२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
विचार

जुट-फुटको कम्युनिस्ट राजनीति

केही समयअघि दुई कम्युनिस्ट दल नेकपा माओवादी केन्द्र (माके) र नेकपा एकीकृत समाजवादी (एस)ले अरू ससाना सात दलसमेतलाई मिलाउँदै नौ दलको एकता गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाए तर एकीकरणबाट असन्तुष्ट एसको सानो तर महत्त्वपूर्ण समूह आफ्नो ‘पुरानो घर’ अर्थात् पहिले आफैंले फुटाएर आएको दल नेकपा (एमाले)मा फर्किसकेको छ। अर्को सानो चिरा ‘वास्तविक कम्युनिस्ट’हरूको एकता अभियान चलाउने भनेर उछिट्टिएको छ। माकेतर्फ पनि यो एकताको विरोध गर्दै एउटा जमात ‘सैद्धान्तिक रूपले शुद्ध’ कम्युनिस्टहरूको मात्र एकता गर्ने भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टी नामको नयाँ दल बनाएर चोइटिएको छ।

 एकीकृत भएको मूल नेकपा चाहिँ कम्युनिस्ट पार्टीहरूको मूलधार नेकपा एमालेको विकल्प र असली कम्युनिस्ट पार्टी हामी नै हौं भन्ने देखाउन र फागुनमा हुने संसदीय चुनावमा वामपन्थी मत र कार्यकर्तालाई आफूतिर आकर्षित गर्न लागिपरेको छ। यसै क्रममा सातै प्रदेशमा एकताको सन्देश सभाहरू गर्दै छ। समग्रमा झट्ट हेर्दा र एकता नाम दिइए पनि यो प्रकरण वास्तवमा अनेकतामा परिणत भएको छ।

नेपालमा कम्युनिस्ट पार्टीहरूबिच एकता हुने र फुट्ने कुरा अति सामान्य हो। त्यसैले पनि अहिले एकता गरेकाहरू पछि गएर फेरि फुट्ने र फेरि जुट्ने क्रम चलिरहनेछ। न त यो जुट अन्तिम हो, न यी फुट। रोचक पक्ष चाहिँ के भने घटना, पात्र, दल, समय र परिस्थिति फरक भए पनि कम्युनिस्टहरूको जुट वा फुटका कारण र अरू परिदृश्य भने उस्तै हुन्छन्। एकीकरण भएको थोरै समय मिलेर बसेपछि दलभित्र एकीकृत घटकहरूको नेतृत्व वर्गबिच नेतृत्व र सत्ता प्राप्तिको आपसी प्रतिस्पर्धा सुरु भइहाल्छ। ती नेताका लोभ, महत्त्वाकांक्षा, व्यक्तिगत स्वार्थ र अहं निसृत द्वन्द्व चर्कंदै गएपछि एकीकृत दल फेरि फुट्छ।

सबैभन्दा पछिल्लो उदाहरण, सिद्धान्त एउटै भएका दल एक हुने भनेर २०७५ सालमा एमाले र पूर्व माकेले ठुलो हर्षोल्लास, उत्साह र तामझामसाथ पार्टी एकता गरेका थिए तर राज्यसत्ता र पार्टीसत्ता दुवैमा ठुलो घटकको हैसियतले एमाले अध्यक्ष ओलीको बढी हैकम चलेपछि असन्तुस्ट प्रचण्ड र ओलीको झगडाले २–३ वर्षमै त्यो पार्टी फुटेर तीन टुक्रा भयो।

फुट र जुटका कम्युनिस्ट कार्य प्रणाली

फुट्दा धेरैजसो एकले अर्कालाई सैद्धान्तिक विचलनकोे आरोप लगाउने कम्युनिस्टहरूको चलन हुन्छ। फुट्दा उनीहरू एकले अर्कालाई प्रायः गद्दार, संशोधनवादी, दक्षिणपन्थी, निम्न पुँजीवादी प्रवृत्तिले ग्रसित, प्रतिक्रियावादी, विदेशी दलाल आदि कम्युनिस्ट शब्दजाल प्रयोग गरेर गाली गर्छन्।

जुट्दा भने पहिले गरेका सबै गाली बिर्सिएझैं गरी सिद्धान्त एउटै भएका हामीहरू कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन एकता गरेका हौं भन्छन्। प्रायः सत्तामा छँदा वा जाँदा एक हुने र सत्ता बाहिर रहनुपर्दा फुट्ने उनीहरूको प्रवृत्ति हुन्छ। सत्ताबाट टाढा भएका बखत एउटै पार्टी पटकपटक फुट्ने प्रवृत्ति पनि देखिएको छ।

