२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
विचार

पर्यावरणमैत्री तिहार: संस्कृतिसँगै प्रकृति संरक्षण जिम्मेवारी

तिहारको आगमनसँगै नेपाली मन मुटुमा एक अद्भुत आनन्द, उल्लास र आध्यात्मिकताको लहर दौडिन्छ। प्रकृतिले सिर्जना गरेका रंगविरंगी फूलहरू, दियोको ज्योति, मिठाईको स्वाद र भाइटिकामा सगरमाथाभन्दा पनि अग्लो प्रेम र मायाको भाव। 

यी सबै हाम्रो सांस्कृतिक परम्पराको सबैभन्दा सुन्दर अभिव्यक्ति हुन्। यो चाड बाहिरी उज्यालो र उत्सवको मात्रै होइन, आत्मिक प्रकाश र मानवीय सम्बन्धलाई नवजीवन दिने अवसर पनि हो। तर विकासको नाममा हामीले अपनाएको ‘आधुनिक’ केही प्रथाले यस पवित्र चाडले सधैँ बोकेको शान्ति, सादगी र प्रकृतिप्रतिको सम्मान प्रदूषित गरिरहेका छन्। यस पटकको तिहारमा हामी सबैले आफ्नो पवित्र कर्तव्यका रूपमा यसलाई पर्यावरणमैत्री ढंगले मनाउने प्रतिबद्धता गरौँ।

पर्यावरणमाथि तिहारको प्रभाव

एउटा चिन्ता हामी सबैलाई थाहा छ, तिहारमा पड्काइने पटाका, आतिशबाजी र अन्य धमाकादार वस्तुले वायु प्रदूषण ह्वात्तै बढाउँछ। यी धमाकाबाट कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड जस्ता हानिकारक ग्याँसहरू वातावरणमा निस्कन्छन्, जसले मानिसको श्वासप्रश्वास प्रणाली, स्नायु प्रणाली तथा हृदयाघात जस्ता गम्भीर रोगहरू निम्त्याउँछन्। विशेष गरी यसले वृद्ध, बिरामी र बालबालिकालाई धेरै असर पुर्‍याउँछ। त्यस्तै तीव्र आवाजले कुकुर, बिरालो जस्ता पशुपंक्षीमा तनाव र डर पैदा हुन्छ। कहिलेकाहीँ त तिनीहरूको मृत्युसम्म हुने अवस्था आउँछ।

अर्को मुख्य कुरा एक पटक प्रयोग गरेर फ्याँकिने प्लास्टिकको अत्यधिक प्रयोग हो। मिठाईको प्याकेजिङ, सजावटका सामान, प्लास्टिकका थैली, कप आदिले वातावरणलाई प्रदूषित हुन्छ। प्लास्टिक सड्न सयौं वर्ष लाग्छ। प्लास्टिक भूमि, नदीनाला र समुद्रमा पुगेर जम्मा हुन्छन्, जसले जलचर र स्थल चर जीवजन्तुको जीवनमा गम्भीर संकट ल्याउँछ।

त्यस्तै चाडपर्वमा खानामा पनि फजुल खर्च हुन्छ। धेरै परिकार बनाइन्छन् र कति खाना खान नसकेर त्यसै फ्याँकिन्छ। यसले खानेकुरा मात्र खेर जाँदैन वातावरण पनि फोहोर बढाउँछ।

यस्ता विविध कुराले हाम्रो चाडको पवित्रतालाई असर गरिरहेका छन्। हामीले सोच्नुपर्छ, के पटाका नपड्काई तिहार मनाउन सकिँदैन? के एक पटक प्रयोग भएको प्लास्टिकको झोला र सजावटका सामान बिना हामी तिहारको सुन्दरता सिर्जना गर्न सक्दैनौँ? उत्तर ‘हो’ मा छ।

यस सम्बन्धमा नेपालको संविधान, २०७२ ले दिएको दिशानिर्देशलाई पनि सम्झिनुपर्छ। संविधानको धारा ३० ले “स्वच्छ वातावरणको हक” को अधिकारलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। यस धाराको उपधारा (१) अनुसार, “प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ।”

यसै धाराको उपधारा (२) मा भनिएको छ, “वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।” तर, यो जिम्मेवारी राज्यकै मात्र नभई हामी नागरिकहरूको पनि हो। संविधानले हामीलाई स्वच्छ वातावरणमा बस्ने अधिकार दिएको छ। त्यसैले यसलाई सुरक्षित राख्ने जिम्मेवारी हामी सबैको हुन्छ। चाडपर्वका हाम्रो गतिविधिले वातावरणलाई क्षति नपुगोस् भन्ने ख्याल राख्नु हामी सबै नागरिकको संवैधानिक कर्तव्य पनि हो।

एकजुटताको शक्ति: सरकार, गैरसरकारी संस्था र नागरिक

यो काम कसरी सम्भव हुन्छ? के सरकारले मात्र यसको समाधान गर्न सक्छ? होइन। के गैरसरकारी संस्थाहरूले मात्रै यो लडाइँ लड्न सक्छन्? होइन। सरकारले नीति बनाउन सक्छ, कानुन ल्याउन सक्छ तर त्यसको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी भने स्थानीय सरकार र हामी नागरिकमै पर्छ।

समाजमा गैरसरकारी संस्थाहरूले जनचेतना फैलाउन सक्छन् तर त्यसलाई व्यवहारमा उतार्ने काम समुदाय र हरेक घरपरिवारले गर्नुपर्छ। सरकार एक्लैले हाम्रो वातावरण जोगाउन सक्दैन, गैरसरकारी संस्था एक्लै पनि सक्दैनन्। सरकार, गैरसरकारी संस्था र जनता बिचको एकजुटता र सहकार्यले मात्र हाम्रो वातावरण सुरक्षित रहन सक्छ। हाम्रो कर्तव्य हो—हरेक नागरिकले आफूलाई राष्ट्रको जिम्मेवार नागरिकका रूपमा देख्नु र आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नु हो।

हामीले के गर्न सक्छौँ? पर्यावरणमैत्री तिहारका रणनीतिहरू

१. पटाका, आतिशबाजी र अन्य धमाकादार वस्तुहरू नपड्काऔँ

यस तिहारमा पटाका, आतिशबाजी वा धमाकादार वस्तुहरू प्रयोग नगरी घरघरमा दियो बाल्ने, रंगोली बनाउने, भजन कीर्तन गर्ने र परिवारसँग समय बिताउने जस्ता शान्त र रमाइलो तरिका अपनाऔँ।

दियोको ज्योतिले वातावरण प्रदूषित गर्दैन, बरु यसले मनमा शान्ति र आत्मिक उज्यालो फैलाउँछ। नेपाल सरकारले पटाका, आतिशबाजी, धमाकादार वस्तुहरू ओसारपसार तथा पड्काउन निषेध गरेको छ।

२. एक पटक प्रयोग हुने प्लास्टिकको प्रयोग नगरौँ

मिठाई किन्दा प्लास्टिक वा फोमको बाकसभन्दा कपडाको झोला वा कागजमा प्याक गरिएको मिठाई रोजौँ। सजावटका लागि पनि प्लास्टिकको सट्टा कागज, कपडा, बाँस जस्ता प्राकृतिक सामग्री प्रयोग गरौँ। किनमेल गर्न जाँदा कपडाको झोला लैजाने बानी बसालौँ।

३. स्थानीय उत्पादनलाई प्रोत्साहन दिऔँ

तिहारमा प्रायः भारत, चीन आदिबाट आयातित सामानहरूको भरमार प्रयोग हुन्छ। यस वर्ष हामी स्थानीय उत्पादनलाई प्राथमिकता दिऔँ। गोदावरी, ककनी जस्ता स्थानीय क्षेत्रमा उत्पादन हुने फूलहरू, स्थानीय दियो, अगरबत्ती र सुगन्धित धूप बत्ती खरिद गरौँ।

त्यस्तै स्थानीय मिठाई, लड्डु, सेल रोटी र अन्य परिकार किनेर स्थानीय उद्यमी र किसानलाई सहयोग पु¥याऔं। यसले देशभित्र पैसा रहन्छ र अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पु¥याउँछ।

४. खानपानमा सचेत रहौँ

आवश्यकताभन्दा बढी परिकार वा पकवान नबनाऔँ।  व्यवस्थित तरिकाले खाना पकाएर खाद्यान्नको बचत गरौँ। बाँकी खाना सुरक्षित राखी पुनः प्रयोग गरौँ। सम्झौँ—खाना फ्याँक्नु पाप मात्र होइन, अपराध पनि हो।

५. वरिपरिको वातावरण सफा राखौँ

तिहारमा घरभित्र र आँगन सफा गर्ने मात्र होइन, टोल, सडक, पार्क र सार्वजनिक स्थलहरू पनि सफा राख्ने जिम्मेवारी हाम्रो हो। मिठाईको बाकस, प्लास्टिक तथा अन्य फोहोर उचित स्थानमा फ्याँक्ने बानी बसालौँ। यसका लागि सामूहिक रूपमा सरसफाइ अभियान चलाउन सकिन्छ।

६. फोहोर व्यवस्थापन 

उत्सवपछि परेका फोहोरहरू छुट्टाछुट्टै राख्ने बानी बसालौँ। जैविक फोहोर (फूल, रंगोलीको पिठो आदि) र अजैविक फोहोर (कागज, काँच आदि) छुट्टाछुट्टै राखेर व्यवस्थापन गरौँ। फूल, पात र अन्य जैविक सामग्रीहरूलाई कम्पोस्ट मल बनाउन सकिन्छ।

७. परम्परागत रीतिरिवाजलाई प्राथमिकता

तिहारलाई हामी हाम्रा पुर्खाहरूले मनाउने शैलीतर्फ फर्कौँ। माटोका दियो, सुते बत्ती, प्राकृतिक रङहरूले बनाइने रंगोली, लक्ष्मी पूजाका लागि प्राकृतिक फूलपाती, असल खानेकुरा आदिलाई प्राथमिकता दिऔँ। यसले हाम्रो संस्कृतिलाई पनि जिउँदो राख्छ।

८. प्रकृतिलाई सम्झौँ

तिहार कुकुर तिहार, गाई तिहार, गोरु तिहार र लक्ष्मी पूजा जस्ता चाडको संगम हो, जसले प्रकृति र पशुपक्षीप्रतिको कृतज्ञता प्रकट गर्छ। त्यसैले जनावरलाई राम्रोसँग खुवाऔँ र चराचुरुङ्गीलाई दानापानी दिऔँ। 

यसरी मात्र हाम्रो चाडको वास्तविक सार साँचो अर्थमा सार्थक हुनेछ।

तिहार उज्यालो, खुसी र आशाको चाड हो, जसले हामीलाई जीवनका सकारात्मक पक्षहरूतर्फ सधैँ अघि बढ्न प्रेरित गर्छ। यस पवित्र अवसरलाई हाम्रो सुन्दर संस्कृति मात्र होइन, हरियाली पर्यावरणको संरक्षणका लागि पनि प्रयोग गरौँ।

आउनुहोस्, हामी सबै मिलेर यस तिहारलाई पर्यावरणमैत्री, स्थानीय उत्पादनप्रति समर्पित र जिम्मेवार नागरिकको रूपमा मनाऔँ। घरभित्र मात्र होइन, वरिपरिको वातावरणमा पनि उज्यालो फैलाऔँ। दियोको ज्योतिले मात्र नभई हाम्रो सचेत र जिम्मेवार व्यवहारले पनि यो पर्वलाई उज्यालो, सुगन्धित र प्रदूषणमुक्त बनाओस्। सबैको साझा प्रयासले ठुलो परिवर्तन ल्याउन सक्छ। यस तिहारलाई गरिमामय, हरित र पर्यावरणमैत्री बनाउन सबैलाई आह्वान गर्दै सबै नेपालीलाई तिहारको उपलक्ष्यमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ! 

लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्

प्रकाशित: ३१ आश्विन २०८२ १९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %