१८ चैत्र २०८२ बुधबार
image/svg+xml
विचार

विपक्षी दलका सुधार अजेन्डा

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बनाइदिएको छ। प्रचण्ड बहुमतबाट बनेको रास्वपाको सरकारले ‘र्‍याडिकल सुधार’का योजना घोषणा गरेर र सरकार बनेको केही घण्टाभित्रै विपक्षी नेताहरूलाई धरपकड गरेर उनीहरूमाथि चुनौती थपिदिएको छ। ती दलमध्ये नेपाली कांग्रेस चुनावी धक्काको आत्मसमीक्षा गर्दै आफूलाई सुधार गर्ने क्रममा छ। यद्यपि पार्टीभित्रकै त्यस बखतको नेतृत्ववर्गको ठुलै गुट कि त सुधारप्रति उदासीन छ, कि विरोधी।

कांग्रेसबाहेकका दलले त यस्तो आत्मसमीक्षाको कुरै सुन्न चाहेका छैनन्। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गत हप्ताको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा चुनावी हारका कारणको विश्लेषण गर्दै सुधारका क्षेत्रहरू पहिल्याइएको विस्तृत विवरण प्रस्तुत गरे। विवरणमा प्रस्तुत २७ बुँदामध्ये केही आफ्नै दलका सन्दर्भमा मात्रै लागु हुने खालका छन्। जसमा अरूले थप केही भनिरहन परेन। अतः प्रायः सबै ठुला र पुराना दलका सन्दर्भमा लागु हुने विश्लेषण र तिनका टिप्पणीमा यो आलेख केन्द्रित रहनेछ।

भुलहरूको शृंखला

शर्माले आजभन्दा १० वर्ष अगाडिदेखिकै पार्टीका कमजोरी औंल्याउँदै भनेका छन्– २०७२ असोजमा देशमा नयाँ संविधान बनेपछि त्यसको मर्म र अक्षरअनुरूप राजनीतिक परिवर्तन र परिमार्जन गर्ने सवालमा हामी गम्भीर नहुनु पनि हारको एउटा कारण हो।

पुराना र ठुला दलको पराजयका निमित्त उतिबेलैदेखि गर्नुपर्ने संवैधानिक सुधार र प्रबन्धका कुरा नगरिनु पनि एउटा कारण होला तर त्यो प्रधान कारण होइन। किनकि योभन्दा अघि र २०७२ असोजभन्दा पछि २०७४ तथा २०७९ मा गरी देशमा दुई पटक आमचुनाव भइसकेको थियो। जसमा पुराना दलहरू नै विजयी भएका थिए।

पछिल्लो समयमा देशमा स्थिर सरकार बन्न नसक्नु, छोटो समयमा सरकारहरू परिवर्तन भइरहनु, त्यस क्रममा सत्ताकै लागि फेरि छिट्टै भंग हुने अपवित्र गठबन्धनहरू गरिनु र उही तीन दलका तीनजना असफल सिद्ध पात्र पालैपालो प्रधानमन्त्री भइरहनु पनि पुराना दलहरूको चुनावी हारको एउटा प्रमुख कारण रहेकै हो। शर्माले भने जस्तै पटकपटकका त्यस्ता गठबन्धनले आमजनतामा रोष र आक्रोश बढाएकै हो। व्यवहारवादका नाममा विपरीत ध्रुवका विचार र राजनीतिक स्पेस बोकेका दलसँग सत्ताकै लागि चुनावी गठबन्धन गरेकालाई मतदाता, कार्यकर्ता र जनताले अन्ततः तिरस्कार गरेकै हुन्। त्यस्तै, दुई ठुला दलले मिलेर सरकार बनाउँदा संसद्मा प्रतिपक्षीको उपस्थिति र आवाजसमेत कमजोर बनेको शर्माको कथन छ। जसले गर्दा जनतामा रहेको आक्रोशले संसद्मार्फत पाउन सक्ने निकास पनि पाएन।

त्योबाहेक तीन ठुला दललगायतका दलभित्र रहेको चरम गुटबन्दी र आन्तरिक द्वन्द्व देखेर पनि पहिले उनीहरूलाई मत दिइरहेका जनता उनीहरूदेखि नराम्रैसँग विरक्तिएका थिए। नेताका व्यक्तिगत र गुटगत स्वार्थ तथा सत्ता स्वार्थले आफ्नै दललाई अलोकप्रिय र कमजोर बनाएको थियो। जुन अवस्थाको भुक्तभोगी शर्मा स्वयं हुन्।

हालका पार्टी सभापति गगन थापा र शर्माले कांग्रेसभित्र रहेको यो चक्रव्यूह केही हदसम्म तोडे पनि पूरा तोड्न सकेनन्। तोड्नका लागि चुनावपूर्व पर्याप्त समय पनि पाएनन्। नेकपा एमाले र नेकपामा त नेतृत्वको त्यस्तो गुटबन्दी, सत्ताको लोभ र अधिकारको दुरुपयोगको विषयमा आवाज उठाउने हिम्मत नै कसैले गरेनन्।

पुराना दलमा पुराना मात्र होइन, शारीरिक र मानसिक रूपमा जीर्णसमेत भइसकेका नेताले सम्मानजनक अवकाश लिन नमान्नु र पार्टीसत्ता एवं राज्यसत्तामा टाँसिइरहनु पनि चुनावी हारको एउटा प्रमुख कारण रह्यो। नवीन सोच र नवीन वयका सक्षम युवाहरूलाई दलको नेतृत्वमा स्वीकार नै नगर्ने परिपाटीले युवा र जेनजी पुस्ताको मत उनीहरूविरुद्ध गयो।

भ्रष्टाचार विरुद्ध जनआक्रोश

भ्रष्टाचार पुराना दलको चुनावी हारको सबैभन्दा प्रमुख कारण रह्यो। पछिल्लो समय विभिन्न गठबन्धन सरकारहरूका पालामा उपल्लो तहमा एकपछि अर्को नीतिगत भ्रष्टाचारका काण्ड घटिरहँदा जनताको आक्रोश चरम चुलीमा पुगेको थियो। जसलाई ती दलले हल्का रूपमा लिए। मूलतः यो कारण र जनताको प्रत्यक्ष काम पर्ने सरकारी अड्डाहरूमा काम लिनुपर्दा घुसखोरी र बिचौलियाको चक्करमा नपर्ने हो भने काममा ढिलासुस्ती हुने वा कामै नबन्ने स्थितिले आमजनमा सत्तासीन दलहरूप्रति असन्तोष बढेको थियो।

प्रायोजित भाष्य

शर्माका अनुसार पछिल्लो ३५ वर्षमा देशमा विकास हुँदै नभएको, भ्रष्टाचार र कुशासन मात्र बढेको भनेर केही समयदेखि विभिन्न राजनीतिक तप्काबाट फैलाइएको भाष्यले पनि आमजनताका मनमस्तिष्कमा पुराना दलहरूप्रति घृणा भर्ने काम गर्‍यो। यद्यपि यो ३५ वर्षमा नराम्रो काम मात्र भएको, राम्रो काम हुँदै नभएको भने होइन। कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धि, गरिबी न्यूनीकरण, सडक सञ्जाल र ऊर्जालगायतका पूर्वाधारको विस्तार, शिक्षा एवं स्वास्थ्य सेवाको विस्तार र ‘कनेक्टिभिटी’को विस्तारजस्ता कतिपय तथ्यांक एवं मानव विकास र समाज विकासका सूचकांकले यसबिचमा उल्लेख्य प्रगति भएकै देखाउँछ।

३५ वर्ष पूर्वको आर्थिक वृद्धि र सामाजिक विकासको सुस्त दरसँग तुलना गर्दा प्रगति भएको देखिए पनि यही अवधिमा विश्वका अन्य कतिपय मुलुकमा भएको जति धेरै र चाँडो विकास भने हामीकहाँ नभएकै हो। जसका निमित्त ठुला र पुराना दलले नियन्त्रण त के, न्यूनीकरण गर्नसमेत उदासीन रहेका भ्रष्टाचार, कुशासन र कुप्रबन्धको ‘फ्याक्टर’ सबैभन्दा दोषी छ।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै आफूहरूले उनीहरूको लोकप्रियतावादको लहर नबुझ्नु र सामाजिक सञ्जालको अल्गोरिदमको असरको आँकलन गर्न नसक्नुलाई पनि चुनावी हारका थुप्रैमध्ये एउटा कारक मानेका छन्। यो पनि केही हदसम्म सत्य हो। यो कति ठुलो कारक हो, यस विषयमा थप अनुसन्धान र बहस हुन भने बाँकी छ। जे होस्, नयाँ र ‘युवाहरूको दल’ रास्वपाले लिएको ‘डिजिटाइजेसन’को फाइदा कांग्रेसजस्ता पुराना दलले समेत लिने र ‘डिजिटाइजेसन’को चुनौती सामना गर्ने कुरामा आफूहरू सक्षम बन्नुपर्ने पाठ यो चुनावले उनीहरू सबैलाई सिकाएको छ।

वैदेशिक रोजगार: भ्रम र वास्तविकता

अर्को बुँदामा शर्मा भन्छन्– वैदेशिक रोजगारीमा जानु अपराध थिएन तर त्यसलाई अपराधजस्तो गरी प्रस्तुत गरियो। हुन पनि ‘हेर त कठै! दिनमा कति सय युवा रोजगारीका लागि विदेश जान्छन्’ भन्नेदेखि ‘यति मान्छे बाकसमा फर्कन्छन्’ भन्ने सम्मका भावनाको व्यापार हामी कहाँ धेरै गरिन्छ तर देशभित्र पर्याप्त रोजगारी यति कारणले हुन गाह्रो छ, त्यसैले वैदेशिक रोजगारी नै अहिलेको बाध्यता र यथार्थ पनि हो भन्ने विमर्श गरिँदैन।

