९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
विचार

भारतीय गैरजीवाश्म ऊर्जाका चुनौती

 भारतमा ऊर्जाको जडित क्षमता सन् २०२४ मे सम्ममा कुल चार लाख ४४ हजार सात सय  ७५ मेगावाट पुगेको छ। यो तथ्यांक जीवाश्म (कोइला, ग्यास, डिजल, परमाणु) र गैर–जीवाश्म (सौर्य, जलविद्युत्, वायु) दुवै हो। अर्थात्, सन् २०२४ मा जडित क्षमताको क्षेत्रगत हिस्सा, जीवाश्म अर्थात्, कोइलाको दुई लाख १० हजार मेगावाट (४७.४ प्रतिशत), प्राकृतिक ग्यासको २४ हजार आठ सय मेगावाट (५.६ प्रतिशत), डिजलको पाँच सय मेगावाट र गैरजीवाश्म अर्थात् ठूला जलविद्युत्को ४६ हजार नौ सय मेगावाट (१०.६ प्रतिशत), वायुको ४६ हजार चार सय मेगावाट (१०.४), सौर्यको ८४ हजार दुई सय मेगावाट (१८.९ प्रतिशत) र साना जलविद्युत् आयोजनाको पाँच हजार मेगावाट (१.१ प्रतिशत) र परमाणु ऊर्जा (न्युक्लियर पावर) को आठ हजार दुई सय मेगावाट (१.८ प्रतिशत) रहेको छ।

जलविद्युत्

कुल एक लाख ४८ हजार सात सय मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको भारत, जलविद्युत्का दृष्टिकोणवाट विश्वको सातौंं अग्रणी मुलुक हो। कुल सम्भावनामध्ये ८४ हजार मेगावाट प्राविधिक तथा आर्थिक रूपमा उपयुक्त ठम्याइएकोमा सन् २०२४ मे महिनासम्ममा जडित क्षमता ४६ हजार आठ सय ५० पुगेको छ। जुन कुल जलविद्युत् सम्भावनाको ३१.५ प्रतिशत हो। भारतको उत्तराखण्ड, जम्मु कस्मिर र हिमाञ्चल प्रदेशहरूमा अनेकौं संख्यामा बाह्रैमहिना पानी बहने नदी छन्।

सन् २०२४ सम्ममा जलविद्युत्को कुल जडित क्षमता ठूला जलविद्युत् आयोजनाहरूबाट ४६ हजार नौ सय २८ मेगावाट र साना आयोजनाबाट पाँच हजार ६ मेगावाट गरी कुल ५२ हजार पाँच सय २८ मेगावाट पुगेको छ। जुन जलविद्युत्को कुल सम्भावनाको ३५.५२ प्रतिशत र कुल जडित ऊर्जाको ११.८८ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत हिस्सा जलविद्युत् क्षेत्रमा लगानी गरिहेको भारतमा वार्षिक विद्युत् उत्पादन वृद्धिदर २५ सय मेगावाट रहेको छ।

सौर्य ऊर्जा

वर्षभरिमा औषत तीन सय दिन घाम लाग्ने भारत सौर्य ऊर्जाको उच्च सम्भावना भएको मुलुक होे। सम्भावनाको उच्चतम उपयोग गर्ने नीति अनुरूप सन् २०१० देखि सौर्य ऊर्जा विस्तार अभियानलाई भारतले विशेष प्राथमिकतासाथ अगाडि बढाइरहेको हो।

सौर्य ऊर्जा उत्पादनमा भारतले पछिल्लो समयमा गरेको तरक्कीको हकमा, सन् २०१४ मा सौर्य ऊर्जाको जडित क्षमता दुई हजार ६ सय ३० मेगावाट रहेकोमा सन् २०२४ मा ८४ हजार दुई सय ७७ मेगावाट पुगेको हो। जहाँ सन् २०२४ मा कुल ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको हिस्सा १८.९ प्रतिशत रहेको छ। यसका अलवा, हाल  ३६ हजार ६ सय ५० मेगावाट बराबरका सौर्य ऊर्जा आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् भने २४ हजार पाँच सय ६० मेगावाट बराबरका सौय ऊर्जा आयोजनाहरू ठेक्का प्रक्रिया पूरा भई निर्माणको प्रारम्भिक चरणमा छन्। जहाँ भारतले सन् २०३० सम्ममा ऊर्जाको जडित क्षमता चार लाख मेगावाट सौर्य ऊर्जासहित आठ लाख मेगावाट पुर्‍याउने लक्ष्य अगाडि सारेको हो।

गुजरात राज्यमा अडानी गु्रपले सात सय २६ वर्र्ग किलोमिटर क्षेत्रफलमा ३२ हजार मेगावाट बराबरको खावडा इनर्जी पार्क निर्माण गरिहेको छ। विश्वकै सबैभन्दा ठूलो मानिएको उक्त इनर्जी पार्क विश्वकै गेम चेन्जर सौर्य ऊर्जा आयोजना बन्ने ठानिएको छ।

भारतमा करिब २४ करोड घरधुरी रहेकोमा करिब एक करोड घरधुरीबाट दुई हजार मेगावाट विद्युत् उत्पादन भएको छ। जहाँ सबै घरधुरीमा प्लान्ट स्थापना गरिए आगामी समयमा ६ सय ३७ गिगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने अनुमान छ।

त्यस्तै सन् २०३० सम्ममा दुई सय ८० गिगावाट सौर्य ऊर्जासहित पाँच सय गिगावाट विद्युत् नवीकरणय स्रोतबाट उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। स्मरण रहोस्, सौर्य ऊर्जा उत्पादनमा भएको वृद्धिका कारण एक करोड ३२ लाख टन तेल खपतमा कटौती हुनुका साथै ६ करोड १३ लाख टन कार्वनडाइअक्साइड उत्सर्जन घटेको हो। महत्त्वपूर्ण कुराचाहिँ भारतमा एक मेगावाट बराबरको सौर्य प्लान्ट औसत पाँच करोड भारतीय रूपैयाँमै निर्माण सम्पन्न हुने गरेको छ।

सौर्य प्लान्ट दुई वर्षमा जडान गर्ने गरिएको छ। कुल ऊर्जामा सौर्य ऊर्जाको हिस्सा तीन प्रतिशत रहेको भारतले सौर्य ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ। त्यस्तै सौर्य ऊर्जाको महसुल दर सन् २०१३/१४ मा प्रतियुनिट ६.४७ भारतीय रूपैयाँ रहेकोमा सन् २०२३/२४ मा १.९९ रूपैयाँमा ओर्लिएको हो। सौर्य ऊर्जा उत्पादन गर्न आवश्यक पर्ने उपकरणहरूको मूल्यमा आएको गिरावटका कारण महसुल दरमा ह्रास आएको हो।

परमाणु ऊर्जा

भारत परमाणुलाई ऊर्जा मिश्रणको घटकका रूपमा स्वीकार गर्दै परमाणु ऊर्जा प्रवद्र्धन गरिरहेको मुलुक हो। सन् २०२४ सम्ममा चार सय ४० मेगावाटको काक्रापा परमाणु ऊर्जा, दुई हजार मेगावाटको कुडमकुलम परमाणु ऊर्जासहित २४ वटा आणविक भट्टीहरूको कुल जडित क्षमता आठ हजार एक सय ८० मेगावाट पुगेको छ।

यो हिस्सा कुल जडित ऊर्जाको १.८ प्रतिशत हो। त्यस्तै सन् २०३०/३१ भित्र परमाणुमा आधारित सात हजार मेगावाट ऊर्जा उत्पादन गर्ने उद्देश्यसहित थप १० वटा आणविक भट्टीहरू निर्माणका लागि प्रशासनिक तथा आर्थिक स्वीकृति उपलब्ध गराइएको छ। ती आयोजनाहरू निर्माण सम्पन्न भएमा आणविक ऊर्जा उत्पादनको जडित क्षमता २२ हजार चार सय ८० मेगावाट पुग्ने अनुमान गरिएको छ।

परमाणु इन्धन आपूर्ति तथा आणविक भट्टी निर्माणमा रुसबाट सहयोग प्राप्त गरिरहेको भारतले अमेरिका, फ्रान्स र जापानसँग परमाणु ऊर्जा प्रविधि तथा विज्ञता आदानप्रदान सम्झौता गरिसकेको छ। हेक्कारहोस्, रुसले आणविक ऊर्जा उत्पादन गर्न आवश्यक पर्ने मेसनरी तथा उपकरणहरू अन्य मुलुकको तुलनामा औसत ३० प्रतिशत सुपथ मूल्यमा भारतलाई उपलब्ध गराइरहेको छ।

नेपालका लागि चुनौती

नेपालको विद्युत्को मूल खरिदकर्ता ठानिएको भारतको ध्यान पछिल्लो समयमा नवीकरणीय ऊर्जा उन्मुख छ। भारतले नवीकरणीय ऊर्जाको जडित क्षमता अहिले ५५ हजार मेगावाटभन्दा बढी पु¥याएको छ। त्यसैगरी सन् २०३० सम्ममा मागको ५० प्रतिशत विद्युत् नवीकरणीय ऊर्जाबाट आपूर्ति गर्ने लक्ष्य तय गरेको छ।

