२७ मंसिर २०८२ शनिबार
image/svg+xml
विचार

खहरे खोलाबाट विराट समुद्रतर्फको यात्रा

चिन्तन

प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ - त्यो क्षण जीवनको प्रथम घोषणा हो। खहरे खोलाको यो जन्म एउटा आदिम हुङ्कार हो, जसले आफ्नो अस्तित्वको चञ्चल प्रमाण प्रस्तुत गर्छ। सानो स्रोतबाट निस्कँदै गरेको त्यो जलधारा स्वयंमा एक ऊर्जाको ज्वार हो, जहाँ भय र उत्साह, उत्ताउलोपन र अनियन्त्रित शक्ति एकैसाथ मिसिएर बगेका हुन्छन्। उसको स्वर तिखो हुन्छ, बग्ने चाल उग्र हुन्छ र उसको चेतनामा केवल एक मात्र धुन गुन्जन्छ– बगिरहनु छ, केवल अघि बढिरहनु छ, बाधालाई पराजित गरेरै आफ्नो मार्ग कोरिरहनु। खहरेको यो चञ्चल ऊर्जा, जसले आफ्नो सीमालाई चिन्दैन, जीवनको सबैभन्दा शक्तिशाली र दार्शनिक रूपमा सबैभन्दा कम परिपक्व चरणको सूचक हो।

यो खहरेको रूप मानव जीवनको बाल्यकालजस्तै हो– एक अनगिन्ती सम्भावनाको भण्डार तर दिशाहीन आवेगको क्रीडास्थल। बाल्यकालमा भावनाहरू प्रबल हुन्छन् तर विचारको धरातल कच्चा र अस्थिर हुन्छ। जिज्ञासाको कुनै सीमा हुँदैन तर संयमको अर्थ चेतनाको पहुँचभन्दा बाहिर हुन्छ।

बच्चाका लागि संसार ठुलो हुँदैन, उसले आफ्नो शक्तिलाई नै सम्पूर्ण ठान्छ। जसरी खहरे खोला अचानक ठुलो ढुंगामा ठोक्किँदा चर्को आवाज पैदा गर्छ, त्यसैगरी बालकले थोरै चोट पाउनसाथ कलरव मच्चाउँछ, सानोतिनो कुरामा रोइदिन्छ, रिसाउँछ र हाँस्छ। उसले जीवनलाई एक तात्कालिक र अतिरञ्जित अनुभवको रूपमा ग्रहण गर्छ, जहाँ हरेक अनुभव आफैंमा प्रथम र अन्तिम सत्यझैं प्रतीत हुन्छ। बौद्धिकताको अभाव र भावनाको बाहुल्यले खहरेझैं यो अवस्था अस्थिर रहन्छ।

समयको अविरल प्रवाहसँगै खहरेको तीव्र वेगले नवयौवनको असन्तोष, महत्त्वाकाङ्क्षा र आत्मस्थापनाको हतारोलाई प्रतिनिधित्व गर्छ। पहाडका कठोर चट्टान र भूस्खलनले उसलाई कहाँ रोक्न सक्छन् र! यो उही गति हो, जसरी जीवनको नवयौवन उमेरमा मानिसमा ऊर्जा, महत्त्वाकाङ्क्षा र असन्तोष बाढी बनेर पोखिन्छ।

युवाहरूको चित्तमा चुनौती, परिवर्तनका चाहना र आत्मस्थापनाको हतारो एकैसाथ मिसिएर नदीको भंँगालोझैं बग्छ। भावनाहरूको तिखोपन नदीका विशाल ढुंगासँग ठोक्किएर उड्ने छालझैं उच्च, क्षणिक र अतिरञ्जित हुन्छ। यस अवस्थामा क्षणिक क्रोध हुन्छ, असन्तुलित निर्णय लिने हतारो हुन्छ, आफूलाई ‘परम सत्य’ ठान्ने दर्प हुन्छ र अरूको अनुभव वा बुझाइलाई ‘कमजोरी’ ठान्ने घातक आदत पनि हुन्छ।

