मानव संस्कृतिमा खेलको अत्यन्त महत्त्वपूर्ण भूमिका छ। खेल मनोरञ्जनको माध्यम मात्र नभई मानसिक र शारीरिक विकासका लागि पनि आवश्यक हुन्छ। त्यसैले बालबालिकालाई सानै उमेरदेखि घरबाहिरका खेलकुद गतिविधिमा सहभागी गराउने संस्कार विकास गर्न जरुरी छ। आजको डिजिटल युगमा भने धेरै बालबालिका घरभित्र मोबाइल, ट्याबलेट र भिडियो गेममै सीमित भइरहेका छन्।
यस्तो अवस्थामा उनीहरूलाई बाहिरी खेलतर्फ आकर्षित गर्नु अझै आवश्यक बनेको छ। नेपालमा बाहिरी खेलहरूमध्ये फुटबलको विशेष महत्त्व छ। प्राविधिक विकाससँगै घर घरमा टेलिभिजन र इन्टरनेटको पहुँच बढेपछि प्रत्यक्ष रूपमा खेल हेर्ने सुविधा सहज भएको छ। यसको परिणामस्वरूप नेपालका अधिकांश घरहरूमा फुटबल हेर्ने संस्कार बढ्दै गएको छ, विशेषगरी फिफा विश्वकपका बेला।
फिफा विश्वकपका धेरै सकारात्मक पक्षहरू छन्, तर यसको एउटा डरलाग्दो पक्षबारे धेरै मानिसहरू अझै अनभिज्ञ छन्। चार चार वर्षको अन्तरालमा आयोजना हुने फिफा विश्वकप अब सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ। यो प्रतियोगिता हेर्दा त्यसको उत्सवपूर्ण पक्षसँगै पछाडि लुकेको एक भयावह नकारात्मक यथार्थबारे जानकारी हुनु उत्तिकै आवश्यक छ।
फुटबल एउटा यस्तो खेल हो, जसमा अत्यधिक टोलीगत सहकार्य आवश्यक हुन्छ। खेलाडीहरूले एउटै लक्ष्य हासिल गर्न एक अर्कासँग तालमेल मिलाउनुपर्छ– गोल गर्न र विपक्षी टोलीलाई गोल गर्न नदिन। यही कारणले फुटबल केवल खेल मात्र होइन, विश्वभरका करोडौं मानिसहरूको भावना, पहिचान र गर्वसँग जोडिएको विषय बनेको छ। आजकाल महिला फुटबलको आकर्षण पनि बढ्दै गएको छ।
विश्वकप सुरु हुनुभन्दा धेरै अघि नै समर्थकहरूले विशेष योजना बनाउँछन्– कुन खेल प्रत्यक्ष स्टेडियममा हेर्ने, कुन खेल टेलिभिजन वा डिजिटल माध्यमबाट हेर्ने, कसरी साथीभाइसँग भेला हुने, कति दिन बिदा लिने आदि। कतिपयका लागि विश्वकप फुटबल मात्र होइन, सामाजिक जमघट, उत्सव र रमाइलोको समय पनि हो। तर, यस चम्किलो उत्सवका पछाडि एउटा गम्भीर र अँध्यारो पाटो लुकेको छ, जुन विषयलाई मिडियाले अपेक्षाकृत कम प्राथमिकता दिएको देखिन्छ– फिफा विश्वकपका बेला घरेलु हिंसाको वृद्धि।
फुटबल आफैं घरेलु हिंसाको प्रत्यक्ष कारण होइन। तर, विश्वकपका खेलले सिर्जना गर्ने वातावरण, व्यावहारिक ढाँचा र सामाजिक परिस्थितिले आक्रामक व्यवहारलाई बढावा दिने अवस्था भने निर्माण गर्छ। विभिन्न देशमा भएका अध्ययनले विश्वकप वा ठुला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका समयमा घरेलु हिंसाका घटना उल्लेखनीय रूपमा बढ्ने देखाएका छन्।
युरोप, अफ्रिका तथा विश्वका अन्य भागमा हुने ठुला फुटबल प्रतियोगिताहरूमा दर्शक संख्या अत्यधिक हुने गर्छ। दर्शक संख्या बढेसँगै मदिरा सेवनको मात्रा पनि बढ्ने प्रवृत्ति देखिन्छ। दुर्भाग्यवश, यससँगै घरेलु हिंसाका घटनाहरू पनि बढ्ने गरेका छन्। सन् २०१४ मा ल्यान्कास्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले इंग्ल्यान्डको उत्तर–पश्चिमी क्षेत्रमा पर्ने एक प्रहरी क्षेत्रका तथ्यांक विश्लेषण गरेका थिए। उनीहरूले तीन वटा फिफा विश्वकप अवधिमा दर्ता भएका घरेलु हिंसासम्बन्धी उजुरीहरू अध्ययन गरे।
उक्त अध्ययनअनुसार जब इंग्ल्यान्डको राष्ट्रिय टोलीले खेल जित्यो वा बराबरी गर्यो, घरेलु हिंसासम्बन्धी उजुरीहरू २६ प्रतिशतले बढेका थिए। अझ चकित पार्ने तथ्य त के थियो भने टोली पराजित हुँदा यस्ता उजुरीहरू ३८ प्रतिशतसम्म बढेका थिए। कतिपय रिपोर्टले त इंग्ल्यान्डले जित्दा समेत हिंसाको स्वरूप झनै गम्भीर हुने गरेको देखाएका छन्। यसले फुटबल खेलको परिणाम, समर्थकहरूको भावनात्मक अवस्था र हिंसाबिच गहिरो सम्बन्ध रहेको संकेत गर्छ।
‘वेस्टमिन्स्टर वर्ल्ड’ नामक प्रकाशनले १२ डिसेम्बर २०२२ मा प्रकाशित गरेको एक लेखअनुसार त्यतिबेला कतारमा भइरहेको फिफा विश्वकपका नकआउट चरणहरूमा घरेलु हिंसा वृद्धि चरम विन्दुमा पुगेको देखिएको थियो। बिबिसीका अनुसार प्रतियोगिताको पहिलो सातामै घरेलु हिंसासँग सम्बन्धित आरोपमा ४९ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यी तथ्यांकहरूले विश्वकपजस्ता ठुला खेलकुद कार्यक्रम र घरेलु हिंसाबिचको सम्बन्धलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता देखाउँछन्।
यद्यपि धेरै गैरसरकारी संस्था तथा परोपकारी संस्थाहरूले विश्वकपका बेला घरेलु हिंसाको जोखिमबारे सचेतना फैलाउने प्रयास गर्दै आएका छन्, तर तथ्यांकहरूले देखाउँछन्– यो प्रवृत्ति हरेक पटक यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला दोहोरिइरहन्छ। विभिन्न अनुसन्धानमा फुटबलले घरेलु हिंसा सिर्जना नगरे पनि पहिलेदेखि नै विद्यमान हिंसात्मक सम्बन्धहरू यस्ता प्रतियोगिताका बेला अझ तीव्र र बारम्बार हुने गरेको प्रमाणित गरेका छन्।
घरेलु हिंसामा आउने यस्ता वृद्धिका पछाडि धेरै कारक छन्। तीमध्ये एक प्रमुख कारक मदिरा सेवन हो। फुटबल र मदिरा सेवनबिचको सम्बन्ध निकै पुरानो छ। ‘क्रिमिनल इन्जुरिज’को तथ्यांकअनुसार यस्ता प्रतिस्पर्धामा करिब दुई लाख ५० हजार प्रहरी कल घरेलु घटनासँग सम्बन्धित थिए। यीमध्ये ६८.२ प्रतिशत घटनामा मदिराको प्रयोग संलग्न रहेको देखिन्छ। त्यस्तै ६१.४ प्रतिशत अभियुक्त र ३६.४ प्रतिशत पीडित मदिराको प्रभावमा रहेको पाइयो।
मदिरा, फुटबल र पुरुषहरूको संयोजन महिलाका लागि जोखिमपूर्ण मानिन्छ, चाहे त्यो घरभित्र होस् वा सार्वजनिक स्थलमा। बिबिसीको एक रिपोर्टअनुसार मदिरा सेवनको गम्भीर समस्या भएका पुरुषहरू महिलाविरुद्धको घरेलु हिंसामा संलग्न हुने सम्भावना छ। यसले मदिराले हिंसालाई कसरी उकास्छ भन्ने कुरालाई स्पष्ट पार्छ।
मदिरा सेवनले खेलसँग जोडिएको पहिल्यै भावनात्मक रूपमा उत्तेजित वातावरणलाई अझ चर्को बनाउँने विश्वास गरिन्छ। यद्यपि मदिरा घरेलु हिंसाको मूल कारण होइन, तर यसले हिंसालाई थप जटिल र खतरनाक बनाउने काम गर्छ।
रोचक कुरा के छ भने, चार वर्षअघिको फिफा विश्वकप आयोजना गरिएको देश कतारमा मदिरा सेवन कडाइका साथ नियन्त्रण गरिएको थियो। स्टेडियम र त्यसवरपरका क्षेत्रमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित थियो, यद्यपि तोकिएका फ्यान–जोनहरूमा मात्र मदिरा उपलब्ध गराइएको थियो। यो व्यवस्था कतारको सार्वजनिक स्थानमा मदिरा सेवनप्रति रहेको शून्य सहनशीलताको नीतिसँग मेल खान्छ। कतारमा सार्वजनिक रूपमा मदिरा पिउनु अपराध नै मानिन्छ।
