संसदीय दलको नेता चयनमा दुई महिना लामो अनिर्णय, विवाद र रस्साकस्सीपछि बल्लबल्ल निर्विरोध चयन गरेको नेपाली कांग्रेसमा विद्यमान ढिलासुस्ती र आफैंभित्र अल्मलिने प्रवृत्ति अझै हटेको रहेनछ। संसदीय दलको नेता चयनमा ज्वाइँ–ससुरा ‘नातावाद’को विवाद जोडदार रूपमा उछालियो तर राष्ट्रियसभा दलको नेता हेरफेरमा पति–पत्नी ‘नातावाद’को कुरा रहस्यमय ढंगले लुक्यो। भारतमा ७६ वर्षीय प्रधानमन्त्री नरेन्द्र मोदीले र ८० वर्षीय राष्ट्रपति ट्रम्पले महाशक्ति अमेरिकाको नेतृत्व गरेको र इरानसँगको शान्ति वार्ताका लागि ट्रम्पले आफ्ना ज्वाइँ जेरेड कुस्नरलाई प्रतिनिधिमण्डलमा सामेल गरेकोबारे पनि कसैले विवाद मच्चाएको सुनिन्न। पिछडिएको मानसिकतामा विवादको रूपमा बकबासहरू धेरै सुनिन्छ।
कांग्रेसलाई विशेष महाधिवेशनले दिएको फराकिलो बाटो, नयाँ पुस्तालाई प्राथमिकता र नेतृत्व परिवर्तनका बाबजुद मनोवृत्तिमा यथास्थितिको धङधङीले नछोडेको प्रतीत हुँदै छ। परिवर्तित परिस्थितिमा कांग्रेस विगतमुखी होइन, भविष्यमुखी हुनुपर्छ भन्ने जनभावनामा तुषारापत हुनु हुँदैन। स्थापनाको कालखण्डमा त्यो पार्टीसँग विगत होइन, आगत वा भविष्यको चिन्तन मात्र थियो। आज लामो विगतले कमाएको अनुभव र इतिहासको भण्डार छ । तैपनि त्यो अनुभव परिवर्तनका लागि उपयोगी सिद्ध नभएको त होइन भन्ने सवाल उब्जिएको छ।
यथास्थितिमा कांग्रेसले गति लिन सक्दैन। विगतमा पार्टी–संरचना र संगठनलाई लथालिंग र भताभुंग बनाएर, सिद्धान्त, जनभावना, संस्थागत प्रक्रिया र प्रजातन्त्रका आदर्शहरूलाई उपेक्षा गरेर केवल सत्ताको खिचातानीमा केन्द्रित वा सिद्धान्तहीन र अनमेल गठबन्धनमा मग्न भएकाले अजेन्डागत वा नीतिगत बहस बिसर्जन हुँदै गएर कांग्रेसले आफैंलाई कमजोर बनाएको थियो। आफ्नो संसदीय इतिहासमा कांग्रेसले २०८२ फागुनको निर्वाचन परिणाम सबैभन्दा नराम्रो रेकर्ड बनायो। तैपनि कांग्रेस ८४ संसदीय स्थानमा निकटतम प्रतिद्वन्द्वीका रूपमा रहेको अर्थ त्यस पार्टीलाई आन्तरिक रूपमा आमूल सुधार गर्न दिएको जननिर्देशन हो भनी बुझ्नुपर्छ।
विगतमा राष्ट्रको आवश्यकता र सामथ्र्यलाई बिर्सेर संवैधानिक राजतन्त्रलाई विधानबाट हटाएपछि कांग्रेस क्रमशः ओरालो लाग्दै गयो। कांग्रेसलाई गणतन्त्रको यात्रा ‘हाम्रा बाउ पनि काशी गए साहुको भरिया भएर’ भन्ने लोककथाको सुस्त छोराले गर्व गरेको आख्यान चरितार्थ भइरहेको छ। गणतन्त्र कांग्रेसको मौलिक उपज होइन भने नराम्रोसँग खिइँदै गणतन्त्रमा रमाउनुमा गौरव देखिन्न। किनकि कांग्रेसको ‘गणतन्त्र’तिरको यात्रा फगत भरियागिरि हुन्छ तीर्थाटन हुँदैन, पुण्य वा श्रेय खोज्ने ठाउँ छैन। यस्ता विविध कारणले कांग्रेसभित्र आन्तरिक संघर्षका रूपमा अत्यधिक नेता–कार्यकर्ताहरूको उत्साहपूर्ण सफलताका साथ विशेष महाधिवेशन सफल भयो तर नयाँ नेतृत्व सबै मापदण्डमा गतिशील र योग्य भए पनि लय समात्नमा दुर्बलता देखिँँदा प्रश्नहरू उठेका हुन्।
कटु वास्तविकता के भयो भने जुन रणनीति लगाएर राजतन्त्र ध्वस्त पारियो, त्यही रणनीतिले कांग्रेसलाई सखाप पार्न खोजिएको छ। सबै ठुला दलहरू आफ्नै कारणले लतारिएका छन् र दयनीय रूपमा आफ्नै नाराका अगाडि पराजित भएका छन्। सामुन्नेको यथार्थलाई साबिकका ठुला दलले आत्मसमीक्षा गर्ने र सच्चिने, नत्र सकिने परिस्थितिका रूपमा बुझ्नु बुद्धिमानी हुन्छ। नेताहरूको नारामा ‘बिमारीको उपचार’ सुनिने तर नियत ‘औषधिको व्यापार’ गर्ने धृष्टता अब टिक्दैन।
प्रजातान्त्रिक राजनीतिको दर्शनको केन्द्रविन्दु आमजनता हो भन्ने चेतनाबाट ओतप्रोत भएको निष्ठावान कांग्रेसजनहरू नेतृत्वले बोकेका सिद्धान्तहीनता र सत्तालिप्सामाथि यावत विकृति, विसंगति र विडम्बनाविरुद्ध उभिएर गगन थापाको नेतृत्वमाथि संस्थातुल्य भरोसा र अगाध आस्था राखेर विशेष महाधिवेशन र यसले दिएको नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएका हुन्।
सभापति गगन थापाको पक्षमा देखिएको समर्थनको लहर अभुतपूर्व छ तर समर्थनले मौका दिन्छ सफलताको ग्यारेन्टी भने दिँदैन। समर्थनको अनुकूलतालाई बृहत् एकताको रूपमा लिँदै आगामी (पन्ध्रौं) महाधिवेशनलाई पार्टी एकताको निर्णायक अवसरका रूपमा सदुपयोग गर्न सकेमा त्यस पार्टीलाई सत्ताको जनादेश नमिल्ने कारण देखिन्न। पार्टीमा स्वाभाविक एकता बनाउने प्रभावकारी भूमिकाका लागि सदैव मध्यमार्गी नेताको पहिचान बनाउँदै आउनुभएका अर्जुननरसिंहलाई एकताको प्रयासमा पनि ससुरा बा, नातावाद वा उमेरको तगारो लाग्ने त होइन?
लोकतन्त्रको आधारभूत विशेषता, कानुनमाथिबाट लादिँदैन, जनप्रतिनिधिले बनाएका कानुन मात्र लागु हुन्छ। विधिको शासनमा कानुनको आगमन–स्रोत ‘प्यारासुट’ होइन, ‘ग्रासरुट’ हो। नागरिकहरूको सर्वसुलभ न्याय र सहज स्वतन्त्रता यही मेरुदण्डमा सुनिश्चित र सबल हुन्छन् तर प्रधानमन्त्री बालेन्द्र शाहको जनमोहले दुईतिहाइको संख्याबल पुग्न लागेको वर्तमान सरकारले कानुनको निर्माण जनता (ग्रासरुट) को संसद्बाट विधेयक स्वीकृतिको प्रक्रियामा नभई अध्यादेशरूपी ‘प्यारासुट’का रूपमा माथिबाट जनतामा कानुन झार्ने परम्परालाई ब्युँताउने अभ्यास गरेर यसले पनि ‘अध्यादेश राज’कै अनुशरण गर्यो। बालेनले बेइमानी गर्दैनन् भन्ने आमविश्वासको अर्थ उनले गल्ती नै गर्दैनन् भन्ने होइन। सत्तालाई तमासा देखाउने, अपारदर्शी निर्णय गर्ने, कतिपय सांसदहरूले उच्छृंखलता र सुझबुझहीनता देखाउने, जनतालाई झुटो आश्वासन दिने वा सपनाको व्यापार गर्ने छुट छैन।
इतिहासले प्रजातन्त्र र विधिको शासनको मियोशक्ति बनाएको कांग्रेसलाई यसकै नेताले सैद्धान्तिक र सांगठनिक दोहोरो पराजय थोपरेको परिणति आजको अवस्था हो। २०४७ सालको संविधानमा नेपाली कांग्रेसको सैद्धान्तिक विजय झल्किएको थियो तर पछिल्लो जनआन्दोलनका नाममा कांग्रेसले त्यो सैद्धान्तिक विजयलाई तिलाञ्जली दियो। कांग्रेसको शाश्वत हितका लागि परिणाममुखी हुने हो भने आसन्न महाधिवेशनमा पार्टीलाई बिपी विचारधाराको मौलिकतामा फर्काउन संवैधानिक राजतन्त्रबारे पुनर्विचार गर्नैपर्छ। सिद्धान्तहीन अपवित्र चुनावी गठबन्धन बोक्दा प्रजातान्त्रिक पक्ष सधैं पराजित र प्रतिरक्षात्मक तथा किंकर्तव्यविमूढ अवस्थामा पुग्नु दीर्घकालीन दृष्टिकोणले साह्रै दुःखद परिस्थिति हो। कांग्रेसले हाल भोगिरहेको पराजित अवस्था गत वर्ष भदौको जेनजी आन्दोलनसम्म यसले सत्ताको नेतृत्व पाउने आशक्तिमा सिद्धान्तहीन र अनैतिक सत्ता गठबन्धन बोकेको महँगो मूल्य चुकाउनु परेकाले हो।
सर्वोच्च अदालत र निर्वाचन आयोगका फैसला वा निर्णयले वैधानिक र आधिकारिक ठहराए पनि कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता नदिएको ‘देउवा समूह’ र ‘शेखर गुट’ले गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउने अघोषित अभियान नै चलायो। कानुनी र वैधानिक उपाय बाँकी नरहेपछि स्वसिर्जित अलपत्र अवस्थाबाट घर फर्किन इच्छामा रहेको उक्त समूहलाई यथोचित कदरका साथ एकताका लागि फर्काउन र न्यायोचित स्थान दिन नेतृत्वले कन्जुसी गर्नुहुँदैन। पार्टी भनेको केन्द्रीय समितिलाई मात्र सम्झिने प्रवृत्ति राजनीतिक सुझबुझरहित फगत मूर्खता हो। राष्ट्रियसभा दलको नेतृत्वबाट हालै हटाइएका कृष्ण सिटौलाले विगतमा गरेका गणतन्त्र, धर्मनिरपेक्षता, माओवादीपरस्त र आत्मघाती राजनीतिक गतिविधिलाई निष्ठावान कांग्रेसजनले अहिलेसम्म पचाउन सकेको देखिन्न। तथापि सो नेतृत्वमा अहिले नै हेरफेर गरिहाल्नु पार्टी–एकताको दृष्टिले युक्तिसंगत देखिएन।
खिचडी सरकार बन्ने र भत्किने अस्थिरता र फोहोरी परम्परा समाप्त होला भन्ने जनताको अपेक्षा विपरीत आफ्नो पालो वा सेयर खोज्न ध्यानमग्न नेताको दिमागबाट न जनताले भरोस गर्न सक्ने मार्गदर्शन निस्कन सक्छ, न त त्यस्ताका कण्ठनलीबाट जनताका अव्यक्त चाहना र आवश्यकतालाई वाणी दिने खुबी पाइन्छ।
राज्य व्यवस्थामा अझै पनि कांग्रेसको बलियो उपस्थिति रहेको छ। संघीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद छन्। राष्ट्रियसभामा ५९ सांसदमध्ये कांग्रेसका २४ जनासहित एकल ठुलो हैसियत छ। प्रदेशसभाहरूमा कुल ५५० सांसदमध्ये कांग्रेससँग १७६ सांसद छन्। सातमध्ये कांग्रेसका ४ मुख्यमन्त्री छन्। ७५३ नगर र गाउँपालिकामध्ये कांग्रेसका ३३३ जना मेयर र अध्यक्ष छन्। ३५ हजार ११ वडाध्यक्षमध्ये कांग्रेसका १३ हजार सात सय ३० जना कार्यरत छन्। यसले कांग्रेसको विशालतालाई देखाउँछ भने जिम्मेवारीको गहनता र महत्त्वलाई समेत दर्साउँछ।
उक्त तथ्यांकलाई ध्यानमा राखेर पनि कांग्रेसमा निःसर्त र निःस्वार्थ एकताको आवश्यकता मात्र होइन, अनिवार्यता नै छ। परिवर्तित परिस्थितिबाट सद्बुद्धि लिने हो भने कांग्रेसभित्र राजनीतिक शुद्धीकरण, संगठनात्मक सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सबलीकरण जरुरी छ। सभापति गगन थापाबाट यो जरुरतलाई सम्बोधन गर्नसक्ने सक्षमताबारे आमअपेक्षा र आशा पनि स्वाभाविक छ।
प्रकाशित: २१ वैशाख २०८३ ०९:१६ सोमबार

