१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
विचार

कमलादीमा मण्डले!

लप्पनछप्पन उति नजान्ने जनजातीय संस्कृतिमा हुर्किएका यी सोझा र इमानदार बैरागी बूढालाई आफ्नो छानोमुनि दुई थान मण्डले घुसेको थाहै छैन कि?


कमलादी, प्रज्ञा प्रतिष्ठान र मण्डलेको नाता पुरानो हो। यो अप्रीतिकर नाता जब सम्झन्छु, मेरो आहत मानसमा छयालीस साले मण्डले ताण्डव नृत्य गर्न थाल्छ। शाही दमनचक्रमा परी जनआन्दोलन सुस्ताउन लागेको याम थियो त्यो। आन्दोलनमा प्राणवायु सञ्चार गर्न हामी विविध विचार प्रवृत्तिका लेखककलाकार जुर्मुरायौँ। हाम्रो गोलोमा त्रियासी वर्षीय बृद्ध तर सशक्त युद्धप्रसाद मिश्र पनि थिए। र, कलिली तर जोसिली पन्ध्र वर्षीया सुम्निमा तुलाधर पनि थिइन्। कमलादीको शाही प्रज्ञा प्रतिष्ठान शाहवंशीय राजतन्त्रको अखण्ड महिमा मण्डन गर्ने केन्द्रीय थलो थियो। र, थियो त्यो शाह वंशीय निरङ्कुश राजालाई देवत्वको उचाइमा उकास्न भ्रान्तिकारी मिथक, प्रतीक र नानावली प्रपञ्च उत्पादन गर्ने ऊर्बर कारखाना पनि। हामीलाई लाग्यो, विमति र विरोध मञ्चन गर्ने उपयुक्त थलो त्यही हो।
तिनताका शाही कुलपति थिए, लोक लय र छन्दका अद्भूत शिल्पी श्री माधवप्रसाद घिमिरे। ढुङ्गामूढा र हुलहुज्जत हाम्रा हतियार थिएनन्। कला साधनाको हाम्रो धर्मले यस्ता हतियारलाई स्वतः निषेध गर्थ्यो। हाम्रो आग्रह केबल नागरिक हक र अभिव्यक्ति स्वतन्त्रता थियो। फलानो चोर, देश छोड् हाम्रो दाबी थिएन। लेखक कलाकारको शिष्ट, सौम्य र संयमित विरोध प्रदर्शनलाई ठाउँ दिन कुलपति घिमिरेले द्वार खोलिदेलान् भन्ने कत्रो आशा थियो। तर, खोलिदिएनन्। तिनले त बरु शाही प्रज्ञा परिसरमा मण्डले जत्था पो तैनाथ गराए। सुन्यौँ, जत्था इँटा थुपारेर हामीलाई अन्धाधुन्ध भकुर्न तम्तयार छ। जत्थाका सुनिजानेका नाइके थिए, अशोक शर्मा। यिनै अशोक शर्मा जो अहिले देहमा जादूगरी सांस्कृतिक रुपान्तरणको गहुँत छर्किएर चोखा भई माओवादीमा भित्रिएका छन् भन्ने सुनेर म अट्टहासको हाँसो हाँस्छु।
यो भयो शाही मनपरीतन्त्रको हिजोको कथा। यसबीच शाह राजा सदाका लागि सत्ताच्यूत भए। झिनै भए पनि आशा थियो, राजतन्त्रसँगै मण्डले पनि सदाका लागि किनारा लाग्यो क्यार। तर, अहिले जब गणतन्त्र नेपालको पहिलो प्रज्ञागण भर्ती भयो, त्यहाँ एउटा मण्डले मखलेल मुद्रामा दृष्टिगोचर भयो। त्यो देखेँ, र म स्तव्ध भएँ। प्रज्ञागणको संरचनाको आरसीसी ठोकिएको दह्रो छानो छ। प्रतीकमा छानो बैरागी काइँला बनेका छन्। मातेको मान्छेको भाषणमा यिनले धेरै अघि साङ्केतिकरुपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्घोष गरेका थिए। ज्ञानतन्त्रविरोधी सडक आन्दोलनमा लेखक-कलाकारका सर्वमान्य अगुवा भएर यी सन्म्ाान्य बूढा सगौरव उभिएका थिए। अहिले प्रज्ञाको शोभायमान छानो यी छन्। विडम्बनावश, छानोमुनि सांस्कृतिक र नैतिक प्रदूषण फैलाउन एक भयङ्कर मण्डले उपस्थित भएका छन्।
मान्छे पूर्वेली कुमाई हुन्। कदका होचा छन्। वर्ण गोरो छ। सुनेको थिएँ, कतै कलेजमा पढाउँछन् वा प्रशासनको कुर्सीमा बसेर छोटा खुट्टा हल्लाउँछन्। प्रज्ञा प्रतिष्ठानमा यिनलाई जब देखेँ, यिनको निकट अतीत मेरो नैतिक नाकमा डुङ्डुङी गनायो। ज्ञानेन्द्रको फौजी हैकमको जगजगी थियो। भयावह दमनचक्रमुनि सर्वत्र व्याप्त थियो चित्कार र कोलाहल। यी कुमाई हात मल्दै शाही मन्त्री राधाकृष्ण मैनालीको द्वारमा आशीर्वाद माग्न गए। यिनलाई पूर्वाञ्चल विश्वविद्यालयको शाही उपकुलपति बन्न उखर्माउलो रहर लागेको थियो। उस्तैउस्ता एक होऔँको मुद्रामा आरकेले यिनलाई आशीर्वाद दिए। र, यिनलाई डोर्‍याउँदै फौजी राजाका मुख्य सचिव पशुपतिभक्त महर्जनका पावन चरणको दर्शन गराउन लगे। महर्जनलाई नवोदित मण्डले खुबै मन पर्‍यो। तिनले तथास्तुको भाकामा यिनलाई वरदान दिए। तर, दैवदशाले गर्दा विग्रहकारी तत्वले यिनको भाग्यमा धमिरा लागाइदिए। कुरो स्वादको छ। केसी थर भएका र नामको अगाडि डाक्टरको अलङ्कार टाँसेका एक छिप्पट मण्डले रहेछन्। नवमण्डलेको दाउ देखेर ती फायर भएछन्। र, महर्जनको टेबुल ठोक्दै तिनले उग्र गर्जन गरेछन् - मजस्तो सनातनी बफादार मण्डले छँदाछँदै मेरो भाग हर्न आउने को हो त्यो भगुवा भतुवा? बस्, यसरी अखण्ड चाकरीबाट बन्न लागेको कुमाइ कान्छाको भाग्य भष्मखरानी भएछ।
अहिले यी कान्छा मण्डले सेरोफेरोको परिवेशमा प्रदूषण छर्दै प्रज्ञामा झुल्किएका छन्। जमाना समानुपातिक/समावेशीको छ। कुमाइ कान्छा पञ्च पार्टीको रोजाइमा परेछन् भन्ठानेर चित्त बुझाएँ। तर, चित्तको भित्तोमा मण्डले गन्हाउन छाडेन। नयाँ नेपालको नयाँ संस्कृति र नयाँ सभ्यताको खाका खिच्ने गरिमामय संस्थामा पुरानो मण्डले? मलाई झोँक चलिरह्यो। सोचेँ, नवनियुक्त प्राज्ञले प्रश्न गर्लान् - हामी ठीकैका अण्डाको बीचमा मण्डलेको भेषमा यो कुहेको अण्डा कसरी आयो? यसले हामीलाई कुहाउन के बेर! कि यो कुहेकालाई हटाऊ, कि हामी हट्छौँ। निकै दिन पर्खिएँ। कुनै अण्डाले मुख खोलेन। बबुरा-बबुरीलाई कत्रो यत्नले पाएको कुर्सी गुमाउन मन लागेन होला!
एक दिन चिया पसलमा एकजना एमाले कविले परिहासको भाकामा भने - दाइ, त्यो हाम्रो मण्डले हो, हाम्रो महान् गौरवशाली पार्टी नेकपा (एमाले)को महान् मण्डले। सोधेँ, के एमालेमा नमण्डले लेखक छैनन्? छन्, तिनले भने - तर, नाता, जीहजुरी र पैसाका अगाडि कसको के लाग्छ? सम्झेँ, एमाले त्रुटि सच्याउने कलामा विशारद प्राप्त पार्टी हो। ज्ञानेन्द्रको त्रुटि सच्याउने निहुँ पारेर सुस्वादु तृण ज्युनार गर्न शाही टाट्नोमा यो बाँधिएकै हो। त्रुटि सच्याउने विद्याका व्यास माधवकुमार नेपाल आफैँ प्रधानमन्त्री छन्। सके तिनले गङ्गाजल र गहुँत छर्केर कान्छो मण्डलेको त्रुटि सच्याइसकेका हुनन्। तब न मण्डले उच्च प्राज्ञ पदका लागि योग्य ठहरियो होला। मेरो मन्तव्य सुनेर एमाले कवि मुसुमुसु हाँसिरहे। दाइ, तिनले अगाडि भने - प्रज्ञामा मण्डले अर्को पनि छ। त्यो भाषा फाँटको मण्डले हो? हत्तपत्त सोधेँ, त्यो पञ्च पार्टीको भागबाट आएको मण्डले हो? न न, एमाले कविले मलाई तत्वबोध गराए - त्यो पनि हाम्रै एमाले पार्टीको मण्डले हो। ज्ञानेन्द्रकालमा त्यसले निरङ्कुशताको उलिन्काठ घ्याप्पै बोकेको थियो। सुनेर म चकित, विस्मित र हतप्रभ भएँ। नाम छ कति राम्रो नेकपा (एमाले) प्रज्ञा प्रतिष्ठानमा चयन गर्छ दुदुई थान मण्डले। सिद्धान्त, आदर्श र मूल्य भर्सेलै परोस्!
लप्पनछप्पन उति नजान्ने जनजातीय संस्कृतिमा हुर्किएका बैरागी बूढा सोझा र इमानदार छन्। सके यी बूढालाई आफ्नो छानोमुनि दुई थान मण्डले घुसेको अत्तोपत्तै नहोला। त्यसैले मण्डलेगणको कोपभाजन हुने जोखिम उठाएरै भए पनि मैले प्रज्ञाका महान् मण्डले द्वयको खुलासा गरेको हुँ। दलीय भागबण्डाको चुत्थो धन्दाको बाटो गरी यी दुई थान मण्डले प्रज्ञामा घुसिनै सके। अब गर्ने के हो? पुरानो नेपालमा दसैँमा बिष्टहरू दलितलाई कान र पुच्छर भाग लगाउँथे। त्यसैगरी अहिले प्रज्ञा प्रतिष्ठानमा माओवादीलाई दुई थान आसन भाग लगाइएका छन्। दलित माओवादीले ग्रहण नगरे ती रिक्त आसनमा अरू दुई थान मण्डले भर्ती हुने खतरा छ। अहो, मण्डले! देउतालाई चढाएर छिप्पिएको चौपाया बोकोलाई पूर्वतिर डुङडुङे बोको कहिन्छ। दोपाया मण्डले त्यस्तै हो। यसले समस्त सांस्कृतिक परिवेश दुर्गन्धमय बनाउनेछ। प्राज्ञ हजुरहरूबाट यो गन्धको उपचार अब कसरी गरिएला? नाममा नयाँ नेपाल भनिए पनि पुरानो नेपालका रुढिगत विश्वास, संस्कार, रीति र विधि हाम्रा नशानशामा जीवितै छन्। चलिआएको चलन भनेर मण्डले बन्धुका देहमा गहुँत छर्किँदै वा फेदाङवा लगाएर कुचाले तिनको कुहिगन्धे मण्डले संस्कारलाई झार्दै तिनको शुद्धीकरण गर्ने हो कि? गरिने जे हो, हामी जिज्ञासु नागरिकलाई सोको जानकारी त प्राप्त हुने नै छ।

प्रकाशित: १ फाल्गुन २०६६ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %