त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसको वरिपरिको अवतरण तथा उडान भरण प्रभाव क्षेत्रमा शृंखलाबद्ध रूपमा विमान दुर्घटनाहरू हुँदैआएका छन्। वास्तवमै यस विमानस्थल तथा आसपासक्षेत्रमा १५ भन्दा बढी दुर्घटना र कैयौं घटना भएका छन्, जसमध्ये ११ वटा विभत्स दुर्घटनामा चार सय ६१ जनाको ज्यान गइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभई नेपालका प्रायः सबैजसो, खासगरी मध्य तथा उच्च पहाडी क्षेत्रमा बारम्बार भइरहने विमान दुर्घटनाका कारण नेपालको नागरिक उड्डयन तथा यात्रु सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ। नेपालले हालसम्म एक सय नौभन्दा बढी विमान दुर्घटना बेहोरेको छ, जसमा नौ सय ३२ जनाले ज्यान गुमाएका छन्।
नेपालमा जति पनि हवाई दुर्घटना भए, तिनका जाँचबुझ प्रतिवेदनका निष्कर्षमा प्रायः दुर्घटनाका कारणका रूपमा प्राविधिक खोट, मानवीय त्रुटि र परिस्थितिजन्य असजगताजस्ता कारणलाई नै प्राथमिकताका साथ औंल्याउने र सोहीबमोजिमका नियमन तथा नियन्त्रणसम्बन्धी राय–सुझाव दिने गरिएको पाइन्छ।
मौसमी अनुकूलता–प्रतिकूलताजस्तो अहम् विषयलाई अत्यन्तै सामान्य रूपमा लिइएको र उल्लेखमा मात्र सीमित गरिएको प्रस्ट देखिन्छ। हावाकै भरमा अड्ने विमानलाई मौसमी अवस्थाले फरक पार्दैन भन्ने र पानीमा उत्रने डुंगा उर्लेको भेलमा पल्टिँदैन र भुमरीमा फस्दैन भन्ने सोच उस्तै–उस्तै हुन्। विभिन्न अध्ययनले विश्वभरि भएका विमान दुर्घटनामध्ये झन्डै २० प्रतिशत दुर्घटना प्रत्यक्ष अथवा परोक्ष रूपमा मौसमी प्रतिकूलतासँग जोडिएका देखाएका छन्।
नेपालको सन्दर्भमा विस्तृत रूपमा अध्ययन–अनुसन्धान भइनसकेकाले ठ्याक्कै यत्ति प्रतिशत भन्न सकिने अवस्था छैन तर पनि नेपालजस्तो अतुलनीय विविधतायुक्त भौगोलिक अवस्थिति रहेको देशमा मौसम अन्यत्रभन्दा अत्यन्तै विविधतापूर्ण र जटिल प्रकृतिको हुने भएकाले नेपालमा भएका र हुने दुर्घटनामा प्रतिकूल मौसमको भूमिका अझ बढी सशक्त हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ। यहाँको मौसमी अवस्था ठाउँको ठाउँ र छिनको छिन अप्रत्याशित तथा आकस्मिक रूपमा असामान्य बन्ने गर्छ।
नागरिक उड्डयन क्षेत्रमा दृश्यगत रूपमा खुला आँखाले देख्न सकिने गरी असामान्य बनेको वा बन्दै गरेको मौसमी अवस्थाबारे हेक्का राख्ने र केही सचेत रहने गरिए पनि कथित ‘सफा मौसम’ भनिने अवस्थामा हवाई उडानका लागि अत्यन्तै खतरनाक मानिने तहगत तथा दिशागत घर्षण, चञ्चलता, चञ्चलता अन्तरघुलन दर, बन्धनयुक्त तरंग उद्देलनजस्ता अदृश्यगत प्रतिकूल वायुमण्डलीय अवस्थाबारे सामान्य चासोसम्म व्यक्त गरिएको पाइँदैन।
त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रिवि, कीर्तिपुरबाट विमान दुर्घटनाबारे गरिएका अनुसन्धानले नेपालमा भएका धेरै विमान दुर्घटनामा मौसमी प्रतिकूलताको प्रत्यक्ष भूमिका रहेको देखाएका छन्।
२०७० फागुन ४ गते अर्घाखाँचीको मसिनालेकमा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटना होस् वा २०७४ फागुन २८ गते त्रिभुवन विमानस्थलमै भएको युएस–बाङ्ला विमान दुर्घटना अथवा २०६८ कात्तिक १ गते बागलुङको बोवाङमा भएको नेपाली सेनाको विमान दुर्घटना भनौं वा २०७९ जेठ १५ गते मुस्ताङको शिखामा भएको तारा एयरको विमान दुर्घटना, यी सबै दुर्घटनामा प्रतिकूल मौसमको मुख्य भूमिका रहेको देखिएको छ।
उल्लिखित प्रतिनिधिमूलक एवं अन्य धेरै विमान दुर्घटनामा मौसमी प्रतिकूलताको सम्बन्ध स्थापित गरिनुका साथै मध्य–पहाडी भेगमा लामो दुरीको गुरुत्वाकर्षणीय चिसो वायु प्रवाहको उपस्थिति एवं यस क्षेत्रको वायुमण्डलको तल्लो तहमा बन्धनयुक्त वायुमण्डलीय तरंगहरू उद्देलित हुने नेपालको सन्दर्भमा नयाँ मानिने मौसमी परिदृश्यसमेत सर्वप्रथम उजागर गरिएका छन्।
नेपाली आकाशको मौसमी प्रतिकूलता र सुरक्षित उडानबारे चर्चा गर्नुपर्ने धेरै विषयवस्तुमध्ये दैनिक रूपमा हजारौं नेपाली तथा विदेशी नागरिक उड्ने र ओर्लने देशकै सबैभन्दा महत्त्वपूर्ण एवं विमान दुर्घटनाका दृष्टिले अति संवेदनशील क्षेत्रका रूपमा हेरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसवरिपरिको विमान अवतरण–उडान प्रभाव क्षेत्रको मौसमी अनुकूलता–प्रतिकूलताबारे चर्चा गर्न खोजिएको छ।
अवतरण तथा उडान भरणको सिलसिलामा विमान भूसतहनजिकै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको हुन्छ। यस क्रममा थोरै मात्र पनि तलमाथि भई असन्तुलन सिर्जना भएमा विमानलाई पुनः काबुमा ल्याउन पर्याप्त समय उपलब्ध हुँदैन। अवतरण तथा उडान भरणको अवस्थामा विमान असन्तुलित हुने धेरै कारण हुन सक्छन्, जसमध्ये विमानस्थल तथा वरपरको क्षेत्रमा विशेषगरी वायुमण्डलको तल्लो तहको अवस्था (वायु प्रवाह, घर्षण तथा चञ्चलताको स्तर, प्रवृत्ति र प्रकृति) लाई अत्यन्तै महत्त्वपूर्ण कारणका रूपमा हेर्ने गरिन्छ।
त्रिभुवन विमानस्थलसँग सम्बन्धित जति पनि विमान दुर्घटनाहरू भए, प्रायः सबै दुर्घटना या त उडान भर्दै गर्दा या त अवतरण गर्दै गर्दा विमानस्थलमै वा नजिकैको अवतरण–उडान प्रभाव क्षेत्रमा भएका छन्। यसले काठमाडौं उपत्यका र यसवरिपरिको वायुमण्डलको उपल्लो तहभन्दा सबैभन्दा तल्लो तहको वायुमण्डलीय अवस्थिति अत्यन्तै जोखिमयुक्त छ भन्ने संकेत गर्छ।
कुनै पनि विमानस्थलका लागि यसको भरपर्दो पूर्वानुमान र पूर्वजानकारी उपलब्ध हुनु वा नहुनुलाई सुरक्षित उडान भरण तथा अवतरणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण पक्ष मानिन्छ। २०७४ फागुन २८ गते ५१ जनाको ज्यान लिने गरी त्रिभुवन विमानस्थलमै भएको हृदयविदारक युएस–बाङ्ला विमान दुर्घटनामा काठमाडौं उपत्यकाको तल्लो वायुमण्डलीय तहमा विद्यमान तेर्सो दिशाको वायु प्रवाह एवं अत्यधिक वायुमण्डलीय चञ्चलता, त्यसमा पनि विमानस्थलको सन्निकट उपत्यकाको उत्तरी भागको वायुमण्डलको तल्लो तहको अत्यधिक चञ्चलताले महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ। यस्तो अवस्थाको सिर्जना हुनमा सो समयमा बागमती नदीको तिरैतिर दक्षिणबाट उपत्यकाभित्रिएको दक्षिण–पश्चिमी हावा र थानकोट–मुड्कुभन्ज्याङको खोँचबाट पस्ने उत्तर–पश्चिमी हावा विमानस्थल क्षेत्रमा एकआपसमा जुधेर पश्चिमी हावाको रूप धारण गरी पूर्वतिर लाग्ने क्रममा भएको हो।
