नोभेम्बर ६ र ११ गरी दुई चरणमा विहारको विधानसभाको दुई सय ४३ सिटका लागि सम्पन्न निर्वाचनले एनडिए गठबन्धनलाई दुई सय दुई सिटको जित हासिल गराई पुरानै मुख्यमन्त्रीलाई पुनः सरकार बनाउन प्रचण्ड बहुमत दिएको छ।
विहार चुनावमा सात करोड ४५ लाख मतदाता रहेकोमा कुल मतदाताको ६७.३ प्रतिशत मतदान भएको छ, जुन सन् १९५१ यताको उच्च मतदान हो। यसले विहारका जनता चुनावप्रति अति नै उत्साही रहेका र चुनाव पनि सहज एवं शान्तिपूर्ण तथा निष्पक्ष तवरले भएको मानिन्छ। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले ८९ सिट हासिल गरी सबैभन्दा ठुलो दल बनेको छ। यहींनेर पटक पटक केन्द्रीय सरकार चलाएको कांग्रेसको गठबन्धनले निकै कम सिट हासिल गरेको छ। जुन ठुलो असफलता मात्र होइन, कांग्रेसजस्तो ऐतिहासिक पुरानो प्रजातान्त्रिक पार्टीले आफूलाई गम्भीर समीक्षा गरी कमजोरी सुधारको मार्गमा लाग्नै पर्छ। कांग्रेसको विकल्पमा मोदीको सरकार तथा नितिश कुमारको सरकार लामो समयदेखि सत्तामा रहकाले परिवर्तनको नारा लगाइएको थियो। भाजपा धर्ममा आधारित पार्टी रहेकाले साम्प्रदायिक कुराको पनि नारा लगाइएको थियो। यस गठबन्धनमा केही पिछडिएका जातिले उम्मेदवार अवसर पाएका छन्, जुन ठुलो संख्याका व्यक्तिका जातीय दम्भको परिणाम हो।
नेपाल तथा बंगलादेशमा युवा पुस्ताको विद्रोहले सत्तापलट गरेको देखेका भारतीय केही नेताले विहारमा पनि नयाँ पुस्ताको सरकारको नारा लगाएका थिए। तर, एनडिए गठबन्धनमा पुरानै नेतालाई मुख्यमन्त्रीका रूपमा अगाडि सारिएको अवस्थामा पनि विहारका जनताले ६७.३ प्रतिशत मतदान गरी पुरानै दलका पुरानै नेतालाई सरकार बनाउन झन्डै दुईतिहाइ सिट दिनु रोचक पक्ष देखिएको छ। नया पुस्ता र सेलिब्रेटीबाट मात्र विकास गर्न सकिन्छ भने अतिवादी सोचविरुद्ध यो परिणाम आएको छ। यसर्थ विकास तथा सुशासन पुस्तामा होइन, दृष्टिकोण एवं इमानदारी, निष्पक्षतामा निर्भर हुन्छ भने सन्देश दिएको छ।
एनडिए गठबन्धन केन्द्र तथा प्रदेश सरकारमा रहेको हुँदा चुनावको निष्पक्षतामा प्रश्न उठाइएको छ, जुन अस्वाभाविक होइन। जसलाई भारतीय निर्वाचन आयोग तथा अनुसन्धान निकायले यथार्थ बाहिर ल्याउने नै छ। जनता जहाँको भए पनि जनतालाई चाहिएको मुख्य कुरा विकास एवं सुशासन हो। विकास एवं सुशासन कायम गर्ने नेता जुनसुकै धर्म, जात वा पृष्ठभूमिका भए पनि जनताले अवसर दिन्छन्।
२०५० सालतिर रक्सौलदेखि मोतिहारी जाँदा खाल्डै खाल्डाले भरिएको बाटो आज राजमार्ग बनेको छ। २०६२ साल सोनवर्सदेखि सीतामडी जाँदा धुलैधुलो र हिलोले भरिएको सडक आज राजमार्ग भएको छ। विहारको ग्रामीण भेगमा राति हिँड्न सक्ने अवस्था थिएन तर अहिले निजी गाडीले रातभरि यात्रा गर्दा पनि कतै असुरक्षाको अनुभूति हुँदैन।
पछिलो एक दशकदेखि आलोचना गर्न सकिने त्यस्ता केही विकृति देखिएनन्। सरकार पूरै आलोचनामुक्त नदेखिए पनि विगतको तुलनामा विकास, सामाजिक न्याय एवं सुशासनमा निकै सकारात्मक भूमिका निर्वाह गरेको भन्नै पर्छ। त्यसैको परिणाम नै हो, दशकौंदेखि शासनमा रहेका वयोवृद्ध नेतालाई नै विहारका जनताले प्रचण्ड बहुमत दिई अवसर दिएका छन्। यसबाट कुनै जात, धर्म, सम्प्रदाय वा पुस्ता होइन, जनताको मन जित्नका लागि विकास, सुशासन तथा सामाजिक न्यायमा काम गर्नै पर्छ।
नेपालमा २००७ सालदेखि नै प्रजातन्त्रको नारा लगाउँदै आएका दल तथा नेताविरुद्ध जेनजीले ठुलो आन्दोलन गरी एकै दिनमा सत्ताच्युत गरे। त्यसपछि गठन भएको सरकारसँग निकै अपेक्षा राखी निर्दलीय व्यक्तिलाई सरकारमा ल्याइयो। यस परिवर्तनपछि प्रायः पुराना दल युवा पुस्तालाई अघि सार्ने प्रयासमा छन्।
जनतालाई पुस्ता होइन, विकास चाहिएको छ। जनताले नयाँ पुस्तालाई नै सरकारमा चाहेको भए १३ देखि २८ वर्षे युवाको आन्दोलनबाट ७३ वर्षका व्यक्ति प्रधानमन्त्री बन्ने थिएनन्। यसर्थ नेपाली दलहरूले जनताको मन जित्ने हो भने सबैभन्दा पहिला भ्रष्टाचारमा मुछिएकाहरूको कारबाही, सुशासन कायम, नातावाद कृपावादको अन्त्य, दलतन्त्र र नेतातन्त्रको अन्त्य गर्नुका साथै विकासको लहर ल्याउनै पर्छ।
मुलुक सानो भए पनि साधनस्रोतको कमी छैन। विहारको तुलनामा त नेपालमा निकै सम्भावना छ। विहारको जनसंख्या नेपालको तुलनामा चार दोबर बढी छ। चार दोब्बर बढी रहेको कम साधनस्रोतको विकास तथा प्रतिव्यक्ति आय सम्भव छ भने नेपालको नहुने कुरै छैन। विहार सरकारले आफ्नो सात करोड ४५ लाख मतदातालाई चामल–पिठो लगायतको सुविधा तथा सस्तो गाडीलगायत सामानको अवसर दिन सक्छ भने तीन करोड मात्र जनसंख्या र एक डेढ करोड मतदाता रहेको नेपालमा गर्न नसक्ने कुरा हुँदैन। सानो मुलुक भए पनि यहाँ सगरमाथा छ, अपार पानीको स्रोत छ। हिमाल, पहाड, तराईजस्ता मनमोहकीय दृश्य मात्र होइन, दुई ठुला एवं छिमेकी मुलुकका बिचमा अवस्थित देशको विकास गर्न नसक्ने होइन।
यहाँको जनशक्ति पनि गुनवान् नभएको मान्न सकिन्न। विश्वका हरेक ठुला एवं विकसित मुलुक अमेरिका, बेलायत, अस्टेलिया जापान, साउदी अरब, कतार, मलेसिया सिंगापुजस्ता देशमा नेपालीले रोजगारी पाएका छन्। काम गर्ने क्षमता नभएको भए विदेशीले काम दिने अवस्था हुँदैनथ्यो। नेपालका जडीबुटी र गौतम बुद्धको क्षेत्रलगायतले पर्यटकको पनि पूर्वाधार नभएको होइन। यसर्थ नेपालसँग साधनस्रोतको कमी नभए पनि त्यसको सदुपयोग गर्ने नेतृत्वको अभाव छ।
नेताले विकासको गति ल्याउन सक्नुपर्छ। चिनियाँ राष्ट्रपतिले भनेजस्तै बिरालो कुन रङको हो, त्यो महत्त्वपूर्ण होइन, बिरालोले कति मुसा मार्न सक्छ भन्ने महत्त्वपूर्ण हो। यही सिद्धान्त विहारको चुनावमा देखिएको छ। नेता कुन दलको हो भन्दा पनि विकास र सुशासन ल्याएको आधारमा मतदान गरिएको छ।
नेपालमा संघीयता आएको दशक बितेको छैन तर संकटमा परिसक्यो। विहारको छिमेकमा रहेको मधेस प्रदेशमा ती वर्षमा चार पटक मुख्यमन्त्री फेरिएका मात्र छैनन्, पाचौं पटक नयाँ मुख्यमन्त्री ल्याउने तयारीमा छन्। सरकारी सभाकक्ष हुँदाहुँदै होटलमा सपथ हुने गरेको छ भने सभामुखजस्ता गरिमामय पदाधिकारीलाई भौतिक आक्रमणको आरोप मात्र लागेको छैन, सभामुख पदमुक्त भइसकेका छन्। उता सभामुखले आधा दर्जनभन्दा बढी विधायकको पद नै समाप्त पारेका छन्। स्वयं मुख्यमन्त्री आफूलाई असुरक्षित रहेको समाचार आउँछन्।
विहारमा पनि लामो समयदेखि गठबन्धन सरकार छ, जसले पाँच वर्ष शासन चलाएको मात्र छैन, विकास गरेर जनताको मन जिती पुनः चुनाव जितेको छ। यहाँको गठबन्धन तथा दलहरू जुट्नु र फुट्नुमा सत्ता र कुर्सीबाहेक कुनै कारण छैन। विकासको मुद्दा लिएर अहिलसम्म कुनै दल वा गठबन्धन नेपालमा फुटेका वा जुटेका छैनन्। केवल सरकारमा मन्त्री पद पाउनलाई गठबन्धन हुन्छ र दल पनि विभाजन हुन्छन्। यस्ता रवैया नहटाएसम्म नेपालमा न त विकास हुन्छ, न त सुशासन नै कायम हुन्छ। यसर्थ नेपालको सरकार विशेषगरी मधेस सरकार तथा नेपालका दल र तिनका नेताले विहारको चुनावबाट पाठ सिकी अरू सबै हठ, दम्भ तथा अतिवाद छोडी, विकास, सुशासन, सामाजिक न्याय तथा भ्रष्टाचाररहित शासनलाई नै मूल सिद्धान्त बनाउनुपर्छ। नातावाद, कृपावाद तथा दलतन्त्र र नेतातन्त्रमा शून्य सहनशीलता कायम नगरेसम्म जनताको मन जित्न सकिँदैन। जनता कुनै पुस्ताका आधारमा होइन, विकासका आधारमा साथ दिन्छन्। यही नै हो– विहार चुनावको मुख्य सन्देश।
प्रकाशित: ४ मंसिर २०८२ ०७:२८ बिहीबार

