केही दिनअघि मेरा एक साथीले मलाई फोन गरेर जीवनका दुई ठूला उपलब्धि सुनाए। पहिलो उपलब्धि उनको किताब भर्खरै प्रकाशित भएको थियो। अर्काे विश्वविद्यालयले उनलाई स्थायी नियुक्ति दिएको थियो। उनले मलाई आफूलाई दुःख लागेको बताए। संसारमा यति धेरै भयावह घटनाहरू भइरहेका बेला आफ्नो मात्र सफलताले उनी कसरी खुसी हुन सक्थे?
यो सही प्रश्न हो। आजकल धेरै मानिसले यस्तो प्रश्न सोधेको देखिन्छ। यी शब्दहरू लेख्दै गर्दा गाजा, सुडान, यमन, म्यानमार र डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा मानवीय संकट चुलिएको छ। जलवायु कार्यमा पर्याप्त प्रगति भएको छैन र हामी भविष्यमा बस्नै नसकिने पृथ्वी सिर्जना गर्ने दिशातर्फ उन्मुख छाैं। यसैबीच, अमेरिकामा आप्रवासीहरूलाई पक्डेर कानुनी सुरक्षा बिना नै अन्य देशमा फर्काइँदैछ। तेस्रो लिंगी अर्थात् ट्रान्स जेन्डरलाई दानवीकरण गरिएको छ। महत्त्वपूर्ण सरकारी निकायहरू कटौती गरिएका छन्। अनुसन्धान नष्ट गरिएको छ। विश्वविद्यालयहरू आक्रमणमा परेका छन्। कानुनी प्रणाली धराशायी हुँदैछ, र भ्रष्टाचार व्यापक छ।
के यति धेरै विनाशका बीच खुसी हुनु निर्दयिता हो? अथवा के अनिश्चित र हिंसात्मक संसारसँग आफ्नो मानसिक स्वास्थ्यलाई जोड्नु मूर्खता हो? मैले आफ्ना साथीलाई भने दुबै प्रश्नमा केही सत्य छ। उनी संसारको पीडा महसुस गर्न चाहन्छन् भने उनले संसारको आनन्द महसुस गर्न पनि बिर्सनु हुँदैन।
यो कुरा भनिरहदा म संसारकै पुराना धार्मिक विश्वासहरूमध्ये केहीप्रति भर पर्न पुगेको थिएँ – जसलाई आज हामीले सम्झन सके राम्रो हुनेछ।
अर्काको दुःखलाई महसुस गर्नुपर्ने विचार धेरै संस्कृति र धर्ममा गहिरो ढंगले अंकित छ। समग्र मानवतालाई एउटै शरीरको अंगका रूपमा बुझ्ने अवधारणा यसको मूल मर्म हो। हिन्दू, बौद्ध, इस्लाम, यहुदी र क्रिश्चियन धर्मग्रन्थहरूमा यी विचारहरू पाइन्छन्।
उदाहरणका लागि सेन्ट पाउलले कोरिन्थियन्सहरूलाई लेखेको एउटा पत्रमा भनेका छन्, ‘शरीर एउटै भए पनि यसमा धेरै अंग हुन्छन् ... यदि एउटा अंग दुःखी हुन्छ भने सबै दुःखी हुन्छन्।’
कैयौं शताब्दीयौंपछि, राल्फ वाल्डो इमर्सनले त्यही अवधारणालाई धर्मनिरपेक्ष ढंगले प्रस्तुत गर्दै भने, ‘मानव एउटै हो भन्ने सिद्धान्त पुरानो र नयाँ दुवै दर्शनमा समान तवरले उल्लेख छ र अन्य सदस्यलाई कुनै दृष्टिले पनि प्रभावित नगरी कुनै एक सदस्यलाई मात्र चोट लाग्न सक्दैन।’
आज जुन मानिसहरू आफू मात्रै खुसी हुने अधिकारमाथि शंका गर्छन्, उनीहरूले यस महान विचार परम्परालाई प्रतिध्वनित गरिरहेका छन्। अरूलाई चोट पुगेको बेला तपाईंले पनि त्यो पीडा महसुस गर्नुपर्छ भन्ने सोच यथोचित र नैतिक हो।
अरूको पीडा महसुस गर्नु भनेको केवल पीडामा मात्र सीमित हुनु होइन। सेन्ट पाउलकै उद्धरण यसरी अगाडि बढ्छः ‘यदि एउटै अंग सम्मानित हुन्छ भने सबैले खुसी मनाउँछन्।’ यो भनाइमा तार्किक सत्य छ - हामी अरूको पीडा साझा गर्छौं भने अरूको आनन्द पनि किन साझा नगर्ने?
केही बौद्ध ग्रन्थले यसलाई ज्ञानप्राप्तिको प्रक्रिया (इनलाइटमेन्ट)को हिस्सा मानेका छन्। बुद्धले आफ्नो चेतनालाई सम्पूर्ण ब्रह्माण्डभर फैलाउन र बाटोमा भेटिएका सबैको आनन्द अनुभव गर्न आह्वान गरेका छन्। यस भावनालाई ‘मुदिता’ भनिन्छ, जसलाई प्रायः ‘सहानुभूतिपूर्ण आनन्द’ भनेर अनुवाद गर्ने गरिन्छ। जर्मन भाषाको शब्द ‘फ्रोयडेन - फ्रोयडेन’को अर्थ अरूको आनन्दमा आनन्द लिनु भन्ने हुन्छ - यसले यही भावनालाई समेट्छ।
आज हामीले आफू खुसी हुन मिल्छ कि मिल्दैन भनेर शंका गरीरहँदा हामी केवल अरूको पीडा मात्र महसुस गरिरहेका हुन्छौं। हामी संसारमा के गलत भइरहेछ भन्ने कुरामै ध्यान केन्द्रित गर्छौ तर आफ्नै वरपर भइरहेका नयाँ उपलब्धि, आनन्द, जन्म, सफलता, सदाचार, दयालुपना जस्ता सत्कार्यको अनुभव गर्न बिर्सन्छौं। सकारात्मकतामै अत्यधिक केन्द्रित रहनु अस्वाभाविक होला तर त्यसलाई पूरै वेवास्ता गर्दा हामी निन्दक बन्छौं।
अरूको पीडा र आनन्द दुवैलाई स्वीकार्न सक्नुले हामीलाई ‘खुसी भएकोमा अपराधबोध’ अथवा ‘संसारलाई बेवास्ता गरेर मात्र खुसी हुने’ जञ्जालबाट मुक्त गर्छ। यसले हामीलाई सकारात्मक सोचको खोक्रो नारा वा अनन्त निराशाको चक्रमा फस्नबाट जोगाउँछ। बरु हामी त्यतिबेला, दुःखी अथवा उत्साहित, भयभीत अथवा आनन्दित सबैखाले वास्तविक भावनाहरूलाई स्वीकार गर्न सक्छौं।
हामी जटिल संसारका आपसमा जोडिएका सदस्य हौं। त्यसैले मनोदशाका यी विविधता अनुभव गर्नु स्वाभाविक हो। हामीले यी सबै अनुभव सँगाल्नु पर्दछ तर कुनै एक भावनामा मात्र अड्किनु हुँदैन। हामी बाँच्ने समय भय र आनन्द दुवैले भरिएको छ। हाम्रो आत्मा पनि त्यस्तै हो। दुवै खाले अनुभव महसुस गर्नु ठिकै हो।
यसो भनिरहँदा अहिलेको राजनीतिक अवस्थालाई स्वीकार गर्न र सामान्य बनाउन भने खोजिएको होइन। हाल विश्वमा आवश्यकताभन्दा बढी अराजकता र क्रुरता छ। सत्तामा बसेकाहरूको मुख्य उद्देश्य विपक्षीलाई हराउनुका साथै पीडा र भ्रम सिर्जना गर्नु हो। त्यसका विरुद्ध राजनीतिक कार्य गर्नुनै प्रमुख उपाय हो तर आफैंलाई हेरचाह गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसैले संसारको अवस्थाबारे समय–समयमा दुःखी हुनु मानवीय सम्बन्धको हिस्सा हो। समय–समयमा खुसी हुनु हाम्रो प्रतिरोधको हिस्सा हो।
यो सन्दर्भमा हामीलाई आशा दिने दुईवटा कुरा भनेको इतिहास र आश्चर्यजनक गठवन्धन हुन्। इतिहासले आशा दिन्छ किनभने हामीले पहिले नै यस्ता धेरै भयानक कुराहरू पार गरिसकेका छौं। जब म विगत हेर्छु - अनावश्यक मृत्यु र विनाश देख्छु। त्यसो हुँदाहुँदै पनि मानिसहरू मिलेर अझ दयालु जीवनपद्धति बनाएको पनि देख्छु। यसले के सिकाउँछ भने हामी वर्तमानका भयहरू पार गर्न सक्षम छौं।
यसैले गठबन्धनहरू पनि महत्त्वपूर्ण हुन्छन्। इतिहासले के देखाउँछ भने आन्दोलनहरू तब सफल हुन्छन् जब मानिसहरू फरक–फरक पृष्ठभूमिबाट आएर नयाँ शक्ति–समूह बनाउँछन्। जब म आजभोलि विभिन्न प्रदर्शनहरूमा जान्छु र त्यहाँ अराजकतावादी, सहरवरपर बस्ने आमा र शान्तिका लागि लडेका पूर्वसैनिकहरूलाई सँगसँगै देख्छु, मलाई त्यतिबेला महसुस हुन्छ - हामीसँग सम्भावना छ।
लेखक आलपर्ट प्रिन्स्टन राइटिङ प्रोग्रामका लेक्चरर हुन्। उनको पछिल्लो किताब ‘द गुड इनफ लाइफ’ हो। (गार्जियनबाट साभार)
प्रकाशित: १९ भाद्र २०८२ ०६:२२ बिहीबार

