हिटलरहरू शक्तिले उन्मादी र सन्की हुन्छन् । उन्मादले अहंकार निम्त्याउँछ। अहंकार शालीन हुँदैन, यो टुट्न सक्छ तर झुक्न सक्दैन् । विनम्र सल्लाह दिनेलाई दुस्मन सोच्छ । उसको नजरमा केवल शत्रु वा मित्र मात्र हुन्छन्, सहमतिमा हिम्मत र विपत्तिमा विवेक राख्न सक्ने ‘स्वतन्त्रचेता जनमत’ पनि हुन सक्छन् भन्ने कुरै सोच्न सक्दैन। भित्रभित्रै आतंकित भएर सम्पूर्ण शक्ति केन्द्रीकृत गर्दा पनि सधैं त्रसित भइरहन्छ। हिटलर व्यक्ति नभै प्रवृत्ति हो। यसको सुन्दर चित्रण ‘द ग्रेट डिक्टेटर’ फिल्ममा चार्ली च्याप्लिनले प्रस्तुत गरे। हिटलरहरू व्यंग्यसँग, स्वतन्त्र मिडियासँग र आफ्नो विवेक बन्धकी नराख्ने बुद्धिजीवीहरूसँग भयभीत भइरहन्छन्।
बुद्धिजीवीहरूलाई तह लगाउन ऊसँग कानुन, प्रशासन र अदालत हुन्छ। त्यति गर्दा पनि नझुक्ने र सलाम नठोक्ने स्वाभिमानी प्रवृत्तिअगाडि भने सधैं आतंकित भइरहन्छ। जर्मनीमा हिटलर जन्मनु र ‘फ्युहरर’ (सर्वोच्च नेता) बन्नुअघि नै यस धरतीमा अनेकन ‘हिटलर जन्मिसकेका थिए। इतिहास साक्षी छ– हिटलर एउटा व्यक्ति मात्र होइन, एउटा संक्रामक र घातक प्रवृत्ति हो। पौराणिक कथाको ‘रक्तबीज’जस्तै, एउटा हिटलर शारीरिक रूपमा नष्ट भए पनि उसको प्रवृत्तिको रगत जहाँ–जहाँ वैचारिक रूपमा खस्छ, त्यहाँ नयाँ हिटलरहरू जन्मिरहन्छन्। आजको विश्वमा पनि हिटलरको छाया मडारिरहेको छ। हिटलर प्रवृत्तिको उदय, चरित्र र स्वरूपलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ:
१. हिटलर सधैं भुइँमान्छेका प्रिय र आकर्षक नाराका साथ उदाउँछ। उसले सुरुमा ‘राष्ट्रिय समाजवादी’ (नाजी) जस्ता जनपक्षीय नारा लगाएर सत्ताको भर्याङ चढ्छ। सत्तामा पुगेपछि वा टिकिरहन उसले उग्रराष्ट्रवादलाई अचुक हतियार बनाउँछ। आफ्नो सत्ताको औचित्य पुष्टि गर्न ‘रगतको शुद्धता’ (आर्य श्रेष्ठता) को मिथक र भ्रम निर्माण गर्छ। समाजमा आफूभन्दा फरक मत राख्नेहरूलाई सिध्याउन अन्य धर्मावलम्बी वा विजातीय समूहप्रति घृणा जागृत गराएर समाजलाई विभाजित गर्छ।
२. हिटलरवादी शासनको पहिलो निसाना स्वतन्त्र सञ्चारमाध्यम बन्छन्। मिडियालाई पूर्ण नियन्त्रणमा लिई आफ्नो प्रशंसामा मिथ्या कथ्य र भजनमण्डली तयार पार्छ। आधुनिक जनसम्पर्कका पिता एडवार्ड बर्नेजले सन् १९२८ को आफ्नो क्लासिक पुस्तक ‘प्रोपोगन्डा’मा सर्वसाधारणको सोच्ने तरिका र भिडको मानसिकतालाई कसरी ‘म्यनिपुलेट’ गर्न सकिन्छ भनी व्याख्या गरे। हिटलरको प्रचारमन्त्री जोसेफ गोयबल्सले बर्नेजकै सिद्धान्तहरूलाई आधार बनाएर जर्मनीमा क्रूर प्रचारतन्त्रको अभ्यास गराए। ‘एउटा झुटलाई सय पटक दोहोर्यायो भने त्यो सत्य बन्छ’ भन्ने मान्यताका साथ सिनेमा, कला र प्रचारतन्त्रमार्फत जनताको दिमाग नियन्त्रण गर्ने काम यस प्रवृत्तिले गर्छ।
क. फिल्मलाई जनताको दिमाग पखाल्ने सबैभन्दा ठुलो हतियार बनाउन लेनी रिफेनस्टालले प्रमुख भूमिका खेलिन्। उनको ट्रायम्फ अफ द विल (१९३५) फिल्मलाई इतिहासकै सबैभन्दा प्रभावशाली र खतरनाक प्रोपोगान्डा फिल्म मानिन्छ। यसले हिटलरलाई कुनै मानिस होइन, जर्मनीलाई बचाउन आकाशबाट ओर्लिएको ‘भगवान्’ वा ‘मसिहा’जस्तो देखायो। उनैले निर्देशन गरेको ओलिम्पिया (१९३८) पनि सन् १९३६ को बर्लिन ओलम्पिकमा आधारित फिल्म थियो । यसको उद्देश्य पनि जर्मनी र आर्य नस्ल संसारमै सबैभन्दा उत्कृष्ट छ भनेर देखाउनु थियो। फ्रिट्ज हिपलरद्वारा निर्देशित द इटर्नल जु (१९४०) फिल्मले यहुदीहरूका विरुद्धमा यति धेरै घृणा फैलायो कि यसले हिटलरको नरसंहारलाई जनताको नजरमा सही साबित गर्न मद्दत गर्यो।
ख. हिटलरले सत्तामा आउनासाथ विपक्षी मिडियालाई प्रतिबन्ध लगायो र बाँकी मिडियालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। डेर अंग्रिफ पत्रिका जोसेफ गोयबल्सले सन् १९२७ मा सुरु गरेका थिए। भोल्किसर बियोबास्टर नाजी पार्टीको आधिकारिक राष्ट्रिय दैनिक अखबार थियो। जुलियस स्ट्राइचरद्वारा प्रकाशित डेर स्टुर्मरले समाजमा डर र घृणा फैलाउने काम गर्थ्याे। यसले ‘यहुदीहरू नै जर्मनीका दुःखका कारण हुन् र हिटलर मात्रै मुक्तिदाता हो’ भन्ने भाष्य स्थापित गर्यो। गोयबल्सले बजारमा एकदमै सस्तो रेडियो उपलब्ध गराएर जर्मनीको हरेक घरमा हिटलरको आवाज पुर्यायो। यस रेडियोमा विदेशी च्यानलहरू सुन्न प्रतिबन्ध लगाइएको थियो।
ग. प्रसिद्ध विचारक, लेखक र वैज्ञानिकहरूले देश छोडे। केही यस्ता स्थापित बुद्धिजीवी भने आफ्नो विवेक नाजी सत्तालाई बुझाए– मार्टिन हाइडेगरलाई बिसौं शताब्दीका प्रसिद्ध दार्शनिकहरूमध्ये एक मानिए पनि नाजी पार्टीको सदस्य बनेर फ्राइबर्ग विश्वविद्यालयको उपकुलपति हुँदा हिटलरको खुलेर समर्थन गरे। उनले हिटलरको आदेश नै जर्मन कानुन हो भनी पढाए। कार्ल स्मिटलाई नाजी जर्मनीको प्रमुख कानुनी सल्लाहकार भनिन्छ। उनले हिटलरको तानासाही, संकटकालीन अधिकार र कानुनभन्दा माथि रहने प्रवृत्तिको समर्थनमा दार्शनिक र कानुनी आधारहरू तयार पारिदिए। फिलिप लेनार्ड र जोहानेस स्टार्क (नोबेल पुरस्कार विजेता भौतिकशास्त्री) दुवै वैज्ञानिकले हिटलरको ‘आर्य श्रेष्ठता’ को सिद्धान्तलाई विज्ञानको जलप लगाउने प्रयास गर्दै आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई यहुदी विज्ञानभन्दै अस्वीकार गरेर जर्मन भौतिकशास्त्रको वकालत गरे। वर्नहर भोन ब्राउन (वैज्ञानिक/इन्जिनियर) ले हिटलरको लागि विनाशकारी भि–२ रकेट’ बनाए।
हिटलरहरू मिडिया र बुद्धिजीवीहरूसँग डराउँछन् त भनिन्छ तर सुरुवाती चरणमा उनीहरूले डर, लोभ, राष्ट्रवादको नक्कली अफिम र शक्तिको उन्माद देखाएर मिडिया र बुद्धिजीवीहरूको एउटा ठुलो तप्कालाई आफ्नो ‘यस–म्यान’ बनाउँछन् । बुद्धिजीवीहरूले विवेक बन्धकी राखुन्जेलसम्म तानासाह शक्तिशाली देखिन्छ तर जब स्वतन्त्रचेताहरूले सलाम ठोक्न छोड्छन्, तानासाहको पतन सुरु हुन्छ।
३. हिटलरहरू विवेकशील नागरिकलाई विचारहीन रैती वा भिडमा फेदै राष्ट्रिय आवेग र भावनाको दुरुपयोग गर्छन्। पूर्ववर्ती शासकहरूले गरेका गल्ती, कमजोरी वा भ्रष्टाचारका अंशलाई अतिरञ्जित गरेर समग्र लोकतान्त्रिक विधि र प्रणालीमाथि नै प्रहार गर्छन्। बिस्तारै राज्यका सबै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई आफ्नो मुठीमा लिई शक्तिको चरम केन्द्रीकरण र जवाफदेहीहीन शासनको अभ्यास सुरु गर्छन्।
४. हिटलरहरू बिस्तारै काल्पनिक र अन्धविश्वासी संसारमा जिउन थाल्छन्। हिटलरले पनि एकदिन सपनाकै भरमा शुद्ध आर्य नस्लको खोजी गर्न तिब्बती पठारमा अध्येताहरूको टोली (एनेनेर्बे संस्था) पठाएको थियो। ऊ चरम शंकालु स्वभावको भएकाले छायादेखि पनि डराउँथ्यो। ‘एसएस’ सेनाका पाँच जना कोर टिमको सल्लाहमा मात्र ऊ चल्थ्यो। कालान्तरमा चरम अहंकारका कारण उसले आफूलाई कुनै दैवी शक्तिद्वारा निर्मित ‘मसिहा’ सोच्न थालेको थियो।
५. हिटलरको व्यक्तिगत जीवन अनौठो विरोधाभासी थियो। ऊ संगीतप्रेमी थियो, शाकाहारी थियो र यौनवासनाबाट दूर रहन्थ्यो। आत्महत्या गर्नुभन्दा केही घण्टाअघि मात्र प्रेमिका इभा ब्राउनसँग विवाह गरेको थियो। यद्यपि, व्यक्तिगत रूपमा अनुशासित देखिए पनि ऊ निकोलो म्याकियाभेलीको उद्देश्य प्राप्तिका लागि जे गरे पनि हुन्छ भन्ने सिद्धान्तबाट प्रेरित थियो। सत्तामा पुग्न, टिक्न र त्यसलाई निरन्तरता दिन जस्तोसुकै क्रूरता अपनाउनु जायज हुन्छ भन्ने उसको विश्वास थियो।
६. ‘नेतृत्वलाई विश्वास गर, उसले तिम्रा सबै अभाव र तनावबाट मुक्ति दिलाउँछ’ भन्ने भ्रम बाँडेर हिटलरले जर्मनीका सम्पूर्ण समस्याको जड यहुदीहरू हुन् भन्ने भाष्य बनायो। परिणामस्वरूप, लाखौं निर्दोष यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर अमानवीय कत्लेआम गरियो। यस क्रूर वैचारिक र नस्लीय दमनका कारण जर्मनीका सबैभन्दा उत्कृष्ट दिमागहरू देश छोड्न विवश भए। त्यसलाई इतिहासकै ठुलो बौद्धिक पलायन मानिन्छ।
आधुनिक भौतिकशास्त्रका पिता र नोबेल विजेता अल्बर्ट आइन्स्टाइन नाजी दमनकै कारण अमेरिका पलायन भए। उनीसँगै क्वान्टम मेकानिक्सका प्रणेता म्याक्स बर्न, वैज्ञानिक इर्भिन श्रोडिंगर, परमाणु संरचना बुझाउने बोर र लियो जिलार्ड जस्ता प्रमुख वैज्ञानिकहरू ज्यान जोगाउन जर्मनी र नाजी नियन्त्रित क्षेत्र छोडेर पलायन भए। नाजीहरूले मे १९३३ मा ‘जर्मन भावना विपरीत’ भन्दै लाखौं पुस्तकहरू सार्वजनिक रूपमा जलाएपछि लेखकहरू विस्थापित भए। उपन्यासकार थामस मान, आधुनिक नाटककार तथा कवि बर्टोल्ट ब्रेख्त, प्रख्यात लेखक स्टेफान ज्विग र इरिच मारिया रेमार्क देश निकालामा परे। जुन बुद्धिजीवीहरू जर्मनीमै रहे, तिनीहरू नाजी सत्ताका अगाडि नतमस्तक र मौन नाजीभक्त हुन विवश भए।
७. गणतान्त्रिक लोकतन्त्रको सबैभन्दा सुन्दर उपहार भनेको मुट्ठीभर अभिजातवर्गको पन्जा र एकाधिकारबाट समग्र जनताको भाषा, साहित्य, कला र संस्कृतिलाई मुक्त गरी राज्यको केन्द्रीय तहसम्म पुर्याउनु र स्थापित गर्नु हो तर इतिहासको सबैभन्दा दुःखद र विडम्बनापूर्ण पाटो हो– जब हिजोका उत्पीडित र सीमान्तकृतहरू नै संघर्ष गरेर सत्ताको बागडोर सम्हाल्न पुग्छन्, तब बिस्तारै उनीहरू आफैं पुरानै उत्पीडकका नयाँ रूपमा फेरिन्छन्। सत्ताको मातले उनीहरूमा हिजो भोगेको पीडा भुलाइदिन्छ र उनीहरूभित्रै अर्को एउटा तानासाह ब्युँतिन्छ।
यसको सबैभन्दा ठुलो र डरलाग्दो अन्तर्राष्ट्रिय उदाहरण अहिलेको यहुदीवाद हो । हिजो नाजी जर्मनीमा हिटलरको होलोकास्ट र चरम यातना भोगेका यहुदीहरूको ‘जायोनिष्ट’ सत्ता आज आफैं हिटलरको क्रूर चरित्रमा फेरिएको छ । हिजो आफू उत्पीडित हुँदा संसारको सहानुभूति बटुलेको त्यही शक्ति आज मध्यपूर्वमा युद्धको आगो फैलाएर प्यालेस्टाइनका हजारौं निर्दोष नागरिक, महिला र बालबालिकाहरूमाथि त्यही नाजी शैलीको दमन र नरसंहार गरिरहेको छ।
८. हिटलर केवल जर्मनीमा मात्र जन्मँदैन, बरु विचारको शून्यता, शक्तिको उन्माद र घृणाको राजनीति मौलाएको खण्डमा संसारको जुनसुकै कुनामा पनि जन्मिन सक्छ । हिटलरका आधुनिक सन्तानहरू फरकफरक मुखुण्डोमा विश्वमञ्चमा देखा परिरहेका छन्– संसारलाई बलपूर्वक इसाईकरण गर्ने दाउमा रहेका इभान्जेलिकल चर्चका उग्र गतिविधि, अमेरिकी यहुदीलबीको आडमा मध्यपूर्वमा नरसंहार मच्चाइरहेका इजरायलको दक्षिणपन्थी सत्ता, इसाई सर्वसत्तावादी हंगेरीका भिक्टर ओर्बानजस्ता अति–राष्ट्रवादी तथा अनुदारवादी शासक, विश्वभर तीव्र रूपमा फैलिरहेका अति–दक्षिणपन्थी समूहहरूले अहिले सत्ता कब्जा गर्दैछन्। यसको प्रत्यक्ष प्रभाव दक्षिण एसियामा पनि देखिएको छ। भारतमा राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक चेहरा बनेर भारतीय जनता पार्टीले गरिरहेको बहुसंख्यकवादी राजनीति र कर्पोरेट मिडियामार्फत चेतना कब्जा खेल देखा पर्दैछ। त्यो दूषित र असहिष्णु हावाको पराकम्प अहिले नेपालको राजनीतिमा पनि बग्न थालेको छ।
इतिहासबाट पाठ नसिक्ने समाजमा तानासाहहरू पटक–पटक ब्युँतने खतरा रहिरहन्छ। हिजोका उत्पीडितहरू नै आज उत्पीडक बन्ने यो दुष्चक्रलाई तोड्न र लोकतन्त्र, मानवीय गरिमा एवं सामाजिक सद्भावको रक्षाका लागि नागरिक समाज सधैं सचेत र प्रतिपक्षी भूमिकामा रहनुपर्छ। हिटलर शारीरिक रूपमा मरे पनि उसको प्रवृत्ति अझै मरेको छैन। ऊ भूगोल र रूप फेरेर हाम्रै वरिपरि सल्बलाइरहेको छ।
बौद्धिक वर्ग मौन बस्दा वा सत्ताको भजनमण्डली बन्दा समाज कसरी बर्बादीतर्फ जान्छ भन्ने कुरा नाजी इतिहासले सिकायो । जर्मन धर्मशास्त्री मार्टिन निमोलरले नाजी शासनको क्रूरता र बौद्धिक वर्गको मौनतामाथि लेखेको यो संसारप्रसिद्ध कविता पढौं त– ‘पहिले उनीहरू आए...।’
पहिले उनीहरू कम्युनिस्टहरूलाई समात्न आए तर म बोलिनँ किनकि म कम्युनिस्ट थिइनँ। त्यसपछि उनीहरू समाजवादीहरूलाई समात्न आए तर म बोलिनँ किनकि म समाजवादी थिइनँ। त्यसपछि उनीहरू ट्रेड युनियनका नेताहरूलाई समात्न आए तर म बोलिनँ किनकि म ट्रेड युनियनमा थिइनँ । त्यसपछि उनीहरू यहुदीहरूलाई समात्न आए तर म बोलिनँ किनकि म यहुदी थिइनँ। जब उनीहरू मलाई नै उठाउन आए, त्यहाँ मेरा लागि बोलिदिने कोही पनि बाँकी थिएन।
प्रकाशित: १८ जेष्ठ २०८३ १०:०६ सोमबार

