coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सोह्रौं राष्ट्रिय विभूति फाल्गुनन्द महागुरु

‘प्राचीन मुन्धुमशास्त्र, लिपिशास्त्र, किरात धर्म दर्शनशास्त्र किराती जनजातिहरूले बिर्सेकाले पुनः स्थापना गर्न म अवतरण भएको हुँ’ भन्ने ईश्वरवाणीदेवका महागुरु फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते आइतबार प्रदेश नं. १ माङसेवुङ गाउँपालिका तत्कालीन चारखोला इलाम इभाङ चुक्चिनाम्बा डाँडागाउँमा भएको हो।  

पिता जगनबाज, माता हंसमति बेघाका साहिँला सुपुत्रका रूपमा जन्मान्तरण भयो। सुत्केरी आमाको स्तनमा खटिरा निस्केकाले जन्मदिने माताको दुध खानपिउन नपाएका नवशिशुलाई कालो बाख्राको दुध खुवाउँदै हुर्काउने र पालनपोषण गर्ने काम भयो। केही दिनमै आमाको स्वर्गारोहण हुनाले नवशिशु बालक टुहुरो भयो। विमाताबाट पालनपोषण हुँदै बाख्राको दुधले हुर्कन बाध्य शिशुको नाम अनुराधा नक्षत्रको प्रथमपाउ ‘न’ बाट नरधोज लिङदेन राखियो। बाल्यकालमा रक्षाबन्धनका लागि फलामको चुरा लगाएकाले फलामसिं फलामे कालान्तरमा फाल्गुनन्द नामले प्रख्यात हुनुभयो।  

सेत्छेनेसेनिहाङ याक्थुङ लिम्बु लिङदेन कुलवंशको परिवारलाई गरिबीका कारण गाई बाख्रा चराउनु, खेतिपाती गर्नु सिवाय जीवन धान्ने अर्काे विकल्प थिएन। जन्मसिद्ध मदमंस, जाँड–रक्सीमुक्त शाकाहार–फलाहारले जीवन व्यतीत गर्नुभएका तपस्वीको जीवनवृतान्त वैराग लाग्दो छ। माईपारी गाईगोठमा रासन पुर्‍याउने क्रममा सौतेनी आमाले चामलभित्र बालकले थाहा नपाउने गरी मासु बोकाई पठाउँथिन्। बुबालाई भेट्न जाँदा माईखोला तर्नासाथ बिरामी भएका फलामसिं बुबाको नजर हुनासाथ सौताछोरालाई बिरामी भएको वास्ता पनि नगरी किन पठाएको भनी मनमनमा सम्झिँदै बोकेर घर ल्याए। गाउँ घरको चालचलन धामी, झाँक्री उपचार गर्दा पनि निको नभएका बिरामी एकरात मध्यरातमा एक्कासी उठेर बेपत्ता भएछन्। खोजतलासका क्रममा रातभरि अनुसन्धानमै उज्यालो भयो। बिहान प्रभातकालमा पाइला पछ्याउँदै जाँदा देवमाई, मेक्वामाई, माई त्रिदोभान संगमस्थल फुल्लुङ्गी पुण्य भूमि खत्रक्पामा भेटिए। सोधनी गर्दा रातभर दैविक घटेको घटना वर्णन गरे।  

खत्रक्पा खोल्सी छेउमा साँझ कुराबासिं वृक्षमा दिव्यपुरुष देवदूतले उभ्याएर खुट्टामा खोस्रेर दाना रोपेझैं गरेपछि लहरा सुरुरु उम्रेर रुखसँगै बाँधेर सोध्यो।  

देवदूत   – मलाई चिन्यौं ?  

फलामसिं  – अहँ चिनिनँ।  

देवदूत   – किन अपमान गरिस् ?  

फलामसिं  – मैले जानिनँ, गल्ती गरें।  

देवदूत   – पूर्वजन्मको ज्ञान बिस्र्याे ?  

फलामसिं  – बिर्सें, केही थाहा छैन।  

देवदूत   – राम्रो सम्झिनु, थाहा पाउँछौ।  

फलामसिं  – अहँ, केही सम्झना छैन।  

देवदूत– ए, अज्ञानले ढाके छ, अन्जानले मासु बोकेर किन माईखोला तरेको हो ? ऊ परमेश्वरसँग माफी माग भनी अदृश्य भएपछि, बाँधिएको बन्धन छुट्टिएर बिमार हटें। पीडा निको भई खोलामा पसें। देव बाजागाजा बजानामा सुन्दरीमाता तागेरानिङ वाभूमाङ ईश्वरको साक्षात्कार देवदर्शन भई आकाशमार्ग स्वर्गबाट ज्ञानज्योति शब्दाक्षर र मुन्धुम मोक्षज्ञान शास्त्रहरू बिजुलीको चम्कनासरि झर्दै सबै मुखमा आँ... पस्यो। जलसमाधि, थलसमाधि, ज्ञानसमाधि, सिद्धात्मा, देवात्मा, महात्मा, ज्ञानात्मा पाएका महाज्ञानीका कुराकानी सुनेपछि आश्चर्यमानी यी ऋषिमुनि मुहिगुमअङसिमाङ हुनेरहेछन् भनी अड्कल गरी घरमा ल्याए। यस दैविक दर्शन सिद्धिशक्ति पश्चात घरिघरि बारबार यस्ता घटनाहरू दोहोरी तेहरिरहेको जीवनीमा उल्लेख छ।  

बाबुआमा भुटान बसाइँ गए पनि फलामसिं गएनन्। काकाकाकीसँग सँगै बस्दा खाना खाने मांसहारी र शाकाहारी आहारा नमिल्दा भिन्न छुट्टिई बसेका फलामसिंको अंशवण्डा खोल्सीनेर दिए।  

झोडी जंगलको ३ रोपनी लेछेबुङबारी, माटाको हन्डी, खुर्पा, हँसिया, कोदालो, २ माना पिठो, ५ झुत्ता मकै, कराही अंश पाएपछि एक्लै बसे। बनीबुतो गरी कुखुराको चल्ला हुर्काउँदा सर्प, स्यालले मारी खान्थे, नोक्सान हुन्थ्यो। एकपटक कुखुरा बेच्न दार्जिलिङ जाँदा नाम्सालिङमा चिप्लेर कुखुरा खुँगीले थिचेको प्रसङ्ग रोचक छ। शिक्षादीक्षा नलिएका केवल जप, तप, ध्यान, ज्ञान, आत्मज्ञान परमात्मज्ञानबाट किरात धर्मावलम्बी तथा मानवमात्रलाई मोक्ष मन्त्र निर्माताले मुन्धुम शास्त्र प्रतिपादन गर्नुभयो। १९८८ वैशाख २४ गते नेपालको प्रथम धर्मसभा पाँचथर लब्रेकुटीमा बृहत् चुम्लुङ गराई ७ बुँदे सत्य धर्म मुचुल्का लेखेर प्रमाणित गर्दै ७–७ गोटा मन्दिर निर्माण गर्नुभयो। सत्यआहार, सत्यविचार, सत्यधर्म, सत्यकर्म, सत्यको मूल उपदेशक हुनाले सत्यहाङमा भनी प्रख्याती पाउनुभयो। दया, शान्ति, अहिंसा र सत्यद्रष्टाले छोराछोरी समान अंशवंश र जातीय भेदभावको अन्त्य गरी मानिसको जात मानिस हो, लैंगिकता मात्र भिन्नता हो भनी मानवीय समानताका महान् दार्शनिकको नाम फाल्गुनन्द विश्वविख्यात कहलिए। रक्तपातपूर्ण बलिपूजा प्रतिबन्ध, जाँडरक्सी, मदमंस निषेध, कुरीति, कुसंस्कार, कुकर्म, कुधर्मको विरोध, सुसंस्कार, सुकर्म, सुधर्ममा आजीवन योगदान, जीवनदान दिने लोक अभियन्तालाई राजद्रोही अभियोग लगाई फाँसीदिने प्रपञ्चले धरपकड गरी श्री ५ त्रिभुवन समिपमा नेलकडीसहित हाजिर गराउँदा फूलखजाना राजाको हातमा चढाउँदा नेलकडी खत्रक भुइँमा खसेको आश्चर्य लाग्दो घटना घटेको पाइन्छ।  

तिल, जौ, सुन, चाँदी, कुश, दुबो, ढुङ्गो अनि मुन्धुमजस्ता शास्त्रअस्त्रबाट मानव मात्रको शान्ति, विश्वशान्ति ब्रह्माण्ड शान्ति गर्न सकिन्छ भन्ने महाज्ञानका महागुरु त्रिकालज्ञलाई किरात धर्मका संस्थापक ईश्वररूपी भगवान् मानिन्छ। देवविद्या, राजविद्या, ब्रह्मविद्या, योगविद्या, चतुर्थविद्या र काम, अर्थ, मोक्ष, धर्मरूपी चतुर्थ पुरुषार्थका महान् दार्शनिकलाई २०६६ मंसिर १६ गते सोह्रौं राष्ट्रिय विभूति घोषणा गरियो। हुलाक टिकट, कक्षागत जीवनी पठनपाठन, १५० गोटाभन्दा अत्यधिक मठमन्दिर र प्रतिमा स्थापना, जापान, अष्ट्रेलिया, युरोप, अमेरिकासम्म किरात धर्मको संघ संगठन फाल्गुनन्द दर्शन विश्व व्यापीकरण भई किरात धर्म राज्यको तेस्रो श्रेणीमा स्थापित छ।  

उहाँको यही २०७९ कार्तिक २५ गते १३८ औं जन्म जयन्ती विश्वव्यापीरूपमा मनाइरहेका बेला ताप्लेजुङ तोक्मेडाँडामा फाल्गुनन्द प्रतिमा अनावरण र उहाँको पुनवातार आत्मानन्द धर्मगुरु र गुरुआमा पवित्रहाङमाको आगमनका अवसरमा प्रमुख अतिथि प्रदेश प्रमुख परशुराम खापुङ आउनुहुने भएको छ। यस पुण्यतिथि १३८ औं महागुरु फाल्गुनन्द जन्मजयन्तीले जलशान्ति, थलशान्ति, आकाशशान्ति, वायुशान्ति, अग्निशान्ति, मानवशान्ति, विश्वशान्ति, ब्रह्माण्डशान्तिका लागि परमात्मा परमेश्वर तोेरानिङवाभुमाङले सबैको शुभ कल्याण गरून् भनी रक्षार्थ माङसेवा प्रार्थना गर्दछु। किरात धर्मको जय होस् ! महागुरु फाल्गुनन्द अमर रहून्।

प्रकाशित: २० कार्तिक २०७९ ००:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App