प्रकृतिको एउटा जीवन्त र शाश्वत नियम छ - कुनै पनि मूल्यवान् ‘सार’ वस्तु प्राप्त गर्न एउटा निश्चित ‘प्रक्रिया’ र ‘आधार’ बाट गुज्रिनुपर्छ। मकैको एउटा दाना त्यसै अस्तित्वमा आउँदैन। त्यसका लागि एउटा सिंगो बोट दृढतापूर्वक उभिनुपर्छ, पातहरूले घाम र पानीसँग पौंठेजोरी खेल्दै खाना बनाउनुपर्छ, फूल फुल्नुपर्छ र दानालाई सुरक्षा दिन खोसेलाका पत्रहरूले स्नेहमयी ढंगले बेरिनुपर्छ तर प्रकृतिको यो सुन्दरता त्यतिबेलासम्म मात्र अर्थपूर्ण रहन्छ, जबसम्म बोटको सम्पूर्ण शक्ति र अस्तित्वको अन्तिम लक्ष्य दाना उत्पादन गर्नुमा केन्द्रित हुन्छ।
बोटले केवल लामा पात र बाक्ला खोसेला मात्रै उत्पादन गर्यो र भित्र दाना लागेन भने त्यो बोटको खेती गर्नुको कुनै औचित्य रहँदैन । दुर्भाग्यवश आज हाम्रो समाज र विशेषगरी नेपाली राजनीति यही दानाबिनाको खोसेलाजस्तै बन्दै गएको छ, जहाँ संरचना र तामझामको आयतन त विशाल छ तर आमजनताले पाउने प्रतिफल र उपलब्धिका दानाहरू भने अत्यन्तै न्यून र निराशाजनक छन्।
हाम्रा दैनिक सामाजिक क्रियाकलाप र सार्वजनिक कार्यक्रमहरूलाई नै सूक्ष्म ढंगले नियालौं। कुनै पनि गोष्ठी, सभा वा समारोहको मुख्य उद्देश्य एउटा निश्चित सन्देश प्रवाह गर्नु, ज्ञान बाँड्नु वा ठोस विमर्श गरी कुनै निष्कर्षमा पुग्नु हुनुपर्ने हो । तर, अचेल त्यहाँ सारभन्दा ढोँग हाबी हुन थालेको छ।
मकैको बोटमा दानाभन्दा खोसेला बढी भएजस्तै, कार्यक्रमको मुख्य विषयवस्तुमा खर्च गरिने समय र चिन्तनभन्दा आसन ग्रहण, खादा, माला, अबिर र पुष्पगुच्छाको व्यवस्थापनमा बढी ऊर्जा खर्चिन्छ। मञ्चमा आसीन अतिथिहरूको लामो ताँती, पालैपालो दिइने लामा र उही कुरा दोहोरिने भाषणहरूले कार्यक्रमको ओजलाई क्रमशः घटाउँदै लगेको छ। ‘बोल्नेको पीठो बिक्छ’ भन्ने उखानलाई हामीले यति गलत ढंगले आत्मसात् गर्यौं कि आज हामी केवल ‘बोल्ने’ मात्र भयौं, गर्ने कोही भएनौं । मकैको बोटमा पात धेरै भएर दाना चाउरिएजस्तै, हाम्रा कार्यक्रमहरूमा वक्ता र आसन ग्रहण गर्ने विशिष्टहरूको लर्को धेरै तर ठोस निष्कर्ष थोरै हुन थालेका छन् । यो अप्राकृतिक भड्किलोपनले समय र स्रोतको मात्र विनाश गरिरहेको छैन, बरु समाजमा काम गर्ने वास्तविक कार्य–संस्कृतिलाई नै ओझेलमा पारिदिएको छ । कार्यक्रमको मुख्य मर्म पाँच मिनेटको हुन्छ, तर त्यसलाई घेर्ने आवरण र औपचारिकता तीन घण्टाको हुन्छ । यो विसङ्गतिले हामीलाई एउटा अनुत्पादक समाजतर्फ धकेलिरहेको छ।
यो समस्याको प्रतिविम्ब हाम्रो देश चलाउने मूल राजनीतिमा झन् भयावह र डरलाग्दो रूपमा देखिएको छ । नेपाल जस्तो भौगोलिक बनावट र सीमित आर्थिक स्रोत भएको देशका लागि हामीलाई एउटा सानो, छरितो, सुदृढ र जनमुखी राज्य संरचना आवश्यक थियो तर हामीले व्यवस्था परिवर्तनसँगै यति धेरै राजनीतिक दल, यति धेरै तहका जनप्रतिनिधि र प्रशासनिक संरचनाहरू निर्माण गर्यौं कि अहिले देशको ठुलो हिस्सा बजेट तिनै संरचनाको व्यवस्थापन र सञ्चालन खर्चमै स्वाहा भइरहेको छ।
मकैको दाना सुरक्षित राख्न खोसेला त चाहिन्छ, तर खोसेला यति बाक्लो र गह्रौं भइदियो कि त्यसले भित्रको दानालाई नै निसासिने बनाइदिएको छ । एउटा सानो देशमा सयौंको संख्यामा रहेका सांसद, मन्त्री र राजनीतिक नियुक्तिका अनगिन्ती पदहरूले जनतालाई सेवाको अनुभूति दिलाउनुभन्दा बढी राज्यको ढुकुटी रित्याउने र झन्झटिलो प्रशासनिक संयन्त्र खडा गर्ने काम मात्र गरिरहेका छन् । राजनीति सेवाको उच्चतम र पवित्र माध्यम हुनुपर्नेमा यो केवल शक्ति प्रदर्शन, कार्यकर्ता भर्ती र आफ्नाहरूलाई व्यवस्थापन गर्ने थलो बन्नु लोकतन्त्रकै लागि गम्भीर चुनौती हो।
आजको विश्व परिमाणको होइन, परिणामको दौडमा छ । हामीलाई हजारौंको संख्यामा उस्तै काम दोहो¥याउने र फाइल ओसारपसार गर्ने जनप्रतिनिधि र संरचना चाहिएको होइन, बरु थोरै संख्यामा भए पनि देशलाई स्पष्ट दिशा दिन सक्ने दूरदर्शी नेतृत्व र चुस्त कार्यपालिका चाहिएको हो । मकैको बोटले जतिसुकै ठुलो आकार लिए पनि वा आकाशै छोए पनि त्यसमा पोटिला दाना छैनन् भने त्यो केवल जनावरका लागि घाँस मात्र हो।
त्यसैगरी, जतिसुकै समावेशी र लोकतान्त्रिक भनिए पनि यदि राज्यका संरचनाले जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगार पूरा गर्न सक्दैनन् र नागरिकको जीवनस्तरमा ठोस परिवर्तन ल्याउँदैनन् भने ती संरचनाको भारी बोकिरहनुको कुनै तुक छैन । हाम्रो राजनीतिमा अहिले देखिएको नचाहिँदो संलग्नता र अनावश्यक सक्रियताले गर्दा नै विकासका वास्तविक अजेन्डाहरू ओझेलमा परेका छन्।
साना–साना प्राविधिक र प्रशासनिक कामका लागि पनि दलीय भागबण्डा र राजनीतिक रङ मिसाउने प्रवृत्तले गर्दा हाम्रा गौरवशाली संस्थाहरू समेत धराशयी बनेका छन् । यो ठ्याक्कै मकैको बोटमा लाग्ने ‘गेडेरोग’ जस्तै हो, जसले बोट त ठुलो र हरियो देखाउँछ तर भित्र फल लाग्न दिँदैन, अन्ततः किसानको श्रम र आशा दुवै खेर जान्छन्।
हाम्रो आजको आवश्यकता संख्यात्मक वृद्धि होइन, गुणात्मक फड्को हो । धेरै प्रदेश, धेरै मन्त्रालय र धेरै नेता हुनु विकासको सूचक होइन । बरु भएका संरचना कत्तिको उत्तरदायी छन् र तिनले जनताको जीवनमा कति मूल्य थप गरेका छन् भन्ने कुरा प्रधान हो।
हामीले बनाएको यो भद्दा प्रणालीले गर्दा आम मानिसमा राजनीतिप्रति नै वितृष्णा पैदा हुन थालेको छ । जब भोको किसानले मकैको बोटमा दाना देख्दैन, तब उसले बोटलाई उखेलेर फाल्ने सोच बनाउँछ । त्यसैले, व्यवस्था जोगाउन र लोकतन्त्रलाई जनप्रिय बनाउन पनि हामीले अनावश्यक ‘खोसेला’हरूलाई हटाउनै पर्छ । खर्चिलो निर्वाचन प्रणाली, भद्दा प्रशासनिक ढाँचा र कामभन्दा बढी कुरा गर्ने राजनीतिक शैलीलाई परिवर्तन नगरी हामी समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैनौं । हामीलाई धेरै मानिस होइन, धेरै परिणाम चाहिएको छ।
अब हामीले प्रकृतिबाट पाठ सिक्दै गम्भीर आत्मसमीक्षा गर्ने बेला आएको छ । प्रकृतिले मकैको दानालाई जति सुरक्षा र पोषण आवश्यक छ, त्यति मात्रै खोसेला र बोटको निर्माण गर्छ । उसले कहिल्यै पनि व्यर्थको ऊर्जा र स्रोत खर्च गर्दैन । हामीले पनि हाम्रो राज्य संयन्त्र र सार्वजनिक जीवनलाई त्यसरी नै मितव्ययी, पारदर्शी र उद्देश्यमूलक बनाउनुपर्छ । अनावश्यक पद, असान्दर्भिक आयोग र बोझिला संरचनाहरूलाई साहसका साथ खारेज वा गाभेर छरितो बनाउनु नै अहिलेको आर्थिक संकटको वास्तविक समाधान हो । संख्या बढाउने प्रतिस्पर्धालाई पूर्ण रूपमा त्यागेर कार्यसम्पादन र गुणस्तरमा जोड दिने पद्धति बसाल्नु पर्छ। सार्वजनिक कार्यक्रमहरूलाई संक्षिप्त, सुसंस्कृत र परिणाममुखी बनाउँदै भाषणभन्दा कार्यन्वयनमा जोड दिने संस्कृतिको विकास गर्नु आजको अनिवार्य सर्त हो।
मकैको बोटको सार्थकता त्यसको उचाइ, मोटाइ वा पातको संख्यामा होइन, बरु त्यसले दिने ठोस र पोषिलो दानामा लुकेको हुन्छ । त्यसैगरी, कुनै पनि कार्यक्रम, संगठन वा राजनीतिक व्यवस्थाको सफलता त्यसको तामझाम, नारा र भीडमा होइन, त्यसले दिने उपलब्धि र जनहितमा खोजिनुपर्छ । हामीले पात र खोसेलालाई बढी महŒव दिएर दानालाई बिर्सने र उपेक्षा गर्ने आत्मघाती गल्ती गरिरहेका छौं । यो प्रवृत्तिले हामीलाई अन्ततः शून्यतातिर मात्र लैजान्छ । समयमै सचेत भएर अनावश्यक खोसेलाहरू हटाउँदै दाना अर्थात् गुण र उपलब्धिमा ध्यान केन्द्रित नगर्ने हो भने हाम्रो राजनीति र समाज केवल एउटा खोक्रो र अर्थहीन संरचनामा मात्र सीमित रहनेछ। प्रकृतिको नियमलाई मानवले बदल्न सक्दैन, तर आफ्ना स्वार्थप्रेरित आचरण र त्रुटिपूर्ण शासन शैलीलाई त विवेक प्रयोग गरेर पक्कै सुधार्न सकिन्छ। त्यसैले, परिमाणको भ्रामक मोह त्यागौं र गुणस्तरको ठोस मार्ग पक्रौं । अनावश्यक बोटको हेरचाह गरेर घाँसखोसेला उत्पादन गर्न होइन, दाना फलाउनका लागि श्रम र शक्ति खर्च गरौं।
प्रकाशित: १० वैशाख २०८३ ०७:१० बिहीबार