माके–एस एकताका वास्तविक कारण

अहिले एकता उनीहरू दुवैका लागि तात्कालिक बाध्यता बनेको थियो। कारण, माके र एस दुवै दल कमजोर हुँदै गइरहेका थिए। मूल धारको शान्तिपूर्ण र लोकतान्त्रिक राजनीतिमा आइसकेपछि पनि आफ्नो विगतको हिंसात्मक विद्रोहको भूतले कहिल्यै पिछा नछाडेको माके एक दशकभन्दा बढी अवधिदेखि निरन्तर कमजोर हुँदै गइरहेकै थियो। त्यसमाथि यसका शक्तिशाली अध्यक्ष प्रचण्ड पार्टी नेतृत्व कहिल्यै पनि छाड्न तयार नभएपछि केही समयदेखि पार्टी भित्रैबाट उनको विरोधका स्वरहरू मुखरित हुँदै आइरहेका थिए। सबै दलका यस्ता बुढा र लगातार सत्तामा रहेर भ्रष्टाचार र कुशासनको पर्याय बनेका पुराना नेतृत्वसमेतका विरोधमा जेनजीको पचासौं हजारको जुलुस आन्दोलनमा उत्रिएपछि सबै दलभित्र त्यस्ता नेतृत्ववर्गको विरोध अरु चर्कियो।

नेपाली कांग्रेसका बुढा नेताले त समयको माग बुझेर नेतृत्व हस्तान्तरण गर्दै आफू छेउ लागे तर दुई प्रमुख कम्युनिस्ट दल, एमाले र माकेका नेताले त्यसो गर्नुको सट्टा यही मौकामा पार्टीभित्र आफू झन् बलिया र अपरिहार्य बन्ने रणनीति अपनाए।

उता एमालेसँगको असफल दल विभाजनपछि खिइँदै गएर अस्तित्वकै संकट बेहोरिरहेको एसका लागि माकेसँगको एकता नै सर्वोत्तम विकल्प थियो। यो एकताले माके र एसका हाल एकीकृत नेतृत्व वर्गलाई अब केही समयका लागि आन्तरिक चुनौतीबाट त्राण दिलाएको छ। उनीहरूका लागि एकताको पहिलो र ठुलो उपलब्धि यही हो। त्यसबाहेक ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका माधव नेपाललाई एकताले केही मात्रामा र मनोवैज्ञानिक भए पनि सुरक्षाको अनुभूति दिलाएको छ। एकताका उपलब्धि यिनै र यस्तै हुन्, आम जनलाई मतलबै नहुने।

यतिबेलै एकता किन?

जुटेपछि भन्दा फुटेपछि पार्टी केही न केही त कमजोर हुने नै भयो। फलतः सत्ता अलि टाढा हुने भयो। सत्तामा भइराखेकै अवस्थामा फुटेको भए पनि फुटबाट कमजोर त भइयो नै। सत्ता असुरक्षित वा कम सुरक्षित त भयो नै। निर्वाचनमा जानु परे त फुटले झनै प्रतिकूल परिणाम ल्याउने भयो। त्यसैले यो एकता नभइदिएको भए आउने फागुनको चुनावमा एसको त पत्ता साफै हुन्थ्यो भने माकेको पनि स्थिति केही न केही खस्कने थियो। त्यसैले उनीहरू मिले।

अब आफूले हिजो गर्नुसम्म सत्तोसराप गरेका दलका नेतासँग के भनेर मिल्नु? लोकतन्त्र भएको मुलुकमा जनतालाई, मिडियालाई केही न केही त भन्नै पर्‍यो लाजगाल बचाउन पनि। सत्ताको आसले वा अस्तित्वको संकटका कारण मिलेको त भन्नुभएन। अनि आम जनताको खपतका लागि सिद्धान्त एउटै भएकाले हामी मिलेका भन्नु र कार्यकर्ताको उत्साहका लागि कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन हामी मिलेका भन्नुभन्दा राम्रो अरू के हुन्छ?

यस्तो जुट र फुट एकदलीय कम्युनिस्ट शासन प्रणाली भएका देशहरूमा त हुने कुरै भएन। त्यहाँ दल फुटाएर अर्को दल बनाउन पद्धति नै हुँदैन। त्यहाँ दलको नेतृत्ववर्गलाई चुनौती दिन खोज्नेले मात्र होइन, प्रश्न मात्र गर्न खोज्नेले पनि भाग्यले मारिनबाट बचेछ भने पनि कि त ‘भ्रष्टाचार’को अभियोगमा झ्यालखान जानुपर्छ, कि त ‘निम्न पुँजीवादी आचरण’का लागि श्रम शिविर जानुपर्छ।

बहुदलीय लोकतन्त्र भएका सबै विकासशील मुलुकहरूका कम्युनिस्ट पार्टीहरूमा भने जुट र फुटको क्रम निरन्तर चलि रहन्छ र हामीकहाँ अरू मुलुकको दाँजोमा यो क्रम अत्यधिक धेरै छ। कारण, एक त हामी विकासशील मुलुकमध्येमा पनि धेरै गरिब मुलुक हौं। त्यो गरिबी र वर्षौंदेखिको न्यून आर्थिक वृद्धि, बेरोजगारी, कुशासन, भ्रष्टाचार अनि सामाजिक विभेदको अवस्था यो देशमा कम्युनिस्टहरूका लागि उर्बर राजनीतिक मैदान बनेको छ। निर्वाचन आयोगमा मात्र गोडा पन्ध्रेक कम्युनिस्ट नामका दल दर्ता छन्।

यसरी हेर्दा राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक खराबीहरूको अन्त्य गर्ने राजनीति गर्छु भन्ने कम्युनिस्टहरू संख्यामा धेरै त भए तर ती खराबीहरूको सुधार वा न्यूनीकरण गर्न उनीहरू असमर्थ मात्र होइन, अकर्मण्य र अनिच्छुक पनि साबित भए।

केही समयपछि अरू बुर्जुवा दल र तिनका नेता–कार्यकर्ता जस्तै उनीहरू पनि भ्रष्ट भए, सत्ता, पद र पैसाका लागि जे पनि गर्ने भए। जसका लागि पार्टी–सत्ता र राज्य–सत्तामा आफैं मात्र रहनुपर्ने स्थिति बन्यो। यस्तोमा एकता पनि सत्ता, शक्ति, पद र पैसाका लागि हुने भयो भने फुट पनि सत्ता, शक्ति, पद र पैसाको दुनियामा आफ्नो पहुँच वा चित्तबुझ्दो हिस्सा नपाएकै कारणले हुने भयो।

फुट र जुट सैद्धान्तिक होइन

सिद्धान्तमै गम्भीर विचलन वा भिन्नता आएका कारण कम्युनिस्ट दल फुट्ने भए त सबैभन्दा ठुलो कम्युनिस्ट दल एमालेको सबभन्दा ठुलो सैद्धान्तिक बदलाव जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको राजनीतिक सिद्धान्तका रूपमा अपनाउँदा नै त्यो पार्टी फुट्नुपर्थ्याे। सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त र एकदलीय कम्युनिस्ट शासनको वकालत गर्ने पार्टीले बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतन्त्रलाई अपनाउनासाथ २०४९ सालमै त्यो पार्टी फुट्नुपर्थ्याे।

अहिले शुद्ध कम्युनिस्टहरूको मात्र पार्टी बनाउने भनेर माकेसँग पार्टी एकता गर्ने एसका नेता माधव नेपालले त जबजका प्रतिपादक मदन भण्डारीसँग विद्रोह गरेर त्यतिबेलै पार्टी छाड्नुपर्थ्याे तर उनी त मदन बाँचुन्जेल उनको बफादार सहायक भएर र मदनको शेषपछि पनि अहिले प्रचण्डसँग पार्टी एकता गर्दा त्याग्नुपरेको त्यही जबजको महिमा मण्डन गरेर १५ वर्षसम्म एमालेको कार्यकारी प्रमुख भएर बसे।

त्यसैले सिद्धान्त मिल्ने भएकाले पार्टी एकीकरण गर्‍यौं भन्ने कम्युनिस्टहरूका कथन यहाँ हुन् कि अन्यत्र, थोरै मात्र सही हुन्, धेरै चाहिँ जनता र कार्यकर्तालाई छक्याउने मेलो हुन्। त्यसैले मोहनविक्रम सिंह वा मोहन वैद्यजस्ता कार्यकर्ता नै नभएका र कम्युनिस्टको सिद्धान्त घोकेरै जिन्दगी बिताउने लोपोन्मुख प्रजातिका कोही कोहीबाहेक कोही कम्युनिस्ट नेता पनि सिद्धान्तका आधारमा न जुट्छन् न फुट्छन्। जुट र फुट सत्ता, शक्ति र पद अनि तिनका जरियाबाट प्राप्त हुने लाभ र व्यक्तिगत स्वार्थ, अहं र महत्त्वाकांक्षाको आपसी द्वन्द्वका उपज हुन्छन्। त्यसैले पनि आम जनतामा कम्युनिस्ट पार्टीहरू जुटेको वा फुटेकोमा कुनै चासो रहन्न। जुन यसपालि त झन् टड्कारै देखियो।

आमजनलाई कुनै चासो नभएको फुट र जुट

आम जनतालाई कुनै वास्तै नहुने यस्तो राजनीति आन्दोलन कसरी भयो त ? प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा आन्दोलनको परिभाषा यस्तो छ, ‘जनमानसलाई उत्तेजित गर्न वा कुनै आवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य, हलचल, उथलपुथल, होहल्ला।’

शब्दकोशबाहेक समाजमा प्रचलित अर्थमा पनि आम जनताको मानव सागर उर्लिने आन्दोलन पो आन्दोलन हुन्छ त, जस्तो कि सात सालको जनक्रान्ति, छयालीस सालको जनआन्दोलन, बैसट्ठी–त्रिसट्ठीको जनआन्दोलन, मधेस आन्दोलन वा भर्खरैको जेनजी आन्दोलन। त्यसैले आम जनतालाई कुनै चासो नै नहुने पार्टीहरू फुट र जुटको क्रम उपक्रमलाई आन्दोलन शब्दकै बेइज्जत हुनेगरी कम्युनिस्ट आन्दोलन भन्नु सट्टा कम्युनिस्ट राजनीति भन्नु उपयुक्त हुन्छ कि?

प्रकाशित: २६ मंसिर २०८२ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %