विश्वको ध्यान पाकिस्तानको इस्लामावादस्थित प्रसिद्ध सेरेना होटलको मुटुमा केन्द्रित थियो। एउटै होटल, एउटै छत तर दुईवटा यस्ता ध्रुव जसको मिलनले २१औँ शताब्दीको भूगोल र भविष्य बदल्न सक्थ्यो । सन् १९७९ को इस्लामिक क्रान्ति र तेहरानस्थित अमेरिकी दूतावासको बन्धक प्रकरणपछि पूर्ण रूपमा टुटेको अमेरिका–इरान कूटनीतिक सम्बन्ध ४७ वर्षपछि फेरि एकपटक वार्ताको टेबुलमा फर्किएको थियो। ४७ वर्षको जमेको बरफ पग्लिन सुरु भयो तर यो बाटो निकै खतरनाक र अनिश्चित थियो। शान्तिको आशा तब मात्र जीवित रहन्छ, जब हतियारको गर्जनभन्दा वार्ताकारको विवेक बलियो हुन्छ । तर इतिहासले फेरि एकपटक प्रमाणित गरिदियो– विवेकभन्दा स्वार्थ, शक्तिको उन्माद र हतियारको व्यापार सधैं भारी हुन्छ।
वार्ता विफलताको घोषणा
२०२६ अप्रिल ११, शनिबार। अपराह्न ४ बजेपछि दुवै टोलीबिच प्रारम्भिक संवाद सुरु भयो । साँझ साढे ५ बजेदेखि दुवै पक्ष आमने–सामने वार्तामा जुटे। यो वार्ता मध्यरातसम्म मात्र होइन, भोलिपल्ट बिहानसम्म चल्यो। अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी पक्षको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका थिए। २१ घण्टाको सघन संवाद, कयौं कप कफी र अनगिन्ती प्रस्तावहरूको आदानप्रदानपछि अन्ततः परिणाम शून्य निस्कियो। अप्रिल १२ को बिहान ४ः३५ बजेसम्म वार्तामा केही आशाका मधुर किरण बाँकी थिए तर ४ः५० सम्म आइपुग्दा वार्ता पूर्ण रूपमा असफल भएको कठोर निष्कर्षमा पुग्यो। ६ः५५ मा आयोजित खचाखच पत्रकार सम्मेलनमा उपराष्ट्रपति भान्सले कुनै सम्झौता हुन नसकेको र अमेरिका आफ्नो ‘अन्तिम सर्त’बाट पछि नहट्ने औपचारिक घोषणा गरे। आखिर युद्धले जित्यो, शान्तिले हार्यो। वार्ता टुट्नुसँगै अप्रिल ७ देखि लागु भएको दुई हप्ताको अस्थायी युद्धविराम खतरामा पर्यो र विश्व फेरि एकपटक अनियन्त्रित युद्धको जोखिममा धकेलियो।
विश्वासको संकट र मनोवैज्ञानिक युद्ध
दशकौंदेखिको अविश्वास एकै वार्ताले हल हुन सक्दैनथ्यो। कूटनीतिक पहलका ट्य्राक १, २ र ३ बाट प्रयास भए पनि वाकयुद्ध मिडियाबाट चलिरह्यो। विश्वासको संकट अहिले चरमोत्कर्षमा पुगेको छ। वार्ताकारहरू हात मिलाएर होइन, आआफ्नो सर्तमा अडिग रहेर फर्किए। अहिले युद्ध केवल मैदानमा मात्र होइन, मिडियामा पनि घमासान लडिँदै छ। ९ अप्रिलमा वासिङ्टन पोस्टमा मार्क थिसनको लेख सार्वजनिक भयो, जसमा वार्ताकारकै हत्या गर्नेजस्ता शब्दहरू थिए। यसलाई इरानी प्रवक्ता इस्माइल बघईले स्टेट टेररिज्मको संज्ञा दिए। यसले वार्ताकारको सुरक्षा मात्र होइन, कूटनीतिक मर्यादा र वार्ताको संवेदनशीलतामै प्रश्न उठे।
फेरिएको भाष्य र शक्ति समीकरण
यो युद्धले दोस्रो विश्वयुद्धपछि बनेको शक्ति सन्तुलनमा उथलपुथल ल्याइदिएर राजनीतिको ब्याकरण नै फेरिदियो। बर्लिन पर्खाल ढलेपछि बनेको एकध्रुवीय संसार अब बहुध्रुवीय शक्ति सन्तुलनतर्फ तीव्र गतिले बढिरहेको छ।
