निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सुरुको राजनीतिक सक्रियता अहिले दलगत सक्रियतामा रूपान्तरण भएको छ। यो रूपान्तरण सँगै राजनीतिक वृत्तमा धेरै तरंग उत्पन्न भएका छन्। ‘मदनको नीति: विद्याको नेतृत्व’ लेखिएको ब्यानर सार्वजनिक भएको घटनाले ओली वृत्तको मन कति आहत भएको होला भन्ने कुरा बुझ्न निधार खुम्च्याइरहनु पर्दैन।
भण्डारीको राजनीतिक पुनरागमनलाई लिएर ठीक र बेठिकका तर्कवितर्कहरू चलिरहेका छन्। पक्ष र विपक्षमा मतहरू अभिव्यक्त हुँदैछन्। यो घटनाले एकै पटक धेरै वटा प्रश्नहरू उब्जिएका छन्। उपल्लो र सम्मानयुक्त राष्ट्रपति पदबाट निवृत्त भएर दलीय राजनीतिमा आउनुहुँदैन भन्ने मत एउटा छ भने दलीय राजनीतिमा आउन कानुनले रोक नलगाएको अवस्थामा यसलाई स्वाभाविक मान्नुपर्छ भन्ने अर्को मत पनि छ।
राजनीतिक वृत्तका अन्य गतिविधिमा पनि खासै नैतिकता प्रदर्शित हुन नसकेको अवस्थामा विद्यादेवीको यो कदम त्यस्तै एउटा थप घटना मात्र हो भन्ने मत पनि देखिएको छ। जुनसुकै तर्कका आधारमा भए पनि भण्डारीविरुद्ध प्रकट हुने मतले प्रत्यक्ष परोक्ष रूपमा केपी शर्मा ओलीको एमालेभित्रको वर्चस्वमा बल पुग्दै गएको छ भने त्यसैगरी भण्डारीका पक्षमा प्रकट हुने मतले ओलीका विरुद्ध दल पङ्तिभित्र मन्द रूपमा भइरहेको ध्रुवीकरणलाई बल पुग्दैछ।
पार्टीभित्र र गठबन्धन सरकारमा पनि ओलीको हैकमवादी शैलीबाट वाक्कदिक्क भएका अनि राजनीतिक रूपमा सक्रिय कुनै दलीय सक्रियता नभएका व्यक्तिहरूको समूह भण्डारीको पुनरागमनले असल राजनीतिक संस्कृति नबसाउने ठान्छ। केही भने भण्डारीको यो कदमले ओलीको तुजुकको पारो थोरै भए पनि तल झर्ने ठानेर न खुलेर समर्थन गरिरहेका छन् न त विरोध।
भण्डारीको यो दलीय सक्रियताले अहिले नै एमालेभित्र ओली विरुद्ध निर्णायक परिणाम ल्याउला जस्तो त लाग्दैन तर एमालेको आन्तरिक राजनीतिमा सुस्त गतिमा ध्रुवीकरण सिर्जना गर्दैजाने र ओलीका गतिविधिबाट विरक्तिएका पार्टीपङ्तिलाई थोरै भए पनि सुस्ताउने चौतारीको काम भने विद्याको व्यक्तित्वले दिनेछ। भण्डारीको पुनरागमनले बामपन्थी दलहरूबिच एकीकरण हुने संभावनालाई पनि कतिपय विश्लेषकबाट भण्डारीको पुनरागमनले बल पुग्ने टिप्पणी पनि भइरहेको छ। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताहरू विद्या भण्डारीको एमालेमा भएको पुनरागमनले एमालेमा फर्कन सहज हुने अनुमान लगाइरहेका छन्।
यसैबिच माधव नेपालउपर भ्रष्टाचार मुद्दा चलेको र त्यो मुद्दाबाट सफाइ पाएर निर्दोष नेताको रूपमा फर्कने टाढाको सम्भावना देखेका समाजवादीका केही नेता कार्यकर्तामा एमालेमा फर्कने हुटहुटी पनि देखिन्छ। एमाले वृत्तभन्दा बाहिरका राजनीतिक व्यक्तित्वहरूसँग भण्डारीबाट भइरहेका गोप्य र सार्वजनिक रूपमा गरिएका भेटघाटहरूले त्यस भाष्यलाई पुष्टि गरेको पनि देखिन्छ। उनको सन्तुलित व्यवहार, कार्यकुशलता र दूरदर्शिताले राम्रोसँग काम गर्नसकेको खण्डमा पनि एमालेको नेतृत्वमा स्थापित हुन उनले केही समय खर्चनै पर्नेछ। ओलीको एकाधिकार पार्टीको तल्लो पङ्तिसम्म विस्तार भइसकेको वर्तमान स्थितिमा त्यो काम गर्छु भनेर भन्न जति सजिलो छ गर्न निश्चय पनि त्यति सजिलो हुनेछैन।
भण्डारीले आफ्नो नेतृत्वदायी योजनालाई अगाडि सार्दा उनले त पाइलैपिच्छे ओलीका प्रताडना सहनुपर्ने हुन्छ नै उनको समर्थनमा देखिनेहरूले पनि अनेकन कारबाहीको नियति भोग्नुपर्नेछ। यस राजनीतिक यात्राले ओलीको अहंकारमा ठूलै चोट लाग्ने भएकाले उनका प्रतिक्रियात्मक चालबाजीहरूले पार्टीपङ्ति गहिरो गरी विभाजित हुँदै जानेछ। यसको सबैभन्दा ठूलो असर आगामी समयमा हुने निर्वाचनहरूमा देखिनेछ। निर्वाचनका क्रममा सतहमा आउने गरी देखिने घात प्रतिघातका घटनाले पार्टीलाई हुने क्षतिले मात्र ओली र उनका समर्थकहरूलाई नराम्रैसँग झस्काउने छ। त्यो बेलासम्म भण्डारीले आफूलाई सन्तुलित ढंगले चलाउन सके ओलीपक्ष उनलाई नेतृत्व सुम्पिन पनि बाध्य हुनसक्छ।
भण्डारीको कार्यदक्षता बुझेका मानिसहरू उनले ओलीको विरासतलाई भत्काउने गरी काम गर्नसक्ने कुरामा अहिले नै विश्वस्त नभए पनि पार्टीभित्रको लोकतन्त्रीकरणको अभ्यासलाई बलियो गरी समाउन सके उनलाई आफ्नो क्षमता देखाउन पाउने अवसर पनि मिल्नेछ। ओली इतरका अन्य नेताको समर्थन पाउन पनि उनका लागि सहज छैन। हिजो राष्ट्रपति हुँदा ओलीका हरेक कदमलाई विनाशर्त ठप्पा लगाउने काम गरेको इतिहास सम्झिने हुँदा उनले आफूलाई ओलीभन्दा भिन्न कार्यशैली भएको नेताको रूपमा देखाउन पनि सहज छैन।
ओली र भण्डारीको राजनीतिक मिसनमा खासै फरक नभए पनि ओलीको जस्तो हैकमवादमा भने उनको नेतृत्वले अवश्य पनि केही कमी ल्याउने आशासम्म गर्न सकिन्छ। तथापि भण्डारीमा पनि परिवर्तनको कुनै स्पष्ट सोच र एजेन्डा नदेखिएको अहिलेको अवस्थामा उनको नेतृत्वलाई तत्कालै विश्वास गर्न पनि कठिन छ। मदन भण्डारीको विरासतले मात्र उनलाई सत्तामा टिकाइराख्न सक्ने छैन। भण्डारीले अन्य दलसँग प्रतिस्पर्धा गर्ने क्षमता देखाउन पनि अत्यावश्यक हुनेछ। ओलीको हैकमवादी शैलीमा बानी परेका एमाले कार्यकर्तालाई सन्तुष्ट तुल्याउन पनि भण्डारीलाई सकस पर्नेछ।
एमालेले बोकेको राजनीतिक विचारलाई खोपीको देउता बनाएर थन्क्याउने र नवसामन्तवादी चरित्र प्रदर्शन गर्ने एमाले नेताहरूमा हालसम्म देखिएको शैलीलाई परिवर्तन गर्न पनि भण्डारीले पापड पेल्नुपर्नेछ। एमालेजनभित्र लामो समयदेखि झाँगिएको अवसर र सुविधाको वितरणमा देखिएको पक्षपातले असन्तुष्ट बनेको कार्यकर्ताको तप्का पनि ठूलै छ।
उनीहरूमा ओली प्रवृत्तिको सार्वजनिक रूपमा विरोध गरेर प्रकट हुने आँट नभएका कारणले छाला जोगाउन एमालेकै आकृतिमा बसिरहेका भए तापनि ओलीको नेतृत्व परिवर्तन भइदिँदा उनीहरू खुसी हुनेछन्। तिनलाई चिनेर पार्टीको मूल धारमा ल्याउने कौशलता भने ओलीको नेतृत्व परिवर्तन गर्ने मिसनमा लागेकाहरूले देखाउनुपर्ने हुन्छ।
माथिका यी वस्तुगत यथार्थ एकातिर छन् भने अर्कातिर अहिलेसम्म नेतृत्वको मूलधारमा रहेका नेताहरू बीचैबाट एमालेको नेतृत्व परिवर्तन हुँदा खुसी हुने र दु:ख मान्ने कार्यकर्ताको पङ्तिमा अदलबदल भए पनि नयाँ नेतृत्वले ठाउँ नलिएसम्म एमालेले देखाउने नेतृत्व क्षमतामा आम जनताले भने कुनै विश्वास र भरोसा गर्ने छैनन्। अहिलेको माग भनेको जनताका तात्कालिक समस्या समाधान गर्ने सोच, आँट र निष्ठा भएको नयाँ नेतृत्वले मुलुकको नेतृत्व गरोस् भन्ने नै हो।
प्रकाशित: ३१ असार २०८२ ०९:०९ मंगलबार

