पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेपछि एमालेभित्र निकै ठुलो तरंग पैदा भएको छ। विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिभित्र समाहित भएपछि वाम एकता हुने र कम्युनिस्टहरूको समूह एक भएर अगाडि बढने विश्वास गरिँदै छ।
भण्डारीको सक्रियतामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली खुसी छैनन्। भण्डारी राजनीतिमा आउनु नैतिकता बिर्सनु र राष्ट्रपतिको गरिमालाई कायम राख्न नसक्नु हो भन्दै उनको बाटो छेक्ने प्रयत्नमा ओली देखिन्छन्। भण्डारी राजनीतिमा आएमा आफैंलाई विस्थापित गर्ने भित्री आशंका एवं भय ओलीमा झल्किँदै छ। हुन तर विश्व राजनीतिक अभ्यासलाई हेर्ने हो भने राष्ट्रपति भइसकेका वा देशको उच्च तहमा बसेर काम गरिसकेका व्यक्तिहरू पुनः राजनीतिमा वा आफ्नो पेसा व्यवसायमा फर्किएका थुप्रै उदाहरण छन्। एमालेमा भण्डारी राजनीतिमा आउनु कुनै नौलो सवाल होइन।
राजनीतिबाट दीक्षित भएर मुलुकको गरिमामय पदको अनुभव बटुलेकी भण्डारी पुनः सक्रिय हुनु स्वाभाविक हो। तर उनी सक्रिय हुँदै गर्दा एमालेले देश र जनताका लागि फरक भिजन के दिन्छ ? अथवा जनताको अवस्था बदल्ने अहिलेको भन्दा फरक योजना एमालेसँग के हुन्छ ? यो मुख्य विषय हो र जनताको अपेक्षा पनि यही हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको जनपक्षीय समस्या बोल्ने आवाजलाई बुझ्न नसक्दा आज एमालेप्रतिको वितृष्णा जनतामा बढिरहेको विश्लेषण गर्नेहरू पनि छन्।
पार्टीमा त्याग गरेका र लोकतन्त्रलाई बलियो बनाउने जनाधारमा विश्वास गर्नेगरी काम गरिरहेका एमालेको जबजलाई आत्मसाथ गर्ने नेता पाखा लगाइएको धेरैको बुझाइ छ। अझै ओली युग आवश्यक भन्दै पार्टीभित्रैबाट आवाज उठाउनेहरूको कमी छैन। एमालेमा ओलीको विकल्प नदेख्नेहरूका लागि भण्डारीको सक्रिय आगमनलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
ओलीले एक अन्तर्वार्तामा भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था नभएको प्रस्ट पारिसकेका छन्। धेरैको बुझाइ ओलीले नै भण्डारीलाई राजनीतिमा ल्याएर बिस्तारै नेतृत्व हस्तान्तरण गर्छन् र आफू संरक्षक भएर बस्छन् भन्ने थियो। ओलीकै योजनामा भण्डारीको सक्रियता बढेको भन्ने बुझाइ अन्ततः गलत साबित भएको छ। अहिले ओली विस्थापनको कालो बादल मडारिन थालेपछि जसरी हुन्छ भण्डारीलाई छेक्ने अभियानमा केन्द्रित छन्। यसले एमालेभित्र व्यापक धुव्रीकरणको जगजगी हुँदै छ।
भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेट गरी आफू सक्रिय राजनीतिमा आएको नैतिक समर्थन गर्न आग्रह गरेकी छन्। यसले पनि के देखाउँछ भने भण्डारी जसरी पनि एमाले राजनीतिमा सक्रिय भएर नेतृत्व सम्हाल्ने पक्षमा देखिन्छिन् भने ओली अझै केही वर्ष पार्टी आफ्नै कब्जामा राख्ने सोचमा छन्। एमालेको नेतृत्वको उमेर हद ७० वर्षे विधानबाट हटाउन खोजिँदै छ भने दुई कार्यकालको प्रावधान पनि हट्यो भने स्वतः ओलीलाई नेतृत्व नछोड्ने बाटो सहज हुनेछ।
पार्टीमा होस् या सरकारमा, ओलीको चाल सहजै पत्ता लाग्न कठिन छ। नेतृत्वमाथि प्रश्न गर्दा एमालेका घनश्याम भुसाल, भीम रावलहरू पाखा लगाइकै हुन्। पार्टीले आन्तरिक लोकतन्त्रको बाटो बिराएको, आसेपासेलाई अवसर दिएको क्षमता र त्याग नदेखेको भनेर नेतृत्वमाथि आलोचना गर्दा पार्टीबाट कारबाहीमा परेका पारिएकाहरू छँदै छन्। एमालेको एक धारले नेतृत्वमाथि निकै खैलाबैला मच्चाइरहेको छ भने अर्को धार यही नेतृत्वबाट नै पार्टीले राजनीतिक बाटो सोझ्याएर अहिलेको व्यवस्था टिकाउनुपर्ने र मुलुकलाई समृद्धिको यात्रामा अगाडि लैजान अगुवाइ गर्नेपर्ने बताइरहेको छ। एकहिसाबले ओलीको एकछत्र निर्णयबाट अगाडि दौडिरहेको एमालेको रथलाई भण्डारीको आगमनले आंशिक अवरोध गरेको त छ नै, ओलीको छटपटी पनि उच्च विन्दुमा पुगेको छ। ओलीलाई अर्को एउटा काम थपियो कि अब कसरी भण्डारी अभियानलाई बार लगाउने र अझै केही समय ओलीबिनाको एमाले सोच्न बन्द गरिदिने।
पार्टी जीवनमा ओली, विद्या अथवा ईश्वर, विष्णु जो आए पनि गए पनि त्यसले फरक पार्दैन र त्यो हाइलाइट हुने सवाल पनि होइन तर कसको नेतृत्वमा पार्टी जीवनले मुलुक र जनताको हितमा समृद्धिको यात्रा तय ग¥यो, त्यो महŒवपूर्ण सवाल हो। पार्टीभित्र लोकतन्त्र र नेतृत्व हस्तान्तरण नयाँ विचार भिजन दूरदर्शितालगायतका सवालमा ख्याल गर्न छोडिएको छ। नेतृत्व जति नै असफल भए पनि त्यसको विकल्प पार्टीमा सोच्ने अभ्यास नेपाली राजनीतिमा निकै कम छ। पार्टीमा केही व्यक्तिहरूको वर्चस्व हाबी हुँदा क्षमतावान् दूरदर्शी विचार र भावनाहरू पाखा पर्ने पारिने अभ्यास राजनीतिमा तीव्र छ। एमालेभित्रको लोकतन्त्र हेर्दा पनि ओलीको हैकम र आदेशभन्दा पर भएर पार्टीले निर्णय गर्ने कुरा ओली नेतृत्वमा छैन भन्ने गरिन्छ।
एमालेभित्रको निकट धुव्रीकरणले पार्टी जीवनमा निकै धक्का लाग्ने विश्लेषण पनि गर्न थालिएको छ। किनभने ओली र भण्डारीको तानातानमा पार्टीले आगामी योजना र दिशा कसरी लिन्छ ? के ओलीले सहजै भण्डारीलाई पार्टीमा स्वीकार गर्लान् र ? ओलीले भण्डारीलाई पार्टीमा स्वीकार गरिहाले भने पनि के नेतृत्व छोड्न तयार होलान् त ? धेरै टाढा नै जानुपर्दैन। अध्यक्षको प्रत्यासी हुँदा पार्टीबाट नै किनारा लगाइएका भीम रावलहरूको पीडा सेलाएको छैन।
यस्तो भुमरीभित्र आएर पार्टीमा सक्रिय भएर काम गर्छु भन्ने विद्यादेवीको आगामी योजना कस्ता छन् ? पार्टी जीवनमा ओलीबिनाको एमाले दौडाउने विचारमार्ग विद्यासँग कस्ता छन् ? के नेतृत्व हत्याउनकै लागि मात्रै सक्रियता हो कि ? पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै युवाहरूको जोसजाँगरको सदुपयोग गर्दै पार्टीलाई एक अब्बल कम्युनिस्ट धारमा सञ्चालन गरी जबजको सपना पूरा गर्ने पनि योजना छन् ? वर्तमान परिदृश्य हेर्दा ओलीसहितको एमालेभित्र विकल्पको सोच बनाएर सक्रियता बढाउनु त्यति सहज अभ्यास होइन। एक समय ओलीकै नेतृत्वमा सरकार भएको समयमा नेकपा माओवादी भएका बेला ओलीले झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार आफ्नै कारणले भत्काएका थिए। विद्यादेवी भण्डारी राष्ट्रपति भएको बेला संसद् विगठन गरी ओलीले पार्टीभित्रै खैलाबैला मच्चाएका थिए। त्यही रिसमा माधव, वामदेवहरूले पनि ओलीको साथ छोडेका थिए। भण्डारीको भनाइ अहिले पनि छ, त्यो संसद् विगठन गर्ने कार्यले आफूलाई पछ्याइरहेको छ।
उतिबेला भण्डारीलाई एमालेको राष्ट्रपति भएको र संविधानको रक्षा गर्न नसकेको आरोप पनि नलागेको होइन। यद्यपि विवादित भएर पनि भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको अनुभव बटुल्न सफल भएको देखिन्छ। अहिले भण्डारी सक्रिय राजनीतिमा आउनु भनेको पनि त्यसबेला भुलवश भएको कमी कमजोरीलाई सच्याउँदै राजनीतिक नयाँ कोर्स निर्माण गर्ने मनसाय हो भनेर भण्डारीनिकटहरूको विश्लेषण छ। तर जे होस् अहिलेको परिवेशलाई हेर्दा एमालेमा भण्डारीको आगमनलाई ओलीबारले छेक्ने प्रयास हुँदा पार्टीभित्रको तीव्र धुव्रीकरणले जनतामा एक प्रकारको निराशा र वितृष्णा झनै बढाउँछ भन्ने आशंका बलियो छ भने अर्कातिर पार्टीभित्रको धमिलो अमिलो सम्बन्धले सरकारको काममा पनि असर गर्छ भन्ने चिन्ता त्यतिकै गरिएको छ।
ओलीले सरकारप्रतिको निराशा कसरी व्यवस्थापन गर्छन् र गठबन्धनमा उब्जिएको आशंका कसरी विश्वासिलो बनाउँछन्, यत्रतत्र सवत्र आफ्नै कमान्डका मन्त्रीहरूले भ्रष्टाचार गरेर आफ्नै बदनाम भइरहेको विषय छ भने यस्तो अवस्थामा पार्टीमा भण्डारीको आगमनलाई समस्या देखेका ओलीले आगामी राजनीतिक कोर्स कसरी तय गर्छन्, त्यो हेर्न बाँकी छ। अन्तमा पार्टीमा कसैको आगमनलाई समस्या देख्नुभन्दा पनि उनीहरूको विचार, भावना, सक्रियतालाई अथवा पार्टीलाई जीवन्त बनाउन गरिएको त्यागलाई सम्मान गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउने अभ्यास जीवित पार्नु नै पार्टी जीवनका लागि प्रभावकारी हुने र जनतामा छाएको निराशा पनि कम हुँदै ओलीप्रतिको विश्वास झन् बढ्ने देखिन्छ।
प्रकाशित: ७ श्रावण २०८२ ०६:१४ बुधबार