सन् १७८९ देखि १७९९ सम्म भएको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि भएको फ्रान्सको जनविद्रोहलाई फ्रान्सेली राज्यक्रान्ति भनिन्छ। यो क्रान्ति अमेरिकी स्वतन्त्रता क्रान्ति (सन् १७७५–१७८३) प्रभावमा भएको थियो। अमेरिकाले बेलायती उपनिवेशवादविरुद्ध आन्दोलन गरेर बेलायतलाई अमेरिका छाड्न बाध्य पारेर विजयको झन्डा फहराएपछि गरे के नहुने रहेछ र भन्ने शिक्षा लिई फ्रान्सका जनता सरकारको बेथिति अन्त्य गर्न जुर्मुराएका थिए । फ्रान्सको राज्यक्रान्तिको सफलतापछि मानवअधिकार, स्वतन्त्रता, समानता र भ्रातृत्वका सिद्धान्तलाई विश्वभरि फैलाइएको थियो।
राज्य क्रान्ति हुनुपूर्व फ्रान्समा ठुलो सामाजिक असमानता थियो। मूलतः त्यहाँ तीन वर्ग थिए। सबैभन्दा माथि चर्चका पादरी तथा धर्मगुरुहरू थिए। उनीहरूभन्दा तल राजा, रानी, राजपरिवारका सदस्य, दरबारिया र कुलीन घरानाका धनाढ्य व्यक्ति पर्थे। तेस्रो वर्गमा किसान, मजदुर र निम्न वर्गका सामान्य व्यक्ति पर्थे। त्यसबेला पादरी, धर्मगुरु, राजा, रानी, दरबारका आसेपासे र कुल घरानाका धनाढ्य व्यक्तिले राज्यलाई कुनै पनि कर तिर्नुपर्दैनथ्यो। किसान, मजदुर र सामान्य व्यक्ति र व्यापारीलाई राज्यले अनेक खालका कर लगाएको थियो।
जनता राज्यलाई ठुलो परिमाणमा कर तिर्थे । कर तिर्ने जनताको आर्थिक अवस्था जर्जर हुँदै गएको थियो। उनीहरूलाई चुल्हो तताउन हम्मे थियो। उता कर नतिर्ने अभिजात वर्गका मानिस फजुल खर्च गरेर भोगविलासको जीवन बिताउँथे। करदाता किसान, मजदुर, व्यापारी र सर्वसाधारण जनताले ठुलो आर्थिक संकट भोग्न परेको थियो। ती करदाता जनताको बोली कसैले सुन्दैनथे। त्यसबेला जनताले सरकारसमक्ष ‘रोटी खान पाएनौं सरकार’ भनेर बिन्ती गर्दा राजा लुई सोह्रौंकी रानीले ‘रोटी खान पाएनौ भने केक खाऊ’ भनेर आदेश गरेको कुरा फ्रान्सभरि फैलिएको थियो।
त्यसबेला रुसो, भोल्तेयर र मन्टेस्क्युजस्ता लेखक तथा विचारकले जनताका पक्षमा आफ्नो आवाज बुलन्द गरिरहेका थिए। त्यहाँका जनता पनि अवस्थामा सुधार ल्याउन राजा लुई सोह्रौं समक्ष माग राखिरहेका थिए। ती राजा अति निरंकुश हुनाले जनताका आवाजलाई उनले सधैं आफ्ना क्रूर बुटले कुल्चिरहे, थिचिरहे।
महँगी बढेर जनता भोकमरीले मर्न लागेका थिए। देशभरि खाद्यान्न अभाव थियो। जनताको राप र तापमा रुसो, भोल्तेयर र मन्टेस्क्युका विचारले त्यस आगोमा अत्यन्त ज्वलनशील उर्जा थप्ने काम गरिरहेका थिए। चर्चमा बसेर पादरीहरू जनताविरुद्ध राजनीति गर्थे। त्यसैबेला भोल्तेयरले जनतासामु भनेका थिए– भ्रष्ट चर्चलाई नष्ट गर्नुपर्छ।
त्यसैबिच सन् १७८९ मा आन्दोलनकारीहरूले बास्तिल जेलमाथि आक्रमण गरेर राजबन्दीहरू छुटाएका थिए। त्यहाँबाट श्रीगणेश भएको क्रान्तिले भयानक रूप लिँदै सन् १७९२ मा राजतन्त्रको अन्त्य गरी फ्रान्समा गणतन्त्रको घोषणा गरियो। सन् १७९३ मा त्यहाँका राजा लुई सोह्रौंलाई गिलोटिनमा सुताएर मृत्युदण्ड दिइयो। त्यसको केही महिनापछि रोटी खान पाएनौ भने केक खाऊ भनेर चर्चित भएकी उनकी रानीलाई पनि गिलोेटिनमै त्यसैगरी मृत्युदण्ड दिइयो। गिलोटिन भनेको मानिसको टाउको काट्न तयार गरिएको विशेष खालको बलि दिने ठाउँ हो।
फ्रान्समा राजतन्त्रको अन्त्य भएपछि सन् १७९३ देखि १७९४ सम्म रोब्स पियरको शासन सुरु भयो। रोब्स पियरको शासनकालमा धेरै निर्दोष व्यक्तिको हत्या भयो। स्वतन्त्रता र समानताका लागि आन्दोलन गर्ने कैयौं नेता र सर्वसाधारणलाई गिलोटिनमा मृत्युदण्ड दिइयो। राज्यक्रान्तिले उग्र रूप लिँदै जाँदा सन् १७९४ मा ती शासक रोब्स पियरलाई पनि गिलोटिनमै मृत्युदण्ड दिइयो।
बल्ल सन् १९९९ मा आएर नेपोलियन बोनापार्टले फ्रान्सको शासनसत्ता आफ्नो हातमा लिएपछि मात्र राज्य क्रान्तिको अन्त्य भएको इतिहास छ। त्यसपछि फ्रान्समा मानिसका सोचमा परिवर्तन आयो। सबैले मिहिनेतसाथ काम गर्नु गर्नुपर्छ, बद्नियतले पैसा कमाएर थोपर्नुहुँदैन, देश र जनतालाई सधैं शिरमा राखेर काम गर्नुपर्छ भन्ने सोचाइको विकास भयो।
नेपालमा हालै भएको नवयुवा अर्थात् जेनजीहरूको आन्दोलन पनि मुलुकमा बढ्दै गएको चरम बेथितिविरुद्ध थियो। मुलुकमा विभिन्न दल मिलेर सरकार बनाउने, सत्ता प्राप्त गरेपछि आफ्ना आसेपासेलाई पोस्ने मुलुकका जुनसुकै तह र तप्कामा माफिया, भ्रष्टाचारी, बिचौलिया र दलालको डरलाग्दो जालो बन्यो। विकास निर्माणका काम ठप्प भए। सरकार र सत्तामा बसेकाहरूले जसरी पनि पैसा कमाएर स्वदेश र विदेशमा थुपार्ने प्रवृत्ति दिन दुगुणा रात चौगुणा बढ्न थाल्यो।
मुलुकमा भ्रष्टाचारी, कमिसन खोर ठाडो शिर लगाएर उच्च मान प्रतिष्ठा पाएर बस्न थाले। इमानदारी, नैतिकता र स्वाभिमानले जीविकोपार्जन गर्नेहरूले उनीहरूका अगाडि शिर झुकाउनुपर्ने दुःखद अवस्था पैदा हुँदै गयो। हाकाहाकी भोट किन्नेहरू सांसद बने। सांसदमा चुनाव लड्नका लागि पनि दलका उपल्लो तहका व्यक्तिलाई मोलमोलाइ गरेर उम्मेदवारी किन्नुपर्ने भयो। पार्टीका माथिल्लो तहका नेताले समानुपातिक सांसदमा कि आफ्नी पत्नी, साली, बहिनी, नातेदार र आफ्नै आसेपासे ल्याए। उनीहरू भएनन् भने कुन व्यापारीले बढी पैसा दिन्छ, उसलाई समानुपातिक सांसद बनाइयो। त्यसले पैसावालाहरू कहिले कुन दलबाट कहिले कुन दलबाट सांसद बने।
जनतालाई हरेक कुरामा कर लगाइयो। जन्म, मृत्यु, बसाइँसराइलगायत जेसुकै कुरामा करको भारी बोकाइयो। यसबाट जनता आजित बन्दै गए।