हामी वित्तीय साधनको उपलब्धताको हिसाबले त गरिब छौं नै, प्राकृतिक र खनिज स्रोतका हिसाबले पनि गरिब छौं, जलस्रोत र सिमेन्टबाहेक। जलस्रोतको बजारीकरणमा भूराजनीति ठुलो समस्या रहेको छ। अति राजनीतिकरणले गर्दा यो क्षेत्रबाट हामीले समयमै फाइदा लिन सकेनौं र धेरै अवसर गुमायौं पनि। त्यसै पनि हामीले बुझ्नुपर्ने कुरा के हो भने ऊर्जा जलस्रोत क्षेत्र उत्पादनशील क्षेत्रजस्तो धेरै रोजगारी दिने क्षेत्र होइन।

आर्थिक विकासका लागि तुलनात्मक लाभका क्षेत्र

उत्पादनशील क्षेत्रको विकासका निमित्त नभई नहुने पुँजी र प्रविधिजस्ता कुरा पनि हामीसँग छैनन्। उद्योग स्थापना र सञ्चालनका लागि चाहिने कच्चा पदार्थतर्फ (सिमेन्टबाहेक अरू) मनग्ये कच्चा पदार्थ उपलब्ध छैनन्। सके त उत्पादनशील क्षेत्रको विकास गरेर सबै नेपालीका लागि ठुलो संख्यामा रोजगारी सिर्जना गर्न सक्नुपर्थ्याे तर पुँजी, प्रविधि र कच्चा पदार्थको अभावमा अनि दुइटा विशाल छिमेकी देश चीन र भारत संसारकै उत्पादनशील क्षेत्रको ‘पावर हाउस’ बनिरहँदा उनीहरूको ‘इकोनोमी अफ स्केल’को लाभका कारण यो कुरा सम्भव छैन।

यस्तो स्थितिमा हाम्रो तुलनात्मक लाभका रूपमा रहेको युवा श्रमशक्तिको ‘डेमोग्राफिक बोनस’ भएको हाम्रो देशबाट श्रमिकको खाँचो रहेको देशतिर ओइरिनु सामान्य कुरा हो। आजको भूमण्डलीकरणको जमानामा चीन, अमेरिका, युरोप, भारत, कोरियाजस्ता विकसित देशका नागरिक पनि आकर्षक कमाइका लागि वैदेशिक रोजगारीमा जान्छन्। हामीभन्दा विकसित फिलिपिन्सका नागरिक घरेलु कामदारका रूपमा सबैभन्दा धेरै संसारका कुनाकाप्चामा पुगेका छन्। हामीकहाँबाट वैदेशिक रोजगारीमा जानेहरू धेरैजसो अदक्ष र अर्धदक्ष छन्, जसले उनीहरूले माथि उल्लिखित देशका नागरिकले झैं आकर्षक आम्दानी गर्न सक्दैनन्। त्यसैले हाम्रो आजको आवश्यकता भनेको राज्यले श्रम गन्तव्य मुलुकमा माग हुने सिप र दक्षताले उनीहरूलाई युक्त तुल्याएर पठाउनु हो, न कि वैदेशिक रोजगारलाई बन्द वा निरुत्साहित गर्नु।

वास्ता नगरिएका तीन घुम्ती

निराशा झ्यांगिन सुरु भएको तीन घुम्ती भनी शर्माले २०७९ सालको काठमाडौं महानगरपालिकालगायत धरान र धनगढीजस्ता ठुला नगरपालिकामा ठुला, पुराना दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवारले हासिल गरेको सानदार जितलाई औंल्याएका छन्।

सोही साल पाँच महिना मात्र पुरानो दल रास्वपाले २१ सिटमा जित हासिल गर्नुलाई उनले तीन घुम्तीको दोस्रो घुम्ती बताएका छन्। अनि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई तेस्रो घुम्ती भनेका छन् । चुनाव र ठुलो आन्दोलनका रूपमा भएका यी तीनै घटनाले पुराना दलको राजनीतिक स्पेस र जनसमर्थनमा ठुलो पहिरो गएको सन्देश दिएको थियो। जसलाई नकार्ने वा हल्का रूपमा लिने काम ती दलले गरे। जुन कुरा यो पंक्तिकारले पनि बारम्बार आफ्ना लेखहरू मार्फत उठाएको धेरैलाई स्मरण हुनुपर्छ।

प्रकाशित: १८ चैत्र २०८२ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %