नेपालले आफ्नो हिस्साका धेरै विपद्हरू भोग्दै आएको छ। २६ अगस्ट २०२६ मा भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढी मुलुकले देखेका सबैभन्दा ठुला विपद्मध्ये एक हो, विशेषगरी २०१५ को भूकम्पपछिको यसको प्रभावका दृष्टिले। प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशी आगन्तुकहरूको मृत्यु हुने संख्या बढ्दै गएको छ। सिँचाइयोग्य जमिन, व्यक्तिगत सम्पत्ति तथा निजी र सार्वजनिक पूर्वाधारमा भएको क्षति पनि बढ्दै गएको छ। यसको कुल क्षति यति ठुलो हुन सक्छ कि नेपालजस्तो मुलुकका लागि त्यसको भार व्यवस्थापन गर्न कठिन हुनेछ।
घटनापछिको प्रारम्भिक स्तब्धता बिस्तारै कम हुँदै जाँदा अब यो विपद् किन र कसरी भयो भन्ने प्रश्न उठ्न थालेका छन्। नेपाल र चीन दुवैसँग हुनुपर्ने पूर्वसूचना प्रणालीको अवस्था के थियो ? भोटेकोसी यस्तो नदी हो, जहाँ बाढीका कारण विगतमा पनि पटकपटक विपद् सिर्जना भएका छन्। यसको नदी प्रणालीसँग जोडिएका क्षेत्र हुँदै यसको प्रभाव भारतको बिहारसम्म पुग्न सक्छ। त्यसो भए चीनको तिब्बत स्वायत्त क्षेत्रमा रहेको पूर्वसूचना प्रणालीले यस्तो घटनाको सम्भावनाबारे जानकारी दिन किन सकेन? नेपालको आफ्नै पूर्वसूचना प्रणालीको अवस्था के थियो ? त्यस्तो प्रणालीमार्फत समयमै सूचना आएको भए विपद्लाई पूर्ण रूपमा रोक्न नसकिए पनि ज्यान जोगाउन आवश्यक सावधानी अपनाउन सकिन्थ्यो।
यो घटना किन र कसरी भयो भन्ने विषयमा विभिन्न अनुमान र प्रश्नहरू उठिरहेका बेला नेपाल सरकारले उल्लेखनीय ढंगले तुरुन्त राहत र उद्धारको कार्य गरेको देखिएको छ। यस कार्यमा नेपालको निजी क्षेत्रले नेपाल सरकारलाई तत्काल राहत तथा सहयोगका काममा मद्दत पुर्याएको छ। अन्य देशहरूबाट पनि सहयोग आइरहेको छ, विशेषगरी भारतका सशस्त्र बलबाट प्राप्त सहयोग उल्लेखनीय छ।
जब विपद् आउँछ, त्यतिबेला तथ्यपूर्ण सूचनाको निरन्तर प्रवाह हुनु अत्यन्त आवश्यक हुन्छ तर डिजिटल प्लेटफर्मको विस्तारसँगै आजको विश्वमा सूचना प्रवाह दर्ता भएका मूलधारका सञ्चारमाध्यममा मात्र सीमित छैन। डिजिटल उपकरण र इन्टरनेटको पहुँच भएका मानिसहरूले आफूले खिचेका तस्बिर र भिडियोको प्रभावबारे नसोची सार्वजनिक गर्न सक्छन्।
अर्कातर्फ, कतिपय मानिसहरूले वर्तमान विपद्सँग सम्बन्धित नै नभएका पुराना वा अन्य घटनाका तस्बिर र भिडियो पनि पोस्ट गर्न थाल्छन्। त्यसैले आज नेपालमा सूचनाको नैतिक र जिम्मेवार सम्प्रेषणको आवश्यकता झन् बढेको छ। ‘कसैको पीडा कन्टेन्ट होइन। कसैको क्षतविक्षत शव भाइरल बनाउने विषय होइन। दुःखमा परेको मानिसको पीडामाथि भ्यु, लाइक र सेयरको हिसाब नगरौं। मृतकको शरीरका अंग र पीडितको आँसुलाई ‘कन्टेन्ट’ बनाउनु पत्रकारिता वा सामाजिक सञ्जालको उपलब्धि होइन। यसका लागि आचारसंहिताका दफा खोजिरहनु पनि नपरोस्। कानुनले के भन्छ भनेर सम्झाइरहनु पनि नपरोस्। हामीसँग नियम कानुनभन्दा अघि एउटा कुरा हुनुपर्छ, न्यूनतम मानवीय मर्यादा। आज त्यो पीडा अरू कसैको हो। भोलि त्यही पीडा हाम्रो आफ्नै घरको हुन सक्छ। समाचार दिऔं तर संवेदना नमारौं। सत्य देखाऔं तर मान्छेको सम्मान नखोसौं। बिन्ति, मान्छे हौं, मान्छे बनौं,’ प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ भन्छन्।
प्रेस काउन्सिल नेपालले यसअघि कहिल्यै नदेखेको जस्तो परिस्थितिबाट गुज्रिरहेको बेला सबैलाई नैतिक र जिम्मेवार ढंगले सूचना प्रवाह गर्न अपिल गरेको छ। भोटेकोसीको बाढीले प्रभावित क्षेत्रमा अभूतपूर्व विनाश निम्त्याइरहेका बेला त्यहाँका परिवारको जीवन र घरबार तहसनहस भएका छन्। प्रभावित क्षेत्रबाहिर नेपालका अन्य भाग तथा संसारका विभिन्न ठाउँमा रहेका परिवारजन पनि आफ्ना आफन्त र साथीभाइको समाचार सुनेर पीडित बनेका छन्। प्रभावित क्षेत्रमा काम, तीर्थयात्रा वा अन्य कुनै उद्देश्यले पुगेका आफ्ना परिवारजन र साथीभाइको अवस्थाबारे सही जानकारी पाउन उनीहरू व्यग्र छन्।
यस्तो अवस्थामा प्रभावित क्षेत्रबाट तथ्यपूर्ण समाचार बाहिर आउनु अत्यन्त आवश्यक छ। साथै, उद्धार तथा राहतसँग सम्बन्धित सूचना प्रभावित जनसमुदायसम्म पुग्नुपर्छ। आफ्ना परिवारजन र साथीभाइको अवस्थाबारे सही जानकारी खोजिरहेका मानिसहरूसम्म पनि विश्वसनीय सूचना पुग्नु उत्तिकै महत्त्वपूर्ण छ।
भोटेकोसीको आकस्मिक बाढीका कारण नेपालका विभिन्न जिल्लामा परेको प्राकृतिक विपद्लाई सम्बोधन गर्न सरकार र उपलब्ध स्रोतसाधन भएका निजी क्षेत्र लागिरहेका छन् तर अर्कातर्फ सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा सूचनाको बाढी पनि आइरहेको छ। तीमध्ये कतिपयमा प्रभावित मानिसहरूका अनुपयुक्त तस्बिर र भिडियोहरू सार्वजनिक गरिएका छन्। यसले उनीहरूका परिवारजन र साथीभाइमा थप नकारात्मक प्रभाव पार्न सक्छ।
वर्तमान विपद्सँग सम्बन्धित नभएका तर अन्य घटनासँग सम्बन्धित पुराना भिडियो क्लिपहरू पनि प्रसारित भइरहेका छन्। यसले गलत सूचना र भ्रामक सूचना फैलाउन मद्दत गर्छ, जसबाट कसैलाई फाइदा पुग्दैन, विशेषगरी प्रभावित र बाँच्न सफल मानिसहरूलाई त झन् होइन।
विभिन्न विज्ञ र आधिकारिक स्रोतहरूका अनुसार २६ अगस्ट २०२६ मा भोटेकोसी नदीमा आएको बाढी सम्भवतः लेन्दे नदीमा भएको हिमपहिरोका कारण भएको हुन सक्छ। उक्त हिमपहिरोले सुरुमा लेन्दे नदी थुनिएको र त्यसपछि ठुलो मात्रामा पानी जम्मा भएको हुन सक्ने अनुमान गरिएको छ। अन्ततः त्यो थुनिएको पानी फुट्दा बाढी आएको हुन सक्ने सम्भावना छ। यस घटनासँग हिमताल विस्फोटको सम्भावनालाई पनि जोडेर हेरिएको छ।
अधिकारीहरूले बाढी आएको समयमा वर्षा नभएको जानकारी दिएका छन्। त्यसैले यो घटना तत्कालीन मौसमका कारण मात्र भएको नभई केही समयदेखि विकसित हुँदै आएको प्राकृतिक प्रक्रियाको परिणाम हुन सक्ने सम्भावना देखिन्छ। वैज्ञानिकहरूले हालसम्म प्राप्त प्रमाणले नदीको माथिल्लो क्षेत्रमा भएको सम्भावित अवरोधतर्फ संकेत गरेको बताएका छन्। सोही समयमा तिब्बती क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको पनि रेकर्ड गरिएको छ। वैज्ञानिकहरूले उक्त भूकम्पले हिमपहिरो निम्त्याउन भूमिका खेलेको हुन सक्ने सम्भावनालाई पनि नकारेका छैनन्।
वर्तमान भोटेकोसी विपद्जस्ता घटनाका पछाडि विभिन्न कारणहरू हुन सक्छन्। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनमा त्यसको नकारात्मक प्रभाव वैज्ञानिक प्रमाणहरूबाट स्थापित भइसकेको छ। हिमालय क्षेत्रमा हिउँ र हिमनदी पग्लिनु तथा हिमताल विस्फोटका घटनालाई पनि विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिँदै आएको छ तर यही मात्र कारण भने होइन। आजको विपद्बाट प्रभावित क्षेत्र भौगोलिक र पारिस्थितिक रूपमा अत्यन्त संवेदनशील क्षेत्रको हिस्सा हुनु पनि महत्त्वपूर्ण पक्ष हो। त्यसैले यस्ता क्षेत्रमा पूर्वसूचना प्रणाली सही ढंगले स्थापना गर्ने र त्यसलाई प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक छ।
नेपाल र चीनका सरकारले पूर्वसूचना प्रणालीमा के भयो भन्ने विषयमा गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ तर यससँगै नेपाल उच्च कार्बन उत्सर्जन गर्ने मुलुकमध्ये पर्दैन भन्ने तथ्यलाई पनि ध्यान दिनुपर्छ। त्यसैले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने औद्योगिक राष्ट्रहरूलाई पनि यस्ता विपद् आउँदा उनीहरूको जिम्मेवारी के हुन्छ भन्ने प्रश्न उठाउनु आवश्यक छ।
अब दक्षिण एसियाली देशहरूले हातेमालो गर्ने समय आएको छ। भविष्यमा मानिसको जीवन र स्रोतसाधन यस्ता विपद्का कारण जोखिममा नपरोस् भन्नका लागि प्रभावकारी पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापन संयन्त्र स्थापना गर्न यस क्षेत्रका देशहरूले साझा प्रतिबद्धता गर्नुपर्छ।
त्यसैगरी गलत सूचना र भ्रामक सूचना रोक्न पनि संयुक्त रूपमा काम गर्नु उत्तिकै आवश्यक छ। तथ्यमा आधारित पत्रकारिता, जिम्मेवार सूचना प्रवाह र मानवीय संवेदनालाई केन्द्रमा राखेर सूचना साझा गर्नु नै यस्ता विपद्का बेला सबैभन्दा आवश्यक जिम्मेवारीमध्ये एक हो।
प्रकाशित: १२ भाद्र २०८३ ०६:२३ शुक्रबार

