२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
विचार

कक्षा व्यवस्थापनका मनोवैज्ञानिक कुरा

शिक्षकहरू कक्षाकोठामा सकारात्मक सिकाइ वातावरण कायम राख्न जिम्मेवार हुन्छन्। कक्षा व्यवस्थापन गर्नु सजिलो काम होइन किनकि कक्षामा विभिन्न सिकाइ शैली भएका विद्यार्थी हुन्छन्।

नियन्त्रणभन्दा बाहिर गएको कक्षाको वातावरणले विद्यार्थीहरूको प्रगतिमा कमी ल्याउँछ भने शिक्षकहरूमा थकान र तनाव बढाउँछ। अनुशासनका समस्यासँगै विद्यार्थीहरूको मनोवैज्ञानिक आवश्यकताहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। धेरैजसो विद्यार्थी डर, असुरक्षा र नकारात्मक भावनाको ‘मनोवैज्ञानिक झोला’ बोकेर कक्षाकोठामा प्रवेश गर्छन्। यी नकारात्मक भावनाहरू हटाई सकारात्मक सिकाइ वातावरण सिर्जना गर्नु शिक्षकको कर्तव्य हो। अंग्रेजी शिक्षण विधि ‘सजेस्टोपेडिया’ले पनि विद्यार्थीहरूको डर हटाएर सहज र आरामदायी वातावरणमा सिकाइलाई प्रभावकारी बनाउने उद्देश्य राख्छ।

शिक्षण एउटा कला हो, जुन हाम्रो दैनिक जीवनका सूक्ष्म अवलोकनहरूसँग सम्बन्धित छ। जीवनका अनुभवहरूले शिक्षण–सिकाइ प्रक्रियामा आउने समस्याहरूको समाधान खोज्न सहयोग गर्छन्। ‘एलिभेटर प्रभाव’को अवधारणा यसैको एउटा राम्रो उदाहरण हो। जब हामी लिफ्ट (एलिभेटर) मा चढ्छौं, त्यहाँ अरू मानिस पनि हुन्छन्। सबैले आआफ्नो गन्तव्यको बटन थिचिसकेपछि ढोका बन्द हुन्छ र केही समयसँगै यात्रा गर्छौं। तर त्यो समयमा प्राय: कोही कसैसँग कुरा गर्दैन, न त एकअर्कातिर हेर्छन्। सबैजना तल्ला देखाउने सूचकपट्टितिर हेरेर बस्छन्। सीमित ठाउँमा अपरिचित मानिसहरू सँगै हुँदा देखिने यस्तो व्यवहारलाई ‘एलिभेटर प्रभाव’ भनिन्छ। यस्तै अवस्था बस, विमानस्थलको प्रतीक्षालय, अस्पतालको प्रतीक्षालय वा पसलको लाइनमा पनि देख्न सकिन्छ।

शिक्षकका लागि यो ‘एलिभेटर प्रभाव’ निकै महत्वपूर्ण छ किनकि कक्षाकोठा पनि एउटा ठुलो लिफ्टजस्तै हो। विद्यार्थीहरू कक्षामा प्रवेश गर्दा अपरिचित साथीहरूबिच बस्न पुग्छन्। ४५–५० मिनेटसम्म शिक्षक वा बोर्डतिर हेरिरहन्छन्, धेरैजसो मौन बस्छन्। कक्षा सकिएपछि सबै आआफ्नो बाटो लाग्छन्। यस्तो व्यवहार किन हुन्छ ? विद्यार्थीहरूले किन प्रश्न सोध्दैनन् ? किन एकअर्काको नामसमेत थाहा हुँदैन ? यसको कारण यही ‘एलिभेटर प्रभाव’ हो, अपरिचित र विश्वास नभएका मानिसहरूबिच सामान्यतया अन्तरक्रिया कम हुन्छ।

शिक्षणलाई सफल बनाउन ‘एलिभेटर प्रभाव’ हटाउनु अत्यन्त आवश्यक छ। शिक्षकले कक्षामा मौन, निस्क्रिय र एकअर्कासँग अलग रहने विद्यार्थीहरू होइनन्, बरु सक्रिय, जिज्ञासु र सिर्जनशील विद्यार्थीहरू चाहन्छन्। यसका लागि कक्षाको सुरुमै ‘आइस–ब्रेक’ गतिविधिजस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न सकिन्छ। उदाहरणका लागि शिक्षकले आफ्नो नामसँग एउटा विशेषण जोडेर परिचय दिन सक्छन्– ‘म सरिता– साहसी।’ त्यसपछि अर्को विद्यार्थीले पहिलेको नाम र विशेषण दोहोर्‍याएर आफ्नो परिचय थप्छ। यसरी क्रमश: सबै विद्यार्थी सहभागी हुँदा कक्षामा रमाइलो वातावरण बन्छ र आपसी चिनजान बढ्छ।

एलिभेटर प्रभाव हटाउने दोस्रो चरण भनेको विद्यार्थीहरूलाई नजिकबाट चिन्नु हो। शिक्षकले विद्यार्थीहरूसँग भेटघाट गर्ने, उनीहरूको समस्या बुझ्ने र आवश्यक सहयोग गर्ने वातावरण बनाउनुपर्छ। विद्यार्थीहरूले पनि शिक्षकलाई मानवीय र व्यावसायिक दुवै रूपमा चिन्नुपर्छ। शिक्षकले आफ्ना अनुभव, अनुसन्धानका विचार वा जीवनका सान्दर्भिक कथाहरू सुनाउँदा कक्षामा विश्वास र आत्मीयता बढ्छ। यसलाई शिक्षक–विद्यार्थीबिचको सुदृढ सम्बन्ध विकास गर्नु भनिन्छ, जुन शिक्षण–सिकाइ प्रक्रियामा अत्यन्त महत्वपूर्ण हुन्छ।

एलिभेटर प्रभावबाट सिक्नुपर्ने मुख्य कुरा के हो भने एकअर्कालाई नचिनेका र विश्वास नगर्ने मानिसहरूबिच सामान्यतया अन्तरक्रिया हुँदैन। त्यसैले कक्षाकोठामा आपसी विश्वासको वातावरण सिर्जना गर्नु जरुरी छ। जब विश्वास स्थापित हुन्छ, तब मात्र कक्षामा प्रश्न, छलफल, सोचविचार र सक्रिय सहभागिता बढ्छ।

शिक्षण वास्तवमा एउटा सामाजिक प्रयोगजस्तै हो, जहाँ शिक्षकले नयाँ उपायहरू अपनाउनुपर्छ। विद्यार्थीहरूको समस्या बुझ्न र उनीहरूलाई सहयोग गर्न शिक्षकले गृहकार्यको समयमा वा प्रयोगशालामा केही समय दिन सक्छन्। ‘के गर्दै छौ ?’ वा ‘कहाँ समस्या पर्‍यो ?’ जस्ता साधारण प्रश्नले पनि विद्यार्थीलाई खुलेर कुरा गर्न प्रेरित गर्छ। यसबाट शिक्षकले विद्यार्थीको वास्तविक समस्या थाहा पाउँछन् र आगामी कक्षामा त्यसअनुसार सुधार गर्न सक्छन्। हप्तामा केवल दश मिनेट समय दिएर पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ।

यसरी एलिभेटर प्रभाव हटाई विश्वास, चिनजान र अन्तरक्रियामा आधारित वातावरण सिर्जना गर्न सकेमा शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी, अर्थपूर्ण र सफल बन्न सक्छ।

प्रकाशित: १५ वैशाख २०८३ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %