२१ माघ २०८२ बुधबार
image/svg+xml
विचार

परिवर्तन पात्र कि प्रवृत्तिको?

देश अहिले निर्वाचनमय छ। यो निर्वाचनमा सबैका आकांक्षा छन्। एकातर्फ जनताका आकांक्षा छन्। अर्कातर्फ तिका आकांक्षा पनि फरक फरक छन्।

सहरिया जनताका आकांक्षामा राम्रो रोजगारी, उच्च जीवनस्तर, निजी आवास गृह, व्यवस्थित तथा सुलभ यातायातका साधन, महँगी नियन्त्रण, प्रदूषण नियन्त्रण आदि रहेका छन्। गाउँले जनताका आकांक्षामा खेत बारीमा सिँचाइको व्यवस्था, समयमै मलबिउको व्यवस्था, गाउँमा विद्युत्को पहुँच तथा खानेपानीको उपलब्धता, छोराछोरीलाई गुणस्तरीय शिक्षाका लागि राम्रो विद्यालयको व्यवस्था, आफ्नै गाउँ जिल्लामा सबै रोगको निदान तथा विशेषज्ञ सेवासहितको स्वास्थ्य संस्थाको उपलब्धता, वास्तविक कृषकलाई कृषि अनुदानको व्यवस्था, कृषि उपज तथा फलफूलको भण्डारण तथा बजारीकरणको सुविधा इत्यादि रहेका छन्।

उम्मेदवारका पनि आफ्नै आकांक्षा छन् -निर्वाचनमा विजय, त्यसपछि मन्त्री, प्रधानमन्त्री पद प्राप्ति र त्यसको माध्यमबाट आर्थिक लाभ। यी धेरै उम्मेदवारका आकांक्षा हुन्। केही तर थोरै उम्मेदवारका आकांक्षा सुशासनमार्फत जनसेवा पनि रहेका हुन सक्छन् र त्यस्ता उम्मेदवार अहिलेको चुनावी मैदानमा रहेका होलान् भनी हामीले अपेक्षा गर्नुपर्छ। अपेक्षा नै रहेन भने निराशा बढ्छ। जनतामा निराशा बढ्नु राष्ट्रको क्षयीकरणको आरम्भ हो। त्यसैले राम्रोको अपेक्षा सधैं कायम रहनुपर्छ। माथि उल्लेख गरिएका जनताका आकांक्षा २०४६ सालदेखि अहिलेसम्म यथावत् छन्।

यसबिचमा धेरै सरकार आए। समाजवाद साम्यवादका भाषण गरे। तर समाजवाद साम्यवादका भाषणले जनतालाई के दियो, जनताले थाहै पाएनन्। नेपाली कांग्रेसले बिपीले देखाएको बाटो र तिनको सपना पूरा गर्ने बाचा गर्‍यो। घोषणापत्र ल्यायो। सुरुका २–३ वर्ष आसलाग्दो काम पनि गर्‍यो तर २०५१ सालपछि सत्ताको लुछाचुँडीमा लाग्यो। कम्युनिस्टहरू कोही एमाले, कोही माओवादी फरक फरक नाउँका कम्युनिस्टहरू सत्तामा आए। करिब दुईतिहाइको बहुमत पनि पाए।

जनताका असली सेवक हामी हौं भन्ने कम्युनिस्टहरू नै सत्तामा को रहने, जनताको मालिक को बन्ने भन्ने धुनमा लाग्दा जनताका समस्या के हुन् भन्नेसम्म पनि भेउ पाएनन्। कम्युनिस्टहरूको पदीय स्वार्थको द्वन्द्वमा जनताको प्रतिनिधित्व गर्ने संस्था पटक–पटक आक्रमणमा पर्‍यो। सुरुमा कांग्रेसलाई अछुतजस्तो व्यवहार गर्ने कम्युनिस्टहरू कहिले पञ्चहरूको पार्टीको पछि लागे। त्यसपछि कांग्रेसको पछि लागे। कम्युनिस्टसँग सम्पर्क बढेपछि कांग्रेस पनि कम्युनिस्टको पछि लाग्न लाज मान्न छाड्यो। यो सम्पर्क र पछि लाग्ने खेलले कसका के अजेन्डा हुन्? जनताले थाहा पाउन छाडे। कांग्रेस र कम्युनिस्ट तोरीमा कोदो मिसाएजस्तै आपसमा यसरी अन्तरघुलित भए कि जनताले को कांग्रेस? को कम्युनिस्ट? भन्ने पनि चिन्न नसक्ने परिस्थिति सिर्जना भयो। दलहरू सत्तामा जान चाहन्छन्, जानु पनि पर्छ। तर सत्तामा जानुको उद्देश्य हुन्छ। आफ्नो पार्टीको कार्यक्रम लागु गर्न संसारका सबै पार्टी सरकारमा जान्छन् र पार्टी कार्यक्रम कार्यान्वयन गर्न थाल्छन्। निर्वाचनमा जाँदा पनि मेरो पार्टी विजयी भयो भने यस्ता कार्यक्रम लागु गर्नेछु भन्ने घोषणापत्र जारी गरेर जनतासँग मत माग्छन्।

कुनै एउटा पार्टीको बहुमत आउन सकेन भने आफ्नो कार्यक्रमसँग मिल्दोजुल्दो कार्यक्रम भएको पार्टीसँग गठबन्धन गरी सरकार चलाउँछन् तर नेपालमा फरक छ। यहाँ कार्यक्रमको आधारमा गठबन्धन गरिँदैन। कुन पार्टीको नेता कति समय प्रधानमन्त्री बन्ने र अर्को पार्टीको नेतालाई पालो दिने भन्ने आधारमा गठबन्धन गरिन्छ। आलोपालोमा पनि इमानदार रहिँदैन। फेरि अर्को पार्टीसँग त्यस्तै गठबन्धन गरी पहिलेको गठबन्धन तोडिन्छ। नारा दिँदा राजनीतिक स्थिरताको दिइन्छ तर सत्ता गठबन्धनको आधार राजनीतिक अस्थिरताको हुन्छ।

शासन अस्थिर भएपछि घोषणापत्र तथा जनताका अपेक्षा ओझेलमा पर्छन्। दोष प्रणाली तथा जनतालाई दिइन्छ कि यो प्रणालीमा बहुमतको सरकार बन्दैन वा जनताले हामीलाई बहुमत दिएनन्। दुई तिहाइको बहुमतलाई स्थिर राख्न नसक्नेहरूले जनता र प्रणालीलाई दोषारोपण गर्न कुनै लज्जा मान्दैनन्। भनिन्छ सर्वांग वस्त्रविहीन भइसकेपछि केको लज्जा? दलका नेता वस्त्रविहीनजस्ता भएका छन्।

जनताले चाहेको सुशासन हो। भदौ २३ को प्रदर्शनको माग पनि सुशासनकै थियो। सुशासन माग्नु सबै नेपालीको जायज हक हो। जनप्रतिनिधिमा चुनिएपछि सुशासन दिनु जनप्रतिनिधिहरूको कर्तव्य हो। पटकपटक कर्तव्यच्युत हुँदा पनि पुनः निर्वाचित भई शासनमा पुग्नु यो देशको विडम्बना हो। त्योभन्दा पनि आपराधिक प्रवृत्तिका मानिस निर्वाचित हुनु तथा त्यस्तै व्यक्तिलाई प्रमुख राष्ट्रिय पार्टीले उम्मेदवार बनाउनुले यो देशको लोकतन्त्रको उपहास भएको छ।

दलको काम निर्वाचनमा बहुमत ल्याउनु र सरकार निर्माण गर्नु मात्र होइन। जनतालाई चेतनशील बनाउनु, राजनीतिक शिक्षा दिनु पनि हो। साथै राजनीतिक नैतिकतामा पार्टीका नेता तथा कार्यकर्ता स्वच्छ रहनु पनि त्यत्तिकै जरुरी हुन्छ। प्रमुख दल तथा तिनका नेता अनैतिक भई आपराधिक प्रवृत्ति र भ्रष्ट चरित्रका मानिसलाई मनोनयन दिएपछि त्यस्तो पार्टीबाट सुशासनको अपेक्षा गर्नु व्यर्थ छ।

