विश्वका कैयन् देशमा अतिदक्षिणपन्थी सबैभन्दा गतिशील राजनीतिक शक्तिका रूपमा उदाउँदै छन्। दक्षिणपन्थी लोकप्रियतावादीहरू संकटमा परेको राष्ट्रिय पहिचान र सार्वभौमिकताको संरक्षकका रूपमा आफूलाई प्रस्तुत गर्न सिपालु हुने भएकाले यसो भएको भन्ने तर्क आशिंक सत्य हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसको सबैभन्दा प्रखर उदाहरण हुन्। पदभार सम्हालेपछि केही समयमै उनले अवैध आप्रवासी र मादक पदार्थको बाढीबाट अमेरिकालाई जोगाउने कामलाई आफ्नो कर्तव्य भने र आफ्नो आप्रवासन तथा व्यापार नीतिलाई राष्ट्रिय उद्धारक प्रयासका रूपमा प्रस्तुत गरे।
हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बान, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, बेलायतका नाइजेल फराज र फ्रान्सकी म्यारिनले पेनजस्ता अन्य दक्षिणपन्थी नेताहरू पनि यस्तै राष्ट्रवादी र विदेशीद्वेषी भाषाशैलीमा निर्भर छन्।
राष्ट्रवादलाई लामो समयदेखि अस्वीकार गर्दै आएका उदारवादी उच्चवर्गीयहरू यस्तो भाषालाई पुरातनवादी ठान्छन्। विशेषतः पश्चिमी विश्वमा दोस्रो विश्वयुद्धपछि राष्ट्रवाद बदनाम भयो र सामूहिक पहिचानभन्दा व्यक्तिगत स्वतन्त्रतामा जोड दिँदै राष्ट्रिय भावनासम्बन्धी अपिललाई लगभग त्याग गरियो।
सर्वेक्षणहरूले लगातार देखाउँदै आएका छन् कि राष्ट्रियता अझै पनि धेरै मानिसको आत्मपहिचानको मूल आधार हो। आधुनिक संसारका प्रमुख राजनीतिक एकाइमा ‘राष्ट्र–राज्य’ भएकाले राष्ट्रिय पहिचान एउटा अर्थमा स्वाभाविक रूपमा निर्मित हुन्छ। अध्ययनहरूले पनि देखाउँछन् कि ठुलो सामूहिकतामा आफ्नो सदस्यता भएको भावनाले मानिसलाई विश्व बुझ्न, आफूलाई त्यसमा राख्न, आत्मसम्मान बढाउन र सामाजिक वहिष्करणको जोखिम घटाउन मद्दत गर्छ।
उदारवादीहरूको राष्ट्रिय पहिचानप्रतिको स्वाभाविक अस्वीकारले यसलाई कमजोर त बनाएन तर यसले रिक्तता सिर्जना गर्यो, जसलाई केही राजनीतिक उद्यमीहरूले भरिदिए। एक आकर्षक उदारवादी पहिचानको अवधारणाको अभावमा धेरै मानिस जाति, नस्ल, धर्मजस्ता परम्परागत र प्रायः बहिष्करण सूचकतर्फ मोडिए। त्यसपछि अतिदक्षिणपन्थी नेताहरूले आप्रवासी, अल्पसंख्यक र अनिच्छित कानुन थोपर्ने अतिराष्ट्रिय संरचनाप्रति भय जगाउने उपकरणका रूपमा यस्तो पहिचानको राजनीतिलाई प्रयोग गरे।
प्रगतिशीलहरूले धेरैजसो यस्ता चिन्ता बेवास्ता गरे वा तिनका कारण प्राविधिक नीतिले समाधान गर्न सकिने समस्या ठाने र मतदाताको सांस्कृतिक पहिचानसँग ती समस्या कति गहिरो रूपमा गाँसिएका छन् भन्ने पहिचान गर्न सकेनन्। त्यसैले धेरै देशको राजनीति अहिले अतिदक्षिणपन्थी पुनरुत्थान र उदारवादी शक्तिबिचको द्वन्द्वबाट परिभाषित भइरहेको छ।
अति दक्षिणपन्थीद्वारा बढाइचढाइ गरिएको भय र उनीहरूको बहिष्कारपूर्ण राष्ट्रवादलाई प्रभावकारी रूपमा प्रतिरोध गर्न, उदारवादीहरूले देशलाई एकजुट पार्ने राजनीतिक र सांस्कृतिक भाष्य तयार गर्नैपर्छ, जसले विभाजन होइन, साझा पहिचान र साझा भविष्यको अनुभूति जगाउन सकोस् तर यस्तो विश्वास कुन आदर्शमा आधारित हुनुपर्छ? साझा मूल्यलाई दिइने जोड महत्त्वपूर्ण भए पनि संविधान देशभक्तिको विचार मात्रले सामाजिक ऐक्यबद्धता पैदा गर्न पर्याप्त हुँदैन। सुशासनमा मात्र आधारित दृष्टिकोण पनि जोखिमपूर्ण हुन्छ किनभने राम्रोसँग चल्ने ठानिएको प्रणाली पनि कहिलेकाहीं डगमगाउन सक्छ।
दीर्घकालीन राजनीतिक विश्वास निर्माण गर्न तीन कुरा आवश्यक छन्। पहिलो, त्यसमा भावनात्मक पक्ष हुनुपर्छ। यसको विशिष्ट रूप देशअनुसार फरक हुन सक्छ तर भावना अनिवार्य छ।
पश्चिमी प्रगतिशीलहरूले सन् २०२३ मा इजरायलमा फैलिएको विरोध आन्दोलनबाट प्रेरणा लिन सक्छन्। देशव्यापी विशाल प्रदर्शनमा सहभागी देशभक्त प्रदर्शनकारीहरूले आफूलाई इजरायलको राष्ट्रिय पहिचानका सच्चा रक्षकका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशको लोकतान्त्रिक र यहुदी चरित्रसँग असंगत अधिनायकवादी दृष्टि थोपर्न खोजेको आरोप लगाएका थिए।
यस्तै गतिशीलता पोल्यान्डमा पनि देखियो। सन् २०२३ को संसदीय चुनावअघि विपक्षी दलहरूले देशको पहिचानका लागि युरोपेली संघको सदस्यतालाई प्रमुख ठाने र तत्कालीन सरकारको अधिनायकवादी प्रवृत्तिले यसलाई जोखिममा पारेको चेतावनी दिए।
ब्राजिलको अनुभवले वैकल्पिक भाष्यहरू बाह्य दबाबले पनि उत्पन्न हुन सक्ने देखाउँछ। ट्रम्पले ब्राजिलको सार्वभौमिकतामा आक्रमण गरेको जवाफमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले स्वतन्त्र, बहुलवादी ब्राजिलको पक्षमा आवाज उठाए भने आफ्ना अतिदक्षिणपन्थी प्रतिद्वन्द्वीहरू विशेषतः पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई अमेरिकी हितप्रति अत्यधिक झुकेको देखाए।
एक सफल उदारवाद–राष्ट्रवाद वास्तविक अर्थमा समावेशी हुनुपर्छ, जसले जनसांख्यिक, सामाजिक र वर्गीय विभाजन नगरी व्यापक गठबन्धन निर्माण गर्न सकोस्। लुलाका शब्दमा एउटा देश सैनिक, शिक्षक, डाक्टर, दन्त चिकित्सक, वकिल, हट–डग बेच्ने व्यापारी, साना तथा मध्यम उद्यमी सबैको हो।
मानिसमा सम्बन्ध र अपनत्वको गहिरो आवश्यकता हुन्छ, कुनै पनि राजनीतिक कथाले समुदाय र साझा भाग्यको भावना निर्माण गर्नुपर्छ। त्यसका लागि अतिदक्षिणपन्थीले कब्जा गरिसकेका राष्ट्रिय प्रतीकहरू पुनःआर्जन गरी तिनलाई लोकतान्त्रिक मूल्यसहित पुनःअर्थपूर्ण बनाउनु आवश्यक हुन्छ।
डच संसदीय चुनावमा रोब येट्नले अतिदक्षिणपन्थी नेता गेर्ट विल्डर्समाथि पाएको विजयमा राष्ट्रिय प्रतीकको रणनीतिक प्रयोगले ठुलो भूमिका खेलेको थियो। यो प्रसंगमा उपयोगी उदाहरण हो। इजरायल, पोल्यान्ड र ब्राजिलका नागरिक समाज समूह र प्रतिपक्षी दलहरूले पनि आफ्नो अभियानमा राष्ट्रिय झन्डालाई केन्द्रीय बनाए।
उदारवादी राष्ट्रवाद एकल कथामा आधारित हुनुहुँदैन, अनेकौं कथनबाट विकसित हुनुपर्छ। यसले एकअर्कालाई सुदृढ गर्दै साझा नागरिक दृष्टि व्यक्त गर्छ। महत्त्वपूर्ण कुरा यसको उद्देश्य कट्टर विदेशीद्वेषीलाई मनाउन होइन, बरु आफ्नो देशप्रति गहिरो चिन्ता राख्ने मध्यम र परम्परावादी मतदातालाई सम्बोधन गर्न हो, जो डरका कारण अलोकतान्त्रिक नेताहरूतर्फ आकर्षित हुन सक्छन्। आजको ध्रुवीकृत राजनीतिक वातावरणमा सानो जनमत परिवर्तनले पनि भविष्य अधिनायकवादतर्फ जाने कि खुला, लोकतान्त्रिक समाजतर्फ भन्ने निर्धारण गर्न सक्छ।
-फिलिप मिलासिक फ्रेड्रिक एबर्ट फाउन्डेसनको ‘डेमोक्रेसी अफ द फ्युचर’ कार्यालयका वरिष्ठ शोधकर्ता हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: ५ मंसिर २०८२ ०७:३४ शुक्रबार