दलका नेताहरूले भ्रष्टाचारबाट कमाएको रकमको केही भाग झोलेहरूलाई बाँडेर सबैका झोले समूह गठन भए। झोलेहरू रक्सी, मासु र थोरै तिनै खर्चबर्चमा बिकिदिँदा देश झन्झन् बिग्रँदै गयो। यहाँ कुनै नियम कानुनले काम गरेन, सिंगो मुलुकको सिस्टम नै असफल बन्यो। किनभने न्याय माग्न जाने ठाउँमा पनि दलहरूले नियुक्त गरेका न्यायमूर्ति हुँदा उनीहरूबाट स्वच्छताको आशा कहाँ गर्न सकिन्थ्यो र? आफन्तले चौध खत गरेको भए पनि सत्ताधारीहरूले आँखा चिम्लिए, आफ्नो विरोधी छ भने झुटा मुद्दा लगाएर मर्नु न बाँच्नु पारे।
सत्तामा बसेकाबाट मुलुकमा ठुला ठुला काण्डहरू भए। ललिता निवास जग्गा घोटाला काण्ड, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर जनही लाखौं रुपैयाँ खाएर नेपालीलाई विदेशमा बिक्री गरेको काण्ड, बालसंगठनको जग्गा घोटाला, लाउडा काण्ड, चेजएयर काण्ड, गिरिबन्धु टी स्टेट काण्डमा मुलुकमा प्रधानमन्त्री, मन्त्री, उच्च पदस्त र उनीहरूका आसेपासे मुछिन कोही बाँकी भएनन् तर यसका वास्तविक अपराधीलाई कारबाही भएन। ती अपराधी नै मुलुकमा हैकम चलाउने, उनीहरूको आदेश अरू सबैले मानिदिनुपर्ने अवस्था सिर्जना भयो।
सामाजिक सञ्जालमा सधैं अभ्यस्त नवयुवा अर्थात् जेनजी मुलुकको यस अवस्थामाथि अनविज्ञ रहने कुरै भएन। उनीहरू पर्खेर हेरिरहेका थिए।
मुलुकमा दिनहुँ बढिरहेको बेथितिविरुद्ध नेपाली जनताले सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब आदिमा आफ्ना मनका तिता पोख्न पाउँथे। त्यसैबिच विरोध भयो भनेर सरकारले ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि नेपालका नवयुवा पुस्ता जेनजीहरू विद्यालय र कलेजको पोसाकमा झोलासमेत भिरेर सडकमा निस्किए। विश्वका अनेकौं देशमा नवयुवाहरूले बेथितिविरुद्ध गरेको आन्दोलनमा त्यहाँका सत्ताधारीलाई घुँडा टेकाएको कुरा नवयुवाहरूले बुझिसकेका थिए।
उनीहरूले नारा दिए– हाम्रा बाबु खाडीमा, तिम्रा बाबु गाडीमा । यो विरोधको भयानक आवाज थियो। आन्दोलनले उग्र रूप लियो। नवयुवाले घरघरमा गएर भाटे कारबाही गरे। कैयौं घर जले, व्यापारिक केन्द्र, संसद् भवन र सिंहदरबार जले। आन्दोलन प्रारम्भ भएको दुई दिन बित्न नपाउँदै दुई तिहाइको दुहाइ दिने सरकार ढलेर नवयुवाको मागलाई सम्बोधन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्यो। नयाँ सरकारमा विगतमा स्वच्छ छवि भएका सबैले मान्ने खालका व्यक्तिहरू आएका हुनाले विगतका बेथितिका कसिंगरहरू बिस्तारै बढारिएर जाने कुरामा आशावादी हुन सकिन्छ।
सरसर्ती हेर्दा फ्रान्सको राज्यक्रान्ति र नेपालको जेनजी आन्दोलनमा धेरै कुरा समान रहेका छन्। फ्रान्समा राज्यक्रान्तिपछि मानिसको सोचमा ठुलो परिवर्तन आएको थियो, नेपालमा पनि भोलिका दिनमा विगतमा जस्तो मनपरी गरेर सम्पत्ति थोपर्ने प्रवृत्तिमा अवश्य न्यूनीकरण हुने कुरामा आशावादी हुन सकिन्छ।
–गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक तथा मुना एवं मधुपर्कका पूर्वसम्पादक।
प्रकाशित: २८ कार्तिक २०८२ ०७:१८ शुक्रबार

