सन् १९५० देखि तीन वर्षसम्म भएको कोरियाली युद्धले कोरियाली प्रायद्वीपलाई तहसनहस पारेको थियो। यसले इतिहासमा कोरियाली युद्धको उपमा पाएको छ। युद्धको समयमा, कोरियाली नागरिकहरू विदेशबाट सहयोग स्वरूप प्राप्त हुने खाद्य सहायतामा ठूलो हिस्सा निर्भर हुनुपर्ने अवस्था थियो। विभिन्न आलेखहरूमा उल्लिखित विषयलाई नियाल्दा केही कोरियालीहरूले युद्धको समयमा नेपाल सरकारबाट प्राप्त भएको खाद्य सहायताको उपभोग गरेको सन्दर्भ उल्लेख हुने गरेको छ।
नेपालबाट प्राप्त भएको खाद्य सहायताले कोरियाली जनता र उनीहरूको मानवीय भावना बिचको सम्बन्धको इतिहास लामो रहेको छ। सन् १९५३ मा, कोरियाको प्रतिव्यक्ति जिडिपी ६७ अमेरिकी डलर थियो।कोरियाली युद्धपछि, सबै कुरा ध्वस्त भएकाले त्यस बखत विश्वको सहायता र समर्थन बिना कोरियाली जनता बाँच्न सक्ने अवस्थामा थिएनन्।
सन् १९६० देखि १९८०को दशकसम्म, विकसित देशहरूबाट विकासका लागि वित्त सहयोग, सहुलियतपूर्ण कर्जा र कोरियाली आप्रवासी कामदारहरूबाट प्राप्त हुने रेमिट्यान्सले राष्ट्रिय विकासको जग बसाल्यो। उक्त अवधिमा जर्मनी र मध्य पूर्वी देशहरूमा कोरियाली आप्रवासी श्रमिकका लागि उच्च अवसरका रूपमा लिएका थियौं।गत वर्ष मात्र कोरियाको प्रतिव्यक्ति आय (जिडिपी) ३६,००० अमेरिकी डलर पुगेको छ।
कोरियाको परिस्थिति अन्य विकासशील देशको भन्दा फरक हुन सक्छ, तथापि कोरियाले देश विकासको यात्रामा सबै क्षेत्रहरूमा समावेशी रूपमा विकास प्रक्रिया अनुभव गरेको छ।अर्को शब्दमा भन्नुपर्दा कोरिया विकास सहयोग साझेदारको रूपमा विशिष्ट स्थानमा छ। हामी विकासशील देशहरूको विकास यात्रामा सामना गरेका चुनौती र चासो बुझ्ने तथा हाम्रा आफ्नै व्यावहारिक अनुभवहरू साट्न साझेदारको भूमिकामा रहन पाउँदा गर्व गर्छौं।
कोरियाली युद्धदेखि नै कोरियाले विकासशील देशहरूसँग आफ्नो विकास अनुभव बाँड्न प्रयासरत छ।विगतमा विकासको चरणमा कोरियाले अनुभव गरेका अप्ठेरा पक्षहरू अन्य मुलुकले भोग्न नपरोस् भन्ने योजना अनुसार लागि परेका छौं।
नेपाल लगायत विकासशील देशहरूलाई विकास अनुदान प्रदान गर्ने, ठूला स्तरका विकास परियोजनाका लागि सहुलियत ऋण प्रदान गर्ने, विशिष्ट क्षेत्रहरूमा ज्ञान साझेदारी कार्यक्रम प्रवद्र्धन गर्ने, सरकारी अधिकारीहरूका लागि प्रशिक्षण र विदेशमा अध्ययन कार्यक्रम सञ्चालन गर्ने र विशिष्ट क्षेत्रहरूमा कोरियाली विज्ञहरू पठाउने लगायतका कार्यक्रम समावेश गरिएको छ। यी कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्ने उद्देश्यका साथ कोरियाले १९९१ मा कोरियाको विकास सहयोगको लागि समर्पित एजेन्सीको रूपमा कोइकाको स्थापना गरेको थियो।
सन् १९९५ जुन महिनामा आफ्नो नेपाल कार्यालय स्थापना गरेदेखि, कोइकाले विगत ३० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रहरूमा विकास सहयोग परियोजना प्रवद्र्धन गर्दै आएको छ।धेरै विकासशील देशहरूमध्ये, कोरियाले विगत १५ वर्षदेखि नेपाललाई विकास सहयोगको लागि प्राथमिकता सूचिमा समावेश गरेको छ। कोरियाले नेपालको दिगो र समावेशी विकासका लागि महत्व दिँदै सहयोगलाई निरन्तर बढाउँदै लगेको छ।
विगत ३० वर्षमा, कोरियाले नेपालका विभिन्न परियोजनाहरूमा लगभग २० करोड अमेरिकी डलर विकास अनुदानमा लगानी गरेको छ र सम्बन्धित क्षेत्रका दुई हजार दुई सय ३० जना सरकारी अधिकारीहरूलाई कोरियामा अध्ययन वा छोटो अवधिको तालिम लिने अवसरहरू प्रदान गरेको छ। अमेरिकी पिसकप्र्स स्वयंसेवक जस्तै हालसम्म दुई हजार नौ सय २१ जना कोइका स्वयंसेवक (वर्ल्ड फ्रेन्डस् कोरिया)हरू नेपालको स्वास्थ्य, शिक्षा, कृषि तथा प्रशासन लगायत विभिन्न क्षेत्रहरूमा पठाइएको छ, जसले कोरियाको अनुभव र ज्ञान साट्ने कार्य गरिरहेका छन्।
कोरिया सरकारले नेपाल सरकारसँग परामर्श गरी विकास सहायताका लागि चार क्षेत्रमा ध्यान केन्द्रित गरेको छ। नेपालको रोजगारीको ६० प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रमा उत्पादकत्व सुधार गर्ने, स्वास्थ्यका लागि पहुँच नपुग्ने क्षेत्रका जनसंख्याको लागि स्वास्थ्य सेवा प्रदान गर्ने, व्यावसायिक तालिममा केन्द्रित शैक्षिक सहयोग र सूचना तथा सञ्चार प्रविधि क्षेत्रका माध्यमबाट नेपालको स्थिर दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका रहने क्षेत्रलाई समावेश गरिएको छ।
कृषि क्षेत्रमा, कोरियाले नेपालको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न सहकार्य गर्दै आएको छ।यही वर्ष २०२५ मे महिनामा, उन्नत कोरियाली कृषि प्रविधि हस्तान्तरण गर्न काठमाडौंमा कृषिमा आधुनिकरणका लागि कोपिया सेन्टर स्थापना गरिएको छ।
उक्त सेन्टर मार्फत नेपालमा पहिलो परियोजनाको रूपमा आलु उत्पादकत्व सुधार गर्न सहकारी सुरु गर्ने तयारी गरिरहेको छ। हामी दुई देशबिच कृषि क्षेत्रको सहकार्यले नेपालमा कृषि उत्पादकत्व बढाउनेछ र कृषि उपज आयात घटाउने तथा नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्नेछ।
पर्याप्त दक्ष जनशक्तिको आधार तय गरी परिचालन गर्नु नै कोरियाको विकास र सम्वृद्धिमा सफलताको प्रमुख भूमिका रहेको छ। हाम्रो अनुभव बाँड्न सन् २०१२ देखि नेपालको लुम्बिनी प्रदेशको बुटवलमा व्यावसायिक तालिम केन्द्र स्थापना गरी उक्त क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति भइरहेको छ।
उक्त तालिम केन्द्रबाट अध्ययन समापन गर्ने अधिकांश विद्यार्थीले सफलतापूर्वक रोजगारी पाएका छन्। यस्ता तालिम केन्द्रहरू हरेक प्रदेशको आवश्यकता र विशेषता अनुसार स्थापना गर्दै जाने योजना अनुसार लागि परेका छौं।
मधेश प्रदेश महोत्तरी जिल्लाको बर्दिबासमा व्यावसायिक तालिम केन्द्र निर्माणधीन छ।हाम्रो योजना अनुसार सन् २०२७ बाट विद्यार्थीहरूले सेवा लिन सक्नेछन्। त्यसैगरी सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश लगायतमा तालिम केन्द्र स्थापना गर्ने चरणमा रहेका छौं।
स्वास्थ्य क्षेत्रमा कोरियाली सहकार्यको सुरुवात सन् १९९९मा भक्तपुरमा कोरिया नेपाल मैत्री अस्पताल स्थापना भएको हो उक्त स्वास्थ्य केन्द्र स्थापना कालदेखि हालसम्म दुई लाखभन्दा बढी बिरामीहरूको उपचार गरिएको छ।
कोरिया सरकारले विपन्न वर्गका नागरिकको विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवा क्षमता अभिवृद्धि परियोजना अन्तर्गत आवश्यकताको आधारमा निरन्तर सहयोग उपलव्ध गराउँदै आएका छौं। त्यसैगरी नुवाकोट, कैलाली, मुगु जिल्ला लगायत स्वास्थ्य सेवाको सीमित पहुँच भएका क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गरेर सहयोग गरिरहेका छौं।
त्यसैगरी नेपालको सूचना तथा सञ्चार प्रविधि पूर्वाधार विस्तार गर्न नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक डेटा सेन्टर, डेटा व्याकअप सेन्टर स्थापना गर्नुका साथै विश्वविद्यालयमा पनि ठूलो आर्थिक सहयोग उपलब्ध गराएका छौं। त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्पाम्पसमा सूचना तथा सञ्चार प्रविधि केन्द्र, काठमाडौं विश्वविद्यालयमा एनआइटिसी र नेपाल प्रहरीका लागि अत्यावश्यक साइबर ब्युरो स्थापनाका लागि सहयोग उपलब्ध गराएका छौं।
उल्लिखित अनुदानका अतिरिक्त हाइड्रो पावर निर्माणमा पनि सहकार्य गर्दै आएका छौं।रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट उत्पादन क्षमताको अपर त्रिशुली १ परियोजना, दार्चुला जिल्लामा निर्माण सम्पन्न भइसकेको ३० मेगावाट उत्पादन क्षमता भएको परियोजना तथा पर्वत जिल्लामा निर्माण सम्पन्न भइसकेको १४.८ मेगावाट उत्पादन क्षमता भएको मोदी खोला परियोजनासहित तीन जलविद्युत् परियोजनालाई सहुलियत ऋण प्रदान गरिएको छ।
मेरो बुझाइमा कोरिया एक्जिम बैंकको सहुलियत पूर्ण कर्जा कार्यक्रमअन्तर्गत नेपालले आवश्यकताको आधारमा वित्तीय सहुलियत प्राप्त गरी नेपालमा पूर्वाधार विस्तारको लागि उपयोग गर्ने अवसरहरू निरन्तर बढ्दै जानेछ। कोरिया र नेपालबिचको आपसी हितका लागि हुने सहयोग, दुवै देशका सरकारले सकारात्मक समन्वयका साथ उल्लेख्य प्रगति गरिसकेको अवस्था छ। दुई देशका निजी क्षेत्रबिचमा पनि विभिन्न परियोजनामा भइरहेको साझेदारीले गति बढाइरहेको छ। उच्च शिक्षण संस्था संस्थाहरू, गैरसरकारी संस्थाहरूबिचको सहकार्य मार्फत शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा विभिन्न किसिमका साझेदारी भइरहेका छन्।
रमणीय प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण नेपालका लागि गणतन्त्र कोरियाली राजदूतको रूपमा मेरो दुई वर्षको कार्यकालमा नेपालको दिगो स्थिर विकासका लागि प्रचुर सम्भावना देखेको छु। मैले पहिचान गरेको सम्भावनाको तीन एचबारे वर्णन गर्न चाहन्छु।
पहिलो, मानव संसाधन (ह्युमन रिसोर्स) रहेको छ। नेपालमा धेरै युवा जनसंख्या र प्रतिभाशाली मानव संसाधनको बलियो आधार रहेको मेरो बुझाइ छ।यो स्रोतलाई उचित रूपमा परिचालन गरी राष्ट्र निर्माणका खातिर समावेश गर्न ढिलो गर्नु हुँदैन।
दोस्रो, जलविद्युत् (हाइड्रो पावर) रहेको छ।नेपालको जलविद्युत क्षमतालाई विश्वव्यापी रूपमा मान्यता दिइएको छ। क्लिन इनर्जी प्रयोग गर्ने जनसंख्या बढ्दै र इन्धनको युग घट्दै गएको अवस्थामा नवीकरणीय ऊर्जाको युग देखा पर्दै जाँदा नेपालको जलविद्युत् क्षमतालाई साकार पार्न हतार गर्नुपर्ने देखिन्छ।
तेस्रो, विविधताले भरिएको सम्पदा (हेरिटेज) लाई लिन सकिन्छ।नेपालमा हिमालय वरिपरि केन्द्रित सुन्दर समृद्ध प्राकृतिक सम्पदा र विविध सांस्कृतिक सम्पदाको खानी नै रहेको छ।उक्त सम्पदाहरूको उचित रूपमा संरक्षण र उपयोग गरियो भने पर्यटन क्षेत्रका लागि बहुमूल्य स्रोत बन्न सक्छ र विश्वभरका आगन्तुकहरूले आनन्द लिन सक्नेछन्।
कोरिया सरकारले नेपालको तीन एचको क्षमतालाई प्रभावकारी रूपमा उपयोग गर्न र यसको विकासमा योगदान पुर्याउन सहयोग गरिरहेको छ र हामी भविष्यमा पनि हाम्रो विकास सहयोगलाई यिनै क्षेत्रलाई प्राथमिकतामा राखेर विस्तार गर्दै जानेछौं।
अबको १५ महिनापश्चात् नेपाल एलडीसी (अल्पविकासित देश) श्रेणीबाट उत्तीर्ण हुने योजनामा छ।हालसालै यसै विषयमा नेपालको प्रतिनिधिसभा तथा राष्ट्रियसभामा गहन छलफल गरिएझैं, एलडिसीबाट उत्तीर्ण हुनु राष्ट्रिय गौरव र उपलब्धिको रूपमा लिनुका साथै भावी चुनौतीहरूको सामना गर्नका लागि तयारी थाल्नुपर्ने देखिन्छ।
कोरिया सरकारले कोइका मार्फत ३० वर्षदेखि नेपालको विकास र समृद्धिको लागि सँगसँगै हातेमालो गर्दै आएको छ। हामी नेपालको एलडिसी स्तरोन्नति पछिका चुनौतीहरू सामना गर्ने चरणमा पनि सदावहार राम्रो साथीको भूमिकामा रहेर सहकार्य गरिरहनेछौं।
म कोइका नेपाल कार्यालय स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा हृदयदेखि बधाई टक्य्राउँछु। त्यसैगरी सकारात्मक सहजीकरणका लागि नेपाल सरकारलाई पनि धन्यवाद दिन्छु।
(पार्क थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्।)
प्रकाशित: ६ भाद्र २०८२ ०९:२४ शुक्रबार

