँ।
मानव जीवनलाई गतिशील बनाई समाज उत्थानको उद्देश्य बमोजिम कृषकले आफ्नो कृषि उत्पादन समस्त मानव हितको लागि दान गर्नु सर्वहित धर्म हो। यहीँ धर्म संस्कृति नेपालीको माैलिक पहिचान विश्वसामु परिचित छ। यसर्थ सांस्कृतिक गतिविधिलाई निरन्तरताको लागि कृषि कर्म र उत्पादन युगाैंयुग टिकाउनु आवश्यक छ।
प्रकाशित: ५ भाद्र २०८२ ०९:०३ बिहीबार

