२ पुस २०८२ बुधबार
image/svg+xml
विचार

एमाले महाधिवेशनका पात्र र प्रवृत्ति

यतिबेला नेकपा एमालेको ११औं महाधिवेशन चलिरहेको छ। महाधिवेशनमा बहसयोग्य विचार, विगतको गम्भीर समीक्षा र आगतको स्पष्ट योजना प्रस्तुत नभएकाले यसले महाधिवेशनको वास्तविक रूप वा गुण प्राप्त गर्ने भने देखिँदैन। पात्र र प्रवृत्ति छर्लंगिए पनि यो प्रक्रिया मूलतः नयाँ नेतृत्व चयनमै सीमित रहनेछ। अध्यक्ष र महासचिवका विगतका भनाइ दलीय समर्थकका सामाजिक सञ्जालमा आउने -फेरिने संस्करणहरूले अध्यक्ष केपी शर्मा ओलीको मनसाय र पार्टीमाथिको नियन्त्रणबारे चर्चा गर्छन्। हामी यस विषयलाई विभिन्न कोणबाट हेर्न सक्छौं।

जेनजी विद्रोहले नेपालको राज्यसत्ता कति नाजुक रहेछ र सत्ताको बागडोर कहाँ रहेछ भन्ने प्रस्ट्यायो। विद्रोहको दिनमै कार्यकारी प्रधानमन्त्री, विपक्षी दल र सुरक्षा निकाय सबै अचेत देखिए। यस्तो गम्भीर घटनाको जिम्मेवारी नलिई र समीक्षा नगरी आयोजना हुने महाधिवेशनको औचित्य के रहन्छ? दोष अरूलाई लगाएर सत्ताको बागडोर सम्हाल्ने शक्ति आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैन। यो विद्रोहको उद्देश्य के हो? सत्ताधारी पार्टी भएका कारण त्यसले दिएका संकेत र सन्देशको गम्भीर विवेचन आवश्यक थियो।

महाधिवेशन भनेको विगतको समीक्षा, आगतका योजना र विचारमाथि गम्भीर बहस गर्ने थलो हो। तर यसपटक कुनै वैचारिक दस्ताबेज प्रस्तुत नहुने र नेतृत्वको निर्वाचन मात्रै हुने कुरा महासचिव शंकर पोखरेल स्वयंले बताएका छन्। अन्तरपार्टी द्वन्द्व र जनवादको सीमित अभ्यासका कारण यो महाधिवेशन अघिल्लाभन्दा रूप, गुण र अवस्थाले भिन्न देखिनेछ।

जेनजी विद्रोहले राजनीतिक शक्ति, सुरक्षा संयन्त्र र राज्य व्यवस्थाका अध्येतालाई नयाँ ढंगले सोच्न बाध्य पारे पनि अपदस्थ सरकारका कांग्रेस र एमाले नयाँ दृष्टि विकास गर्न असफल देखिन्छन्। सत्ता गुमेको पीडाबाट उनीहरू अझै मुक्त हुन सकेका छैनन्। पार्टीको वैचारिक संरचना मूल नेतृत्वको चिन्तन, संस्कृति र मनोविज्ञानमा केन्द्रित हुने भएकाले यहाँ अध्यक्ष केपी शर्मा ओलीको मनोविज्ञानमा यो लेख केन्द्रित छ।

नेतृत्व प्रायः राजनीतिक संघर्ष वा अन्तरसंघर्षबाट जन्मिन्छ। धेरै नेताहरूको मनोवैज्ञानिक छापले पार्टीको सोच र कार्यकर्ताको भूमिका निर्धारण गर्छ। अध्यक्ष ओली पनि यसबाट अछुतो छैनन्। उनको बाल्यकाल असामान्य थियो। यस्तो परिवेशले दुई प्रकारका स्वभाव विकास गर्छ - संसारसँग जुध्न तयार कठोर मन वा कमजोर देखिने डरले पैदा भएको गहिरो हीनताबोध।

हीनताबोध हराउँदैन, रूप मात्र फेरिन्छ। यही मानसिक चोटले भविष्यमा ‘अदृश्य आक्रोश’ र ‘अत्यधिक आत्म–प्रदर्शन’ जन्माउँछ। ‘म कसैभन्दा तल पर्दिनँ’ भन्ने चेतनाले क्रमशः उच्चताबोधको रूप लिन्छ। ओलीको राजनीतिक निर्माण प्रत्यक्ष वैचारिक चेतनाभन्दा रामनाथ दाहालजस्ता क्रान्तिकारीको संरक्षण र शिक्षाबाट भएको देखिन्छ।

 दाहालको सहादतपछि झापा आन्दोलन नेतृत्वविहीन बन्यो। झापा किसान विद्रोह उत्कर्षमा रहँदा ओली जिल्ला सचिव भए पनि निर्णायक क्षणमा आन्दोलनबाट टाढा रहे। प्रत्यक्ष सहभागिता नहुँदा पनि उनी नेतृत्वका कारण अभियुक्त बनाइए र पछि गिरफ्तार भए। कोअर्डिनेसन केन्द्र वा माले निर्माणको वैचारिक यात्रामा उनी निर्णायक भूमिकामा देखिँदैनन्। क्रान्तिको मस्तिष्क जहाँ केन्द्रित थियो, उनी त्यस घेराबाट बाहिरै थिए। इतिहासको छायामा उभिए पनि इतिहासको केन्द्रमा उनी देखिँदैनन्।

मुक्तिमोर्चा, पूर्वको रातोझन्डा, लुम्बिनी, गण्डकी, सन्देश समूहलगायत विभिन्न समूह मालेमा समाहित हुँदै संगठन विस्तार भयो। जेल, संगठन र ‘अनाम उपस्थिति’ले ओलीमा राजनीतिक भिन्नताको मनोविज्ञान विस्तार ग¥यो। जेल नेपाली कम्युनिस्ट आन्दोलनको विश्वविद्यालय हो, तर ओली न त त्यहाँको बहसको केन्द्र बने, न प्रमुख पात्र।

कोअर्डिनेसन केन्द्र र मालेको वैचारिक तथा संगठनात्मक निर्माणमा उनको उपस्थिति  रहेन। इतिहासले यही भन्छ। यसले उनीभित्र ‘निर्णायक नहुनुको’ गहिरो घाउ रोपिदियो। २०४५/४६ वा २०६२/६३ का आन्दोलनहरूमा पनि उनको भूमिका गौण रह्यो। यसरी हीनताबोध सामाजिक मात्र होइन, राजनीतिक पनि बन्यो, जसले पछि उच्चताबोधको रूप लियो।

२०३५/३६, २०४६/४७, २०६२/६३ को आन्दोलनको मुख्य भूमिकामा नभएकाले ती संघर्षको स्वामित्व लिन नखोजेका हुन्। भाष्य ध्वस्त गर्न नयाँ भाष्य निर्माण गर्नुपर्ने हुन्छ। ती आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने नेतृत्वलाई पाखा लगाउनु उनको स्वमनोविज्ञानको दबाब हो।

धेरै पटक अध्यक्ष र प्रधानमन्त्री भइसकेका ओलीका उपलब्धि र असफलतामाथि बहस नहुँदा उनको नेतृत्व डरबाट पैदा भएको सुरक्षात्मक आवरणजस्तै देखिन्छ। यही उच्चताबोधले उनले आफ्नै सहयात्रीलाई समेत पर धकेले।

हरेक महाधिवेशन आत्मआलोचना र आलोचनाको पर्व हो। तर ओलीको शैलीमा आलोचनाभन्दा व्यक्तिगत इतिहास स्थापना र महिमामण्डन हाबी देखिन्छ।

झापा विद्रोहका सहयोद्धालाई किनारा लगाउने, माले निर्माणको वास्तविक इतिहास ओझेलमा पार्ने, व्यक्तिगत योगदानलाई अतिरञ्जित गर्ने र आफूलाई केन्द्रमा राख्ने प्रवृत्ति। यो सत्ता टिकाउने रणनीतिभन्दा मनोवैज्ञानिक सुरक्षा खोज्ने प्रक्रिया हो। राजनीति र मनोविज्ञान अलग हुँदैनन्। नेताको असुरक्षा, इतिहास र चोटले उसको राजनीतिक शैली निर्धारण गर्छ। ओलीका व्यवहारमा इतिहास नियन्त्रण, संगठन–नियन्त्रण र ‘म’ केन्द्रित भाषिक प्रदर्शन स्पष्ट देखिन्छ। शक्ति प्रदर्शनले असुरक्षा झन् बढाउँछ। इतिहासबाट भाग्ने नेतृत्व इतिहासमै टिक्दैन। सच्चा नेतृत्व आफ्नो विगत स्विकार्छ, कमजोरी लुकाउँदैन र इतिहाससँग संवाद गर्छ। उच्चताबोध होइन, मानवीय विनम्रताले राजनीति टिकाउँछ।

इतिहास ध्वस्त गरेर अनुकूल भाष्य बनाउने प्रवृत्तिबारे कवि अबु निदालको भनाइ स्मरणीय छ– ‘जसले इतिहास ध्वस्त गर्छ, उसको भविष्य पनि ध्वस्त हुन्छ। इतिहासले सबैको हिसाब राख्छ, वास्ता नगर्नेलाई दण्डित गर्छ।’

इतिहासप्रतिको दुराग्रह नेपाली कम्युनिस्ट आन्दोलनको दीर्घ रोग हो। यही सन्दर्भमा महाधिवेशनमा प्रवेश गर्नै लाग्दा तत्कालीन एमालेको पूर्व संगठन मालेका तत्कालीन अखिल पाँचौका अध्यक्ष एवं पूर्व राजदूत टंक कार्की  लेख्छन्- ‘कता? जेरी खाने प्रतिस्पर्धा कि कोर्स करेक्सन? भोको भन्छ - डाडाँवारि खाऊँ, अघाएको भन्छ - डाँडापारि। छनौट आआफ्नै।’

वर्ग सिफ्ट र विचारको इमानदारितालाई प्रस्ट्याउँदै उनी थप्छन्– ‘निकिता ख्रुस्चेभ र चाउ एनलाईको भेट भयो। ख्रुस्चेभ– चीन र सोभियत संघको भिन्नता के भने म किसान वर्गबाट सत्तामा आएँ, तिमी चाहिँ मेन्डरिन अभिजात वर्गबाट। चाउ एनलाई- साँचो हो तर समानता पनि छ। हामी दुवैले आआफ्नो वर्गप्रति गद्दारी पनि त गरेका छौं।’

टंक कार्कीको महाधिवेशन हल प्रवेशपूर्वको टिप्पणी मार्मिक छ– सत्ता प्राप्तिपछि देखिने कठोर भाषा, आलोचकप्रति आक्रोश र एकल नायकत्व उच्चताबोधका लक्षण हुन्, तर यसको जरो हीनताबोधमै छ। महाधिवेशन ‘जेरी खाने प्रतिस्पर्धा’ कि ‘कोर्स करेक्सन’ बन्ने? यो छनोट नेतृत्वकै हातमा छ।

प्रकाशित: १ पुस २०८२ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App