४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
विचार

कांग्रेसभित्रका कुणा

धेरै व्यक्तिगत महत्त्वाकांक्षा, आपसी ईर्ष्या र व्यक्तित्व टकरावका कारण वर्तमानमा नेपाली कांग्रेस करिब करिब फुटको सँघारमा देखापरेको छ । नीतिगत कुरामा मतभेद साम्य पार्न सकिन्छ तर कुत्सित मनसाय बोकेका पार्टीभित्रका दुर्योधन प्रवृत्तिका मानिसहरूलाई मिलाउन मुस्किल देखिँदै छ । इतिहासको कठिन मोडमा उभिएको देशकै पुरानो पार्टी कांग्रेसप्रति सच्चा प्रजातन्त्रवादीबाहेक बाँकीले दर्शक दीर्घाबाट कांग्रेसभित्रको नाटक हेरिरहेका छन् । देशीभन्दा विदेशी शक्तिले आगोमा घिउ थप्ने काम गरेकै छन्।

छिमेकी मित्रराष्ट्र भारतको पश्चिम बंगालमा हालैको विधानसभाको चुनावमा लगातार पन्ध्र वर्षसम्म शासन चलाएकी मुख्यमन्त्री ममता बनर्जीको हारलाई सामान्य रूपमा लिन सकिँदैन, जसरी गगन थापाको हारलाई लिन सकिँदैन । जहाँ जनताले जरादेखि परिवर्तन चाहेका छन्, राजनीतिमा स्वतन्त्र नागरिकले पनि अधिकारको अपनत्व चाहेका हुन्छन् । कांग्रेसको हल्लाको खेतीभन्दा भित्री रूपमा सल्लाह गरेर नेपालमा चार वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अपार सफलता देखेर पनि ऐतिहासिक पार्टीका नेता कार्यकर्ताले शिक्षा लिनुपर्ने हो तर कांग्रेसका दुईटै समूहमा त्यो देखिँदैन।

सभापति गगन पक्षबाट पार्टी र देशमा नयाँपन ल्याउने प्रबल चाहना देखिन्छ । त्यसैले संस्थापन पक्षले पार्टीमा जरा अभियान नामकरण गर्दै सातवटै प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने क्रम जारी छ । यता देउवा पक्ष भनेर उहाँको नाममा सायद नयाँ पार्टी स्थापना गर्ने सोचमा रहेका पुराना अनुहार पनि गगनको सिको गर्दै राजधानीलगायतका प्रदेशमा कार्यकर्ता भेला गराएर एक किसिमले शक्ति प्रदर्शन गर्न रातदिन खटिरहेका छन् । यही खटाइ गत फागुन २१ मा गरिएको थियो भने संसद्मा देखापरेको हालको सिट संख्या भन्दा झन्डै दोब्बर संख्यामा कांग्रेसी अनुहार व्यवस्थापिका संसद्मा देखिन पाइथ्यो तर त्यसो भएन । इतिहासमा नै करारी हार बेहोरेर खुम्चिरहेछ कांग्रेस । यसको दोषारोपण दुवै पक्षबाट गरिनुलाई सामान्य रूपमा लिइँदैन।

गत फागुन दोस्रो हप्तादेखि भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा छन् । पहिले उपचारका लागि सिंगापुर पुगेका उनी हाल पत्नी आरजुसहित हङकङमा रहेको सुनिएको छ । बिरामी परेका भए अहिलेसम्म निको भएर स्वदेश फर्किसक्नुपर्ने हो । यता सरकारले अकुत सम्पत्ति कमाएको आरोपमा इन्टरपोलमार्फत स्वदेश फिर्ता गराउने योजनामा छ भनी सञ्चार माध्यमहरूले जानकारी गराएका छन् । बुढानीलकण्ठस्थित उहाँको घरमा देखिएको भनिएको स्वदेशी–विदेशी रकम बदनामी नियतले मात्र हो, सक्कली होइन भनी स्वयं देउवा बताइरहनुभएको थियो । पाँच पटक देशको प्रधानमन्त्री बनिसकेको व्यक्तिले अब विदेशमा बसेर आफूमाथि लागेको आरोपको खण्डन गर्नुपर्ने भएको छ । दोष र निर्दोषको आधारमा फैसला गर्ने जिम्मेवारी सम्मानित अदालतले गर्ने नै छ।

यता देउवाको नाम भजाएर पार्टीका केही पुराना नेता र कार्यकर्ता राजधानीलगायतका ठाउँहरूमा विचार गोष्ठी गर्दै जेठको रापिलो घामसँगै कांग्रेस राजनीति दिन प्रतिदिन तताइरहेका छन् । केही दिनअघि मौन बसेर मध्यस्थकर्ताको मार्ग अपनाएका डा. शेखर कोइराला पनि देउवा समूहमा सम्मिलित भएको भनिए तापनि विश्वास गर्ने आधार अझै देखिँदैन । सत्य कुरा के हो भने देउवा र शेखर समूह वर्तमान पार्टी सभापति गगनको नेतृत्व स्वीकार गर्ने पक्षमा देखिँदैनन् । सर्वोच्च अदालतले गगन थापाको पक्षमा फैसला नगरेको खण्डमा अहिलेसम्म कांग्रेस दुई समूहमा विभाजित भइसक्थ्यो । नीतिगत रूपमा सम्मानित सर्वोच्च अदालतले संस्थापन पक्षलाई मान्यता प्रदान गरेकाले प्राविधिक रूपमा चोइटिनबाट  बचेको देखिन्छ।

किन र के मनसायले हो सर्वोच्चको फैसलाको अवज्ञा गर्दै पार्टीको ठुलै पंक्ति गगन थापालाई सभापति मान्न र सानेपास्थित बिपी स्मृति भवनलाई स्वीकार गर्न रत्ति पनि सकारात्मक देखिँदैनन् । गगन थापा र विश्वप्रकाश शर्मा केही दिनअघि पार्टी एकीकरण गर्न र नसुल्झिएका विवाद साम्य पार्न आगामी पन्ध्रौं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा राष्ट्र र जनतालाई सन्देश प्रवाह गर्न देउवा पक्षका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पुगे । पुराना नेताको सम्मान गर्नु दुवै नेताको असल राजनीतिक संस्कार हो।

दुई घण्टासम्म हार्दिकतापूर्वक छलफल भएर मिलन विन्दुमा पुगेको भनिएको खबर नसेलाउँदै खड्काकै संयोजकत्वमा राजधानीकै एक होटलमा देउवा पक्षको नाममा भेला सम्पन्न गरियो । गगन र विश्वप्रकाशले आयोजना गरेझैं देशका सातवटै प्रदेशमा प्रशिक्षण र भेला गर्ने निर्णय गरियो । अहिले पूर्णबहादुर खड्का गृह जिल्ला सुर्खेतमा पुगेका छन् । कोसी प्रदेशमा कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा सम्पन्न भेलामा कांग्रेसीजनको उपस्थिति पातलो भएको खबर छापामा सञ्चारित छ । यसरी एउटै सिद्धान्त बोकेका लाखौं कांग्रेसीजनको दिमागलाई दिग्भ्रमित गर्ने यी नेतालाई अब काँधमा बोक्न सकिँदैन भनी चिया पसलदेखि  सार्वजनिक स्थलहरूमा सयौं कार्यकर्ता तितो पोखिरहेका छन्।

बिपी, गणेशमान, किसुनजीको सिद्धान्त त्याग्न नसकी आत्मबल बढाएका लाखौं कार्यकर्ताले सच्चा अभिभावक र इमानदार नेता खोजिरहेका छन् । कांग्रेसभित्रको झुन्ड प्रवृत्ति देखेर पुराना पिँढीका कांग्रेसीजन पूरैमा हात लगाइरहेका छन् भने नवपिँढीहरू विकल्पको बाटो पनि खोजिरहेका छन् । प्रजातन्त्रको मियो पार्टीको छिन्नभिन्नको वर्तमान अवस्थालाई सही दिशा निर्देशन गर्ने भरपर्दो नेता अब को ? प्रश्न आफैंमा गम्भीर भएर देखापरेको छ । अधिकांश युवाले पार्टीभित्र आमूल परिवर्तन चाहेका छन्।

त्यही मनसाय बुझेर वर्तमान सभापति गगन थापाको समूहले सहरदेखि गाउँगाउँसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरणसहित जरा अभियानको नाममा शुद्धीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् । गगन र विश्वप्रकाशले एकै स्वरमा कांग्रेसलाई चुनावमा घात गर्नेहरू सच्चा कांग्रेसी हुन सक्दैनन्, शुद्धीकरण अभियानलाई जरादेखि थालनी गर्नुपर्छ भनिरहेका छन्। २०७९ असारमा जन्मिएको रास्वपाले गत फागुन २१ गतेको चुनावमा प्रत्यक्षतर्फ १२५ सिटसहित जम्मा १८२ सिट ल्याएर एकल बहुमतको सरकार बनाउन सक्यो, जुन कांग्रेसले कसरी अथ्र्याएको हो भन्ने कुरा स्पष्ट छ । जनता सधैं एउटै पार्टीका कदापि हुन सक्दैनन् भन्ने ज्वलन्त उदाहरण हो यो।

जहाँ चुनाव चिह्न रुख छ, जहाँ चारतारे झन्डा र दिलैदेखि श्रद्धा गरिएका कांग्रेसका पितृहरूको पार्टीप्रतिको सिद्धान्त छ, त्यही छहारीमा लाखौं कांग्रेसीजन गोलबद्ध हुने कुरा निश्चित छ । भोलिको महाधिवेशनले यही कुरा ऐनामा देखाउने छ । बिपीले परशुनारायण चौधरीजस्ता व्यक्तिलाई पार्टीको महामन्त्री बनाए । बाटो बिराएका परशुनारायण इतिहासको खलपात्रका रूपमा उभिएर विलीन भए । सबैलाई थाहा भएकै विषय हो यो।

कांग्रेस अविरल रूपमा बगिरहने नदी हो । यसका नीति र विधानले समाजवादको व्याख्या गर्छ । समाजवाद र राष्ट्रियता मनमा बचाउनुभएको छ भने लोभ, पाप र ईष्र्या त्यागेर रुखको छहारीमुनि गोलबद्ध भएर शीतल ताप्न आऊँ, बिपीको विचारलाई आत्मसात गरौं– बुद्धिजीवि र राष्ट्रप्रति माया भएकाहरू यही निष्कर्ष गर्छन् । कांग्रेसीहरूलाई छिन्नभिन्न बनाएर होइन, एक भएर अघि बढौं भन्ने चाहना जेनजीले पनि राखेका छन्।

जरा अभियानअन्तर्गत सभापति गगन थापा सुदूरपश्चिमको नगरी धनगढी पुगे । बाक्लो उपस्थितिमा उहाँलगायत पार्टीका पदाधिकारीहरूले सम्बोधन गर्नुभयो नेपाली शैलीमा । तर उहाँहरूले सुदूरपश्चिमको भाषा र गीत पनि जोडेर एक शब्द पनि बोल्नुभएन । बोल्नुपथ्र्यो, सकभर देउडागीतको एक टुक्रा भए पनि सुनाउनुपर्थ्याे । सुदूरपश्चिमका लाखौं नरनारी कोरा भाषणमा भन्दा  गीत–संगीत र आफ्नो भाषामा बोलेको बढी मन पराउँछन्।

प्रकाशित: ४ जेष्ठ २०८३ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %