१ वैशाख २०८३ मंगलबार
image/svg+xml
विचार

बालेन्द्र सरकारलाई अवसर जत्तिकै चुनौती पनि

राज्यका तीन अङ्गहरूमध्ये सरकार एक महत्वपूर्ण अङ्ग हो। वा राज्य बन्नका लागि आवश्यक पर्ने पाँच तत्वहरूमध्ये प्रमुख तत्व समेत सरकार हो। सरकार प्रत्यक्ष रूपमा जनतासँग जोडिएर कार्य गर्न एक भरपर्दो माध्यम पनि हो।  

राज्यको चौतर्फी विकास, जनभावना संवोधन, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना तथा मजबुत बनाउने, कानुनको कार्यान्वयन गराउने, देशको सीमा सुरक्षा गर्ने, जनताको जीउज्यान र सम्पत्तिको सुरक्षा गर्ने निकाय पनि सरकार हो। जनताले धेरै आशा र भरोसा यदि कोहीसँग गरेका छन् भने त्यो सरकारसँग मात्रै हो।

हालै फाल्गुन २१ गते सम्पन्न ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित जनमत प्राप्त गर्यो। झन्डै दुई तिहाइ मत प्राप्त गरी राज्य सम्हाल्ने अनुपम अवस्थामा समेत पुग्यो। यो मत वा संख्या २०१५ सालको प्रथम आम निर्वाचनको जस्तै-जस्तै अवस्थामा देखिन्छ। १८२ सिट प्रत्यक्ष र समानुपातिकबाट प्राप्त गरी सरकार चलाउने अवस्थामा बालेन्द्र शाहको नेतृत्वमा रास्वपा पुगेको छ।  

यो रास्वपा र बालेन्द्र शाहका लागि ठूलो आशा र भरोसाको झोली जनताले बोकाइदिएको अविस्मरणीय क्षण हो। नयाँ सरकारका अगाडि धेरै अवसरहरू रहेका छन्।  

हरेक नेपालीको अनुहारमा हाँसोको अनुभूति गराउनु, प्रविधिमैत्री वातावरण सिर्जना गर्नु, भौगोलिक अवस्था अनुसार नेपालको विकास गर्नु, संविधान, कानुन र ऐनमा रहेका झमेलाको अन्त्य गर्न आवश्यक कानुन परिमार्जन गर्न व्यवस्थापिकाको सहयोग लिने तथा सो लेखन कार्यमा सहयोग पुर्‍याउने, देशमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, कृपावाद, गरिबी, बेरोजगारी, बौद्धिक पलायन जस्ता विद्यमान जटिल समस्याहरूको समाधान गरी विगतका सरकारभन्दा आशालाग्दो र नवीन काम गर्ने अवसर नयाँ सरकारको काँधमा रहेको छ।  

देशमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने, उद्योग-कलकारखाना स्थापना गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, व्यापारमा रहेको परनिर्भरता हटाई आत्मनिर्भर बन्ने, नेपाल छोडेर विदेशतर्फ मोहित भएका नेपालीहरूलाई नेपालमै अवसर पाइन्छ भन्ने भाष्य र अवसर निर्माण गर्ने, नेपालसँग भएका प्राकृतिक स्रोत-साधनको अधिकतम प्रयोग गरी लाभ लिने, विप्रेषणबाट प्राप्त रकम वा राजस्वलाई सही सदुपयोग गरी राष्ट्रमा दिगो आर्थिक वृद्धिदर हासिल गर्ने, परराष्ट्र सम्बन्धलाई मजबुत बनाउने, नेपाललाई विकसित राष्ट्रमा स्तरउन्नति गर्नका लागि आधार तय गर्ने, नेपालको माटो सुहाउँदो विकास गर्ने, लोकतन्त्र र सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने अवसर समेत नयाँ सरकारलाई छ।  

साथै पुराना दलले र प्रतिपक्षले काम गर्न दिएनन् भन्ने अवस्था रहनेछैन र पाँच वर्षका लागि अवसरै अवसर छन्। यतिमात्र होइन, सीमित व्यक्तिमा थुप्रिएर रहेको अकुत वा कालो धनको छानबिन गरी राष्ट्रियकरण गर्ने पनि अवसर छ। अझ सरकार भनेको त यस्तो हुनुपर्छ भन्ने वातावरण बनाउने र जनताको मन जित्ने ठूलो र स्वर्णिम अवसर छ।

अवसरसँगसँगै नयाँ सरकारका काँधमा धेरै चुनौतीहरूको चाङ पनि छन्। हालको अवस्थामा नेपाल मध्यम आय भएको राष्ट्रमा स्तरउन्नति समेत हुन सकिरहेको छैन। देशमा चरम भ्रष्टाचार, गरिबी, बेरोजगारी, जातीय हेपाइ, बलात्कार, डिजिटल ठगी, पछौटेपन जस्ता समस्या व्याप्त छन्। अन्तर्राष्ट्रिय स्तरबाट नेपाललाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन।  

छिमेकी राष्ट्रहरूबीच सन्तुलित सम्बन्ध स्थापित गर्न सकिएको छैन। धेरै जनताहरू भरपर्दो आम्दानीको आधार नेपालमा नभएर वा धेरै कमाउने अभिलाषाले विदेश जान बाध्य छन्। उनीहरूलाई सीपअनुसार स्वदेशमै रोजगारी दिलाई भरपर्दो आम्दानीको अवस्था सिर्जना गर्नुपर्नेछ। सुशासन र लोकतन्त्रलाई थप मजबुत बनाउनुपर्नेछ।  

पुराना सरकारबाट वितृष्णा जागेका नेपालीको अनुहारमा हाँसो ल्याउनु छ। नेपालको अन्तर्राष्ट्रिय स्तरमा गुमेको साख फिर्ता ल्याउनु छ। अधिक स्रोत र साधन भए अनुसार दिगो विकास गरी नेपालको र नेपालीको जीवनस्तर माथि उठाउनु छ। संविधान, कानुन र ऐन संशोधन गर्नका लागि व्यवस्थापिकासँगै काम गरेर कानुनी झमेला हटाई कानुनको व्यवस्थित कार्यान्वयन गराउनु, रोजगारी, पूर्वाधार, जनशक्ति उत्पादन, विद्युत् उत्पादन जस्ता क्षेत्रमा विकास गरी नेपाललाई विकसित राष्ट्रमा पुर्‍याउनु पनि चुनौती नै छ।  

घरदैलोमा सरकारको अनुभूति दिलाउनु, राजनीतिक स्थिरता कायम गर्नु, शिक्षाका नाममा हुँदै आएका ठगीहरूको नियन्त्रण गर्नु, प्रविधिमैत्री विकास गर्नु, सबै नेपालीको मन जित्नु, नागरिक समाज, बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, बालबालिकाले आशा गरेअनुसार विकास गरेर देखाउनु चुनौती छ। कर्मचारीतन्त्रमा रहेको खराबी र काम गर्न नदिने अवस्थाको अन्त्य गर्नु छ। सबै श्रमिकलाई सम्मानित हुने अवस्था सिर्जना गर्नु चुनौती छ।

नवीन सरकारको सोच नवीन छ, ऊर्जा नवीन छ, दलगत बाधा-अवरोध कतैबाट छैनन्। तसर्थ, यो सरकारबाट हरेकले आशा र भरोसा गरेअनुसार काम गरेर आफ्नो नाम रोशन गराउने छ भन्ने आशा सबैको छ। जनताको मतलाई खेर जान नदिने गरी काम गरिदिनुस्। इतिहासमा गर्नेको नाम मात्रै लेखिन्छ। जनताले काम खोजिरहेका छन्, नकि भाषण, गफ र फाल्तु कुराकानी मात्रै नभई सुशासन, विकास र समृद्धि। नेपालमै केही छ भन्ने धारणालाई वा तथ्यांकलाई प्रमाणित गर्नुपर्नेछ। नत्र पुराना सरकार र यो सरकारबीच खासै अन्तर हुनेछैन। यस्तो अवसर पछि आउँछ वा आउँदैन यसको सुनिश्चितता गर्न सक्ने अवस्था छैन।

प्रकाशित: २९ चैत्र २०८२ १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %