२२ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

आशा र आक्रोशको एउटै कथा

नेपाल अहिले दुई भिन्न भावनाका किनारमा उभिएको छ। एउटा किनारमा छ युवा पुस्ताको जागरण, अर्को किनारमा छ राष्ट्रको गहिरो पीडा र असुरक्षा। यी दुई धार विरोधाभासपूर्ण लागे पनि वास्तवमा एउटै नदीका किनारा हुन्, परिवर्तन र पुनर्जागरणका।

‘युवाले इमानदारीसाथ नेतृत्व गर्छन्।  जुन पुस्ताले प्रश्न गर्ने हिम्मत गर्छ, त्यही पुस्ता निर्माणका लागि तयार हुन्छ’ आजको नेपालमा यही भावनाले नयाँ इतिहास लेख्न थालेको छ। जेनेरेसन जेड (जेन-जी), जसले प्रविधि, सामाजिक सञ्जाल र सत्यको खोजलाई आफ्नो पहिचान बनाएको छ, अहिले नेपालको सामाजिक चेतनाको केन्द्रमा छ।

जलवायु परिवर्तनदेखि सुशासन हुँदै शून्य भ्रष्टाचारसम्म युवाले आफ्नो आवाज र उद्देश्यलाई जोड्ने पुल बनाएका छन्।  इन्स्टाग्राम, डिस्कोर्ड, युट्युब र एक्स (पहिले ट्विटर) अब केवल मनोरञ्जनका माध्यम होइनन्, यी नयाँ सार्वजनिक चौतारी हुन्, जहाँ युवा राष्ट्रको दिशा, नीति र भविष्यबारे बहस गर्छन्।  अभियान अनलाइनबाट सुरु हुन्छन् र सडकमा देशव्यापी चेतनामा परिणत हुन्छन्।

यसबिच हल्ला र गलत सूचनाले यथार्थलाई धमिल्याउने प्रयास पनि बढेको छ।  सरोवर, हिल्टन आदि होटल खरिददेखि कोष विदेश पठाइएका कथाहरूले युवा आन्दोलनमा अविश्वास फैलाउने कोसिस गरेको हो।

सत्य जति दबाइन्छ, त्यति बलियो भएर फिर्ता आउँछ।  नेपालका फ्याक्ट–चेक संस्था र सचेत युवाले बारम्बार प्रमाणसहित देखाएका छन्– ‘गलत सूचना युवाको समस्या होइन।  यो प्रणालीगत समस्या हो, जसको उपचार सत्य हो। ’

भदौ २३–२४ : पीडा र अनिश्चितताको क्षण
पुनर्जागरणको बाटो सधैं शान्त हुँदैन।  भदौ २३–२४ का घटनाहरूमा जब जेन-जी विद्रोहले देशभर अस्थिरता ल्यायो, त्यो हामी सबैको सामूहिक घाउ बनेको छ। ती दुई दिनमा देशले भय, विनाश र क्षतिको अनुभव गर्‍यो। बालबालिकादेखि अभिभावकसम्म, व्यापारीदेखि किसानसम्म सबै डरमा बाँच्नुपर्ने परिस्थिति आयो। सार्वजनिक सम्पत्ति, कार्यालय र घरहरूमा तोडफोड, आगजनी र तनावले उत्सवको समयलाई निल्यो।

त्यसपछि आयो दसैं, नेपालको सबैभन्दा ठुलो राष्ट्रिय पर्व, तर हृदयमा थियो भयको छाया। फूलपातीदेखि पूर्णिमासम्म, धेरै घरमा यसपालि टीका लगाइएन। धेरैले आफ्नै निधारमा रङ होइन, आँसु लगाए। म स्वयंले पनि यसपालि टीका नलगाई केवल मौन रूपमा आशीर्वाद लिन आउनेहरूलाई शान्तिको कामना मात्र गरें। ढोकामा हानिएको सानो आवाज पनि असुरक्षा महसुस हुन्थ्यो। देशभर फैलिएको हल्ला ‘कैदीहरू भागेका छन्’ले जनता झन् त्रसित बने।

जब राष्ट्र पीडामा हुन्छ, त्यो बेला पर्वले अर्थ गुमाउँछ।  आमाहरूको आँसुमा आशीर्वाद कहाँ फुल्न सक्छ ? डरले भरिएको हावामा कसरी पिङ खेल्ने, कसरी नाच्ने ?

विद्रोह होइन, पुनर्जागरण

यथार्थको अर्को पाटो पनि छ। यी सबै घटना, चाहे ती आन्दोलनका रूप हुन् वा असन्तुष्टिको विस्फोट, केवल आक्रोशका संकेत होइनन्, पुनर्जागरणका संकेत हुन्। युवाहरू प्रणालीलाई ध्वस्त गर्न होइन, सुधार गर्न उठेका हुन्। उनीहरूको आवाज विद्रोह होइन, विकासको चेतना हो। ‘यो विद्रोह होइन, पुनर्जागरण हो’ यो वाक्य अहिलेका युवाको आत्मा हो। उनीहरू नीति र नतिजाबिचको दुरी घटाउन खोजिरहेका छन्, पारदर्शिता र जवाफदेहिताको माग गरिरहेका छन्। उनीहरू नेताबाट वाचा होइन, व्यवहार चाहन्छन्।  यही चेतनाले देशलाई नयाँ दिशातर्फ धकेलिरहेको छ। 

राष्ट्रको असुरक्षा र युवा–आक्रोशबिचको सन्तुलन
नेपाल आज एउटा मोडमा उभिएको छ, जहाँ पीडा र सम्भावना दुवै सँगै छन्। एकातिर असुरक्षाको भय, बेरोजगारी र अस्थिरता छन्, अर्कातिर चाहना, क्षमता र डिजिटल चेतनाले भरिएको युवापुस्ता छ।

सरकार र नेतृत्वले यो पुस्तालाई खतरा होइन, साझेदारका रूपमा हेर्नुपर्ने बेला आएको छ। अवसरलाई सिफारिस होइन, योग्यताले निर्देशित गर्नुपर्छ।  जब प्रणाली इमानदारीमा टेकिन्छ, तब नागरिकले फेरि विश्वास गर्न थाल्छन्। नेपालका युवाले बारम्बार सम्झाएका छन्– ‘देश ज्ञानले होइन, इमानदारीले टिक्छ।’ साँचो नेतृत्व व्यक्ति होइन, संविधान र मूल्यमा टेकेको प्रणाली हो। 

जेन-जीबाट सिक्ने पाँच पाठ

  • सत्य खोज्ने साहस, हल्ला र गलत सूचनाबिच पनि सत्यको पक्षमा उभिनु,
  • डिजिटल साक्षरता, आलोचनात्मक सोच र प्रविधिलाई परिवर्तनको औजार बनाउने,
  • समुदायमा नेतृत्व, स्थानीय समस्या समाधानमा प्रत्यक्ष सहभागिता,
  • नीति संवादमा सहभागिता, सम्मानसाथ सरकारसँग छलफल,
  • नैतिक आचरण र इमानदारी, पारदर्शिता र उत्तरदायित्वलाई मूल्य बनाउने।

यी केवल सुझाव होइनन्, लोकतान्त्रिक विश्वासमा गरिएका लगानी हुन्। 

दसैंको मौन प्रार्थना र युवा–जागरणको स्वर
दसैं २०८२ को मौनतामा एउटा गहिरो आवाज सुन्न सकिन्छ। त्यो आवाज युवाको हो, जसले प्रश्न गर्छ तर घृणा गर्दैन, जसले असन्तुष्टि देखाउँछ तर राष्ट्रप्रति समर्पण पनि राख्छ। यो देश अझै बाँचेको छ किनकि यसको हृदयमा युवाको सपना धड्किरहेको छ।  उनीहरूको सक्रियता विद्रोह होइन, समर्पण हो। उनीहरूका प्रश्न डर होइनन्, दिशा हुन्। नेपालको भविष्य त्यतिबेला सुरक्षित हुन्छ, जब ज्येष्ठको बुद्धि र युवाको इच्छाशक्ति एउटै दिशामा प्रवाहित हुन्छन्, जब नीति सहभागितामूलक बनाइन्छ र इमानदारी राष्ट्रको सर्वोच्च योग्यता बन्न पुग्छ। 

आशा अझै बाँकी छ

भदौ २३–२४ ले हामीलाई डर र दु:ख दियो, तर त्यो घटनाले एउटा नयाँ आत्मचेतना पनि जगायो। नेपालमा मात्र होइन, संसारमै यो चेतना जाग्यो।  हामी बुझ्न थालेका छौं, परिवर्तन केवल सडकमा होइन, सोचबाट सुरु हुन्छ। शान्ति केवल मौनतामा होइन, न्यायमा पलाउँछ।  हामीले यस दसैंलाई केवल परम्पराको पर्व होइन, आशाको प्रार्थनाका रूपमा मनाउन सिक्यौं। यही आशाबाट देशले पुनर्जागरणको बाटो पाउनेछ। विद्रोह होइन, पुनर्जागरणको आशा गुमाउनुहुँदैन। यी दुई वाक्यमध्ये एउटामा ऊर्जा छ, अर्कोमा करुणा। दुवै मिसिँदा बन्नेछ नयाँ नेपाल, जहाँ युवाको चेतना र राष्ट्रको आत्मा एउटै लयमा धड्किनेछ। 
निर्देशक नेपाल रिपब्लिक मिडिया

प्रकाशित: २१ आश्विन २०८२ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App