नेपाल आज परिवर्तनको एक ऐतिहासिक मोडमा उभिएको छ। पछिल्ला समयमा देखिएको राजनीतिक परिवर्तनले नयाँ वातावरण सिर्जना गरेको छ, जसले प्रबल सकारात्मक संकेतहरू देशभित्र मात्र होइन, विश्वभर छरिएका नेपालीहरूको हृदयमा नयाँ आशा, आत्मविश्वास र आकांक्षाको दीप प्रज्वलित गराएको छ।
यदि नेपाली जनताले स्पष्ट दृष्टि, दृढ नेतृत्व र गहिरो राष्ट्रिय चेतनासहित अघि बढ्ने अवसर पायो भने, २१औँ शताब्दी केवल विकासको मात्र होइन, नेपालको पुनर्जागरणको युग बन्ने लगभग निश्चित छ।
यद्यपि, यही उज्यालो सम्भावनाबीच एउटा असहज तर अनिवार्य प्रश्न पनि खडा हुन्छ:, के हामी आधुनिक विकासको नाममा आफ्नै मौलिक पहिचान बिस्तारै गुमाउँदै त छैनौँ ?
नेपाल कुनै साधारण राष्ट्र होइन; यो हजारौँ वर्ष पुरानो सभ्यता, आध्यात्मिक चेतना र सांस्कृतिक वैभवको जीवित धरोहर हो। किराँतकालदेखि लिच्छवी र मल्ल युग हुँदै आधुनिक नेपाल निर्माणसम्मको यात्रा केवल राजनीतिक घटनाक्रम मात्र थिएन, यो आफ्नो अस्तित्व, पहिचान र परम्परा जोगाउन गरिएको निरन्तर संघर्षको गौरवपूर्ण इतिहास पनि हो।
लुम्बिनीमा बुद्धको जन्म, पशुपतिनाथको आध्यात्मिक शक्ति, जनकपुरको सांस्कृतिक गहिराइ र काठमाडौं उपत्यकाको अद्वितीय कला। यी सबैले नेपाललाई विश्व मानचित्रमा विशिष्ट, सम्मानित र अद्वितीय स्थान दिलाएका छन्।
सानो तर सुन्दर हिमाली देश नेपालको विविधता नै यसको शक्ति र पहिचान हो। हिमाल, पहाड र तराई जस्तै नेपालीहरूको भाषा, संस्कार, भेषभूषा र जीवनशैली पनि बहुरंगी छन्। दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली तथा विभिन्न जातीय पोशाकहरू केवल परम्पराका अवशेष होइनन्; यी हाम्रो आत्मसम्मान, इतिहास र राष्ट्रिय अस्तित्वका सजीव प्रतीक हुन्। यी प्रतीकहरू ओझेलमा पर्नु भनेको केवल संस्कृति हराउनु होइन, राष्ट्रको आत्मा कमजोर हुनु पनि हो।
इतिहासले देखाएको छ:, जुन राष्ट्रहरूले आफ्नो पहिचान गुमाए, तिनले क्रमशः आत्मविश्वास गुमाए र अन्ततः आफ्नो मौलिकता पनि हराए। नेपालको सन्दर्भमा राष्ट्रिय एकताको मेरुदण्ड नै सांस्कृतिक पहिचान हो। पृथ्वीनारायण शाहको ‘चार जात, छत्तीस वर्णको फूलबारी’ केवल नारामात्र नभई विविधताको सम्मान गर्ने गहिरो राष्ट्रिय दर्शन हो। यदि यो दर्शन कमजोर भयो भने, राष्ट्रिय एकता र स्थायित्व दुवै संकटमा पर्ने निश्चित छ।
यस्तो संवेदनशील घडीमा राष्ट्रको नेतृत्व तहको भूमिका अत्यन्तै निर्णायक हुन्छ। नेतृत्व केवल नीति निर्माण गर्ने शक्ति होइन, त्यो राष्ट्रको अनुहार, आत्मा र सन्देश पनि हो। उनीहरूको व्यवहार, पहिरन र प्रस्तुति आफैंमा राष्ट्रिय पहिचानको दर्पण हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वले मौलिक भेषभूषा धारण गर्नु कुनै औपचारिकता मात्र होइन, यो सशक्त सांस्कृतिक कूटनीति हो, जसले विश्वलाई स्पष्ट सन्देश दिन्छ:, ‘नेपाल आधुनिक छ, तर आफ्ना जरा बिर्सिएको छैन।’
यस सन्दर्भमा नेपाली भाषी भूटानीहरूको इतिहास उदाहरणीय छ। त्यो केवल विगतको पीडा मात्र होइन, भविष्यका लागि विश्व समुदायलाई दिएको चेतावनी पनि हो। भूटानमा नेपाली मूलका समुदायहरू पुस्तौँदेखि बसोबास गर्दै आएका थिए। उनीहरूले कृषि, प्रशासन, शिक्षा र पूर्वाधार विकासमार्फत भूटानलाई आधुनिक राष्ट्र बनाउन महत्वपूर्ण योगदान दिएका थिए। तर, भूटान सरकारले ‘एक जात, एक राष्ट्र’ नीति लागू गरी उनीहरूको भाषा, संस्कृति र पहिचानलाई अस्वीकार गर्यो।
यो निर्णय केवल कठोर राजनीतिक कदम मात्र थिएन, यो तत्कालीन राज्यसत्ताको दूरदृष्टि र विवेकको अभावको परिणाम पनि थियो। आफ्नो पहिचान जोगाउने संघर्षमा ती नेपाली भाषी भूटानीहरू आफ्नै जन्मभूमिबाट विस्थापित हुनुपर्यो। यो केवल एउटा समुदायमाथिको अन्याय मात्र होइन, मानवता, न्याय र सहअस्तित्वमाथिको गम्भीर आघात पनि थियो।
नेपाल सरकारले ती विस्थापित भूटानीहरूलाई तीन दशकभन्दा बढी समयसम्म आश्रय दिएर मानवताको उच्च उदाहरण प्रस्तुत गरेको छ, जुन सधैं गर्वको विषय रहनेछ। तर समस्याको दीर्घकालीन समाधान अझै हुन सकेको छैन। अहिले आवश्यक छ कि भूटान सरकारले यस अन्यायको गम्भीर पुनरावलोकन गरोस्। शरणार्थीहरूको दीर्घकालीन समाधान तथा पुस्तौँदेखि त्यहाँ बसोबास गर्दै आएका नेपाली भाषी भूटानीहरूको अधिकार, सम्मान र पहिचान पुनर्स्थापित गर्न ठोस, न्यायपूर्ण र साहसिक पहल गरिनुपर्छ। यसले केवल न्याय स्थापना मात्र गर्ने छैन, दुई हिमाली राष्ट्रहरूबीचको सम्बन्धलाई अझ गहिरो, विश्वासिलो र मानवीय बनाउनेछ।
नेपालका लागि यो प्रसंग स्पष्ट चेतावनी हो । यदि हामीले आफ्नै देशमा आफ्नो पहिचान जोगाउन सकेनौँ भने, भोलि इतिहासले हामीलाई पनि कठोर प्रश्नहरू सोध्नेछ। राष्ट्रिय पहिचान कुनै विकल्प होइन; यो राष्ट्रको आत्मा र अस्तित्वको आधार हो।
आजको युगमा विकास, प्रविधि र विश्वव्यापी प्रतिस्पर्धा अपरिहार्य छन्। तर ती सबैको आधार आफ्नो मौलिक पहिचान नै हो। यदि हामीले आफ्नो संस्कृति, भाषा र परम्परालाई प्राथमिकता दिएनौँ भने, हाम्रो विकास केवल बाहिरी चमकमा सीमित हुनेछ र भित्रबाट खोक्रो साबित हुन सक्छ।
नेपाल सगरमाथाको उचाइ जस्तो आत्मसम्मान बोकेको राष्ट्र हो। यो बुद्धको शान्तिको सन्देश बोकेको देश हो। यो विविधतामा एकताको अनुपम उदाहरण हो। यस्तो देशको नागरिक हुनु केवल सौभाग्य मात्र होइन, गर्व, जिम्मेवारी र प्रतिबद्धताको गम्भीर विषय पनि हो।
अतः, यो समय गम्भीर आत्ममन्थनको क्षण हो। हामीले आफैँलाई सोध्नैपर्छ । के हामी आफ्नो पहिचान जोगाउँदै विकासको बाटोमा अघि बढिरहेका छौँ, वा विकासको नाममा आफ्नै पहिचान गुमाउँदै छौँ?
अब नेतृत्व वर्गले स्पष्ट, दृढ र प्रेरणादायी सन्देश दिनुपर्छ । नेपाल आधुनिक बन्नेछ, तर आफ्नो मौलिकता गुमाएर होइन। नीति, व्यवहार र प्रतीकात्मक प्रस्तुतिमा राष्ट्रिय पहिचानको संरक्षणलाई सर्वोच्च प्राथमिकता दिइनुपर्छ।
यो कुनै आलोचना होइन; यो देशप्रतिको गहिरो माया, इतिहासप्रतिको जिम्मेवारी र भविष्यप्रतिको अटल विश्वास हो। यदि आज हामी सचेत भयौँ भने, भोलि नेपाल केवल एउटा देश मात्र होइन, पहिचान, गौरव र आत्मसम्मानको विश्व उदाहरण बन्नेछ।
जय होस्!
(नेपाली भाषी भूटानी समुदायका अगुवा, अधिकारी हाल अमेरिकाको पेन्सिलभेनियामा बस्छन् )
प्रकाशित: ३० चैत्र २०८२ १५:०७ सोमबार

