म यस लेखमा बालेन सरकारका आधार, अवस्था र भविष्यबारे चर्चा गर्दै छैन। सरकारको सुरुवात ‘न्यायको पुनस्र्थापना हो कि प्रतिशोधको आगो?’ भन्ने प्रश्नबाट भयो। नियतको परीक्षण त परिणामले गर्छ नै। २० वर्ष शासन अवधिमा रहेका पुराना शक्ति र सरकारले न्यायिक कठघरामा आफूलाई उभ्याउन अनेकौं दसी र प्रमाण त छोडेकै थिए तर बालेन सरकारले कार्की आयोगलाई हतियार बनाएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई एक्कासी गिरफ्तार गरेर राजनीतिलाई मुठभेडको दिशामा अगाडि बढाउँदै छ कि छैन भन्ने आशंकालाई मलजल गर्दै छ।
यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ– यदि यो भ्रष्टाचारविरुद्धको वास्तविक कारबाही हो भने यसले नेपाललाई नयाँ युगमा लैजानेछ तर केवल सत्ता विपक्षीलाई गलाउन गरिएको प्रतिशोध मात्र हो भने इतिहासको पुरानो चक्रलाई नै निरन्तरता दिएको ठहरिनेछ। इतिहासले सधैं शिक्षा दिन्छ, शिक्षा नलिनेलाई दण्डित गर्छ ।
विश्व इतिहासका पाना पल्टाउँदा ‘शक्ति’ र ‘प्रतिशोध’ एकअर्काका पूरकजस्तै देखिन्छन्। सत्ता प्राप्त गर्नु जति कठिन छ, त्यसलाई टिकाइराख्न गरिने प्रतिशोधका खेलहरू झन् भयानक हुन्छन्। प्राचीन रोमको साम्राज्यवादी दम्भ, भारतीय वैदिक वाङ्मयको धर्मयुद्ध, मुगलकालीन पारिवारिक कलह र आधुनिक नेपालको राजनीतिक कोतपर्वलगायतका उथलपुथल सबैमा एउटा साझा तत्त्व भेटिन्छ– पुरानो शक्तिको अवसान र नयाँ शक्तिको उदयमा लुकेको प्रतिशोधको गन्ध। त्यो प्रतिशोध शक्ति र सत्ताको भयका कारण हुने गर्छ।
रोमको इतिहास जुलियस सिजरको हत्या र त्यसपछिको प्रतिशोधबाट अलग हुन सक्दैन। सिजरको हत्या लोकतन्त्र बचाउनका लागि गरिएको भनिए पनि त्यसले अन्ततः गृहयुद्ध र अक्टेभियनको कठोर शासनलाई जन्म दियो। अक्टेभियनले सिजरका हत्याराहरूलाई एक–एक गरी समाप्त पारे, जुन न्यायको नाममा गरिएको राजनीतिक प्रतिशोध थियो। यसले प्रमाणित गर्छ कि जब शक्ति असुरक्षित हुन्छ, त्यसले प्रतिशोधलाई नै आफ्नो ढाल बनाउँछ।
भारतीय वैदिक साहित्य, विशेषगरी महाभारत, प्रतिशोधको सबैभन्दा ठुलो महाकाव्य हो। अपमानित द्रौपदीको प्रतिज्ञा र पाण्डवहरूको वनवासपछिको पुनरागमनले एउटा युगकै अन्त्य गरिदियो। वैदिक दर्शनले यसलाई अधर्मविरुद्धको धर्मयुद्ध भने पनि यो मूलतः शक्तिको पुनःस्थापनाका लागि गरिएको भयानक प्रतिशोध नै थियो।
मुगल साम्राज्यमा प्रतिशोध पारिवारिक थियो। औरंगजेबले आफ्नै दाजु दारा शिकोहको हत्या र बाबु शाहजहाँलाई बन्दी बनाएर सत्ता कब्जा गरे। मुगल दरबारमा चलेको यो षड्यन्त्र र प्रतिशोधले के देखाउँछ भने शक्तिको भोको मानिसले रगतको नातासमेत बिर्सन्छ।
नेपाली इतिहासमा शक्ति र प्रतिशोधको सबैभन्दा कुरूप र निर्मम रूप राणा शासनको रोलक्रम र पारिवारिक दाउपेचमा देखिन्छ। जंगबहादुर राणाले कोतपर्वबाट शक्ति हातमा लिए पनि रानी राज्यलक्ष्मी र अन्य भारदारहरू उनीविरुद्ध षड्यन्त्रमै थिए। १९०३ कात्तिकमा भण्डारखाल बगैंचामा जंगबहादुरलाई मार्ने योजना बन्यो तर जंगबहादुरले उल्टै आफ्ना विरोधीहरूको सामूहिक संहार गरिदिए। यसले प्रतिशोधको राजनीतिलाई वैधता दियो । सत्ता जोगाउन जस्तोसुकै कत्लेआम पनि जायज हुन्छ भन्ने जग यहींबाट बस्यो।
राणा इतिहासको सबैभन्दा ठुलो धोका धीर शमशेरका छोराहरू (शमशेर खलक) ले आफ्नै ठुलोबाका छोराहरू (जंग खलक) विरुद्ध गरे। वीर शमशेर, खड्ग शमशेर र चन्द्र शमशेरहरूले आफ्नै काका रणोद्दीप सिंहको हत्या गरे। उनीहरूले राणा शासनका जनक जंगबहादुरका छोराहरूलाई समेत निर्ममतापूर्वक सिध्याए। वीर शमशेरले आफ्नै वंशको रगतमा टेकेर श्रीपेच लगाए। यसले ‘राणा शासनभित्रै पनि कोही सुरक्षित छैन’ भन्ने सन्देश दियो। ‘जसको तरबार, उसैको दरबार’ भन्ने भाष्य निर्माण भयो। शासनमा पुगेपछि जे गरे पनि हुन्छ भन्ने ‘आदर्श’ले औचित्य पायो।
शक्ति हत्याएपछि शमशेर दाजुभाइबिच नै लुकामारी सुरु भयो। चन्द्र शमशेरले दाजु देव शमशेरलाई धपाएर सत्ता कब्जा गरे। पछि राणा परिवारलाई ‘ए’, ‘बी’ र ‘सी’ क्लासमा विभाजन गरियो। यो विभाजनले राणाहरूभित्रै ठुलो विद्रोहको बिउ रोप्यो। आफ्नै भाइभतिजाहरूलाई सत्ताको रोलक्रमबाट हटाउने खेलले अन्ततः राणा शासनलाई भित्रैबाट खोक्रो बनायो।
यो कालखण्डले नेपाली मानसपटलमा केही गम्भीर र घातक भाष्यहरू निर्माण गर्यो। राजनीतिमा धर्म वा नाताभन्दा नतिजा मुख्य हो भन्ने सोच हाबी भयो। वीर शमशेरको उदयले प्रमाणित गरिदियो कि सफल हुनु नै सबैभन्दा ठुलो सत्य हो। जब शासकले आफ्नै वंश काट्छ, जनतामा शक्तिशाली नै कानुन हो भन्ने त्रास र दास मानसिकता विकास हुन्छ। कतै न कतै यो त्यही ऐतिहासिक विरासतको अवशेष हो।
वीर शमशेरले आफ्नै वंशको रगतले जुन श्रीपेच पखाले, त्यसले नेपाली सत्ताको चरित्रलाई सधैंका लागि षड्यन्त्र र प्रतिशोधको बन्धकी बनाइदियो।
अहिले बालेन्द्र शाह नेतृत्वमा वैकल्पिक राजनीतिको उदय हुनुलाई धेरैले परम्परागत दलहरूको सिन्डिकेटविरुद्धको जनताको प्रतिशोध मानेका छन्। पुरानो राजनीतिक नेतृत्वले दशकौंसम्म गरेको बेथिति र भ्रष्टाचारबाट वाक्क भएका जनताले मतदानमार्फत गरेको यो एक प्रकारको ‘मौन विद्रोह’ थियो वा ‘सफ्ट कू’? यसको विवेचन इतिहासलाई नै छोडिदिऊँ।
इतिहास साक्षी छ– शक्ति सधैं एकै ठाउँमा रहँदैन। शक्तिको दुरुपयोग गर्ने शासकको साम्राज्य प्रतिशोधकै अग्निमा खरानी भयो। इतिहासमा शक्ति सन्तुलनको खेल निकै निर्मम हुन्छ। नयाँ शासकले आफ्नो सत्तालाई चुनौतीरहित बनाउन वा विगतको अपमानको बदला लिन प्रतिशोधलाई रणनीतिक औजारका रूपमा प्रयोग गरेका थुप्रै विश्व घटना छन्।
फ्रान्सेली राज्यक्रान्तिपछि म्याक्सिमिलियन रोवेस्पियरले राजतन्त्र र पुराना भारदारहरूविरुद्ध प्रतिशोधको अभियान चलाए। राजा लुई १६औं र रानी मेरी एन्टोनेट मात्र होइन, क्रान्तिका सुरुवाती समर्थकहरूलाई समेत गिलोयटिनमा राखेर घाँटी काटियो।
विश्व इतिहासमा पनि नयाँ शक्ति आउँदा पुरानो सत्ताको भ्रष्टाचार र अपराधलाई खोतल्ने चलन छ । पहिले प्रतिशोध प्रायः हिंस्रक र गैरकानुनी हुन्थ्यो तर आधुनिक लोकतन्त्रमा यस्ता गिरफ्तारीहरू कानुनी प्रक्रिया र भ्रष्टाचारविरुद्धको अभियानको आवरणमा हुन्छन्। बालेन शाहको उदय भएकै समयमा पूर्वप्रधानमन्त्री र गृहमन्त्रीहरूको गिरफ्तारीलाई धेरैले ऐतिहासिक प्रतिशोध वा न्यायको पुनस्र्थापनासँग जोडेर हेरिरहेका छन्।
इतिहास दोहोरिन्छ तर यसको स्वरूप मात्र फेरिन्छ। पहिले तरबार र गिलोटिनले प्रतिशोध लिइन्थ्यो भने आजको युगमा फाइल र अदालतमार्फत नयाँ शासकले पुरानालाई ठिक पार्ने प्रयास गर्छन्। यो कदम साँच्चै न्यायका लागि हो भने यसले लोकतन्त्र बलियो बनाउँछ तर यो केवल राजनीतिक प्रतिशोध मात्र हो भने यसले अस्थिरताको अर्को चक्र सुरु गर्छ । नियत त परिणामले प्रस्ट्याउँदै जानेछन्।
यी गिरफ्तारी र प्रतिशोधका कार्यहरू तथ्य र प्रमाणका आधारमा भएका हुन् भने यसले समाजमा ठुलो सकारात्मक परिवर्तन ल्याउँछ। कोही पनि कानुनभन्दा माथि छैन भन्ने सन्देश जान्छ। यसले सर्वसाधारणमा राज्य र न्याय प्रणालीप्रति हराउँदै गएको विश्वास ब्युँझाउँछ। शक्तिशालीहरू पनि जेल जान सक्छन् भन्ने डरले नीतिगत भ्रष्टाचार र कमिसनतन्त्रमा केही हदसम्म ‘ब्रेक’ लाग्छ।
प्रतिशोधको अन्तहीन शृंखला इतिहासको सबैभन्दा खतरनाक परिणाम हो। जब एक शासकले अर्कोलाई प्रतिशोधको आधारमा जेल हाल्छ, तब एउटा गलत नजिर बस्छ। आज सत्तामा हुनेहरूलाई थाहा हुन्छ कि भोलि आफू सत्ताबाट हट्नेबित्तिकै अर्कोले आफूलाई पनि त्यसै गरी जेल हाल्नेछ । यसले गर्दा शासकहरू कुनै पनि हालतमा सत्ता नछोड्ने खेलमा लाग्छन्, जसले गर्दा लोकतन्त्र कमजोर हुन्छ। मुलुक विकास र नीति निर्माणमा केन्द्रित हुनुको साटो ‘कसलाई जेल हाल्ने र कसलाई बचाउने’ भन्ने दाउपेचमा मात्र अल्झिन्छ।
यस्ता घटनाले समाजलाई दुई कित्तामा बाँडिदिन्छ– एक पक्षले यसलाई ‘क्रान्तिकारी कदम’ र ‘सफाइ अभियान’ मान्छ भने अर्को पक्षले यसलाई राजनीतिक पूर्वाग्रह र लोकप्रियताको आवरणमा तानासाहीको उदय भन्छ। यसले गर्दा राष्ट्रिय मुद्दाहरूमा हुनुपर्ने एकता खण्डित हुन्छ र समाजमा असन्तुष्टिको बिउ रोपिन्छ। यदि यी गिरफ्तारीहरू केवल सत्ता जोगाउने वा नयाँ शक्तिले आफ्नो लोकप्रियता बढाउने ‘स्टन्ट’ मात्र साबित भए र प्रमाण अभावमा सबै छुट्दै गए भने यसले जनतामा झन् ठुलो निराशा पैदा गर्नेछ। यसले ‘सिस्टम’प्रति नै वितृष्णा जगाउन सक्छ।
प्रतिशोधको परिणाम शासकको नियतमा भर पर्छ। यदि प्रतिशोध व्यक्तिको अन्त्यका लागि हो भने त्यसले विनाश निम्त्याउँछ तर प्रतिशोध गलत प्रवृत्तिको अन्त्यका लागि हो भने त्यसले नयाँ र समृद्ध इतिहासको निर्माण गर्छ। रोम र मुगल साम्राज्य प्रतिशोधकै कारण ढले तर आधुनिक लोकतन्त्रहरू न्यायको जगमा उभिएर बलिया भए।
नेपालको इतिहासमा पनि प्रतिशोधका थुप्रै शृंखला छन्। जंगबहादुर राणाले कोतपर्वमार्फत लिएको प्रतिशोधले नेपालमा १०४ वर्षको निरंकुशता जन्मायो तर, समयको चक्रले फेरि कोल्टे फेर्यो। राजतन्त्रको अन्त्य र गणतन्त्रको आगमन पनि कतै न कतै दशकौंदेखि दमनमा परेका शक्तिहरूको राजनीतिक प्रतिशोध र परिवर्तनको चाहनाको मिश्रण थियो। बालेन्द्र सरकारको समर्थन र विरोधको समय अहिल्यै परिपक्क त भएको छैन तर हतारिएर गरिने निर्णयहरूले समयको चक्र भने बुझ्न सक्दैन।
प्रकाशित: १६ चैत्र २०८२ १०:२५ सोमबार

