९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

बाँदर व्यवस्थापन र खाद्य सुरक्षा

यतिबेला नेपालमा खाद्य असुरक्षा बढिरहेको छ। यसका विविध कारण छन् जसमध्ये एउटा क्रमशः वृद्धि भइरहेका बाँदरले उत्पादन खाइदिनु पनि हो। गाउँमा मानिस छैनन्। कोही विदेश गएका छन्। कोही तराई या सहर छिरेका छन्। यस्तो अवस्थामा वृद्धवृद्धा मात्रै गाउँमा बस्न सक्ने कुरै भएन। उनीहरू बसे पनि खेती गर्न सक्ने अवस्था छैन। त्यसैले गाउँघरमा कोही नभएपछि वन बढ्ने नै भयो। वन बढेपछि स्वतः जनावर बढ्ने नै भए। बढ्दो जनावरले आफ्नो खानाका लागि सीमित मात्रामा भएको खेतीको उत्पादन खाइदिन थाले। जुन किसानका लागि ठूलो चिन्ताको विषय बनेको छ।

एकातिर हामीसामु जनावर जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन खाइदिने पीडाबाट किसानलाई राहत दिनु पनि छ। जसका लागि राज्यले अन्य जंगली जनावर तथा बाँदर व्यवस्थापन गरी यो समस्याबाट किसानलाई मुक्ति दिलाउन जरुरी छ। जसले बढ्दो खाद्य असुरक्षाबाट नेपालीजनलाई मुक्ति दिलाउन सघाउन सक्छ।

सबैभन्दा मुख्य कुरा यस्तो समस्या सबै ठाउँमा नभएकाले जहाँ जहाँ छ, त्यहाँका स्थानीय सरकार जागरुक हुनुपर्छ। यसका लागि उनीहरूले आवश्यकता अनुसार बाँदर व्यवस्थापनका लागि बजेट विनियोजन गर्नुपर्छ। त्यसपछि स्थानीय बासिन्दा र पीडित कृषकको सहयोगमा बाँदर नियन्त्रण गर्न लागिपर्नुपर्छ।

वास्तवमा बाँदर गाउँ पसे भनेर कोकोहोलो मच्चाएर मात्र हुन्न। उनीहरू किन गाउँ पसे भन्नेबारे अध्ययन आवश्यक छ। यसरी अध्ययन गरेर योजनासाथ अघि बढ्ने हो भने अहिले गाउँ पसेका बाँदरलाई जंगलमै फर्काउन गाह्रो छैन। उसका आवश्यकता वा उसले जेका लागि गाउँ रोजेको हो, त्यही कुरा जंगलमै व्यवस्था गरिदिने हो भने बाँदर हाम्रो गाउँभन्दा प्राकृतिक जंगलमै रमाउने पक्का छ। किनकि गाउँ छिर्नु उसको रहर हैन, बाध्यता हो।

भनाइको मतलव बाँदरलाई उसको बासस्थानमा फर्काउन उसका लागि खाद्यान्न जोहो गरिदिनुपर्छ। यसका लागि छिटै उत्पादन दिने र बहुउपयोगी तथा बहुवर्षे फल दिने बिरुवा (जस्तै-किम्बु, टाँकी, जामुनु, जम्बु, फल्लिन्ड, कोइरालो, क्यामुनु, सीताफल) रोप्नुपर्छ। छिटो उत्पादनका लागि डेस्मोडियम, रहरी, ऐँसेलु, स्टाबेरी, ब्ल्याकबेरी बयर, डुम्री, खजुरी, निभारो, खन्यु, पीपल आँप, लिची जस्ता बिरुवा रोप्नुपर्छ।

सामुदायिक होस् या सरकारी वन, किसानका खरपाखा हुन् वा खोरियाको छेउछाउ र खोल्सीहरू, यस्ता बिरुवा छर्ने, रोप्ने वा सार्ने काम गर्न सकियो भने बाँदर त्यतै रम्छन्। जब बाँदर जंगलमै रमाउन थाल्छन्, तब गाउँ जाने आवश्यकता नै पर्दैन। त्यसपछि न बाँदरलाई सराप्नुपर्छ न त बाँदर नै त्राहिमाम हुनुपर्छ।  यो त्यति ठूलो काम पनि हैन। मात्र कृषक, स्थानीय सरकार र सामुदायिक वनका पदाधिकारीहरू थोरै सक्रिय भए पुग्छ।

अझ विशेष गरेर स्थानीय तहको थप भूमिका हुन्छ किनकि यो काम सफल पार्न वनलाई फँडानी, घरेलु पशु चरण र डँढेलोबाट बचाउन सक्नुपर्छ। जुन काम स्थानीय तहको विशेष सक्रियतामा मात्र सफल हुन सक्छ। यदि यसो गर्न सकियो भने निश्चित छ-५ वर्षभित्र बाँदर आफ्नै प्राकृतिक बासस्थानमा फर्कने छन्।

सोझै हेर्दा गाउँ पसेका बाँदर जंगल फर्कने छन् तर यसको अपत्यक्ष फाइदा भने मुलुकको आर्थिक समृद्धिमा पर्नेछ। बाँदर जंगल पसेपछि किसानले खेती गर्ने वातावरण बन्नेछ। यस्तो अवस्थाले उत्पादन वृद्धि भई खाद्य सुरक्षामा सघाउ पुग्नेछ। त्यसैले सबै मिलेर यसतर्फ सोचौँ। समय घर्केपछि थालिएको अभियानले लक्ष्य चुम्ने छैन।

(कृषि वन प्राविधिक)  

प्रकाशित: १६ आश्विन २०७९ ००:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App