२० मंसिर २०८२ शनिबार
image/svg+xml
विचार

अन्न, दान र सद्भावकाे प्रतीक धान्यपूर्णिमा

कमाएर आफैं मात्र भोग गर्ने र खाने काम कुनै पनि समाज र धर्ममा शोभनीय मानिँदैन। चराचर जगत्मा भएका सबै प्राणीमध्ये मानव जीवन आफैंमा चेतना र विवेक भएको कारण सक्नेले नसक्नेलाई दिने परम्परा चल्दै आएको हो।

 इदमा मुस्लिम धर्मावलम्बीहरूले कमसेकम आम्दानीको १० प्रतिशत दान गर्छन् भने क्रिश्चियन समुदायमा पनि गरिब, असहायहरूलाई यथेष्ट दान, सहयोग गर्ने परम्परा छ। हिन्दु सनातनीहरूका लागि दानको महत्त्वबारे विभिन्न पुराण, धर्मशास्त्रले निर्देश गरेका छन्। यसैले हिन्दु धर्मवलम्बीका निमित्त दान गर्नुले उत्तम गति प्राप्त हुने विश्वास लिँदै आएका छन्। यो विश्वास नै परम्पराका रूपमा कायम भएको पाइन्छ।

वैदिक सनातन धर्ममा दानको विशिष्ट महत्त्व बनाइएका प्रमाण प्रशस्तै छन्। बुद्धिमान् र धनीहरूले गर्नुपर्ने दान के हो भन्ने जिज्ञासामा शास्त्रहरूमा १६ किसिमका वस्तु (तुलापुरुष, हिरण्यगर्भ, ब्रह्माण्ड, कल्पवृक्ष, गाई, सुवर्ण, सुवर्णअश्व, हिरण्याश्वरथ, हेमहात्ती, पञ्चलांगल, धरा, विश्वचक्र, कल्पलता, सप्तसागर, रत्नधेनु, महाभूतघट– मत्स्य पुराण अध्याय २७४) को उल्लेख पाइन्छ।

यस किसिमका सबै वस्तु दान गर्न अहिलेको समयमा सम्भव र व्यावहारिक पनि नहुने भएकाले समय अनुसार दान गर्ने वस्तुको स्वभाव, गुण, रूप फरक हुँदै आएको देखिन्छ। अन्नदान, विद्यादान, जलदान, वस्त्रदान, भूमिदान, नगददान आदि वर्तमानमा प्रचलनमा आएका दान हुन्। उल्लिखित दानमध्ये पनि समय, व्यक्ति र औकातअनुसार दान दिने वस्तुको निर्धारण हुन्छ। उदाहरणका लागि भोकाएको व्यक्तिलाई वस्त्र दानको भन्दा अन्नदानको महत्त्व बढी हुन्छ।

विद्यार्थीका लागि भूमिदानभन्दा विद्यादानको नै महत्त्व बढी हुन्छ। यस्तै दानवीर धनीहरूका निमित्त भूमिदान, भवन निर्माण सहयोग (दान), विद्यालय/ क्याम्पस स्थापना (दान), सुक्खा ठाउँमा पोखरी निर्माण (दान) को महत्त्व हुन सक्छ।

शास्त्र अनुसार शिष्ट र सहयोगी व्यक्तिले अध्ययन, व्यवहार र दान तीन कुरा नगरी बस्न नहुने बताइएको छ। ‘अवन्ध्यं दिवसंकुर्यात् दानाध्ययन कर्मभिः’ अर्थात् प्रत्येक दिन केही न केही अध्ययन, काम  र दान गरेर मात्र दिन बिताउनु पर्छ, त्यसै खेर फाल्नु हुँदैन। हरेक समाजमा र हरेक धर्म ग्रन्थहरूमा दानको महत्त्व बताइएको विषयलाई माथिको शास्त्रीय श्लोकले अझ महत्त्व दिएको देखिन्छ।

दानको महत्त्व बताइए पनि के दान जहिले पनि र जसलाई पनि दिन हुन्छ? यो अर्को प्रश्न पनि उठ्न सक्छ। त्यसैले दानलाई श्रद्धाको विषय हो भनेर पनि परिभाषित गरिएको छ। दान दिने वस्तु उपयोगयोग्य हुनुपर्ने, दान गर्ने व्यक्तिले कामना राख्न नहुने, दान पाउने व्यक्तिमा लोभ लालचा हुन नहुने गरेर दान गर्ने वस्तु, दान दिने दाता र दान पाउने लाभग्राहीसमेतका गुणहरू स्पष्ट गरिएका छन्। यसैले दानको उपयोग यथासम्भव स्थान, समय हेरेर मिलाएर गर्नु उत्तम हुने बताइएको छ। यस सन्दर्भमा यस आलेखमा सबै किसिमको दानबारे नभएर धान्य पूर्णिमाको दिनमा गरिने धान्यदानबारे केही चर्चा गरिएको छ।

धान्यपूर्णिमा हरेक वर्ष मार्गशुक्ल पूर्णिमाका दिनमा पर्छ। यद्यपि वर्ष भरमा आउने १२ वटा पूर्णिमाका निम्नानुसार छुट्टाछुट्टै महत्त्व बताइएको छ–

वैशाख शुक्ल पूर्णिमा – बुद्धपूर्णिमा, वैशाख स्नान समाप्ति

जेष्ठ शुक्ल पूर्णिमा – मष्टा/गैडु पूर्णिमा

आषाढ शुक्ल पूर्णिमा – गुरु पूर्णिमा, चतुर्मासा प्रारम्भ

श्रावण शुक्ल पूर्णिमा – रक्षाबन्धन, जनै पूर्णिमा

भाद्र शुक्ल पूर्णिमा – इन्द्रदह स्नान

आश्विन शुक्ल पूर्णिमा – लक्ष्मीको उपासना/कोजाग्रत

कार्तिक शुक्ल पूर्णिमा– चतुर्मासा समाप्ति

मार्ग शुक्ल पूर्णिमा – धान्यपूर्णिमा, योमरी पुन्हि, कुलपूजा, उधौली पर्व

पौष शुक्ल पूर्णिमा – स्वस्थानी पाठ आरम्भ एवं माघ स्नानारम्भ

माघ शुक्ल पूर्णिमा – स्वस्थानी व्रतसमाप्ति, माघ स्नान समाप्ति

फाल्गुन शुक्ल पूर्णिमा– फागु पूर्णिमा

चैत्र शुक्ल पूर्णिमा– हनुमान जयन्ती एवं वैशाख स्नानारम्भ

मानिस मात्र नभएर समस्त प्राणीका लागि नभई नहुने वस्तु अन्न हो। गास, वास, कपासमध्ये पनि गास (अन्न)को महत्त्व बढी हुन्छ। कलियुगमा प्राणीहरू अन्नबिना बाँच्न सक्तैनन्। यसैले अन्नलाई प्राण पनि भनिएको छ। अन्नले प्राण धान्न सहयोग पुर्‍याउने भएकाले अन्नदानलाई प्राण दानसँग तुलना गरिएको छ।

मानव शरीरमा मुख, आँखा, कान, नाक, छाला आदि इन्द्रिय (ज्ञान) हरूको संयोजन भएको हुन्छ। ती सबै अङ्गभन्दा प्राणको स्थान उच्च र अलग्गै छ। इन्द्रियहरूले क्रमशः काम गर्न छोडे पनि प्राणले शरीर धानिरहेको हुन्छ। त्यो प्राण अन्नले नै धानेको हुन्छ। यसैले तैत्तिरीय उपनिषद्मा ‘अन्नात् पुरुषः, अन्नाद् वै प्रजाः प्रजायन्ते, अन्नं ब्रह्म’ भनेर अन्नलाई नै प्राण र ब्रह्मका रूपमा चिनाइएको छ।

शास्त्रले पनि सन्ध्या, स्नान, जप, देवपूजन, पितृतर्पण र अतिथिसेवासमेतका ६ वटा कामगृहस्थले अन्नकै उपयोग गरेर गर्नैपर्ने उल्लेख गरेको छ । साथै, अन्न दान नै दानमध्येको उत्तम दानका रूपमा विभिन्न पुराण र धर्मग्रन्थहरूले वर्णन गरेका छन्।

त्यस किसिमको महत्त्व भएको अन्नदानको निमित्त धान्यपूर्णिमालाई पुण्यदायक दिनका रूपमा मानिएको छ। धान्य भन्नाले चामल, गहुँ, जौ, तिल जस्ता बालीलाई पनि लिइएको छ। एक अर्को प्रसङ्गमा प्रमुख बालीका रूपमा धान र जौलाई लिएर ‘ब्रीहिभि र्यवै र्वा यजेत’ भनी धान र जौले यज्ञमा चरु अर्पण गर्ने विधान पनि बताएको छ।

हवन गरेपछि नै वर्षा हुने र वर्षा भएपछि नै अन्न उत्पादन हुन सक्ने, अन्न उत्पादन भएमा नै प्राणीहरू बाँच्न सक्ने भएकाले सनातन परम्परामा देवता र पितृलाई अन्न अर्पण (दान र हवन) गरेर मात्र नयाँ अन्न खान थाल्ने दिन पनि धान्यपूर्णिमालाई नै निश्चित गरिदिएको हुनाले नेपाली समाजमा धान्यपूर्णिमाको विशेष महत्त्व रहँदै आएको पाइन्छ।

धान नेपालको प्रमुख बाली पनि हो। यो वालीबाट प्राप्त हुने चामललाई पहिले धान्यको रूपमा आहुति गर्ने र त्यसपछि चामल बनाएर नित्य भोजनमा प्रयोग गर्ने हाम्रो परम्परा छ। यो परम्परा शास्त्र वचनअनुसार चलेको पाइन्छ।

धान्यपूर्णिमाको दिनमा धान वा चामल दान गर्ने मात्र नभएर त्यस दिन कुल–परम्पराअनुसार कुल पूजा गरेर कुल देवतालाई प्रसन्न बनाउने पनि गरिन्छ। यसै दिनमा गाईवस्तु पाल्ने किसानले गोठ पूजा गर्छन् र पालिएका गाई वस्तुहरूको दीर्घायुत्व र निरोगिताको कामना गर्दै दुध धेरै दिने बनून् पनि भन्छन्।

धान्यपूर्णिमाकै दिन नेवारी समुदायमा योमरी पकाएर देवतालाई अर्पण गर्ने गरिन्छ। नयाँ अन्नको पिठोबाट सखर, मरमसलासमेत मिसाएर बनाइएको योमरी देवतालाई चढाइसकेपछि साथीभाइ, छरछिमेक, इष्टमित्रलाई समेत खुवाउने परम्परा छ। यस दिनमा नै गैडु पूजा गर्ने परम्परा पनि रहेको छ। किरात राई समुदायले धान्यपूर्णिमाकै दिनमा आफ्ना कुलदेवतालाई पूजा गरी उघौलीपर्व समेत मनाउँछन्। यसैले पनि धान्यपूर्णिमाको दिन सबै नेपालीको विशेष महत्त्वको दिनका रूपमा लिने गरिएको पाइन्छ।

–लेखक जयतु संस्कृतम्का अध्यक्ष हुन्।  

प्रकाशित: १८ मंसिर २०८२ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App