२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
विचार

निर्णायक घडी

प्रतिनिधिसभा निर्वाचन बिहीबार हुँदै छ। यस निर्वाचनका लागि देशले धेरै क्षति ब्यहोर्नुपरेको छ। नेपाल आज एकातिर सामाजिक सञ्जालको पर्दामा चम्किरहेको छ वा भाइरल छ भने अर्कातिर बेरोजगारी, अशिक्षा, अराजकताका कारण दैनिक हजारौं युवा खाडी प्रस्थान गर्दै छन्। गाँउ रित्तै छ, गाउँमा काम गर्ने जनशक्ति परदेशमा पसिना बगाइरहेको छ।

यी दुई संसारबिचको दुरी दिनदिनै बढ्दै गइरहेको छ। आज सत्यभन्दा छिटो अफवाह फैलिन्छ, समाधानभन्दा पहिले प्रतिक्रिया भाइरल हुन्छ र गहिरो बहसभन्दा छिटो सनसनी फैलिन्छ। यहाँ यथार्थभन्दा बढी अफवाहमा विश्वास हुन्छ। यो प्रवृत्तिले नेपाललाई भाइरल बनाएको छ। जसले गर्दा समाज भित्रभित्रै गम्भीर समस्या बोकेर यात्रारत छ। यस अवस्थालाई बोकेर हाम्रो देशमा निर्वाचन भइरहेको छ।

निर्वाचनको दिन आइसकेको छ। निर्वाचनअघि नै प्रायः सबै दलका घोषणापत्र, चुनावी नारा, नेताका एक से एक भाषण आइसकेका छन्। सामाजिक सञ्जालमा अमूक दललाई जिताउने र हराउने अभियान राम्रैसँग भएको देखियो। मेरो एउटै प्रश्न छ - यो निर्वाचन विचारको प्रतिस्पर्धा हो कि भाइरल सामग्रीको युद्ध?

धेरैको बलिदान एवं जनधनको क्षतिबाट विषम परिस्थितिमा आएको निर्वाचन हो यो। त्यसैले पनि यो निर्वाचनलाई बढी गम्भीर तरिकाले सोच्नुपर्ने हो तर दल, नेता -कार्यकर्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसरी सोचेको देखिएन।

केही समयअगाडि रत्नपार्कमा केटा र केटीको सामान्य झगडा भइरहेको थियो। त्यो झगडा बुझ्नुभन्दा पहिले धेरैले झगडाको भिडियो खिचे अनि आफ्नो भिडियोलाई भाइरल बनाउनतर्फ लागे। उक्त झगडाको भिडियो लाखौंले हेरे, हजारौंले प्रतिक्रिया दिए तर कसैले पनि सोधेनन् - किन उनीहरूबिच झगडा भयो? उनीहरू एकैछिनमा हात समाएर सँगै गए। सत्य कथा के हो भन्ने कसैलाई थाहा छैन, यद्यपि भिडियो भाइरल बन्यो।

यही मानसिकता अहिले चुनावी वातावरणमा सर्वत्र छ। उम्मेदवारको कार्यक्रमभन्दा उसको चिप्लिएको बोली भाइरल हुन्छ, नीति–घोषणापत्रभन्दा विवादित वाक्य चर्चित हुन्छ। यहाँ भाषणको सारभन्दा भिडियोको क्लिप निर्णायक बन्छ। कुन नेतृत्व सक्षम छ, नेपालको भविष्यका लागि कस्ता उम्मेदवारलाई भोट दिने भन्दा पनि एउटा चिह्न वा छाप समातेको छ, त्यसैलाई भोट दिने भन्ने हल्ला चलिरहेको छ। तिमी चिन्छौ यो छाप कसको हो? उत्तर - चिन्दिनँ। के उसको प्रतिवद्धता देशका लागि हो त? उत्तर - थाहा छैन। हामीले कस्तो भविष्य बनाउन खोज्दै छौं?

हाम्रो यत्रो आँसु र बलिदानबाट आएको चुनाव हो यो। हामीले मतलाई खेर फाल्नुहुँदैन। हरेक मतदाताले आफ्नो नेतालाई राम्ररी चिन्नुपर्छ। यो नेपालको भविष्य र नेपालीप्रतिको उत्तरदायित्व हो। आज चुनावी बहस होइन, दृश्यको प्रतिस्पर्धा हुँदै छ। आज कुनै घटना घट्नासाथ त्यहाँ अनुसन्धान होइन, रेकर्ड हुन थाल्छ। मोबाइल अब सञ्चारको साधन मात्र होइन, तमासाको मुख्य साधन बनेको छ।

पीडित सहायता खोज्नुभन्दा पहिले क्यामराको घेरामा पर्छ। मानवीय संवेदना अनि अधिकार कन्टेन्टमा रूपान्तरण हुन्छ। आज निर्वाचन हुँदै गर्दा यो प्रवृत्ति अझै तीव्र बन्दै छ, अधुरो सत्यलाई पूरा सत्य बनाउँदै फैलिएको छ। यो प्रवृत्तिले मान्छेलाई जिम्मेवारी र वास्तविकताबाट टाढा लगेको छ। भावनात्मक भाषाले मतदातालाई उत्तेजित बनाइन्छ तर समाधानको बाटो देखाइँदैन। यसो भन्दै गर्दा राजनीतिमा भाइरल संस्कृतिको प्रभाव झनै गम्भीर छ।

संसदमा उठेका गम्भीर बहसभन्दा नेताको कटाक्ष, आरोप, प्रत्यारोप र व्यंग्य भाइरल हुन्छ। बजेटका तथ्यभन्दा गाली चर्चित हुन्छ। नीति निर्माणभन्दा टिकटके भाषण लोकप्रिय हुन्छ। नेताको क्षमताभन्दा छापको हल्ला फिजाइन्छ। जसले लोकतन्त्रलाई संवादको होइन, प्रदर्शनको रंगमञ्च बनाइरहेको छ।

यो निर्वाचन यसै प्रवृत्तिको परीक्षास्थल बन्ने संकेत देखिँदै छ, जहाँ घोषणापत्रमा छलफल गर्नुभन्दा ह्यासट्याग प्रभावशाली बन्ने खतरा छ। हाम्रा युवा पुस्तामा यसको असर झनै गम्भीर देखिन्छ। प्रसिद्धि अब संघर्ष र उपलब्धिबाट होइन, भाइरलबाट आउने भ्रम फैलिएको छ। परीक्षा पास हुनुबाट होइन, ट्रेडिङ हुनु ठुलो मानिन्छ। सिप सिक्नुभन्दा फलोअर बढ्नु सफलता मानिन्छ। निर्वाचनसँगै समाज अझै ध्रुवीकृत बन्दै छ। असहमति बहस होइन, गालीमा बदलिन थालेको छ। फरक विचारलाई सुन्ने संस्कार कमजोर हुँदै गएको छ। देशको हावापानी, माटोमा नरमेका अनि विदेशमा बसेर नेपालको भविष्य र नेतृत्वमाथि हस्तक्षेप हुँदै छ। त्यही पोस्टलाई भाइरल बनाउँदै हामी छाप लगाउँछौं। बिर्सन्छौं, जेनजी आन्दोलन अनि बलिदान।

यस्ता कार्यक्रमका भिडियोको भूमिकामाथि पनि प्रश्न उठेको छ। ब्रेकिङको होडमा कतिपय समाचार सत्य पुष्टि हुनुअघि नै सार्वजनिक हुन्छन्, अनुसन्धान हुनुअघि नै सार्वजनिक हुन्छन्। अनुसन्धानभन्दा छिटो प्रकाशन हुने प्रवृत्ति पनि बढेको छ। अहिले निर्वाचन हुँदै गर्दा सत्यतथ्य नबुझी फलानाले जित्छ भन्ने आँकलन गर्न आँटेका छन्।

यो भाइरल प्रवृत्ति पनि देशका लागि हानि हुन्छ। देशको चौथो अंगले भड्काउने र उचाल्ने - पछार्ने गर्नुहुँदैन किनकि निर्वाचनको बेला यो प्रवृत्ति झनै संवेदनशील हुन्छ। आधा सत्य र अतिरञ्जित समाचारले मतदाताको मनोविज्ञानलाई प्रभावित पार्छ। यस्ता समाचारे सचेत निर्णयभन्दा भावनात्मक निर्णयलाई बढी प्रभाव पार्छन्। यसो भन्दै गर्दा सम्पूर्ण कुरा भाइरलले बिर्गाछ भन्ने होइन। भाइरल कन्टेन्टका राम्रा पक्ष पनि छन्, यस्ता सञ्चार सामग्रीमा आशाको पक्ष पनि पाइन्छ।

एउटै पोस्टले रगत संकलन भएर बिरामीको ज्यान जोगिन्छ, हराएका बालबालिका भेटिन्छन्, उपचारका लागि सहयोग जुट्छ। संसारमा के भइरहेको छ भन्ने तथ्य तत्कालै थाहा हुन्छ। त्यसरी समस्या प्रविधिमा होइन, प्रविधिको प्रयोग, जिम्मेवारी र विचारमा छ। चुनावी यात्रा सकारात्मक प्रयोगतर्फ मोडियो भने भाइरल संस्कृतिले लोकतन्त्रलाई सशक्त बनाउन सक्छ। यसलाई केवल तमासा र आक्रोशको माध्यम बनाइयो भने यसले निर्वाचनलाई कमजोर बनाउँछ, कमजोर नेतृत्व आउँछ।

नेपाल अहिले गम्भीर संक्रमणकालमा छ। एकातिर डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रता दिएको छ, अर्कातिर विवेक कमजोर बन्दै छ। सूचना सजिलै फैलिन्छ तर ज्ञान गहिरो हुन सकेको छैन। आवाज धेरै छन्, सुन्ने कम छन्। प्रतिक्रिया तीव्र छन् तर समाधान सुस्त छन्।

आगामी निर्वाचन यही अवस्थाको कठोर परीक्षा हो। के हामी मत दिने बेला भाइरल भिडियोको आधारमा निर्णय गर्छौं? कि उम्मेदवारको विचार, कार्यक्रममा दृष्टि लगाउँछौं वा चरित्र हेर्छौं? मत प्रकट गर्नुभन्दा पहिल्यै बाटो स्पष्ट हुनुपर्छ। नागरिकले सामाजिक सञ्जालमा सामग्री सेयर गर्नुअगाडि सत्यतथ्य हो कि होइन? निर्क्याेल गर्नुपर्छ। अहिले हाम्रो निर्वाचनप्रति देशविदेश जताततैबाट नजर लगाएका छन्।

हामीले एउटै कुरा बुझ्नुपर्छ - सुख, दुःख हामी आफैंले भोग्नुपर्छ। त्यसैले देश–विदेशका मन्तव्य एवं भाइरल सामग्रीमा जोड नदिई आफ्नो देशको भविष्य आफैं चुनौं, देश, माटो, भूगोल बुझेको व्यक्ति चुनौं। अब प्रश्न हामी दर्शक बन्ने कि निर्णयकर्ता बन्ने? ह्यासट्याग पछ्याउने कि भविष्य बनाउने? चेतनाले भोलिको नेपाल बनाउँछ।  

प्रकाशित: २१ फाल्गुन २०८२ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %