अंग्रेजीमा खाना र शरीरको अन्तरसम्बन्ध बुझाउन प्रयोग गरिने दुई वाक्य छन्: ‘यु आर ह्वाट यु इट’ र ‘फुड इज मेडिसिन’। अघिल्लो वाक्यले तिमी ‘जे खान्छौ, शरीर त्यही खालको बन्छ’ र पछिल्लाले असल खाना नै ओखती हो भन्छ। स्वास्थ्यकर खानाको मात्रा मिलाउँदा व्यथा भाग्छ भन्ने स्वास्थ्य विज्ञानको मूलमन्त्र रहेको छ। खानाले शरीरलाई ऊर्जा मात्र दिने होइन बरु असल भोजनले व्यक्तिलाई समग्रमा स्वस्थ बनाउँछ।
धनुषाको बटेश्वरमा हुर्किएको मानिस र जुम्लाको सिँजा उपत्यकाको बासिन्दा विविध दृष्टिले फरक हुन्छ। पृथक् भौगोलिक बनोट, फरक जीवनशैली अनि खानाका कारण तराई र पहाडका बासिन्दाले झेल्नुपर्ने समस्या मात्र फरक हुँदैनन् बरु उनीहरूलाई लाग्ने रोगसमेत भिन्न हुन्छन्। खान्की र जीवन जिउने तरिका फरक भएका धनुषा र जुम्लाका बासिन्दामा भिन्न शारीरिक समस्या देखिनु स्वाभाविक हुन्छ। के उनीहरूको दिमागी स्वास्थ्यलाई पनि भोजनको चरित्रले निर्देशित गर्छ त? भन्ने प्रश्न उठ्छ?
वैज्ञानिक भाषामा ‘मोनोजाइगोटिक ट्विन्स’ तथा चलनचल्तीको बोलीमा ‘आइडेन्टिकल ट्विन्स’ भनिने जुम्ल्याहाको अनुहार, बनोट, वर्ण हुबहु मिल्छ। बाबुको शुक्रकीट र आमाको डिम्बको समागमपछि अप्रत्याशित रूपले निशेचित अण्डा विभाजन भई पेटमा दुई सन्तति बन्ने भएकाले शिशुहरू आनुवांशिक दृष्टिले दुरुस्त हुन्छन्।
समान वंशाणु भएका अनि केही मिनेटको अन्तरालमा जन्मिएका दुई बच्चा एकै घरको सामाजिक परिवेश र खानामा हुर्कने भएकाले त्यस्ता जोडीमा गरिएका अध्ययन वैज्ञानिक दृष्टिले सारगर्भित हुन्छन्। आनुवांशिक र सामाजिक परिवेशमा साझेदारी गरेका जुम्ल्याहामा आयुर्विज्ञानको परीक्षण गर्दा थप ‘कन्ट्रोल एक्सपेरिमेन्ट’ आवश्यक पर्दैन। हजार शिशु जन्मँदा सरदर तीन समरूपी शिशु जन्मने भएकाले नयाँ ओखती तथा संहिताको क्लिनिकल परीक्षणका लागि आवश्यक ‘आइडेन्टिकल ट्विन्स’ को संख्या पुर्याउन कठिन हुन्छ।
संयुक्त राज्य अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गणक पुर्याउन चुनौतीपूर्ण रहेका समरूपी जोडीहरूलाई वनस्पतिजन्य उत्पादन मात्र ख्वाउँदा उनीहरूको स्वास्थ्यमा कस्तो असर पार्छ त भन्ने अनुसन्धानको नतिजा सन् २०२३ मा जर्नल ‘जामा नेटवर्क’ मा प्रकाशन गरिएको छ। स्वस्थ अवस्थामा रहेका जुम्ल्याहामध्ये एकलाई माछा मासु, दुधदही घ्यु लगायतका पशुजन्य उत्पादनको संसर्ग नै नभएको बरु केवल वनस्पतिजन्य ‘भिगन’ खाना दिइयो भने अर्कोलाई कम्तीमा एक छाक माछा मासु अण्डासहितको सामान्य खान्की।
केबल दुई महिनाको अन्तरालमा पशुजन्य उत्पादनरहित भोजनमा आश्रित पक्षको समष्टिगत स्वास्थ्य अर्को समूहको भन्दा निकै परिमार्जित देखियो। आठ हप्तामा भिगन समूहमा मुटुको दुस्मन भनिने खराब कोलेस्ट्रोल, एलडिएलको मात्रा झन्डै १५ प्रतिशत घट्यो अनि मधुमेह कारक इन्सुलिन २५ प्रतिशतले झरेको देखियो भने व्यक्तिको तौल पनि तीन प्रतिशतले ओरालो लाग्यो। हुबहु आनुवांशिक बनोट र एकै परिवारका जोडीहरूमा गरिएको अध्ययन भएकाले तथ्यांकमा देखिएको भिन्नता वंशाणु र वातावरणीय पृथकताका कारण नभएर केवल खानाको योगदान रहेको निष्कर्ष निस्किएको छ। केबल दुई महिना दैनिक एक छाक मासु खाँदा त रक्त परीक्षणको सुईलाई यत्रो घुमाउन सक्छ भने आजन्म मांसाहारी भोजन गर्दा हाम्रो स्वास्थ्य कसरी जीर्ण बन्ला भनेर सहजै अन्दाज गर्न सकिन्छ।
एउटा फरक अध्ययनले मधुमेह सूचकांकको ‘प्रि डायबेटिक’ चरणमा पुगेका सर्वभक्षी समूहलाई ‘भिगन’ खानामा राख्दा अध्ययनमा सहभागी झन्डै आधा मानिस केही महिनाको अन्तरालमै सामान्य अवस्थामा पुगे। अथवा उनीहरूको चिनी रोगको सम्भाव्यता शून्यमा झर्यो। अर्को आधा सहभागीमा किन खान्कीको ढाँचा परिवर्तनले फाइदा भएन भन्ने प्रश्नको जवाफ भने उक्त अध्ययनले दिन सकेन। यद्यपि प्रिडाएबेटिक चरणमा पुगेकाले खान्कीमा अनुशासित रहने हिम्मत गर्ने हो भने ‘भिगन’ आहारको परीक्षण गर्दा असल हुने देखिन्छ। सामान्य शाकाहारीभन्दा फरक यो संहितामा बस्नेले अण्डा, दही, घ्यु लगायतका कुनै पनि पशुजन्य उत्पादन परित्याग गर्नुपर्छ।
नेपालका अधिकांश मानिसलाई चुरोट र रक्सी खराब हो भन्ने जानकारी छ। खराब संगत तथा सामाजिक परिवेशको दबाबमा अम्मली बनेकाहरूले हानिकारक भन्ने जान्दाजान्दै पनि धुँवा र रक्सी खाने गरेको देखिन्छ। पछिल्लो समय जनचेतनाको अभाव र सरकारको अकर्मण्यताका कारण देश खाद्यान्न सिर्जित भयावह स्वास्थ्य समस्या निकट पुगेको छ।
संसारका सबैभन्दा खराब खान्कीमा पर्छन् कोक, फेन्टा, पेप्सी, इनर्जी ड्रिंक्सलगायतका बोतलमा प्याक भएका गुलिया पेय पदार्थ। चिनीको मात्रा अत्यधिक तर अन्य लाभप्रद तत्त्व पटक्कै नपाइने गुलियो झोलको प्रयोग नेपालमा दिनानुदिन बढ्दो छ। चलानी पेयमा पाइने चिनीको मात्राले समाजमा मोटा मानिसको संख्या उकासिँदो छ। वजनको बढोत्तरीसँगै मुटुसम्बन्धी रोग अनि मधुमेहको सम्भाव्यता बढ्यो। त्यसबाहेक धेरै किसिमका क्यान्सरलाई वजनले हौस्याउने भएकाले पछिल्लो दिनमा बोतलमा प्याक भएका गुलिया पेयका कारण नेपालीको मृत्यु उकासिने देखियो।
चाउचाउ, चिप्स लगायतका ‘पत्रुखाना’को उत्पादन र बिक्री वितरण ह्वात्तै बढ्यो देशमा। अस्वस्थकर खानाको सूचकांकमा कोकभन्दा खासै तल नभएको चाउचाउले समेत पोषण तत्त्वको आपूर्ति नगर्ने बरु व्यक्तिको तौल बढाउने भएकाले यसको व्यवस्थापन समयमै नगर्ने हो भने पत्रुखानाले निम्त्याउने भयावह अवस्थाले स्वास्थ्यको सन्तुलन बिगार्ने पक्का छ।
आनुवांशिक बनोट, पारिवारिक तथा सामाजिक परिवेश, अनुभवले मानिसको व्यक्तित्वलाई निर्देशित गर्छ भन्ने सोच छ। असल पारिवारिक विरासतमा हुर्किएको अनुभवी मानिसले सही निर्णय गर्छ भन्ने ठान्नु अनौठो होइन। पछिल्लो दिनमा भएका थप अध्ययनहरूले उल्लिखित परिवेशभन्दा पनि व्यक्तिको भोजनशैलीले उसले गर्ने निर्णयलाई प्रभाव पार्ने बतायो। खाद्यान्न र दिमागी स्वास्थ्यबिचको अन्तरसम्बन्ध स्थापित गर्न भएका अध्ययनहरूलाई संश्लेषण गरी युनिभर्सिटी अफ मिलानका प्राध्यापक सिसिलिया एस्पोजिटोले एक विश्लेषण प्रकाशन गरिन्– जर्नल ‘एड्भान्सेज इन न्युट्रिसन’मा।
झन्डै दुई हजार आलेख प्रशोधन गरी सन् २०२१ मा प्रकाशन गरिएको उक्त समीक्षात्मक आलेखले अत्यधिक चिनी, चिल्लो र ‘जंक–फुड’ खाने अनि तरकारी र फलफूल बिरलै सेवन गर्ने मानिसले आवेग नियन्त्रण गरी निर्णय गर्न नसक्ने बरु भावनामा बगेर अभिव्यक्ति दिने सम्भाव्यता अत्यधिक देख्यो। वस्तुस्थितिलाई सही विश्लेषण नगरी क्षणिक भावनामा गरिने निर्णयहरू प्राय: खराब हुन्छन्। पटक–पटकको अस्वाभाविक क्रियाकलापले व्यक्तिको निर्णय क्षमतामा प्रश्न उठ्छ अनि मानिसको व्यक्तित्वमा नकारात्मक असर पर्छ।
मानवीय पाचन प्रणाली अर्बौं सूक्ष्म जीवाणुको घर हो र उक्त समूहलाई समष्टिगत रूपमा माइक्रोबायोम भनिन्छ। अहिलेको प्रक्षेपण हेर्दा आनुवांशिक पदार्थभन्दा पनि शक्तिशाली देखिन्छ यो सूक्ष्माणुको पृथक् विश्व। अर्बौंको संख्यामा हजारौं किसिमका सूक्ष्माणुको भण्डारमा कस्ता चरित्रका जीवाणु छन् त्यसै अनुरूपको चरित्र बोक्छ माइक्रोबायोमले। असल मानिस बसेको समाजले सकारात्मक परिणाम दिएझैं सद्चरित्रका सूक्ष्माणुको बाहुल्य रहेको माइक्रोबायोमले व्यक्तिको स्वास्थ्यलाई दुरुस्त राख्छ भने खराब जीवाणु प्रधान भए मानिस रोगी हुन्छन्।
बाह्य प्रभावले एउटा समाजलाई परिमार्जन गरेझैं हामीले खाएको खानाले पाचन सूक्ष्माणुको बनोट फेर्छ। तरकारी, फलफूल, परम्परागत नेपाली खान्की दही–मोही, गुन्द्रुक, सिन्कीजस्ता फर्मेन्टेड खान्कीले माइक्रोबायोमको बनोट सबल बन्छ। त्यस्तै कोक, पेप्सी जस्ता गुलिया झोल, चाउचाउ, चिप्स, अत्यधिक मासु खानाले गट ब्याक्टेरियाको सन्तुलन बिग्रन्छ। दुर्बल माइक्रोबायोमले रोग निम्त्याउँछ।
पाचन ब्याक्टेरियाले खाना पचाउनदेखि शारीरिक मेटाबोलिजमसम्मलाई सन्तुलन गरी व्यक्तिलाई निरोगी बनाउन मदत गर्छ। सार्वजनिक भएका नतिजाले माइक्रोबायोमले प्रतिरक्षा प्रणालीलाई समेत सबलीकरण गरी विषाक्त ब्याक्टेरिया तथा भाइरसको बाह्य संक्रमणबाट हामीलाई जोगाउँदैन बरु शरीरमा पैदा हुने क्यान्सरका कोषहरूलाई अविलम्ब नास गरी हामीलाई अर्बुदरोगबाट बचाउँछ।
हालै प्रकाशित नतिजाले माइक्रोबायोमले दिमागसँग समन्वयसमेत गर्न सक्ने देखाएको छ। यसरी पाचन ब्याक्टेरियाले दिमागसँग संवाद गर्ने भएपछि व्यक्तिको निर्णय क्षमता र बौद्धिक तागतमा समेत माइक्रोबायोमको भूमिका देखियो। असल खान्कीले रोगबाट जोगाउने मात्र होइन बरु माइक्रोबायोमको सबलीकरणमार्फत दिमागी तागतलाई सशक्त बनाइ व्यक्तित्व विकासमा पनि सहयोग गर्ने भएकाले आफूले खाने भोजनबारे सजग बनौं।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: २० श्रावण २०८२ ०८:३५ मंगलबार

