८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

बलात्कार बहस

गत भदौ अन्तिम साताको एक बिहान ८ वर्षीया एक बालिका कुनै सामान किन्न छिमेकीको पसल जान्छिन्। पसलको काउन्टरमा लगभग साठी नाघेका साहुजी एक्लै हुन्छन्। उनले बालिकालाई सामानसँगै केही चकलेट थमाउँदै काउन्टरभित्र आउन भन्छन्। बालिकाले ‘नाइँ मत आउँदिन’ भनेर पसलबाट बाहिरिन खोज्छिन्। साहुजीले ‘आऊ न आऊ’ भन्दै बालिकाको हात समातेर काउन्टरसँगै जोडिएको पछाडिको कोठातर्फ लान खोज्छन्। तर कसोकसो वृद्धको हात फुत्काएर बालिका पसलबाट भाग्न सफल हुन्छिन्। दौडँदै घर पुगेर रुदै आमासँग घटनाको वृत्तान्त सुनाएपछि ‘आगो’ बनेकी आमा खाना खाईवरी छोरीलाई साथमै लिएर घटनाको छिनोफानो गर्न पसल पुग्छिन्। पसलमा साहुजीलगायत वरपरका अन्य केही पुरुषहरू ‘ठालु’ गफमा मस्त हुन्छन्। ‘समाजमा कस्ता कस्ता घटना घटिरा’छन्। यो साउले मेरी छोरीलाई गर्न खोज्या के हो हँ ?’ अचानक यो आवाज सुनेपछि सबैजना चुपचाप लागेर महिलातर्फ हेर्छन्। साहुजीसँग मुखामुख गर्छन्। अनि के भो भनेर महिलालाई सोध्छन्। महिलाले घटना विवरण सुनाउँछिन्। साहुजीले मसिनो स्वरमा भन्छन्, ‘माया गरेर चक्लेट दिएको मात्र हुँ। अरू केही होइन’। ‘पनातिनी उमेरकी बालिकालाई घिसासेर अँध्यारो कोठातिर लान खोज्ने कस्तो माया हो हँ साउ तिम्रो ?’ नाजवाफ साहुजी मलिन मुद्रामा मौन हुन्छन्। तर अर्को पुरुषले महिलालाई शान्त हुन निर्देशन दिँदै भन्छन्, ‘सानो कुरालाई ठुलो नबनाऊ। आफ्नै छरछिमेकको कुरा हो। बुढोमान्छेको इज्जतको सवाल हुन्छ। अहिले जाऊ। भरेतिर घरमै छलफल गरौंला’। आफ्नै अगाडि एउटा जघन्य अपराधलाई सामसुम पार्न खोजेको आभास पाएपछि ‘घटना बाल यौन दुव्र्यवहार जस्तो छ, पहिले प्रहरीलाई खबर गर्नुस्, अनि मात्र अरू छलफल गर्नुस् है !’ भनेर चेतावनी दिन्छु। अनि महिलालाई आवश्यक सल्लाह दिएर आफ्नो बाटो लाग्छु।

समाजमा यस्ता घटना दोहोरिइरहन्छन्। स्त्री जातिमाथिको ज्याजती पुरुषहरूको सार्वभौम अधिकार ठानिने पितृसत्तामा यौन हिंसा त झन् सामान्य मानिन्छन्। अझ यस्ता हिंसाविरुद्ध मुख खोल्न आफ्नै इज्जतमाथि धावा बोल्ने साहस बटुल्नुपर्छ महिलाले। पीडककै मानसम्मान र रवाफ जोगाइदिन मौन बसिदिनुपर्छ पीडितले किनभने पीडितको पीडाभन्दा अपराधीको इज्जतको चिन्ता धेरै गर्छ समाजले।

संयोग नै भनौं, यतिबेला एक जना चर्चित सिनेकर्मी नाबालिका बलात्कार मुद्दामा केही महिनादेखि जेलमा छन्। हालसालै अर्का एक क्रिकेटर पनि त्यस्तै केसमा केन्द्रीय कारागार पुगेका छन्। यी घटनापछि मुलकभित्र ठुलै कोकोहोलो मच्चिएको छ। अपराध र आपराधिक प्रवृत्तिभन्दा पनि अपराधमा संलग्न व्यक्तिको सामाजिक हैसियतलाई लिएर समाजलाई उद्वेलित बनाउन खोजिएको छ।  

एकातर्फ बलात्कार विरुद्धका कानुन र अनुसन्धान प्रक्रिया अझै अपर्याप्त छन्। विभिन्न बहानामा दोषी उम्कन सक्ने कानुनी छिद्र कायमै रहेकाले समय र प्रविधिसापेक्ष परिष्कृत गर्दै थप कठोर बनाउन आवश्यक ठानिएको छ। अर्कोतर्फ समाजको पितृसत्ताको पीडा बेग्लै छ। बलात्कार कानुन नेपालमा पूर्णतः पुरुषद्वेषी बनाइयो। ‘मन मिले मस्ती, नमिले जबरजस्ती’ हुने कानुनी प्रावधानले कुनै पनि पुरुष बलात्कारी हुनबाट बच्न सक्ने अवस्था रहेन। कानुनका यी प्रावधानहरू नसच्याउने हो भने देशका सबै जेलहरू पुरुषहरूले भरिने खतरा भयो। अझ ‘हाइप्रोफाइल पुरुष पर्सनालिटिज’ त झन् छानीछानी षड्यन्त्रको सिकार हुने तर्क यो पंक्तिको छ।  

तर यथार्थ त्यस्तो छैन। तथ्यहरू भन्छन्– संसारभर महिलाको सुरक्षा चुनौतीपूर्ण छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक तिहाइ महिलाहरू यौन हिंसाको सिकार हुन्छन्। अर्को एक तथ्यांक भन्छ– दुनियाँमा प्रत्येक चार सेकेन्डमा एक महिला बलात्कृत हुन्छिन्। नेपालमा सन् २०१७ मा दर्ता भएका यौन हिंसाका मुद्दामध्ये ४९ प्रतिशत १६ वर्षमुनि उमेरका बालिका थिए। जसमध्ये २२ प्रतिशत बलात्कार नातेदारबाट तथा ४५ प्रतिशत छिमेकीहरूबाट हुने गरेको तथ्यांक छ। नेपाल प्रहरीको पछिल्लो रिपोर्टअनुसार आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा १ हजार ५ सय ६० नाबालिका बलात्कारका मुद्दा दर्ता भएका छन्। विभिन्न अनुसन्धानबाट सार्वजनिक यी तथ्यांकहरू समाजका प्रतिष्ठित पुरुषहरूलाई फसाउन गरिएका प्रपञ्च मात्र पक्कै नहोलान्। बरु समस्याको समुद्रमा देखिएका ‘टिप अफ आइसवर्ग’ अवश्य हुन्। किनभने हाम्रो सामाजिक संरचनामा कैयौं अपराध कार्पेटमुनि लुकाउने परम्परा अध्यावधि कायमै छ।

यसै पनि बलात्कारको मामलामा हाम्रो समाज पुरातन छ। जहाँ महिलाको योनीभित्र पुरुषको लिंग जबरजस्ती घुसाइएको विषयलाई मात्र बलात्कार मानिन्छ। अधिकांश यौनजन्य दुव्र्यवहारलाई सामान्य ठानिन्छ। अझ मानसिक हिंसादेखि बाध्यात्मक मौनतासम्म अनि भद्र असहमतिदेखि अरण्य रोदनका सबै प्रयासलाई त तपसिलका विषय बनाइन्छ। समाज भन्छ, महिलालाई कुनै पुरुषले एक्लै वा सामुहिकरूपमा लछारपछार गर्दै जबरजस्ती यौन सम्पर्क गर्छ भने त्यो बलात्कार हो। तर बिनाभौतिक प्रतिरोध भएको यौन सम्पर्क कसरी बलात्कार हुन्छ ? कसरी जबरजस्ती हुन्छ ? बलात्कार हुँदा त महिलाको योनीलगायत शरीरका अन्य भागमा समेत घाउचोट लागेको वा शरीरमा लगाएको कपडा च्यातिएको हुनुपर्छ। किनभने त्यहाँ भौतिक द्वन्द्व भएको हुन्छ। बालिका हो भने कन्याजाली फाटेको, क्षतविक्षत भएको वा यौनाङ्गबाट रक्तश्राव भएको प्रमाणहरू भेटिनुपर्छ। महिलाको योनी, शरीर वा वारदात स्थलमा पुरुष विर्यको अंश भेटिनुपर्छ। जसका लागि घटनालगत्तै प्रहरी रिपोर्ट गरिएको हुनुपर्छ। तर घटना घटेको कैयौं दिन, हप्ता या महिनापछि कुनै पुरुषका विरुद्धमा लिखित उजुरी वा मौखिक बयान दिएकै भरमा कसरी बलात्कार ठहर हुन्छ ? नियतवश कुनै पुरुषको चरित्र हत्या गर्न वा स्वार्थप्रेरित भएर गरिने यौन हथकण्डा कसरी बलात्कारको परिभाषाभित्र पर्छ ? सतहबाट हेर्दा बजारमा सुनिने यी तर्कहरू जायजजस्ता लाग्छन्।  

नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ को करणीसम्बन्धी कसुरको दफा २१९ ले भन्छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।’ त्यसैगरी योनी, गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंगबाहेक अन्य कुनै वस्तु प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ। ‘असहमतिमा गरिने कुनै पनि यौनजन्य कार्य जसमा यौन सम्बन्ध भएको हुँदैन। जस्तोः करणीको प्रयास, जबरजस्ती म्वाइँ खानु, सुम्सुम्याउनु, नचाहेको बखतमा धक्का दिनु, जबरजस्ती छाती, तिघ्रा, योनी आदिमा छुनु र महिलाको यौनाङ्ग काट्नु वा छेदन गर्नुलाई’ यौनजन्य दुव्र्यवहारका रूपमा परिभाषित गरिएको छ।

सजाएको हकमा १८ वर्षमुनिका नाबालिकाको मुद्दामा करणी गर्दाको परिस्थिति र नाबालिकाको उमेर हेरी १० वर्षदेखि जन्मकैदसम्म र १८ वर्षमाथि अर्थात् बालिग महिलामाथिको बलात्कार प्रमाणित भएमा ८ देखि १० वर्ष तथा यौनजन्य दुव्र्यवहार प्रमाणित भएमा तीन वर्ष कैदको व्यवस्था छ।  

बलात्कार मुद्दामा महिलाको मौनता र प्रतिरोधको विषय जबरजस्त रूपमा उठ्छ। खासगरी ‘मौनम स्वीकृति लक्षणम’ को प्रसङ्ग कानुनी तर्कहरूसँग मिसमास भएर आउँछ। पुरुषसँग किन भेटेको, किन साथी बनाएको, किन सिनेमा गएको, किन कफी खाएको, किन फोटो खिचेको ? आदि प्रश्नहरू यसरी उठाइन्छ कि ती कर्म गर्ने छुट महिलालाई छँदै छैन। अझ आफूमाथि यौन हिंसा वा बलात्कार भइरहँदा महिला किन चिच्याइन, किन हारगुहार मागिन, किन प्रतिवाद गरिन ? घटनापछि किन चुपचाप बसी ? किन तुरुन्त प्रहरीकोमा गइन ? भन्ने प्रश्नहरू जोडतोडले उठ्छन्। जसको वस्तुगत उत्तर खोज्न जरुरी छ।

पहिलो कुरा, कुनै पुरुषसँग भेट्नु, गफिनु, सिनेमा जानु, फोटो खिच्नु वा कफी खानु अथवा कुनै केटाप्रति आकर्षित हुनुको अर्थ महिलाले आफू बलात्कृत हुन स्वीकृति दिएको होइन। यो हाम्रो सोचको सङ्कीर्णता हो। जसरी पुरुषहरू महिलासँग भेटेर गफिन चाहन्छन्, घुम्न, रमाउन चाहन्छन् त्यस्तै चाहना महिलाले राख्नु प्रकृतिप्रदत्त स्वभाव हो। कुनै अपराध होइन। तर यस्ता भेटघाटको मञ्जुरीलाई नै कुनै पुरुषले यौन सम्पर्कको लाइसेन्स ठान्छ वा यौन प्रस्ताव नै ठान्छ भने त्यो उसको दृष्टिदोष हो। आपराधिक मनोविज्ञान हो। यो सोच बदलिन जरुरी छ।  

दोस्रो कुरा, अपवादबाहेक कुनै पनि बलात्कारका घटना जम्काभेटमा हुँदैनन्, योजनाबद्ध हुन्छन्। अचानक सोच्दै नसोचिएको घटना घट्दा कुनै पनि महिला मनोवैज्ञानिक ‘सक’ मा पुग्ने वा ‘फ्रिजिङ’मा जाने कुरा त विज्ञानसम्मत नै भयो। त्योबाहेक घटनाको योजना कालभर पीडित महिलामथि अनेक प्रलोभन, परिबन्द, झुटा आश्वासन, धाकधम्की, डर, त्रास, षड्यन्त्र, चेतावनीदेखि इमोसनल ब्ल्याकमेलिङलगायतका तमाम हर्कतहरू भएका हुनसक्छन्। घटना सार्वजनिक गरेमा छलछाम गरी खिचिएका फोटो भिडियोहरू सार्वजनिक गरिदिनेदेखि भौतिकरूपमा शरीर नै अंगभंग गरिदिने, एसिड छ्याप्नेदेखि ज्यानै लिनेसम्मका धम्कीहरू दिइएका हुन सक्छन्। अक्सर पीडकको हैसियत समाजमा पीडितको भन्दा बलियो हुन्छ। पीडकबाट जतिबेला जेपनि हुन सक्छ भन्ने त्रास र मनोवैज्ञानिक दबाब पीडितलाई हुनु स्वाभाविकै हो। जसले गर्दा पीडित कैयौं दिन, हप्ता, महिनौं वा वर्षौंसम्म विक्षिप्त भएर मौन रहन सक्छ। वयस्कहरूलाई त जोखिम उठाउन मुस्किल पर्ने यस्ता घटनामा नाबालिगहरूको हालत के हुन्छ होला ? यस्तो परिस्थितिमा पीडितले प्रहरी वा अदालतसमक्ष दिने बयानभन्दा अर्को बलियो प्रमाण के हुन सक्छ ? कैयौं पीडितले त मौनता तोड्ने हिम्मत नै गर्दैनन्। सहेरै बस्छन्। तर जसले हिम्मत गर्छन् उनीहरूलाई स्याबासी दिएर सकेको सहयोग गर्नुको सट्टा कसैलाई फसाउन खोजेको षड्यन्त्रकारी देख्ने अनि धारे हात लगाउने हाम्रो समाजको दोहोरो चरित्र आफैमा विरोधाभाषी भएन र? 

प्रकाशित: २३ कार्तिक २०७९ ००:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App