भारतमा सौर्य ऊर्जा उत्पादन गर्न सकिने भूमि यथेष्ट मात्रमा उपलब्ध हुनु र प्रतिमेगावाट औसत पाँच करोड भारतीय रूपैयाँमै सौर्य प्लान्ट स्थापना हुन सक्नु भारतका लागि सुखद पक्ष हो।

त्यस्तै भारतले सौर्य ऊर्जामा ठूलो मात्रामा लगानी गरेका कारण प्रतियुनिट २.५० भारतीय रूपैयाँमा ऊर्जा उत्पादन गर्न सक्ने भएको छ। हाल भारतमा परमाणु ऊर्जाको जडित क्षमता ६ हजार सात सय ८० मेगावाट पुगेको छ। सन् २०३१ सम्ममा यो आँकडा २२ हजार चार सय  ८० मेगावाट पुर्‍याउने लक्ष्य तय गरिएको छ।

सोअनुरूप १० वटा आणविक भट्टी निर्माणार्थ प्रशासनिक तथा आर्थिक स्वीकृति उपलब्ध गराइनु, भारतले यसअघि नै अमेरिका, फ्रान्स, रुस र जापानसँग परमाणु ऊर्जा प्रविधि तथा विज्ञता आदानप्रदान सम्बन्धी सम्झौता गरिसक्नुले ऊर्जा व्यवस्थापनमा ठूलो फड्को मार्न सघाउने पक्का भएको छ।

रुसले परमाणु इन्धन आपूर्तिसहित आणविक भट्टी स्थापना तथा सञ्चालन गर्न सहयोग गर्नुलाई भारत जलविद्युत् व्यापारको पथमा अघि बढिरहेको मुलुक बन्ने भएको छ। भारतले गैरजीवाश्म ऊर्जा उत्पादन गर्न चालेका यी कदम उसका लागि सुखद् पक्ष हुन् तर नेपालका लागि नवसिर्जित चुनौती भनेर बुझ्न सकिन्छ। सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जामा भारतले लगानी बढाइरहेको भए तापनि सौर्य ऊर्जाको लागि सूर्यको प्रचण्ड तापमान आवश्यक पर्ने हुँदा घाम नलागेको बखत वा रात्रीकालमा स्वभाविकैरूपमा विद्युत् उत्पादन हुन सक्दैन।

सौर्य ऊर्जा जल सञ्चय गरे झैं घामलाई सञ्चय गरी आवश्यकता अनुसार उत्पादन ऊर्जा उत्पादन गर्न सकिँदैन। त्यस्तै वायु ऊर्जाको लागि यथेष्ट मात्रामा हावा चल्नुपर्छ। वायु ऊर्जाका लागि जल सञ्चय गरेझैं वायुलाई सञ्चय गरी आवश्यकता अनुरूप उत्पादन घटबढ गर्न सकिँदैन। त्यस्तै एउटा आणविक भट्टी निर्माण गर्न ६ देखि सात वर्ष लाग्ने त छँदैछ त्योसँगै विकिरणको खतरा र कचडा व्यवस्थापन गर्न पनि उत्तिकै कठिनाइ हुन्छ। अर्थात्, स्वास्थ्य जोखिम (रेडिएसन) रहन्छ। भारतले परमाणु शक्तिबाट विद्युत् उत्पादन गरिरहेको भए पनि आत्मनिर्भर भइसकेको मुलुक होइन।

नेपालमा जलविद्युत् आयोजना निर्माणको क्रममा जग्गा अधिग्रहणको कठिनाइ, रुख कटानी अनुमतिमा अनेकन अड्चन रहेका छन्। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुने गरेको छ। पुनर्वास तथा पुनर्स्थापनाको समस्या अझै पेचिलो रहेको छ।

एउटा जलविद्युत् आयोजना निर्माण गर्न करिब ४ ० वटा निकायबाट अनुमति लिनुपर्ने कानुनी बाध्यता छ। बेलाबखत जलविद्युत् प्रवद्र्धकले प्राकृतिक विपद् झेल्नु परेको छ। सोही अड्चनका कारण विगतमा कुल ऊर्जा उत्पादनमा जलविद्युत्को हिस्सा २४ प्रतिशत रहेकोमा हाल १२ प्रतिशतमा ओर्लिएको छ। प्रस्तुत सन्दर्भमा यी स्रोतहरूको अपुग–पूर्ति गर्न भारतलाई नेपालको जलविद्युत् आवश्यक पर्र्ने हुँदा सो अनुरूप विद्युत् उत्पादन तथा निर्यात गर्ने तयारी गरिरहनु पर्दछ।

– बुढाथोकी ऊर्जासम्बन्धी विषयमा जिज्ञासु हुन्।  

प्रकाशित: २७ असार २०८२ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %