केही महिनाअघि मात्रै बालेन देशको मुख्य आकर्षण बनेका थिए। नेपालभर फैलिएको एउटा लहरले अन्ततः बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ बहुमतभन्दा केवल दुई सिट कम अवस्थामा सरकारको नेतृत्वमा पुर्यायो। अहिले फेरि बालेन चर्चामा छन् तर यसपटक केही यस्ता व्यवहारका कारण, जसलाई कसैले प्रश्न गरिरहेका छन्, कसैले प्रशंसा गरिरहेका छन् र धेरैजसो मानिसहरू भने यी व्यवहारको वास्तविक अर्थ के हो भनेर सोचिरहेका छन्।
सम्माननीयज्यू, अब त तपाईंले हामीसँग सामाजिक सञ्जालबाट मात्र होइन, प्रत्यक्ष सम्बोधनबाट पनि बोल्न पर्यो र बुझाउन पर्यो कि यी व्यवहारको संकेत के हो भनेर।
बालेन्द्र शाह नेपालमा मात्र होइन, दक्षिण एसिया र विश्वस्तरमै युवा नेतृत्वको प्रतीकका रूपमा हेरिएका छन्। उनी यस्तो व्यक्ति पनि मानिन्छन्, जसले आमूल परिवर्तन ल्याउन सक्छन्। उनले सिभिल तथा स्ट्रक्चरल इन्जिनियरबाट र्यापर हुँदै राजनीतिज्ञसम्मको यात्रा गरेर परिवर्तन सम्भव छ भन्ने देखाइसकेका छन्। उनले युवाको मन जितिसकेका थिए भने बिस्तारै आफूभन्दा धेरै जेठा पुस्ताको सम्मान पनि प्राप्त गर्दै थिए। तर हालै सम्पन्न संसद् अधिवेशनका क्रममा देखिएको उनको शारीरिक हाउभाउ र व्यवहारले नेपाल लोकतान्त्रिक सुधारतर्फ अघि बढिरहेको हो कि व्यक्तिकेन्द्रित राजनीतिक संस्कृतितर्फ भन्ने प्रश्न उठाउने ठाउँ दिएको छ।
अधिकांश नेपाली बालेन्द्रलाई हेरेर उनलाई शंकाको सुविधा दिन चाहन्छन्। शिक्षित युवा नेता, जसले आफूले गरेका सबै पेसामा राम्रो प्रदर्शन गरेका छन्, उनलाई देश चलाउने र आफू तथा आफ्नो पार्टीले अघि सारेका योजनाहरू कार्यान्वयन गर्ने अवसर दिनुपर्छ भन्ने भावना जनतामा देखिन्छ।
बालेनले वर्षौंदेखि चलिआएका राजनीतिक परम्परालाई तोड्ने साहसी कदम चालेका छन्। उदाहरणका लागि उनले प्रधानन्यायाधीश नियुक्त गर्दा राजनीतिक पृष्ठभूमि वा केवल वरिष्ठताको आधारमा नभई गैरपक्षीय पृष्ठभूमिलाई प्राथमिकता दिए। संसद् अधिवेशनमा परम्परागत नेपाली पोसाकको सट्टा कालो आधुनिक सुट र कालो चस्मा लगाएर उपस्थित हुनु पनि चर्चाको विषय बन्यो। त्यस्तै, अघिल्ला प्रधानमन्त्रीहरूले जस्तै सबै काम आफैं नगरी, केही प्रतिवेदन मन्त्रिपरिषद्का अन्य सदस्यमार्फत प्रस्तुत गराउनु तथा सरकारको रणनीतिसम्बन्धी प्रश्नको जवाफ दिन उनीहरूलाई अघि सार्नुले पनि अर्को परम्परा तोडिएको देखियो।
बालेन्द्र नेतृत्वको सरकारप्रति जनअपेक्षा उच्च छ। यस अवस्थामा सानो गल्तीले पनि ठुलो निराशा ल्याउन सक्छ। समर्थकहरू छोटो समयमै तीव्र परिवर्तन चाहन्छन्। सरकार पनि ती अपेक्षा पूरा गर्न दौडिरहेकोजस्तो देखिन्छ तर अत्यधिक हतार नगरी एकएक कदम अघि बढ्नु महत्वपूर्ण हुन्छ।
यो सरकारको पहिलो संसद् अधिवेशनमा पूरा समय बस्ने पहिलो प्रधानमन्त्रीका रूपमा प्रशंसा पाएका बालेन, मे १२ र १३ तारिखको अधिवेशनमा भने राष्ट्रपतिले सम्बोधन गरिरहँदा बाहिरिएको र १३ गते उपस्थित नै नभएको देखिए। यो व्यवहारको माने र संकेत के हो भनेर प्रश्न उठिरहेको छ। सदनमा प्रतिपक्षले यसको कारण प्रधानमन्त्रीको राजीनामा पनि मागे तर त्यो भने प्रतिपक्षको एक अनावश्यक लोकप्रियता हासिल गर्न खोजेकोजस्तो देखिन्छ।
आजका युवाहरू आफूले निर्धारण गरेका लक्ष्य पूरा गर्न दिनरात खटिने गर्छन्। बालेन र उनका मन्त्रिपरिषद्का सदस्यहरू पनि त्यसरी नै काम गर्ने र निजामती कर्मचारीलाई कार्यालय समयको अधिकतम उपयोग गराउने प्रयासमा देखिन्छन्। तर नेपालजस्तो देशमा प्रधानमन्त्री संसद् छोडेर हिँड्दा वा प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन संसद्मा उपस्थित नहुँदा स्वाभाविक रूपमा मानिसहरूले प्रश्न उठाउन थाल्छन्।
काम गर्ने शैली र ढाँचामा परिवर्तन ल्याएर शासनलाई अझ प्रभावकारी बनाउने प्रयास प्रशंसनीय कुरा हो। करिब एक महिना मात्र पुरानो यो सरकारले नेपालले अभ्यस्त नभएका धेरै कामहरू छोटो समयमै गरेको देखिएको छ। उदाहरणका लागि पहिलोपटक एसइई परीक्षाको नतिजा सरकारले भनेकै समयमा एक महिनाभित्र सार्वजनिक भयो। नदी किनार र सहरी तथा ग्रामीण क्षेत्रमा भएको अतिक्रमण हटाउने कामलाई लिएर केही शंका र आलोचना भए पनि यस्ता काम सबै सरकारको अजेन्डामा भए पनि कसैले साहस नगरेको अवस्थामा अहिले कार्यान्वयनमा ल्याइएको भन्दै प्रशंसा पनि भएको छ।
त्यसैले प्रधानमन्त्री र उनको युवा नेतृत्वको मन्त्रिपरिषद्लाई धेरै नेपालीले अहिले पनि शंकाको सुविधा दिँदै उनीहरूले चालेका कदमलाई समर्थन गरिरहेका छन्। तर अब प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने समय आएको छ। हालसम्म उनले औपचारिक रूपमा राष्ट्रलाई सम्बोधन गरेका छैनन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो तेस्रो कार्यकाल चलिरहँदासमेत प्रेस सम्मेलन नगरेको चर्चा हुन्छ र उनले पनि संसद्मा आफ्नो प्रतिनिधित्व गर्न मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूलाई अघि सार्ने गरेका छन्। के बालेन्द्रले पनि यस्तै गर्न खोजेका हुन्? तर किन?
बालेन्द्रले नेपाली राजनीतिमा पूर्ण परिवर्तनको संकेत गरेका छन्। विगतमा राजनीतिबाट पूर्ण रूपमा अलग महसुस गरेका धेरै युवाहरू अहिले आफ्ना प्रधानमन्त्रीसँग आफूलाई जोडिएको अनुभव गरिरहेका छन्। उनीहरू त सामाजिक सञ्जालको परम्परामा हुर्केका उनीहरूलाई बालेनको सामाजिक पोस्ट पर्याप्त छ। परम्परागत दलहरूको प्रभुत्वभन्दा बाहिर गएर उनको टोलीले शिक्षित सहरी युवामाझ प्रेरणादायी राजनीतिक सहभागिताको वातावरण सिर्जना गरेको देखिन्छ।
सत्तामा आएपछि बालेन्द्रले प्रदेश सरकारका प्रमुख तथा तीनै तहका सरकारका प्रतिनिधिहरूसँग भेटघाट सुरु गरेका थिए। यो सकारात्मक कदम थियो र पुराना दलका नेताहरूले समेत उनको धैर्यपूर्वक सुन्ने शैलीको प्रशंसा गरेका थिए। पछिल्लो संसद् अधिवेशनमा भएको विवादपछि भने उनको नेतृत्व शैलीमाथि औंला उठाउने ठाउँ बनेको छ।
यद्यपि उनले प्रेस सम्मेलन गरेका छैनन् वा राष्ट्रलाई सम्बोधन गरेका छैनन्, सामाजिक सञ्जालमार्फत उनी लगभग दैनिक रूपमा जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। मानिसहरू ‘एक्स’लगायतका सामाजिक सञ्जालमा उनका सन्देश पर्खिरहेका हुन्छन्। उनका सन्देशहरू प्रस्ट र सिधा हुने भएकाले पारदर्शिता र पहुँचको भावना दिने गर्छन्। यसप्रकारको सामाजिक सञ्जाल संवादले राष्ट्रिय बहसलाई छिट्टै प्रभावित पार्ने गरेको छ। उनले भ्रष्टाचारविरुद्धको बलियो छवि पनि निर्माण गरेका छन्। जनताले उनलाई योजना बनाउने, उत्तरदायी, अनुशासित र काम सम्पन्न गर्ने नेताका रूपमा हेर्न थालेका छन्।
नेपालभित्र मात्र होइन, परम्परागत राजनीति र नेतृत्व शैलीभन्दा बाहिरबाट वैकल्पिक नेतृत्व उदाउन सक्छ भन्ने सम्भावनाका कारण बालेन्द्रले अन्तर्राष्ट्रिय ध्यान पनि आकर्षित गरेका छन्।
अब प्रधानमन्त्री बालेन्द्र र उनको टोलीले आफ्ना केही गतिविधिमाथि गम्भीर रूपमा आत्ममूल्यांकन सुरु गर्नुपर्ने समय आएको छ। शासन केवल भाइरल सन्देश र भावनात्मक जनप्रतिक्रियामा मात्र टिक्न सक्दैन। जनताले निर्वाचित गरेको नेताको दायित्व जनतासँग प्रत्यक्ष संवाद गर्नु पनि हो। देश चलाउने अधिक व्यावसायिक शैली आजको आवश्यकता अवश्य हो तर त्यसो गर्न सल्लाहाकारका रूपमा इमानदारी र दक्षताको प्रमाणित अनुभव भएका व्यक्तिहरूको बलियो टोली हुनु पनि उत्तिकै आवश्यक छ। अनुभवी व्यक्तिहरूको सुझाव र मार्गदर्शन लिनु शासन सञ्चालनका लागि महत्वपूर्ण साबित हुन सक्छ।
देशभित्रका विषयहरू अत्यन्त महत्वपूर्ण भए पनि नेपालको भू–राजनीतिक सम्बन्धलाई पनि सावधानीपूर्वक सम्हाल्न आवश्यक छ। बालेन्द्र नेतृत्वको सरकारप्रति जनअपेक्षा अत्यन्त उच्च छ र त्यही कारण साना गल्तीले पनि ठुलो निराशा ल्याउन सक्छ। समर्थकहरू छोटो समयमै तीव्र परिवर्तन चाहन्छन्। सरकार पनि ती अपेक्षा पूरा गर्न दौडिरहेकोजस्तो देखिन्छ तर अत्यधिक हतार नगरी एकएक कदम अघि बढ्नु महत्वपूर्ण हुन्छ।
सत्तामा आएपछि बालेन्द्रले प्रदेश सरकारका प्रमुखहरू तथा तीनै तहका सरकारका प्रतिनिधिहरूसँग भेटघाट सुरु गरेका थिए। यो निकै सकारात्मक कदम थियो र पुराना दलका नेताहरूले समेत उनको धैर्यपूर्वक सुन्ने शैलीको प्रशंसा गरेका थिए। तर पछिल्लो संसद् अधिवेशनमा भएको विवादपछि उनको नेतृत्व शैलीमाथि औंला उठाउने ठाउँ बनेको छ।
बालेन्द्र नयाँ नेपालको आशाका प्रतीक हुन् तर उनले चुनौतीहरूको सामना गर्ने शैली यस्तो हुनुपर्छ कि उनका कदमहरू पुरानो राजनीति र नेतृत्वलाई हराउने प्रयासभन्दा बढी लोकतान्त्रिक संस्थालाई सुधार गर्दै सुदृढ बनाउने दिशामा देखियून्।
प्रकाशित: १ जेष्ठ २०८३ १०:२९ शुक्रबार

