२२ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

लोकतन्त्रका पर्याय विपी

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना (२०६५ जेठ १५) को दुई दशक पुग्न लागेको छ। तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्धको जनआन्दोलनपछि संविधानसभाले सर्वसम्मत रूपमा राजतन्त्र अन्त्य गर्‍यो। यस क्रान्तिका मुख्य सुत्रधार अथक राजनीतिक दिग्गज गिरिजाप्रसाद कोइराला थिए।

तराई–मधेसका मध्यमवर्गीय किसानका छोरा डा. रामवरण यादव देशको सर्वोच्च पद राष्ट्रपतिमा पुग्दा कतै विस्मय त कतै अलिअलि अविश्वासको वातावरण भए पनि एउटा ऐतिहासिक खुसीको लहर अनुभूति भइरहेको थियो। सामान्य नागरिकका आशा विपरीत यति चाँडै आज देशले संसद्भित्र र बाहिर विभिन्न भ्रम र अराजकताको सामना गर्नुपर्ने अवस्था आउनु हाम्रो विडम्बना हो। नेपाली नागरिकका एक वर्गले नयाँ संविधानको आधारभूत भावनामाथि नै प्रश्न उठाउने आँट गरिरहेका छन्। यस अनिश्चितताबिच हाम्रा सामु साउन ६ गते आउँछ, जुन दिन हर्षोल्लासका साथ देशभर ‘महामानव’ को स्मृति दिवस मनाइने छ।

प्रत्येक वर्ष यो दिन इतिहासका यस्ता सपुतलाई सम्झिन्छ, जसले राजनीतिक, सामाजिक र साहित्यिक क्षेत्रमा अविस्मरणीय छाप छाडेका छन्। ती हुन्, विश्वेश्वरप्रसाद कोइराला, जसलाई हामी प्रेमले विपी भनेर सम्झिन्छौं, देशका प्रजातान्त्रिक आन्दोलनका एक महान् योद्धा, पहिलो जननिर्वाचित प्रधानमन्त्री, साहित्यकार र दूरदर्शी नेता। देहावसानको चार दशक बिते पनि उनको विचार, दृष्टिकोण र आदर्श आज पनि उत्तिकै प्रासंगिक र सान्दर्भिक छ। ४३औं स्मृति दिवसको अवसरमा हामी उनको योगदान, नेतृत्व, राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको दृष्टिकोणलाई फर्केर हेर्ने प्रयास गर्नेछौं।

विपीको जन्मस्थल नेपाल भए पनि उनको परिवार राणाशासनको दमनबाट बच्न भारतको बनारसमा बसाइँ सरेको थियो, जहाँ उनको बाल्यकाल र प्रारम्भिक शिक्षा–दीक्षा भयो। उनले बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक र पछि कलकत्ता विश्वविद्यालयबाट कानुन विधामा स्नातक तहको शिक्षा हासिल गरेका थिए। त्यसैले उनको अधिकांश बाल्ल्यकाल र युवावस्था भारतमा बित्यो।

भारतमा रहँदा उनले त्यहाँको स्वतन्त्रता संग्राममा समेत भाग लिए, जसले उनको राजनीतिक चेतनालाई अझ प्रखर बनायो। भारतीय जेलमा बस्दा डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण र जगजीवन रामजस्ता प्रमुख नेताहरूसँग संगत गर्न पाएका थिए। तसर्थ विपी नेपालमा जन्मिए तर भारतमा हुर्किए र शिक्षित भए।

नेपाललाई विश्वव्यापी स्तरमा चिनाउने तीन विशेष परिचयहरू छन्: पहिलो उत्तरी सिमानामा अवस्थित प्रकृतिले दिएको वरदान सगरमाथा, दोस्रो शान्तिका अग्रदूत गौतम बुद्ध, र तेस्रो लोकतान्त्रिक चेतनाका जीवन्त प्रतीक विपी कोइराला। यीमध्ये विपीको नाम राजनीतिक, साहित्यिक र राष्ट्रिय स्वाभिमानको प्रतीकस्वरूप अमिट छ। साउन ६ गते उनलाई कांग्रेस कार्यकर्ता मात्र होइन, अन्य पार्टी र विभिन्न विचारधाराका नागरिकले पनि श्रद्धापूर्वक सम्झन्छन्।

विपीले राणा शासनको अन्त्य गर्न र प्रजातन्त्र स्थापना गर्न निर्णायक भूमिका निर्वाह गरेका थिए। २०१५ सालमा कांग्रेसको नेतृत्वमा उनले पहिलो जननिर्वाचित प्रधानमन्त्रीको कार्यभार सम्हाले। यद्यपि उनको कार्यकाल करिब डेढ वर्षको मात्र रह्यो। तथापि यो छोटो अवधिमा उनले देशमा विकास र प्रजातान्त्रिक मूल्य–मान्यताको जग बसाल्ने प्रयास गरे। प्रधानमन्त्रीको रूपमा विपीको योगदानको चर्चा प्रत्येक पार्टीका सदस्य एवं समाजका बौद्धिक वर्गले गरिरहेका हुन्छन्।

उनको नेतृत्वमा नेपालले आधुनिक विकासको बाटोमा पाइला चालेको थियो। प्रधानमन्त्री हुँदा डेढ वर्षको छोटो अवधिमा विपीले प्रजातान्त्रिक समाजवादको अवधारणा अगाडि सारे। उनको सरकारले भूमिसुधार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दियो। उनले गरिबी निवारण र सामाजिक समानताका लागि नीति बनाए। उनले विभिन्न जातजाति, धर्म र क्षेत्रका जनताबीच एकता कायम गर्ने प्रयास गरे। उनको सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक संस्थाहरूलाई बलियो बनाउन नीतिगत आधार तयार गर्‍यो।

विपीको अर्को महत्त्वपूर्ण पक्ष उनको राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हितको रक्षा गर्ने क्षमता थियो। नेपालको भूराजनीतिक अवस्थालाई उनले गहिरोसँग बुझेका थिए। भारत र चीनजस्ता दुई ठूला छिमेकीहरूबिच नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्नु उनको प्रमुख प्राथमिकता थियो। भारतमा हुर्किएका कारण भारतसँगको सम्बन्ध उनका लागि आत्मीय थियो तर उनी त्यसप्रति अन्धभक्त भएनन्।

चीन, अमेरिका, बेलायतजस्ता मुलुकसँग कूटनीतिक सन्तुलन कायम राख्न उनी अब्बल देखापरे। उनले विश्व नेताहरूसँग कुरा गर्दा कहिल्यै पनि हीनताबोध गरेनन्। बरु उनले नेपालको स्वाभिमान र हितलाई सधैं पहिलो स्थानमा राखे। उनको कूटनीतिक दृष्टिकोण सन्तुलित र परिपक्व थियो। उनले भारतसँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने आवश्यकता बुझ्थे तर नेपालको स्वतन्त्र पहिचानसँग कहिल्यै सम्झौता गरेनन्। उनले विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने प्रयास गरे, जसले नेपालको विकासमा सहयोग पु¥यायो। साना राष्ट्रहरूको हितको पक्षमा उनले आवाज उठाए।

संयुक्त राष्ट्रसंघमा नेपाली प्रतिनिधिको रूपमा उनले दिएको मन्तव्य आज पनि प्रासंगिक मानिन्छ। राष्ट्रहितमा विश्व नेताहरू सामु उभिन सक्ने साहसिक नेता नेपालमा कमै देखिन्छन्। यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सम्मान बढाएको थियो। उनको अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको दृष्टिकोण आज पनि नेपालको कूटनीतिक नीतिको आधार बनेको छ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रद्वारा उनलाई तानाशाही तवरले अपदस्थ गरियो र लगातार आठ वर्षको लागि जेल हालियो। यो घटना नेपालको लोकतान्त्रिक यात्राको एउटा गम्भीर मोड थियो। विपी कोइराला केवल एक राजनीतिक नेता मात्र थिएनन्, उनी एक दूरदर्शी विचारक पनि थिए। उनको प्रजातान्त्रिक समाजवादको आदर्शले नेपालको सामाजिक र आर्थिक विकासको मार्गचित्र कोर्‍यो। उनले प्रजातन्त्रलाई केवल शासन प्रणालीको रूपमा मात्र देखेनन्, बरु यसलाई सामाजिक न्याय, समानता र समृद्धिको आधार बनाउन चाहन्थे। उनको दृष्टिकोणमा प्रजातन्त्र र समाजवाद एकअर्काका परिपूरक थिए।

उनले भनेका थिए, ‘प्रजातन्त्र बिना समाजवाद अधुरो हुन्छ, र समाजवाद बिना प्रजातन्त्र अपूर्ण हुन्छ।’ यो दृष्टिकोणले उनको गहिरो चिन्तन र समाजप्रतिको जिम्मेवारीलाई झल्काउँछ।

उनको नेतृत्वको विशेषता भनेको उनीसँग सहकर्मीहरू एकताबद्ध भएर बस्थे अर्थात् उनीसँग त्यसरी राख्ने क्षमता थियो। नेपाली कांग्रेसका नेताहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग उनको गहिरो मित्रता र सहकार्यले प्रजातान्त्रिक आन्दोलनलाई बलियो बनायो। यी तीन नेतात्रयले नेपालको प्रजातान्त्रिक इतिहासमा अमर स्थान बनाएका छन्।

विपीले आफ्ना सहकर्मीहरूलाई विश्वासमा लिन र उनीहरूलाई प्रेरित गर्न सक्ने अद्भूत क्षमता राख्थे। उनको विनम्रता, बौद्धिकता र सादगीले सबैलाई प्रभावित गर्थ्याे। चाहे गणेशमान सिंहको साहस होस् वा कृष्णप्रसाद भट्टराईको संयम, विपीले सबैको गुणलाई सम्मान गर्दै पार्टीमा एकता कायम गरेका थिए। उनी सहकार्य, सहिष्णुता र सामूहिकताको राजनीतिमा विश्वास राख्थे। उनको नेतृत्व परामर्शदायी हुन्थ्यो। उनले आफ्नो सहकर्मीहरूको विचारलाई महत्त्व दिन्थे र पार्टीका सहकर्मीहरूलाई विश्वासमा लिएर निर्णय गर्न मन पराउँथे। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगको सहकार्य त्यही नैतिकताको प्रमाण हो। उनी सहनशील, दूरदर्शी र विचारमा स्पष्ट थिए, जसले उनलाई जनतामाझ लोकप्रिय बनायो।

पार्टीभित्रको भिन्न मतलाई सम्मानपूर्वक लिन सक्ने क्षमता उनको विशेषता थियो। उनी कहिल्यै तानाशाही प्रवृत्तिमा लागेनन्। सरकार चलाउँदा पनि उनले संसद्, प्रेस र न्यायपालिकाको स्वतन्त्रतालाई महत्त्व दिए। आजको दिनमा जहाँ सत्ताको निरंकुशता देखा पर्न थालेको छ, विपी कोइरालाको सहिष्णुताको पाठ पुनः सान्दर्भिक हुन गएको छ।

विपी कोइरालाको जीवन संघर्षले भरिएको थियो। उनले नेपाल र भारतमा गरी वर्षौंसम्म जेल जीवन बिताए। विशेषगरी २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले जेलमा बिताएका आठ वर्षहरू उनको संकल्प र धैर्यको प्रतीक हुन्। उनले जेलमै २९ दिनसम्म लगातार अनशन गरे, जुन नेपालको इतिहासमा कुनै पनि नेताले गरेको सबैभन्दा लामो अनशन हो। उनको यस्तो साहसी कार्यले उनलाई जनताको मनमा अमर बनायो।

भनिन्छ, संघर्षले साहित्य जन्माउँछ। जेलमा रहँदा पनि उनले लेखन कार्यलाई निरन्तरता दिए। उनको साहित्यिक योगदानले उनलाई एक साहित्यकारको रूपमा पनि स्थापित गर्‍यो। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदीआइन’ जस्ता उपन्यास र उनको आत्मकथा ‘आत्मवृत्तान्त’ ले नेपाली साहित्यमा नयाँ आयाम थपे। उनको लेखनमा मनोवैज्ञानिक, सामाजिक यथार्थ र दार्शनिक चिन्तनको गहिरो छाप पाइन्छ।

२०३६÷३७ मा नेपाली राजनीतिले एउटा ऐतिहासिक मोड लिएको देखिन्छ। विद्यार्थीहरूले पञ्चायती निरंकुशता, भ्रष्टाचार र स्वतन्त्रता हननविरुद्ध आवाज उठाए। २०३६ सालको प्रारम्भमा सुरु भएको विद्यार्थी आन्दोलनले देशव्यापी स्वरूप लियो। यसले तत्कालीन निर्दलीय निरंकुश पञ्चायतकालीन युगको विपक्षमा राष्ट्रव्यापी जनमत तयार गर्‍यो।

यही समयमा विपी कोइराला जसले लामो निर्वासन र जेल जीवनपछि २०३३ मा नेपाल फर्किएका थिए, अगाडि आए। उनले ‘राष्ट्रिय मेलमिलाप नीति’ मार्फत राजा र प्रजातन्त्र पक्षधरबीच संवाद र सहकार्यको मार्ग खोल्ने प्रयास गरे। राजा वीरेन्द्रले देशमा सुधारिएको पञ्चायती व्यवस्था कायम राख्ने कि बहुदलीय प्रजातन्त्रमा जाने भन्ने विषयमा ‘जनमत संग्रह’ को घोषणा गरे जसको पृष्ठभूमिमा व्यापक विद्यार्थी आन्दोलन थियो।

जनमत संग्रहको घोषणालाई विपीले शान्तिपूर्ण परिवर्तनको अवसर मानेर बहुदलीय प्रजातन्त्रको पक्षमा खुला अभियान चलाए। उनले प्रजातन्त्रको पक्षमा गम्भीर, संयमित र मूल्यमा आधारित देशव्यापी विचार प्रवाह गरे। हिंसाको विरोध गर्दै जनतालाई सचेत हुन आग्रह गरे र लोकतन्त्रलाई दीर्घकालीन समाधानको रूपमा प्रस्तुत गरे।

२०३७ सालमा जनमत संग्रहमा पञ्चायती पक्ष ५४.७ प्रतिशतले विजयी भए। विपीले परिणामलाई शालीनतापूर्वक स्वीकार गरे। यद्यपि उनले हारको दुःख व्यक्त गरे तर जनमतलाई अस्वीकार गरेनन्। उनका अनुसार ‘हामी जनताको निर्णयलाई स्वीकार गर्छौं। हाम्रो लक्ष्य जनतालाई निर्णय गर्न सक्षम बनाउनु हो। परिणामपछि पनि उनले निरन्तर संवैधानिक सुधार, नागरिक स्वतन्त्रता र संवादको आवश्यकता औंल्याइरहे। क्यान्सरले कमजोर पारे पनि २०३९ मा निधन हुने बेलासम्म उनी लोकतन्त्र र मेलमिलापको सन्देश बोकेर सक्रिय रहे। उनको यो शालीन, लोकतान्त्रिक र दूरदर्शी भूमिकाले नेपालमा प्रजातन्त्रको जग मजबुत बनाउँदै २०४६ को जनआन्दोलन र अन्ततः लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो सुनिश्चित गर्‍यो।

आज देश राजनीतिक अन्योल, भ्रष्टाचार, नैतिक पतन र अवसरवादको दलदलमा फसिरहेको छ। यस अवस्थामा विपीको दूरदर्शिता, इमानदारिता, राष्ट्रप्रेम, लोकतान्त्रिक आस्था र सहकार्यको भावना नितान्त रूपले आवश्यक छ। ‘लोकतन्त्र जनताको लागि हो तर जनतालाई त्यसको लागि तयार बनाउनु जरुरी छ।’ उनको यो भनाइ आज बढी सान्दर्भिक भएर गएको छ।

विपी नेपाली राजनीतिका अमर दीप हुन्। उनकै त्याग, संघर्ष र दृढताले नेपालमा लोकतन्त्रको बीउ रोपेको थियो। आजको स्वतन्त्र र लोकतान्त्रिक नेपालको जग उनकै योगदानको फल हो। उनको मृत्यु वर्षगाँठमा हामी उनलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनका आदर्शहरूलाई जीवन्त राख्ने संकल्प लिउँ। उनको सपनाको राष्ट्र निर्माण गर्नु हामी सबैको दायित्व हो। लोकतन्त्रका महान् योद्धा विपी कोइरालालाई  भावपूर्ण श्रद्धाञ्जलि !

– कांग्रेस केन्द्रीय कार्य समिति सदस्य 

प्रकाशित: ५ श्रावण २०८२ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App