यी सबै कडाइका बाबजुद माथि उल्लिखित तथ्यांकहरूले देखाउँछन् कि इंग्ल्यान्डजस्ता देशमा त्यतिबेला पनि हिंसा बढेको थियो, जहाँ पब संस्कृतिसँगै मदिरा सेवन फुटबलसँग गहिरो रूपमा गाँसिएको छ। फुटबल खेल हेर्दै पबमा मदिरा पिउनु धेरै ब्रिटिसहरूका लागि परम्परा र संस्कृतिको हिस्सा हो। यद्यपि यस रमाइलोको परिणाम सधैं सुरक्षित र सुखद हुँदैन।
नेपालमा पनि फिफा विश्वकपका बेला घर, चिया पसल, रेस्टुरेन्ट र सार्वजनिक स्थानहरूमा फुटबल हेर्ने भिड बढ्ने गर्छ। धेरै परिवार टेलिभिजनअगाडि लामो समय बिताउँछन् र कतिपय अवस्थामा मदिरा सेवनसँगै खेल हेर्ने चलन पनि देखिन्छ। यद्यपि फुटबलले उत्साह र एकताको भावना सिर्जना गरे पनि यही उत्साह कहिलेकाहीँ आक्रोश, असहिष्णुता र हिंसात्मक व्यवहारमा रूपान्तरण हुने जोखिम रहन्छ।
नेपालमा घरेलु हिंसा अझै गम्भीर सामाजिक समस्या रहँदै आएको सन्दर्भमा ठुला खेलकुद प्रतियोगिताका बेला उत्पन्न हुने यस्तो वातावरणले महिलाहरू र बालबालिकाको सुरक्षामाथि थप चुनौती सिर्जना गर्न सक्छ। त्यसैले विश्वकपलाई केवल खेलको उत्सवका रूपमा मात्र होइन, सामाजिक सचेतनाको अवसरका रूपमा पनि हेर्नु आजको आवश्यकता हो।
फुटबल सपोटर्स एसोसिएसनका अनुसार पुरुष फुटबल खेलका क्रममा प्रत्येक पाँच महिलामध्ये एक जनाले अवाञ्छित शारीरिक स्पर्शको अनुभव गर्छन्। त्यस्तै करिब २४ प्रतिशत महिलाहरूले यस्ता खेलका क्रममा लैंगिक विभेदपूर्ण नाराबाजी सुन्नुपरेको बताउँछन्। यी तथ्यले फुटबल समर्थक संस्कृतिमा गहिरो रूपमा जरा गाडेको लैंगिक असमानता र हिंसात्मक व्यवहारलाई उजागर गर्छन्।
धेरैजसो अवस्थामा केटा र पुरुषहरूको रुखो, अस्वस्थ र हिंसात्मक व्यवहारलाई ‘केटाहरू त यस्तै हुन्छन्’ वा ‘पुरुष स्वभाव’ भनेर सहजै माफी दिइन्छ। महिलालाई छुने चिमोट्ने, बालबालिका र महिलामाथि कठोर व्यवहार गर्ने जस्ता क्रियाकलापलाई सामान्यीकरण गरिन्छ। तर, यस्ता व्यवहार हिंसात्मक प्रवृत्तिका बिउ हुन् भन्ने कुरा अझै समाजले पर्याप्त रूपमा स्वीकार गरेको देखिँदैन।
खेलको प्रतिस्पर्धात्मक प्रकृतिको नाममा पुरुषहरूको अनियमित, आक्रामक र हानिकारक व्यवहारलाई छुट दिनुहुँदैन। समाजले पुरुषहरूका यस्ता व्यवहारलाई निरन्तर माफी दिँदै गयो भने ती क्रमशः मौखिक दुर्व्यवहार, यौन दुर्व्यवहार, मानसिक तथा शारीरिक डरधम्की र अन्ततः घरेलु हिंसामा रूपान्तरण हुन सक्छन्।
विभिन्न अनुसन्धानले देखाएका छन्– फुटबलले पुरुषहरूलाई घरेलु हिंसाका दोषी बनाउँदैन। तर, अत्यधिक मदिरा सेवन र विषाक्त पुरुषत्वका गुणले यस्तो वातावरण सिर्जना गर्छन्। यसले फुटबल प्रतियोगिताका बेला घरेलु हिंसाको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ। त्यसैले विश्वकपजस्ता ठुला खेलकुद कार्यक्रमलाई केवल उत्सवको रूपमा मात्र होइन, सामाजिक उत्तरदायित्वका दृष्टिले पनि हेर्नु आवश्यक छ।
घरेलु हिंसाको अन्त्यका लागि खेलकुद संस्थाहरू, सरकार, मिडिया र समुदाय सबैले साझा जिम्मेवारी लिनुपर्छ। विश्वकपको उत्सव महिलाहरूको पीडा र डरको कारण नबनोस् भन्ने सुनिश्चित गर्नु आजको आवश्यकता हो।
प्रकाशित: ४ पुस २०८२ ०९:३० शुक्रबार

