२२ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

विज्ञानमा आप्रवासी योगदान

चमत्कारी आविष्कारक वैज्ञानिकहरू नोबेल पुरस्कारको सूचीमा आफ्नो नाम दर्ज भएको हेर्न लालायित हुन्छन्। धेरै आविष्कार विश्व रूपान्तरणयोग्य भए पनि सीमित व्यक्तिलाई मात्र उच्च सम्मान दिन सकिने भएकाले कसको नाम घोषणा हुन्छ भनी ठोकुवा गर्ने अवस्था हुँदैन। कति काबिल वैज्ञानिक पुरस्कार कुर्दाकुर्दै दिवंगत हुन्छन्। 

स्वर्गवासीलाई सम्मान गर्न नमिल्ने भएकाले उनीहरूको अन्वेषणबारे सर्वसाधारणले थाहा पाउँदैनन्। प्रतिष्ठित तक्माले आफ्नो वैज्ञानिक अन्वेषणलाई थप चम्काउने अनि आफूलाई रातारात सांसारिक प्रसिद्धि दिने भएकाले आविष्कारको अग्रपंक्तिमा रहेका वैज्ञानिकले नोबेल पुरस्कारको चाह राख्छन्। त्यसो त पुरस्कार राशी पनि कम आकर्षक कहाँ छ र ? यो वर्षको महावैज्ञानिकको घोषणा गत हप्ता सकियो। नामांकित हुन नसकेकाले अर्को वर्षको बाटो कुर्छन्। 

यो वर्षको नोबेल पुरस्कारको घोषणाले विज्ञानको आविष्कारमा भौगोलिक स्थानान्तरणले खेल्ने भूमिकालाई उजागर पार्‍यो। रसायनशास्त्रमा पुरस्कृत वैज्ञानिकमध्ये दुई आप्रवासी देखिए। बेलायतमा जन्मिएका रिचर्ड रब्सन अस्ट्रेलियामा बस्ने अनि जोर्डनका ओमार यागीले आफ्नो कर्मस्थान अमेरिकामा गरेका आविष्कारका कारण यो वर्षको केमेस्ट्रीको आभूषणको हकदार बने। रसायन शास्त्रको भन्दा पृथक् छैन यो वर्षको भौतिक शास्त्रको पुरस्कारमा आप्रवासीको उपस्थिति। 

फ्रान्समा जन्मिएका माइकल डेभरेट र संयुक्त अधिराज्य जन्मस्थान भएका जोन क्लार्कले संयुक्त राज्य अमेरिकामा गरेको आविष्कारका कारण यो वर्ष फिजिक्सको महापुरस्कार पाए। फिजिक्स र केमेस्ट्रीमा सन् २०२५ मा विभूषित ६ वैज्ञानिकमध्ये चारले आफ्नो जन्मस्थान छाडेर अर्को मुलुकमा गई गरेका खोजका कारण नोबेल पुरस्कार पाए। त्यसो त नोबेल पुरस्कारको इतिहासमा प्रारम्भदेखि नै आप्रवासी बुद्धिले वर्चस्व राख्दै आएको छ। 

अग्रणी वैज्ञानिक तथा सन् १९२१ मा फिजिक्सको नोबेल पुरस्कार विजेता अल्वर्ट आइन्सटाइनले आफ्नो जन्मभूमि जर्मन छोडेर सर्वप्रथम स्विजरल्यान्डमा पढे अनि पछि संयुक्त राज्य अमेरिका गएर आफ्नो ज्ञान तिखारे। उनी शताब्दीकै सर्वोत्कृष्ट वैज्ञानिक कहलिएका छन्। त्यस्तै दोहोरो नोबेल पुरस्कार पाउने एक मात्र महिला अनि उच्च आभूषण पाउने पहिलो महिला मेरी क्युरीले वैज्ञानिक चमत्कारी देखाउन आफ्नो जन्मभूमि पोल्यान्ड त्यागेर फ्रान्स जानुपरेको यथार्थ जगजाहेर छ। त्यस्तै सन् २०१० मा फिजिक्सको नोबेल पुरस्कार पाउने एन्ड्रे जिमले आफ्नो वैज्ञानिक उत्खननका लागि घुमुवा जीवन नै बिताए भन्दा फरक नपर्ला।

जर्मनी दम्पतीका सन्तान एन्ड्रेले आफ्नो दिमाग परिमार्जन गर्नका लागि रुस, डेनमार्क, बेलायत अनि नेदरल्यान्ड्सको ल्याबमा गएर काम गरेपछि मात्र विभूषणको हकदार भएको तथ्य बिर्सन सकिन्न। एउटै सहरमा डेरा सर्न त कति गाह्रो हुन्छ भने जन्मस्थान छोडेर परदेशमा भोग्नुपर्ने पीडाका अतिरिक्त वैज्ञानिक अन्वेषणको काम कति चुनौतीपूर्ण होला ? आइन्सटाइन, क्युरी र जिम विलक्षण प्रतिभा भएका मानव थिए भन्ने कुरामा कुनै दुविधा छैन। तर ती महामानवहरूले राष्ट्रियताको आदर्श छाँटेर परदेश गई काम नगर्ने प्रण गरेको भए के उनीहरूले वैज्ञानिक खोजमार्पmत मानव सभ्यतालाई पर्वतीय योगदान दिन सक्थे ? नोबेल पुरस्कारको हकदार बन्थे होलान् ? उत्तर नकारात्मक नै आउँछ।  

एक करोड जनसंख्या भएको जोर्डनमा जन्मिएका ओमार यागीले ३० करोड जनसंख्या भएको संयुक्त राज्य अमेरिकामा आफ्नो बुद्धि माझेर २०२५ को केमेस्ट्रीको नोबेल पुरस्कार पाउनुले प्रतिभाशाली बालकको जन्म संसारको कुनै पनि स्थानमा हुन सक्ने तर अवसर भने सीमित स्थानमा मात्र उपलब्ध हुने भनाइलाई चरितार्थ पार्‍यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले साहित्यलाई प्रधान मानी नेपालको भिरपाखामा दर्जनांै विलियम सेक्सपियर र पर्सी सेलीहरू बाख्रा चराइरहेका छन् भन्ने भनाइ विज्ञानको हकमा असत्य हुने होइन। नोबेल पुरस्कार काबिलका नेपाली दिमागहरू अरबको प्रचण्ड गर्मीमा कडा परिश्रम गर्न बाध्य छन् भन्दा फरक नपर्ला। 

सन् २००० पछि विज्ञानका तीन विधा रसायन शास्त्र, भौतिक शास्त्र अनि आयुर्विज्ञानमा जम्मा दुई सय दुई वैज्ञानिक नोबेल पुरस्कारबाट विभूषित भए। एकै विषयमा तीन जनासम्मले पुरस्कार पाउने भएकाले गत २५ वर्षमा दुई सत्र्न्दा अधिक वैज्ञानिकले महासम्मान पाए। नोबेल पुरस्कार पाएका दुई सय दुईमध्ये ६३ वैज्ञानिक जन्मभूमि छोडेर अन्य मुलुकमा गई विज्ञानमा योगदान गरेबापत सम्मानित बनेको देखिन्छ। 

पुरस्कृत ६३ आप्रवासीमध्ये पनि ४१ वैज्ञानिकले संयुक्त राज्य अमेरिकालाई आफ्नो कर्मथलो बनाएको देखियो। यसरी विभूषित आप्रवासीमध्ये झन्डै दुईतिहाइले युगान्तकारी आविस्कार अमेरिकामा गर्नुले विज्ञानका विद्यार्थीका लागि संयुक्त राज्य अमेरिका उर्वर भूमि मान्नुपर्ने हुन्छ। अमेरिकापछिको दोस्रो स्थानमा रहेको बेलायतले सात जना आप्रवासीलाई विज्ञानको महावारिधिबाट सम्मान गराएको देखियो। उल्लिखित तथ्यले उच्चशिक्षाको आकाङ्क्षा राख्ने विज्ञानका विद्यार्थीले सकेसम्म अमेरिका नभए बेलायतमा विद्यावारिधि गर्ने लक्ष्य राख्नु उचित देखियो। 

घर छोडेर विदेश पलायन भएका वैज्ञानिकहरूले पाएको नोबेल पुरस्कारको तथ्याङ्कको थप विश्लेषण गर्दा भौतिक शास्त्रमा सम्मानित हुनेको प्रतिशत उच्च देखियो भने रसायन शास्त्र दोस्रो देखियो। आर्युविज्ञान पुछारमा पर्‍यो। आखिरमा किन फिजिक्सको पुरस्कार पाउने आप्रवासीको संख्या उच्च देखियो भनी थप उत्खनन गर्दा रासायनिक शास्त्रका करिब सबै अन्वेषण रियाक्टर, लेजर बिम, टेलिस्कोप, डिटेक्टरजस्ता क्लिष्ट उपकरणमा आधारित देखिए। पुरातनवादी फिजिक्सको ल्याब प्रयोगगरी स्तरीय जर्नलमा आर्टिकल प्रकाशित गर्न प्राय: असम्भव रहेको कुरा स्वयं भौतिक शास्त्रकै विद्यार्थीहरूको भनाइ हो। 

फिजिक्सका नोबेल पुरस्कारलायकका अधिकांश प्रयोगका लागि लाखौं डलरका अत्याधुनिक प्रविधिमा भर पर्नुपर्ने भएकाले भौतिक शास्त्रको ल्याबको पूर्वाधार तयार गर्न विकासोन्मुख मुलुकका लागि निकै कठिन छ। तसर्थ फिजिक्सको अनुसन्धान विकसित मुलुकमा समेटिएको छ। अन्यत्र खर्च कटौती गरी गरिब मुलुकले एक दुई अत्याधुनिक प्रयोगशाला बनाइहाले पनि दर्जनौं स्तरीय ल्याब भएका विकसित देशसँग प्रतिस्पर्धा गर्ने सम्भावना नगन्य रहन्छ। 

फिजिक्सका जस्ता भारी उपकरण प्रयोग नभए पनि केमेस्ट्रीका अन्वेषण गर्न आवश्यक रासायनिक पदार्थहरू पनि खर्चिलो हुने भएकाले रसायन शास्त्रको रिसर्च पनि विपन्न देशका लागि धानी नसक्नु बोझिलो हुन्छ। तर, आर्युविज्ञानका अनुसन्धानहरू रसायन शास्त्र र भौतिक शास्त्रको दाँजोमा मितव्ययी हुने भएकाले मझौला आय भएका देशले मेडिकल साइन्सका अनुसन्धानमा लगानी गर्न सक्छन्। परिस्थिति जे भए पनि साइन्सका प्रयोगशाला सञ्चालनमा लाग्ने रकमलाई विश्लेषण गर्दा नेपालजस्ता मुलुकले अहिलेको अवस्थामा विज्ञानका अनुसन्धान गरेर नोबेल पुरस्कार भित्र्याउने काम असम्भब छ भन्दा अन्यथा नहोला। 

युनिभर्सिटी अफ क्यालिफोर्निया सिस्टमले यो वर्ष मात्र पाँच वटा विज्ञानको नोबेल पुरस्कार भित्र्याएर इतिहासमा नवीन अभिलेख राख्यो। तर उक्त रेकर्ड राख्ने विश्वविद्यालयको वार्षिक बजेट नेपालको कुल सरकारी खर्चको दुगुना छ भन्ने कुरा बिर्सनु हुँदैन। तसर्थ, स्वदेशमा गरिएको अनुसन्धानका आधारमा नेपालीले अल्फ्रेड नोबेलले कल्पना गरेको तक्मा पाउन सम्भव छैन। 

तर, अन्य देशको प्रयोगशालामा गरेको अनुसन्धानका आधारमा नेपालीले विज्ञानमा नोबेल पुरस्कार पाउन भने असम्भव छैन। भारतका वैज्ञानिकहरू सिभी रमन, हर गोविन्द खोराना, एस चन्द्रशेखर र भी रामकृष्णनले बेलायत र अमेरिकी ल्याबमा गरेको अनुसन्धानका आधारमा नोबेल पुरस्कार पाउन सक्छन् भने सम्भ्रान्त मुलुकमा अन्वेषण गरेर नेपालीले पनि आफूलाई काबिल साबित गर्न सक्छन् भन्ने कुरा नबिर्सौं। 

नेपालमा एउटा अनौठो भाष्य विकास भएको छ। आफ्नो क्षमता अभिवृद्धिका लागि विदेश जाने अनि मानव कल्याणका लागि रिसर्च गर्न बाहिरिएका भन्दा देशमा बसेर नेताको चाकरी गर्ने र दलाली गर्ने बढी राष्ट्रवादी देख्नेको आयतन ठुलो छ। विज्ञानको दायरा सानो छैन अनि सम्भाव्यता पनि भीमकाय छ। तसर्थ, विज्ञानको क्षेत्रमा एउटा ढुंगा थप्ने उद्देश्यले कीर्तिपुर क्याम्पसबाट सम्भ्रान्त विश्वविद्यालयको ल्याबमा अन्वेषण गर्न जानेलाई तेजोवध गर्नुको बदला प्रोत्साहित गरौं। 

हजारौंले विदेशमा अनुसन्धान गर्ने अवसर पाउने हो भने एक दिन नेपालीले पनि विज्ञानको नोबेल पुरस्कार पाएको खबर सुन्ने दिन दूर छैन। तर, अनुसन्धानका लागि स्थानान्तरण हुने प्रवृत्तिलाई समाज तथा देशले भने हौस्याउनुपर्छ। अरूको आविष्कारका आधारमा बनेको ‘सेल फोन’ प्रयोग गर्ने हाम्रा लागि नेपालीले नै गरेको अन्वेषणको जगमा भएको मानव कल्याणको कार्य देख्ने दिन अवश्य आउला नै। त्यसका लागि कुनाकन्दरामा हुर्किएका प्रतिभालाई आविष्कार गर्ने अवसरसँग सम्पर्क गराऔं। 

प्रकाशित: २८ आश्विन २०८२ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App