अणुबमको विकिरण त एउटा सीमित थलोमा हुन्थ्यो तर हर्मुज जलडमरु अहिले इरानलाई अणुबमभन्दा ठुलो हतियार बन्यो। तेल संकटले सबै राजनीतिक सीमालाई छिचोल्यो।
युद्धका रूप फेरिन्छन्, मोर्चा फेरिन्छन्, मिसाइलको ठाउँ टेबल वार्ताले लिन्छ तर युद्धको अन्त कूटनीतिक प्रयासले मात्र सम्भव हुन्छ। ४० दिने युद्धबाट पलाएको शान्तिको आशा इस्लामाबादमा आएर निभ्नुका संकेतहरू पहिले नै देखिइसकेका थिए। वार्तामा बस्नुअघि नै कसको पल्ला भारी हुन्छ भन्ने कुराले लेनदेन तय गथ्र्यो। युद्धविराम त केवल अर्को ठुलो युद्धको थालनीको ‘विश्राम’ मात्र बनेको देखियो। यो विवादमा कोही तटस्थ बस्नै सक्दैन।
इतिहासको चस्माबाट वर्तमानको लेखाजोखा
मानव सभ्यताको इतिहास शान्तिको कथाभन्दा बढी युद्धको दस्ताबेजजस्तो देखिन्छ। इतिहासकार विल ड्युरान्टका अनुसार लिखित इतिहासको ३४ सय वर्षमा केवल २६८ वर्ष मात्र शान्तिपूर्ण रहे। यसको अर्थ मानव जातिले आफ्नो अस्तित्वको ९२ प्रतिशत समय कतै न कतै रगत बगाएरै बितायो। अमेरिकाको झन्डै २५० वर्षको इतिहासमा केवल २० देखि २२ वर्ष मात्र यस्ता छन्, जसमा अमेरिका कुनै पनि सानो वा ठुलो युद्धमा प्रत्यक्ष संलग्न थिएन । यसको अर्थ अमेरिका आफ्नो अस्तित्वको ९० प्रतिशतभन्दा बढी समय युद्धमै रहेको देखिन्छ।
२०२६ को यो संगिन मोडमा आइपुग्दा इरानमाथिको इजरायल र अमेरिकाको युद्धले पुराना सबै कूटनीतिक भाष्यहरू ध्वस्त पारिदिएको छ। युद्धको यो नयाँ रूपले केवल भूगोल मात्र होइन, मानव चेतना र शक्ति सन्तुलनको परिभाषा नै फेरिदियो।
१. बौद्धिकता र अमानवीयताको महाद्वन्द्व: यो वार्ता सफल हुन नदिन केही शक्तिहरू निकै सक्रिय रहे। युद्ध जारी रहँदा अर्बौं डलरको हतियार व्यापार फस्टायो सेयरमार्केटमा उथलपुथल भयो। शान्ति स्थापना भएमा आफ्नो बजार खुम्चिने डरले उनीहरू पर्दा पछाडिबाट वार्ता बिथोल्न सक्रिय रहे। अमेरिका र इजरायलभित्रको यहुदी कट्टरपन्थी लबिइङले इरानसँगको कुनै पनि सम्झौतालाई आफ्नो अस्तित्वको खतरा मान्छ। उनीहरू ट्रम्प प्रशासनलाई इरानमाथि आक्रमण गर्न र वार्ता असफल बनाउन दबाब दिइरहे। अमेरिकी प्रोफेसर मुक्तेदर खान भन्छन्– ‘वार्ताको साँचो इस्लामावादमा भन्दा बढी इजरायली प्रधानमन्त्री नेतान्याहुको हातमा छ। ‘मानव इतिहासमा यहुदी जाति एउटा यस्तो विम्ब हो, जसले एकातिर विश्वलाई अतुलनीय बौद्धिक उचाइ दियो भने अर्कातिर अमानवीयताको निकृष्टतम पीडा भोग्यो। कुल जनसंख्याको ०.२ प्रतिशत मात्र भएर पनि नोबेल पुरस्कारको इतिहासमा २२ प्रतिशत हिस्सा ओगट्नु यो जातिको सिर्जनात्मक दिमागको प्रमाण हो।आइन्स्टाइनदेखि आधुनिक दर्शनका प्रवर्धकसम्मको यो विरासत आफैंमा अद्वितीय छ तर जब ज्ञान र बुद्धिलाई नैतिकताबाट अलग गरिन्छ, तब ‘बौद्धिकता’ विनाशको हतियार बन्छ। सेक्सपियरको पात्र ‘साइलक’ले जस्तै जब समाजले केवल धन र शक्तिको हिसाब खोज्न थाल्छ, तब घृणाका भाइरसहरू जन्मन्छन्। हिजो हिटलरको नाजीवादले लाखौं यहुदीहरूलाई ग्यास च्याम्बरमा सुताउँदा संसार स्तब्ध भएको थियो। आज विडम्बना कस्तो छ भने त्यही ‘होलोकस्ट’को पीडा भोगेको जातिको राजनीतिक नेतृत्वले गाजा, लेबनान र इरानमा अर्को होलोकस्टको झल्को दिने गरी बमबारी गरिरहेको छ। के पीडाले मानिसलाई संवेदनशील बनाउनुको साटो झन् प्रतिशोधी बनाउँछ? के ‘आफूले भोगेको अन्याय’ नै अरूमाथि ‘अन्याय गर्ने लाइसेन्स’ बन्न सक्छ? यी प्रश्नहरूले आजको विश्व–चेतनालाई गिज्याइरहेका छन्।
वर्तमान युद्धको औचित्य पुष्टि गर्न इजरायली सत्ताले ‘यहुदी पहिचान’ र ‘होलोकस्ट’को दुहाइ दिइरहँदा, विश्वका दिग्गज यहुदी चिन्तकहरू नै यसको विरुद्धमा ढाल बनेर उभिएका छन्। आधुनिक भाषाविज्ञानका पिता नोम चोम्स्की, अमेरिकी सिनेटर बर्नी स्यान्डर्स, दार्शनिक जुडिथ बटलर र ओस्कार विजेता जोनाथन ग्ल्याजरको स्वर एउटै छ– ‘हाम्रो पहिचानलाई नरसंहारको औचित्य पुष्टि गर्न प्रयोग नगर।’
ड्यानी लेभी र अब्राहम बर्गजस्ता इजरायली व्यक्तित्वहरूले चेतावनी दिएका छन् कि वर्तमान सैन्य मार्गले इजरायलको नैतिक धरातल नै ध्वस्त पारिरहेको छ। जब आफ्नै समुदायभित्रबाट यस्ता आवाजहरू उठ्छन्, तब सत्ताको नैतिक वैधता समाप्त हुन्छ।
संसारका सबै धर्मले शान्ति र सुखको वकालत गर्छन् तर त्यहींभित्र ‘राक्षस’, ‘सैतान’ वा ‘विधर्मी’को अवधारणा पनि बुनिएको हुन्छ। धर्मले शान्ति सिकाउँछ तर धर्म रक्षाको नाममा हतियार उठाउनुलाई ‘पुण्य’को दर्जा दिन्छ। यही विरोधाभास नै आजको युद्धको एउटा ठुलो कारक हो। जब राजनीतिक स्वार्थलाई धर्मको जलप लगाइन्छ, तब हिंसा ‘पवित्र’ बन्न पुग्छ र मानवताको हार हुन्छ।
शक्तिको चञ्चलता र नयाँ विश्व व्यवस्था
इतिहासमा शक्ति कहिल्यै एकै ठाउँमा स्थिर रहेन। १७औं शताब्दीसम्म भारत र चीन विश्व अर्थतन्त्रका केन्द्र थिए, पछि शक्ति युरोप पुग्यो र दोस्रो विश्वयुद्धपछि अमेरिका एकल विश्व शक्ति बन्यो तर आज २०२६ को यो बिन्दुमा अमेरिकी अधिपत्य ढल्न लागेको संकेतहरू देखिएका छन् । हर्मुज जलसन्धिमा इरानको अवरोध हटाउन अमेरिकाले गरेको आह्वानलाई उसका परम्परागत सहयोगीहरू (बेलायत, फ्रान्स, जर्मनी) ले अस्वीकार गर्नुले अमेरिकी शताब्दीको अन्त्यको संकेत गर्छ। ४० दिनको युद्ध र त्यसपछिको असफल इस्लामावाद वार्ताले के देखायो भने अब विश्व ‘बहुध्रुवीय’ दिशामा मोडिएको छ। शक्ति फेरि पश्चिमबाट पूर्वतिर अर्थात् एसियातर्फ फर्किंदै छ।
झन्डै आधा शताब्दी लामो शत्रुतापछि भएको यो प्रत्यक्ष वार्ताले विश्वलाई दुईवटा स्पष्ट सन्देश दिएको छ– कूटनीतिको विजयको प्रयास । जस्तोसुकै भीषण युद्ध र वैचारिक खाडल भए पनि अन्ततः समाधानका लागि वार्ता नै अन्तिम विकल्प हो।
हेनरी किसिन्जरले एकपटक भनेका थिए– ‘अमेरिकासँग शत्रुता मोल्नु खतरनाक हुन्छ। किनभने अमेरिकाको सैन्य र आर्थिक शक्ति निकै ठुलो छ तर ‘मित्र’ हुनु झन् घातक हुन सक्छ, किनभने अमेरिकाले आफ्नो राष्ट्रिय स्वार्थ पूरा भएपछि आफ्ना मित्र शक्ति वा व्यक्तिहरूलाई एक्लै छोडिदिने इतिहास छ।’
प्रकाशित: ३० चैत्र २०८२ १०:२५ सोमबार

