११ जुन २०२६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले उष्णकटिबन्धीय प्रशान्त महासागरमा ‘‘एल निनो’’ विकसित भएको औपचारिक घोषणा गर्यो। अधिकांश पूर्वानुमान केन्द्रहरूले यो घटना शरद् ऋतुसम्ममा बलियो वा अत्यन्त बलियो स्वरूपमा विकसित हुने संकेत दिएका छन्। केही विश्लेषणले यसको तीव्रता सन् १९९७–९८ र २०१५–१६ का महाशक्तिशाली ‘‘एल निनो’’ घटनाको हाराहारीमा हुन सक्ने सम्भावना पनि उजागर गरेका छन्। दक्षिण एसियाका लागि जारी ऋतुगत मौसमी पूर्वानुमानहरूले यस वर्षको मनसुनमा सामान्यभन्दा कम वर्षा, सामान्यभन्दा बढी तापक्रम र बहुआयामिक जोखिमले परिभाषित हुने संकेत पहिले नै दिइसकेका छन्।
‘‘एल निनो’’ कुनै नयाँ परिघटना होइन। सन् १८७० को दशकदेखि उपलब्ध भरपर्दा उपकरणीय अभिलेखहरू तथा हिमकोर, मुगा र वृक्षघेराजस्ता अप्रत्यक्ष प्रमाणहरूले ‘‘एल निनो’’ कम्तीमा सात सय वर्षदेखि अस्तित्वमा रहेको देखाउँछन्। यो पृथ्वीको जलवायु प्रणालीको ऐतिहासिक र स्वाभाविक अंग रहँदै आएको छ।
यो साल विकसित भइरहेको ‘‘एल निनो’’ एउटा यस्तो जलवायु प्रणालीको कालमा सक्रिय भइरहेको छ, जुन विगतको तुलनामा आधारभूत रूपमा भिन्न भइसकेको छ। आजको विश्व असाधारण रूपमा तातो बनिसकेको छ। यो केवल वैज्ञानिक जिज्ञासाको विषय मात्र होइन। यसले नेपाललगायत समुच्च हिन्दुकुश हिमालय क्षेत्रका सरकार, जलस्रोत तथा यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित क्षेत्रहरूको व्यवस्थापन तथा विपद् जोखिम व्यवस्थापनमा प्रत्यक्ष र गम्भीर महत्त्व राख्छ। यस लेखले बदलिँदो जलवायु सन्दर्भको बुझाइ, त्यसबाट पर्न सक्ने प्रभावहरूको विश्लेषण गर्दै भावी तयारीका लागि केही विचारणीय प्रश्नहरू उठाउने प्रयास गर्नेछ।
विश्वव्यापी जलवायुगत चुनौती
‘‘एल निनो’’ले दक्षिण एसियाको मनसुनी प्रणालीलाई दीर्घकालदेखि प्रभावित गर्दै आएको विषयमा त उल्लेख भइसकेको छ। विगतका अनुभवका आधारमा भारतीय उपमहाद्वीपमा वर्षा न्यून हुनु, हिमालयमा हिम सञ्चय घट्नु, नदी प्रवाहमा उतारचढाव हुनु र डढेलो जोखिम बढ्नु यसका केही प्रभाव रहेको पाइन्छ। उदाहरणका लागि सन् १९९७–९८ को ‘‘एल निनो’’ले दक्षिण एसियाका धेरै क्षेत्रमा गम्भीर खडेरी निम्त्याएको थियो। त्यसैगरी, सन् २०१५–१६ को ‘एल निनो’ले भारतमा दशकौंकै सबैभन्दा गम्भीर कृषि संकट सिर्जना गरेको थियो।
यी घटनाहरूले मौसमी पूर्वानुमान र विपद् व्यवस्थापन योजनाहरूमा तिनीहरूलाई समावेश गर्नुपर्ने आवश्यकतालाई सशक्त रूपमा बोध गराएका छन्। नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागलगायत दक्षिण एसियाका कतिपय देशहरूले ‘एल निनो’ जस्ता वृहत् जलवायुगत घटनाहरूलाई ध्यानमा राखी मौसमी पूर्वानुमानको विश्लेषण गर्न थालेका छन्। यद्यपि, ती संकेतहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल र यस क्षेत्रका अन्य विपद् व्यवस्थापन निकायहरूले विपद् व्यवस्थापन योजना, आकस्मिक कार्ययोजना तथा पूर्वानुमानमा आधारित अग्रीम कार्य प्रणालीमा प्रभावकारी रूपमा समावेश गर्ने काम अझै विकासकै चरणमा छ।

दुई तथ्यांक एउटा चिन्ताजनक सन्देश
यस वर्षको मनसुन सुरु हुनुअघि हिन्दुकुश हिमालय क्षेत्रको वास्तविक अवस्थाबारे जारी गरिएका दुई असम्बद्ध तथ्यांकले अत्यन्त महत्त्वपूर्ण सन्देश दिन्छन्।
पहिलो, इसिमोडको ‘एचकेएच स्नो अपडेट’ २०२६ अनुसार नोभेम्बर २०२५ देखि मार्च २०२६ सम्मको हिम स्थायित्व दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशत कम रहेको छ। यो २४ वर्षको अवलोकन अवधिको अभिलेखमा सबैभन्दा न्यून हो। यो प्रवृत्तिका कारण हिन्दुकुश हिमालयबाट उत्पन्न हुने १२ प्रमुख नदी प्रणाली प्रभावित भएका छन्।
सबैभन्दा ठुलो कमी मेकङ नदी प्रणालीमा ५९.५ प्रतिशत, तिब्बती पठार क्षेत्रमा ४७.४ प्रतिशत र सालविन नदी प्रणालीमा ४१.८ प्रतिशत रहेको छ। करिब ३० करोड मानिस निर्भर रहेको सिन्धु नदी प्रणालीमा समेत १८.१ प्रतिशत कमी देखिएको छ। प्रतिवेदनले चेतावनी दिँदै उल्लेख गरेको छ कि यी प्रभावहरूको अन्ततः देखिने गम्भीरता वसन्त र ग्रीष्म ऋतुको प्रारम्भमा हुने तापक्रम वृद्धिको समय र तीव्रतामा निर्भर रहनेछ।
दोस्रो, नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागका अनुसार मार्चदेखि मे २०२६ सम्मको पूर्वमनसुन वर्षा ३३९.७७ मिलिमिटर पुगेको छ, जुन नयाँ ऐतिहासिक कीर्तिमान हो। यसअघिको कीर्तिमान सन् १९९० को ३३१.४० मिलिमिटर थियो। नेपालमा वसन्तकालीन वर्षा मुख्यतः पश्चिमी वायु प्रणालीबाट प्रभावित हुन्छ र विशेषगरी मार्च तथा अप्रिलमा तीन हजार पाँच सयदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा हिउँका रूपमा पर्छ।
पहिलो दृष्टिमा यी दुई तथ्य एकअर्कासँग बाझिएझैं देखिन्छन्। वसन्त ऋतुमा यति प्रशस्त वर्षा भयो भने उच्च हिमाली क्षेत्रमा बढी हिउँ सञ्चित हुनुपर्ने होइन र ? त्यसो भए हिन्दुकुश हिमालयका अधिकांश क्षेत्रमा हिम सञ्चय ऐतिहासिक रूपमा न्यून स्तरमा किन छ?
यसको उत्तर तीन मुख्य कारणमा निहित छ। पहिलो, यी दुई तथ्यांकबिच समयगत तादात्म्य प्रायः छैन। इसिमोडको प्रतिवेदनले देखाएको हिम स्थायित्व अभावको तथ्यांक नोभेम्बर २०२५ देखि मार्च २०२६ सम्मको हो भने जल तथा मौसम विज्ञान विभागको तथ्यांक मार्चदेखि मे २०२६ सम्मको हो। दोस्रो, वसन्त ऋतुमा सामान्यभन्दा बढी तापक्रमका कारण हिमरेखा माथि सरेको थियो। फलस्वरूप विगतमा मध्यम उचाइका क्षेत्रमा हिउँका रूपमा पर्ने वर्षा यस वर्ष पानीका रूपमा प¥यो। तेस्रो, हिन्दुकुश हिमालय क्षेत्रको समग्र हिम स्थायित्व तथ्यांकले यदाकदा भ्रामक चित्र प्रस्तुत गर्न सक्छ किनभने यस क्षेत्रभित्र उपक्षेत्रीय स्तरमा उल्लेखनीय भिन्नताहरू रहेका छन्। उदाहरणतः गंगा नदी जलाधार क्षेत्रमा, जसभित्र सम्पूर्ण नेपाल अवस्थित छ, यस वर्ष हिम स्थायित्व सामान्यभन्दा १६.३ प्रतिशत बढी रहेको थियो।
२०२६ को मनसुन: कमजोर प्रणालीमा जटिल जोखिम
पहिले नै दबाबमा परेको जल प्रणालीमाथि थप दबाब सिर्जना गर्दै दक्षिण एसियाले अप्रिलको मध्यदेखि मे महिनासम्म भीषण गर्मीको लहर अनुभव गर्यो। भारत र पाकिस्तानका धेरै क्षेत्रमा तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुग्यो। विश्व मौसम श्रेयांकनले यस्तो घटना जलवायु परिवर्तनको अनुपस्थितिमा हुने सम्भावनाभन्दा करिब तीन गुणा बढी सम्भावना जलवायु परिवर्तनका कारण रहेको निष्कर्ष निकालेको छ।
यति धेरै चुनौती पर्याप्त नभएझैं अहिले विकसित भइरहेको ‘एल निनो’ र सकारात्मक हिन्द महासागरीय द्विध्रुवीयताको सम्भावित संयोजनले थप जोखिम निम्त्याउन सक्छ। ऋतुगत मौसमी पूर्वानुमानले यो साल सामान्यभन्दा कम मनसुनी वर्षाको संकेत दिएको छ। लगातार चार वर्षदेखि हिम सञ्चय कम रहँदा अधिकांश नदी प्रणालीहरूमा मनसुन प्रारम्भ हुनुअघि नै आधारभूत नदी प्रवाह कमजोर भएको हुन सक्छ। अभूतपूर्व वसन्तकालीन वर्षाले केही मात्रामा भूगर्भीय जल पुनर्भरण गरेको हुन सक्छ र अस्थायी राहत पनि दिएको हुन सक्छ तर यसले चार वर्षदेखिको सञ्चित हिम अभावको प्रभावलाई कति हदसम्म पूरण गर्न सक्छ भन्ने विषयमा ठुलो अनिश्चितता कायमै छ। उपलब्ध प्रमाणहरूले हिममण्डलीय सुरक्षा कवचको इसिमोडको २४ वर्षे उपग्रहमा आधारित अभिलेखमा अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्थातिर पुगेको संकेत गर्छन्।
तीव्र र जटिल परिवर्तनको सामना
हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशहरूले विपद् जोखिम व्यवस्थापनमा ‘एल निनो’ जस्ता बृहत् जलवायुगत घटनाहरूको महत्त्व बुझ्न थालेका छन्। यसका संकेतहरूलाई आकस्मिक योजना र पूर्वानुमानित कार्यमा रूपान्तरण गर्ने संस्थागत प्रक्रियाहरू धेरैजसो देशहरूमा अझै प्रारम्भिक चरणमै छन्, यद्यपि केही देशहरू यस क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेका छन् तर यो चेतना बढ्दै जाँदा अर्को गम्भीर चुनौती पनि देखा परिरहेको छ। १.४ डिग्री सेल्सियसले तातिएको विश्वमा, २४ वर्षयताकै न्यूनतम हिम सञ्चयको सन्दर्भमा विकसित भएको मध्यम स्तरको ‘एल निनो’ ले पनि विगतमा ०.८ डिग्री तापवृद्धिको युगमा बलियो ‘एल निनो’ले नदेखाएका चरम प्रभावहरू उत्पन्न गर्न सक्छ।
एक दशकभन्दा बढी समयदेखि वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्: तापक्रम वृद्धिले हिममण्डलीय सुरक्षा कवचलाई कमजोर बनाउँछ, चरम वर्षा घटनाहरूलाई तीव्र पार्छ र एउटै मौसमभित्र खडेरी तथा बाढी दुवैको सम्भावना बढाउँछ। सन् २०२६ को मनसुन ती वैज्ञानिक चेतावनीहरू अनुसन्धान प्रतिवेदनका पानाहरूबाट बाहिर निस्केर करिब दुई अर्ब मानिसको प्रत्यक्ष अनुभवमा रूपान्तरित हुने वर्ष बन्न सक्छ। आशा गरौं, त्यो असफल बाली, पानीको अभाव र मानवीय क्षतिको भारी मूल्य चुकाएर नहोस्।
- श्रेष्ठ जलवायु तथा वातावरणीय जोखिम, इसिमोडका वरिष्ठ सल्लाहकार हुन्।
प्रकाशित: १० असार २०८३ ०९:३६ बुधबार