विघटित प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लामो छलफलपछि सुशासनका लागि विशिष्ट श्रेणीका कर्मचारीहरूलाई दुई वर्षको कुलिङ पिरियड राख्ने गरी निजामती विधेयक पारित गर्‍यो। माननीय सदस्यहरूले पारित गरेको विधेयक प्रतिनिधिसभाको बैठकमा पुग्दा विशिष्ट श्रेणीका कर्मचारीहरूलाई कुलिङ पिरियड नरहने गरी टेबुल भयो। पारित गर्ने राज्य व्यवस्था समितिका माननीय सदस्यहरू आश्चर्यमा पर्नु स्वाभाविक थियो। पछि पत्ता लाग्यो, मुख्य सचिव, कानुन सचिव, संघीय मामला तथा सामान्य प्रशासनका सचिवको मिलोमतोमा राज्यव्यवस्था समितिले पारित गरेको विधेयकलाई अर्थहीन तुल्याउने गरी उपदफा थपिएको रहेछ। किर्ते गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने आवाज उठ्दा पनि सरकार प्रमुखको कृपाले उनीहरूमाथि कुनै कारबाही भएन। विधि निर्माण गर्ने सांसदमाथि किर्ते गर्ने कर्मचारी नै भारी भएपछि जनताका प्रतिनिधि सांसद नै निरीह बन्न पुगे।

भाषणमा सुशासन भनेर नथाक्ने तर सुशासनका आधारहरू भत्काउँदै जाने सरकार प्रमुख भएपछि जनताले कसको वचनको विश्वास गर्ने? सरकारका यस्तै गलत क्रियाकलापको प्रतिक्रिया स्वरूप भदौ २३ को विद्रोह भयो तर त्यो विद्रोहको सजायको भागी प्रतिनिधिसभा बन्यो। सुशासनका बाधक भने अहिले पनि सानसाथ जनतालाई गिज्याउँदै छन्।

जेनजी विद्रोहको रापतापबाट उत्साहित कांग्रेसका तत्कालीन महामन्त्रीहरूले विशेष महाधिवेशनको आह्वान गर्नु भयो। अदालतमा विचाराधीन भए पनि उक्त अधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवाको बदला गगन थापाको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचन गर्‍यो।

उक्त महाधिवेशनले न कांग्रेसको विधानमा कुनै संशोधन गर्‍यो, त कुनै विशेष प्रस्ताव नै पारित गर्‍यो। त्यस अधिवेशनको एउटा मात्र कार्य शेरबहादुर देउवाको बदला गगन थापालाई सभापति बनाउनु रह्यो। गगन थापाको सभापतित्वको कार्यसमितिले पूर्वसभापति शेरबहादुर देउवासहित केही सीमित व्यक्तिलाई संसदीय निर्वाचनको मनोनयन दिएन।

अहिले सभापति तथा उपसभापतिजीको नारा छ– कांग्रेस बदल्यौं, अब देश बदल्छौं। कांग्रेस सभापतिले यो चुनावी नारा दिएपछि अब चुनावी घोषणापत्रमा पनि यही लेखिने होला। हामी कांग्रेस कार्यकर्ताले पनि यही नाराका आधारमा भोट माग्नुपर्ने निश्चित छ तर प्रश्न उठ्छ– के व्यक्ति परिवर्तन हुँदैमा पार्टी बदलिन्छ? यो मेरो मात्र प्रश्न होइन। मजस्ता आमकार्यकर्ताको प्रश्न हो। निर्वाचन प्रसारमा जाँदा यस्ता प्रश्न आउने निश्चित छ। कार्यसमितिका पदाधिकारी र सदस्यहरू अधिकांश पुरानै अनुहार छन्। गाउँघरको एउटा आहान छ – वल्ला घरको नरे पल्ला घर सरे। बसिरहेको जहाजलाई प्वाल पारिसकेपछि जहाज डुब्न लाग्दा पल्लो जहाजमा चढ्ने मुसाहरूको जत्थालाई पछाडि लगाई नयाँ सभापतिज्यूले कांग्रेस बदल्यौं भन्नु हामीजस्ता आफ्नो जीवनको पचासौं वर्ष यही पार्टीमा बिताएका कार्यकर्ताले त मानिदिउँला, तर के जनताले पनि यस्मा विश्वास गर्लान्?

कांग्रेसको इतिहास गौरवशाली छ। कांग्रेस केवल पार्टी होइन, यो आन्दोलन हो, परिवर्तनको संवाहक हो। यस पार्टीका नेताहरूले विगतमा प्रियतावादी नाराको आधारमा होइन, यथार्थ र जनताको समस्यालाई सम्बोधन गरेर कांग्रेसलाई लोकप्रिय बनाएका हुन्।

अहिले प्रियतावादी तथा ढोँगी व्यक्तिद्वारा सञ्चालित धेरै पार्टीहरू मैदानमा छन्। तिनीहरूको मुकाबिला हामीले जनताका कठिनाइलाई सम्बोधन गरी जनतालाई विश्वास दिलाएर गर्नुपर्छ। यो नगरी हामीहरूले पनि प्रियतावादी नारा दिने तथा अन्य पार्टीले जस्तै एक व्यक्तिलाई देवत्वकरण गर्ने हो भने उनीहरू र हामीहरूमा के भिन्नता रहला?

कांग्रेस कम्युनिस्ट जस्तो एक व्यक्तिलाई नायक बनाएर चलेको पार्टी होइन। सामूहिक नेतृत्वमा विश्वास गर्ने पार्टी हो। जबजब कांग्रेसले सामूहिकतालाई तोड्न खोज्यो, त्यति बेला कांग्रेसमा विग्रह आएको छ। यसलाई समेत हेक्का राखेर नवसभापतिले काम गर्नु राम्रो हुन्छ। पात्रहरू समय–समयमा बदलिइरहन्छन्। पात्र बदलिनु महत्त्वपूर्ण होइन। पात्र बदलिँदा प्रवृत्ति बदलियो कि यथावत रह्यो? यो महत्त्वपूर्ण हो। पुरानै पात्रले पनि आफ्नो प्रवृत्ति बदलिन्छ र सुध्रिन्छ भने त्यसलाई पनि अन्यथा लिनुहुँदैन।  

वाल्मीकि डाँकुबाट ऋषि बनेको कुरा हाम्रै संस्कृतिमा छ। उनी ऋषिबाट महर्षीसम्म बन्न पनि सफल भए। तसर्थ पात्र बदलिएकोलाई धेरै महत्त्व दिनुको कुनै अर्थ छैन। मुख्य कुरा प्रवृत्तिको हो। हाम्रो आफ्नै प्रवृत्ति बदलियो भने अरूलाई पनि बदल्न सक्छौं। त्यसैले विगतमा शासनमा रहेको गलत प्रवृत्ति हटाउन पहिले हामी आफैं बदलिनुपर्छ।

महात्मा गान्धीको जीवनी हामीलाई थाहा छ। उहाँले अन्यलाई त्यही कुरा गर्न भन्नुभयो, जो आफैंले गर्नुभयो। आफैंले गर्न नसक्ने व्यवहार अरूलाई गर्न लगाउनु भएन। बिपीले पनि आफू उदाहरण बनेर देखाउनुभयो। तसर्थ पात्र मात्र बदलिनु व्यक्तिका लागि उपलब्धि होला, देशका लागि गणनायोग्य उपलब्धि होइन। महत्त्वपूर्ण कुरा प्रवृत्ति हो। आजको आवश्यकता प्रवृत्तिमा बदलाव हो।

प्रकाशित: २१ माघ २०८२ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App