१३ पुस २०८२ आइतबार
image/svg+xml
विचार

दास र मालिकको द्वन्द्व

दासप्रथा कुनै न कुनै रूपमा जीवितै रहन्छ। दार्शनिकहरू भन्छन्, एउटै मानिस दास र मालिक भइरहन्छ। वास्तवमा त्यो दिग्भ्रम मात्रै हो। उदाहरणका लागि नेपालमा दरिद्र परिवारमा धेरैले ढिँडो खानुपर्ने बाध्यताले उनीहरूले भात खान पुग्ने परिवारलाई उच्च मान्थे। भात खान पाउने परिवारलाई ‘भुजा ज्युनार’ गर्नेहरू दास मान्थे। मैले ‘ढिँडो, भात र भुजा’ शीर्षकको  लेखमा यो उल्लेख गरेको छु।

थेसिस, एन्टी थेसिस र सिन्थेसिस भन्ने हेगलको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त जस्तै ढिँडो, भात र भुजाको घातप्रतिघात नेपाली राजनीतिको नियमित आकस्मिकता बनेको छ। यसले एउटै मानिस वा समूहलाई दास र मालिक बनाएको छ। राजनीतिक अस्थिरता, असुरक्षाभाव र अनिश्चित भविष्यको त्रास पैदा गरिरहेको छ, यसले।

मालिक बनाउने दासहरू नै हुन् तर मालिक आजीवन मालिक भइरहने प्रलोभन वा तृष्णाको दास बन्छ। मालिक छान्ने दासहरू मालिकले आफूलाई न्यूनतम स्वतन्त्रता र नागरिक हकबाट ठगिरहेको ठान्छन्। आक्रोशित भएर मालिक फेर्छन्। झन् डरलाग्दो तानाशाह उदाउँछ र दासहरूमाथि दुर्दान्त र दुर्दमनीय दासता लाद्न थाल्छ।

अफ्रिकाका चवन्न राष्ट्रमध्ये सबैजसो उपनिवेश र साम्राज्यवादका शिकार भए। मालिक हुने अदम्य इच्छाले स्वतन्त्रता संग्राम चल्यो। उनीहरूलाई स्वतन्त्र भनियो तर धेरै राष्ट्रमा साम्राज्यवादका प्रतिनिधि नै मालिक भएर जनतालाई जुधाउने काम गरे।

भारत स्वतन्त्र भएको केही घण्टामा राष्ट्र टुक्रिएर पाकिस्तान बन्यो। लन्डनमा कानुन पढेर फर्केका जवाहरलाल नेहरू, अलि जिन्ना र मोहनदास करमचन्द गान्धीलाई यो कुरा लन्डनमै थाहा थियो। गान्धीले विभाजन रोक्न सक्थे तर रोकेनन् भनेका छन्, सुवासचन्द्र बोस (बसु) ले।

सन् १९४७ पहिले ब्रिटिस राजमा मन्त्री बनेका भीमराव अम्बेडकरलाई संविधान लेख्न लगाइएको थियो। उनी पनि लन्डनमा कानुन पढेका शिक्षित भएको हुँदा भारतीय दासहरूलाई मिठा शब्दहरूले मोहित गर्न निपूण थिए। ब्रिटेनका मालिकले जसलाई स्वतन्त्रताको रक्षा गर्ने अभिभारा दिए, ती भारतका दरिद्रहरूबाट टाढा र ब्रिटेनका शक्तिशाली व्यक्तिका निकट भएको भारतीय लेखकहरूले नै लेखेका छन्।

जात, धर्म, भाषा, क्षेत्र आदि समेटियो भन्दै संविधानसभामा पुगेकाहरूमध्ये दार्जिलिङका अरिबहादुर गुरुङ पनि थिए। ब्रिटेनमा ब्यारिष्टर उपाधि पाएका गुरुङ जस्ता धेरै किनाराका साक्षी भए।

मालिक र दास बनाउने क्रममा धेरैलाई कागती निचोरेर रस निकाले झैं प्रयोग गरिन्छ। २०४६ सालपछि धेरैलाई नेपाली राजनीतिक मन्चमा ल्याएर अभिनय गराइयो। महाकाली सन्धि पारित गराउने क्रममा नेपाली कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका धेरैजसो सांसद र नेतागण ऐक्यबद्ध भए। त्यसबापत पालैपालो सत्तारूढ हुने अवसर पाए।

महाकाली सन्धि पारित भएको खण्डमा नेपालले हरेक साल अर्बौं रूपैयाँको लाभ पाउँछ भने एमालेका एक नेताले। कति फाइदा भयो -जगजाहेर छ।

राजा वीरेन्द्रको धारणा फरक थियो। संवैधानिक राजतन्त्रले प्रधानमन्त्री र संसद्लाई विश्वास गर्नुपर्ने परिपाटी छ। श्री ५ को सरकार भन्नाले ऊबेला राजा, संसद् र सरकार (क्याबिनेट) बुझिन्थ्यो। तसर्थ, सरकारले गर्ने निर्णयमा राजाले पुनर्विचार गर्नुपर्छ भन्नुबाहेक हस्तक्षेप गर्न संविधानले अनुमति दिँदैनथ्यो।

यस्तो अवस्थामा राजा वीरेन्द्रले आफूबाट मनोनीत सांसदहरूलाई तटस्थ बस्न निर्देशन बक्स्यो। शारदा पोखरेल र रवीन्द्र चक्रवर्तीहरू तटस्ठ बसे। मेरा एक मित्र मनोनीत सांसद थिए। उनले मसँग भनेको सम्झना छ-विदेशी पैसा खानेमा राजाबाट मनोनीत सांसदहरू पनि थिए। कुनै दिन संसद्मा विदेशीले आफ्ना मानिसको बहुमत बनाए भने सिक्किम झैं नेपाल विलय हुन सक्छ।

मालिक र दास दुब्लो द्रव्यका दास भएको खण्डमा स्वतन्त्र राष्ट्र लास बन्छ। मेडिकल साइन्सले भन्छ - मानिस अकस्मात मरेको देखिन्छ तर उसका अंगहरू पहिले नै मरिसकेको हुँदा सास रोकिएको अवस्थामा मात्रै मृत्युको घोषणा गरिन्छ।

हाम्रो पनि आत्मसम्मान, स्वाभिमान, देशप्रेम, एकता, इतिहासचेत र दायित्वबोधको मृत्यु भइसकेको छ। जागिर बचाउने कि राष्ट्र भनेर लाखौंलाख राजस्वजीविलाई खुसुक्क सोध्दा उनीहरूमध्ये धेरैले भन्ने छन्, पहिले आफू र परिवार बचाउने हो। जुन दर्जाको फुली लाए पनि ऊ दास बनेर ज्युँदो लास झैं घर र अफिस गरिरहन्छ।

राजा नरोदम सिंहानुकलाई उनका विश्वासपात्र प्रधान सेनापति लोन नोलले धोका दिएको राजाको आत्मकथा ‘माई वार, विथ् द सिआइए’ मा सविस्तार उल्लेख छ। जसले इतिहासका हरेक घटनाक्रम देखेका र भोगेका छन्, उनले सत्य लेखी दिने हो भने भावी पुस्तालाई उपहार हुनेछ।

नारायणहिटी राजदरबार त्यागेर साधारण जीवन बिताउन अभ्यस्त राजा ज्ञानेन्द्रलाई पछिल्लो कालखण्डमा भएको राजनीतिक आरोहअवरोहको राम्रोसँग जानकारी छ। मैले एकपटक विनम्र अनुरोध गरें, ‘आत्मकथा लेखिबक्से हुन्थ्यो।’

मधुर मुस्कान देखेँ, उहाँको मुहारमा। मलाई लाग्यो, त्यो छिटोभन्दा छिटो घरघरमा पुग्नेछ।

मालिक र  दास दुबै स्थायी होइनन्। तराईका कतिपय गाउँमा जमिनदार परिवारका सदस्य मजदुर भएको पाइन्छ। पहाडमा पेटभरि खान नपाएर तराई झरेका धेरै दरिद्रले तराईका आदिवासीको जमिन कब्जा गरेर नवधनाढ्य भए।

ऋग्वेद र महाभारत जस्ता ग्रन्थमा पुरु वंशका शासकको चर्चा पाइन्छ। अलेक्जेन्डरले हमला गर्दा बहादुरीसाथ युद्ध गरे, राजा पोरसले। भीषण युद्धमा अन्ततः पोरस पराजित भए। झेलम नदी तरेर हजारौं सैनिक, वैद्य, लेखक र सुरक्षा सल्लाहकारहरूसहित आएका अलेक्जेन्डर दिग्विजय यात्रामा थिए। उनको शक्ति कल्पनातीत थियो।

युद्धबन्दी बनाइएका राजा पोरसलाई अलेक्जेन्डरले सोधे, ‘महाराज, हजुरको व्यक्तित्व, साहस, युद्धकला, देशप्रेम र क्षमताको म कदर गर्छु। युद्धमा पराजित हुनु भए पनि राजा पोरस राजा नै हो। मबाट कस्तो व्यवहारको अपेक्षा गर्नुभएको छ, प्रष्ट भन्नुहोस्।’

पोरसले राजोचित शैलीमा भने, ‘एउटा शक्तिशाली राजाले अर्को शक्तिशाली राजालाई कस्तो सम्मान, व्यवहार तथा संस्कार देखाउनुपर्छ, त्यो मैले भनिरहन नपर्ला।’

नेपाली राजनीतिका कतिपय खेलाडीले गणतन्त्र घोषणापछि मालिक भएको ठानेर राजाप्रति दुराग्रह, दुर्व्यवहार, दुष्ट वचन र असभ्य भाषामा गरेको टिप्पणी हेर्दा सुन्दा राजा पोरस र अलेक्जेन्डरको प्रसंग याद आउँछ।

धेरैलाई लाग्दो हो, किन यति अभद्र भएको होला! उत्तर स्पष्ट छ - असभ्य र संस्कारहीन मानिसबाट सभ्य व्यवहारको अपेक्षा गर्न सकिँदैन।

दासहरूले हरेक चुनावमा निष्पक्ष सर्वसाधारणलाई समेत झुक्याएर मालिक बदल्न सक्छन् तर मालिकले गर्ने व्यवहार बदलिँदैन। आफन्त, छिमेकी, प्रियजन, आफ्नो दल र गुटको नाइके मात्रै असल देख्ने मतदाताले परिवर्तन खोज्ने गर्छन् तर सडेगलेकै नायक रोज्छन्। मालिक र दासको द्वन्द्वका कारणले नेपाली राजनीति प्रदूषित बनेको छ तर धेरैले आफ्नो कमजोरी सुधार्न चाहेको देखिँदैन।

अरु धेरै राष्ट्र विकास, शान्ति, स्वतन्त्रता र सभ्यताको दृष्टिले धेरै अग्रणी छन्। हामी २००७ सालपछि पनि आजका दिनसम्म स्वच्छ राजनीति र डेमोक्रेसी खोजिरहेका छौं। यो विडम्बना नभए के हो त?

नर्वेको डेमोक्रेसी त्यहाँका जनता जस्तो भएको हुँदा राष्ट्रसंघले हरेक दृष्टिबाट त्यो राष्ट्र सुखी, सुरक्षित, समृद्ध र शान्त भएको ठहर गरेको छ। स्क्यानडेभियन राष्ट्र धेरै विकसित छन्। त्यहाँ मालिक र दास छैनन्। सबै बराबर छन्। नेपालमा कमरेड (साथी) भनेर नक्कली साइनो देखाए पनि अर्बपति कमरेडले लँगौटिया कमरेडलाई ‘इस्तेमाल’ मात्रै गरिरहेका छन्। अरु दलमा पनि हुनेखाने (ह्याभ) र हुँदाखाने (ह्याभ नट्) बिच ठूलो अन्तर छ।

साम्यवाद, समाजवाद, देशभक्ति मात्र होइन, राष्ट्रवादको खोलमा असली अनुहार लुकाएर ठग्ने धेरै छन्। सबैलाई मालिक हुनुपरेको छ। जनतालाई दास ठानिएको छ। संविधानमा सार्वभौमसत्ताको मालिक जनता नै हुन् भनेर ढाँटिएको छ।

जनता मालिक हुन् भने संसद् र सरकारमा पुग्नेहरू विदेशीलाई साक्षी मानेर किन शपथग्रहण गर्न हतारिन्थे?

प्रकाशित: ८ भाद्र २०८२ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App