अर्को एक प्रतिष्ठित जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपत्यकाबाट विमान भित्रिने र बाहिरिने दक्षिणी तथा पश्चिमी हवाई नाकाहरूमा साँझपखदेखि बिहान अबेरसम्म साना तथा मझौला विमानका लागि खतरायुक्त वायुमण्डलीय तरंग उद्देलित हुने गरेको तथ्यसमेत उजागर गरिएको छ।
त्यसैगरी उत्तरमध्यान्नदेखि साँझपखसम्म धादिङ उपत्यकाबाट काठमाडौं छिर्ने उत्तर–पश्चिमी हावासँग मिसिएर पश्चिमी हवाई नाकामाथिको उपल्लो वायुमण्डलीय तहको वायु छिहिरो परेर सोझै तल ओर्लिएर बज्रिने गरेबाट विमानस्थलको पश्चिमी भागको वायुमण्डल बारम्बार अति चञ्चलयुक्त बन्ने गरेको तथ्यसमेत उजागर भएको छ।
यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभाग तथा त्रिवि नारेल प्रयोगशालाको सहकार्यमा त्रिभुवन विमानस्थल तथा यसको उडान भरण–अवतरण प्रभाव क्षेत्रमा रहने प्रतिकूल हवाई मौसम तथा जोखिमपूर्ण क्षेत्रको नक्सांकन कार्य सम्पन्न भएको छ।
उक्त अध्ययन गणितीय मौसम पूर्वानुमान अनुसन्धान पद्धतिको माध्यमबाट काठमाडौं उपत्यका र यसवरिपरिको क्षेत्रको हरेक एक वर्ग किलोमिटर क्षेत्रमा लगातार दुई वर्षसम्म प्रत्येक १५ मिनेटमा रहन सक्ने हवाई मौसमको पूर्वानुमान गरी सो पूर्वानुमानलाई विस्तृत स्थलगत मापन तथा सोही समयमा विमान चालकहरूले उडान भरण–अवतरणका क्रममा भोगेका मौसमी अनुकूलता–प्रतिकूलताका अनुभव–सर्वेक्षणसँग प्रमाणीकरण गरी गरिएको हो।
उक्त अनुसन्धान प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित हवाई उडान सञ्चालनका लागि महत्त्व राख्ने प्रायः सबै मौसमी सूचकहरूको ऋतुगत एवं वार्षिक औसत मात्रा र जोखिमपूर्ण क्षेत्रको नक्सांकन गरिएको छ। साथै, यस अनुसन्धानले हवाई मौसम पूर्वानुमान गर्नका लागि भरपर्दो प्राविधिक एवं वैज्ञानिक आधारसमेत उपलब्ध गराएको छ।
उपलब्ध नक्साको उपयोग गरी वार्षिक एवं ऋतुअनुसार कुन–कुन क्षेत्रमा कस्ता–कस्ता मौसमी व्यवधान उत्पन्न भएका हुन सक्छन् भन्ने जानकारी प्राप्त गरी विमान उडान भरण तथा अवतरणलाई थप सुरक्षित गर्न उल्लेख्य मद्दत पुग्ने भए तापनि विमान उड्नु एवं अवतरण गर्नु अगावै विमानस्थल, वरपरको क्षेत्र तथा उडान मार्ग र गन्तव्य विमानस्थलमा यस्ता–यस्ता प्रकारका मौसमी अवस्था रहन सक्छन् भन्ने भरपर्दो जानकारी उपलब्ध गराई विमानचालक तथा नियमन अधिकारीले उडान स्थगन, मार्ग परिवर्तन वा विशेष सतर्कता अपनाउन सक्ने वातावरणको सिर्जना नगरेसम्म विमान दुर्घटनाको शृंखलामा केही कमी आउन सक्ने देखिए तापनि उल्लेख्य न्यूनीकरण हुन सक्दैन।
उपयोगी अध्ययन–अनुसन्धान भई निष्कर्ष प्राप्त हुनु आफैंमा महत्त्वपूर्ण कुरा भए तापनि जबसम्म त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान सकिँदैन, त्यसले खासै अर्थ राख्दैन र अनुसन्धानमा संलग्नहरूले आफ्नो मेहनत त्यसै खेर गएको अनुभूति गर्ने अवस्था बन्छ। आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले मानव स्रोत तथा उपकरणको आवश्यक प्रबन्ध गरी हवाई मौसमी सेवा विस्तार गर्नु आम रूपमा अपेक्षित विषय हो।
प्रकाशित: १८ असार २०८३ १०:५८ बिहीबार