खहरेलाई जस्तै युवालाई पनि आफूले बगिरहेको दिशा नै सबैभन्दा उपयुक्त लाग्छ। अरूको सुझाव, चेतावनी वा अनुभव तिनीहरूलाई आत्मघाती यात्राको गति रोक्न होइन, अघि बढ्नका लागि दिइएको एउटा चुनौती मात्र हो भन्ने लाग्छ। तर यही गति र उग्रताबिच जीवनले खहरेलाई एउटा ठुलो दार्शनिक सत्य सिकाइरहेको हुन्छ - चञ्चलता स्थायी हुँदैन, आवेगले अन्ततः गन्तव्यमा पुर्‍याउँदैन र ढुंगा फोड्दै हिँड्नु नै साँचो वीरता पनि होइन। खहरेको कर्कश आवाज र अस्थिरता, चेतनाको अपरिपक्वताको प्रमाण हो।

जतिबेलासम्म ऊर्जालाई कुनै निश्चित, गहिरो र शान्त धारमा समाहित गरिँदैन, तबसम्म त्यो ऊर्जा विनाशकारी र क्षणिक मात्र हुन्छ। युवावस्थामा व्यक्तिले प्राप्त गर्ने हरेक चोट, हरेक असफलता र हरेक भटकावले यो दार्शनिक पाठ सिकाउँछ। अन्ततः खहरेको चरणले ‘बग्नु’लाई ‘जिउनु’ ठान्छ तर जीवनको गहिराइ तब मात्र सुरु हुन्छ जब गतिलाई दिशा र शान्ति प्रदान गरिन्छ।

अवस्था कसैको पनि एकैनास रहँदैन। बिस्तारै खहरेको वेग कम हुँदै जान्छ। ऊ आफूभन्दा ठुलो र गहिरो धारमा मिसिन थाल्छ, जसलाई हामी खोला÷नदी भन्छौं। यो मिलनको क्षणसँगै उसको कर्कश आवाज कोमल र धिमा हुँदै जान्छ। बग्ने क्रममा रहेको उसको उग्र अभिनय र उत्ताउलोपन बिस्तारै शान्तिको गहिराइमा विलय हुन्छ। अब उसको प्रवाहमा शान्तिमय भाव देखिन्छ।

आकार ठुलो बन्न थाल्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा - उसको प्रवाहमा दायित्व पनि थपिन थाल्छ। नदीको यो रूप मानव जीवनको पहिलो परिपक्वता हो, जब व्यक्ति परिवार, समाज र कर्तव्यको ठुलो धारहरूमा समाहित हुन्छ। व्यक्ति अब ‘म’ भन्ने सिमानाबाट बाहिर निस्केर ‘हामी’का लागि पनि बाँच्न सिक्छ। जिम्मेवारी उसको जीवनको आधार बन्छ - घरको, छिमेकको, पेसाको र सम्बन्धहरूको। जिस्क्याउने, जिस्किने क्षणिक जीवन सकिन्छ। अब जीवनमा वास्तविकता सुरु हुन्छ।

उसले बुझ्न थाल्छ- जीवनको बाढीलाई नियन्त्रण गर्ने र सही दिशा दिने क्षमता नै बुद्धिमत्ता हो। नदी अब गाउँतिर मोडिन्छ, खेत सिञ्चिन्छ, बस्तीलाई पानी पुर्‍याउँछ। ठिक त्यसरी नै परिपक्व मानिस अब समाजका लागि उपयोगी बन्छ। उसका शब्दले कसैलाई मार्गदर्शन गर्छन्। उसका कर्मले कसैलाई प्रेरणा दिन्छन् र उसका निर्णयले अरूको जीवनमा उज्यालो थप्छन्।

मिहिनेत गरेर परिवारको जग बसाल्ने बाबु होस् वा घर व्यवस्थापन गर्दै सबैलाई सुख दिने आमा, उनीहरूको जीवन ठिक नदीजस्तै हुन्छ। लगातार बगिरहन्छ तर उनीहरूको स्वयंलाई बगाउने उद्देश्य अरूलाई बचाउनुमा, अरूलाई सिञ्चित गर्नुमा केन्द्रित हुन्छ। यो निःस्वार्थ बहाव नै परिपक्वताको सर्वोच्च द्योतक हो।

समाजमा योगदान नदिने, केवल आफ्नै स्वार्थमा सीमित मानिस नदीको यो उपकारी रूप बुझ्दैन, बरु ऊ खहरेको तिखोपनमै अड्किरहन्छ। तर जसले सेवा, त्याग र दायित्वका मौन मूल्य बुझ्यो, ऊ कुनै पनि नदीभन्दा कम हुँदैन, अडिग, उपकारी र विशाल। नदीले आफ्ना पानीलाई कहिल्यै रोक्दैन तर रोकेको पानीले अरूको प्यास मेट्छ। यही त्याग र समर्पणको भावले जीवनको अस्तित्वलाई अर्थपूर्ण बनाउँछ।

जब नदी अझ बृहत् रूपमा बगेर अगाडि बढ्छ, उसको गम्भीरता गहिरो हुँदै जान्छ। नदीको शान्त सतहभित्र असङ्ख्य जीवन, हजारौं कथा, वर्षौंको इतिहास र असीम गहिराइ लुकेको हुन्छ। नदी देख्दा शान्त लाग्छ तर उसले बगाइरहेको सत्य अत्यन्त गम्भीर हुन्छ।

मानिसको जीवन पनि यही गहन अवस्था हो। ५०, ६० को वयतिर जाँदा ऊ चर्को बोल्दैन, चर्को प्रमाण खोज्दैन, अनावश्यक विवादमा पर्न मन पराउँदैन किनकि उसले जीवनका अनगिन्ती कठिनाइहरू पार गरिसकेको हुन्छ, भावनाका अनेक बाढी–पहिरो देखिसकेको हुन्छ र निरन्तरता तथा धैर्यको महत्त्व पनि बुझिसकेको हुन्छ।

मानिस अब व्यवहारमा स्थिर रहन्छ, मननमा गहिरो बन्छ, बोलाइमा सङ्क्षिप्त हुन्छ र कर्ममा अर्थपूर्ण– यही नै अधिक आवाज ननिकाली पनि धेरै कुरा सिकाउने जीवनको दार्शनिक गम्भीरता हो।

अन्ततः नदीको यात्राको अन्तिम गन्तव्य आउँछ - ऊ समुद्रमा पुग्छ। यो त्यो क्षण हो, जहाँ कुनै पनि नदीले आफ्नो अलग नाम, अलग प्रवाह वा अलग पहिचान राख्न सक्दैन। समुद्र विशाल छ, अनन्त छ। ऊ मौन र शान्त छ तर शक्ति चाहिँ उसमा अगाध छ। नदीका सबै चञ्चलता, सबै उग्रता, सबै तिखापन समुद्रको शान्तिमा एकाकार हुन्छन्, विलय हुन्छन्। यही क्षण मानव जीवनको उच्चतम दर्शन हो– जब मानिस ‘म’ भन्ने सीमित सीमाबाट ‘अनन्त’ को विस्तारमा प्रवेश गर्छ। यो ‘विस्तार’ नै वृद्धावस्थाको चेतना हो। जीवन सधैं आफ्नो इच्छाअनुसार चल्दैन भन्ने अटल सत्यलाई स्विकारेर मात्र मानिस समुद्रको मौनता, धैर्य, करुणा र स्वीकृति सिक्दो रहेछ।

समुद्रमा मिसिँदा नदीको भौतिक अस्तित्व गुम्छ तर उसको अर्थ र व्यापकता अझ बढ्छ। मानिसको अन्तिम जीवन पनि त्यस्तै हुन्छ। ऊ नाम, पद, प्रतिष्ठा वा सम्पत्तिभन्दा टाढा पुगेर मनको गहिराइमा फराकिलो, सहनशील, प्रेमपूर्ण र उदार बन्छ।

यो अवस्थामा ज्ञानको अहंकार, भौतिक सम्पत्तिको लोभ र भावनात्मक तिक्तताहरू सबै विलीन हुन्छन्। ऊ अब अतीतसँग झगडा गर्दैन, वर्तमानसँग तनाव राख्दैन, भविष्यसँग पनि डराउँदैन। जीवनलाई जसरी आएको छ त्यसरी नै सहजताका साथ स्विकार्न सक्ने क्षमता नै समुद्रको दार्शनिक शक्ति हो। मानिसले यदि यो शक्ति प्राप्त गर्‍यो भने– ऊ कोही एकदुई व्यक्तिको मात्र होइन, धेरै मनहरूको शान्ति र प्रेरणाको स्रोत बन्न सक्छ।

यसरी हेर्दा खहरेको ‘चञ्चलता’, नदीको ‘जिम्मेवारी’ र समुद्रको ‘परिपूर्णता’, यी तीन रूप नै मानव जीवनका दार्शनिक त्रय हुन्, जसले जीवनको चक्र पूरा गर्छन्। यहाँ चञ्चलता सुरुवातको भाषा मात्र हो, जिम्मेवारी बोझ होइन। जीवनको अर्थ दिने पवित्र कर्म हो तर परिपूर्ण अन्त्य होइन। बरु अथाह चेतनामा मिसिएको अनन्त अस्तित्व हो।

 जसरी नदीभित्रको पानी कहिल्यै हराउँदैन, केवल रूप परिवर्तन मात्र गर्छ, आकाशमा बाफ बनेर, बादल बनेर, वर्षा बनेर, त्यसैगरी मानिसको आत्मा, चेतना र सत्कर्म पनि हराउँदैन, केवल रूप परिवर्तन हुन्छ। ती पछि अरूका लागि प्रेरणा र चेतनाका स्रोत बन्न सक्छन्। यो ‘रूपान्तरणको दार्शनिक निरन्तरता’ नै मानव जीवनको सर्वोच्च व्याख्या हो।

खहरेको पहिलो ‘हुङ्कार’ देखि समुद्रको अनन्त ‘मौनता’ सम्मको यो यात्रा, मानव जीवनको दार्शनिक त्रय हो। जहाँ खहरे ‘अस्तित्वको हतारो’ हो, नदी ‘कर्मको पवित्रता’ हो र समुद्र ‘विलयको परिपूर्णता’। जीवनको सर्वोच्च प्राप्ति कसैलाई पराजित गर्नु होइन, न त क्षणिक आवेगमा डुब्नु नै हो, यो त स्वयंभित्रको ‘खहरे’ रूपी स्वार्थ, अहंकार र चञ्चलतालाई नदीरूपी जिम्मेवारी र समर्पणको मार्ग हुँदै ‘समुद्र’ रूपी करुणा, मौन स्वीकृति र प्रेममा विलय गराउनु हो।

हिमालको कठोरतम सत्यले स्पर्श गरेको जल अन्ततः समुद्रको अनन्ततामा एकाकार भएझैं मानिसको मनले भोगेको हरेक अनुभव, हरेक पिर र हरेक सत्कर्म अन्ततः प्रेम र परोपकारको विराट् सागर बन्नैपर्छ। यही ‘रूपान्तरणको दार्शनिक निरन्तरता’ नै जीवनको त्यो परम सार हो, जहाँ सबै ‘म’हरू ‘अनन्त’मा समाहित हुन्छन् र यात्राको अन्त्यमा सबै ‘खहरे’ हरू करुणाले भरिएको ‘समुद्र’ बन्छन्।

प्रकाशित: २७ मंसिर २०८२ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App