२४ माघ २०८२ शनिबार
image/svg+xml
विचार

प्रश्न गरौं, मौन नबसौं

देशमा अहिले चुनावी माहोल बढ्दै गइरहेको छ। यसरी सरर हेर्दा हाँसो पनि उठ्छ, रिससँगै प्रश्न पनि उब्जिन्छन्। देशको नेतृत्व चुन्ने बेला हो यो। तर जति पनि नेतृत्वकर्ता आएका छन्, अजिब–अजिब व्यवहार देखाउँदै छन्। कोही उखु काट्न खेतमा गएका छन्, कोही नाचगान गर्दै छन्, कोही विलासी गाडी चढ्नमा मस्त छन्, कोही स्टन्ट गर्नमै व्यस्त। नेताहरूले किन बिर्से– यो साधारण चुनाव होइन भन्ने यथार्थ?

भदौ २३–२४ को जेनजी आन्दोलनले केही प्रश्न सडकमा उठाएको थियो। त्यो आन्दोलन कुनै दलको थिएन। अन्यायविरुद्ध उब्जेको आवाज थियो। त्यतिबेला युवाहरूले अन्याय, बेथितिविरुद्ध निकालेका आवाज सम्बोधन नगरिँदा, सडकमा निस्केको आवाज नसुनिँदा बल प्रयोग गरी दबाउने प्रयास भयो। लाठी चार्ज, अश्रु ग्यास प्रहार भयो, हजारौं गिरफ्तारीमा परे, कैयौं घाइते भए, धेरैको ज्यान गयो। जसले गर्दा लोकतन्त्रप्रति डर पैदा भयो। यसरी डर, त्रास, अराजकताले नयाँ नेतृत्वको आवश्यकता भएको हो।

त्यो विद्रोहबाट देशले यति धेरै क्षति बेहोरेपछि प्रश्न उठेको छ - हामी जेनजी आन्दोलनका पीडितलाई कसरी न्याय दिन सक्छौ? घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ। घाइते र पीडितलाई क्षतिपूर्ति र उपचारको व्यवस्था हुनुपर्छ। राज्यले सार्वजनिक रूपमा माफी माग्नुपर्छ। अभिव्यक्ति स्वतन्त्रताको सुरक्षाको सुनश्चितता गर्नुपर्छ। भविष्यमा युवाहरूले प्रश्न सोध्दा आपराधिक व्यवहार नगरियोस्।

यसरी फागुन २१ को चुनावले जनता र देशको धेरै आशा र विश्वास बोकेको छ। अब आउने नेतृत्वकर्ता देश बनाउने, जनता बुझेका, देशको हावा र माटोको गन्ध थाहा पाएको हुनुपर्छ।

जुन दृश्य सामाजिक सञ्जालमा आइरहेका छन्, ती गैरजिम्मेवारपूर्ण र हाँसोको केन्द्र बनेका छन्। कतै अरूलाई होच्याउने मात्र मानसिकता देखिन्छ, कतै पैसा खर्च गरेर तडकभडक देखाइरहेको दृश्य देखिन्छ।

कतै भोज त कतै तमासा देखिन्छ। के यी नेताहरूले आआफ्नो क्षेत्रमा जानुभन्दा अगाडि ती घाइते वा ज्यानको आहुति दिएका परिवारमा गएर उनीहरूको पीडा बुझेका छन्? उनीहरूको घाउमा मलम लगाएका छन्? उनीहरूसँग गल्ती स्विकारेका छन्? के हामी जित्यौं भने सहिदका इच्छा पूरा गर्ने अजेन्डा प्रमुख हुन्छन् भनेका छन्? यी प्रश्नले उत्तर खोजिरहेका छन्।

हामीलाई थाहा छ, नेतृत्व भिड जम्मा गरेर होइन, सबै जनताको मनमा बसेर जितिन्छ। नाचगान र भोजले क्षणिक उत्साह दिन सक्छ तर यसले बेरोजगारी घटाउँदैन, अन्याय मेटाउँदैन, भ्रष्टाचार कम गर्दैन, भविष्य सुरक्षित पार्दैन। त्यसैले हामीले अब अनुहार होइन, इतिहास हेर्नुपर्छ। भोट दिनुभन्दा अगाडि उसले हिजो के कस्ता राम्रा काम गरेको छ, भ्रष्टाचारमा संलग्न छ कि छैन, ठगीको आरोपित हो कि होइन जस्ता कुरा बुझ्नुपर्छ। हामीले उसको मिठो भाषण मात्र होइन, हिजोदेखि आजसम्मको व्यवहार हेर्नुपर्छ। प्रचार होइन, प्रमाण खोज्नुपर्छ, जसले विगतमा जनताको पीडाप्रति संवेदनशीलता देखाएन, उसले भविष्यमा पनि जनताको दुःख महसुस गर्दैन।

हाम्रो देशका युवाले एउटा कठोर पाइला चालेका छन्। त्यसका लागि राज्यले धेरै क्षति बेहोर्नुपर्‍यो। अब राज्य र नेताले के बुझ्नुपर्‍यो भने यो पुस्ता अब चुप लाग्दैन, यो पुस्ता सचेत छ, यो पुस्ताले प्रश्न गर्न जानेको छ। यो पुस्ताले अन्यायलाई सामान्य मान्दैन, अब डर देखाएर शासन चल्दैन, युवालाई दबाएर देश चल्दैन। अब मुठको राजनीति, नाटकीय राजनीतिक खेती देशमा फस्टाउँदैन। जनतालाई स्पष्ट रूपमा विकासको कुरा देखाएर भोट माग्नुपर्छ।

आजको जिम्मेवारी पीडितको पक्षमा उभिनु हो, दायित्व बिर्सनु होइन। यस बेला नागरिकको जिम्मेवारी पनि अहम् छ। भोट दिँदा न्यायिक तवरले हेर्नु आवश्यक छ। जसले जनताको आवाज दबायो, उसलाई पुरस्कार दिने होइन, प्रश्न गर्ने संस्कार बनाउनुपर्छ। यदि हामी मौन बस्यौं भने अन्यायलाई स्वीकृति दिएको अर्थ लाग्छ।

अब प्रश्न केवल कसलाई भोट दिने भन्ने होइन, कस्तो नेतृत्व चाहिन्छ भन्ने हो। विगतका नेता जनताप्रति उत्तरदायी छैनन् भने भविष्यको अधिकार दिनु आत्मछल हुन्छ। त्यस्तै, आँखा चिम्म गरेर नयाँ नेतृत्वलाई स्वीकार गर्नु पनि हुँदैन। यति बेला हामीले निर्णय गर्ने बेला आएको छ। जेनजीले देखाएको ऐनामा राज्यको व्यवहार मात्र होइन, नागरिक चेतनाको स्तर पनि देखिन्छ। यदि हामीले पीडितको पक्षमा उभिएर सही नेतृत्व छान्यौं भने मात्र देशले अर्थ पाउँछ। अन्यथा त्यो आहुति, त्यो पीडा फेरि अन्ध इतिहास र अर्को बिर्सिएको अध्याय बन्नेछ।

नेतृत्व छान्दा आधार एउटै हुनुपर्छ– विगतको व्यवहार, देशको जिम्मेवारी, अन्यायप्रति उभिने साहस। त्यसैले नाचगान होइन, न्याय रोजौं। भोज होइन, भविष्य रोजौं। डर होइन, लोकतन्त्र रोजौं। नागरिकले अन्याय बिर्से लोकतन्त्र कमजोर हुन्छ।  

प्रकाशित: १४ माघ २०८२ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App