५ आश्विन २०८३ सोमबार
image/svg+xml
विचार

मातृदिवसको औचित्य

प्रत्येक वर्ष वैशाख कृष्ण आमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ। मातृदिवस,मदर्स डे, मातातीर्थ औँसी आदि नामले मनाइने यस पर्वको मूल आशय नै माताप्रति आस्था, श्रद्धा वा सम्मान प्रकट गर्नु नै हो।आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढाटाढाबाट सन्तान आमा भएको ठाउँमा आउँछन्। मिठाइ, कपडा र फलफूल दिएर आमाप्रति विशेष सम्मान प्रकट गर्छन्। आफूलाई नौ महिनासम्म गर्भमाधारण गरेर जन्म दिने आमा साँच्चै महान् छिन्। जन्मपछि पालनपोषण गर्ने, हुर्काउने आमा पूजनीय,आदरणीय, सम्माननीय र अनुकरणीय छिन्। आमा, जननी, माता, मातृ, माँ,मदर, मम, ममी आदि नामले विश्वभरि नै परिचित र पूजित छिन्। आमाको त्याग, तपस्या बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ। त्यसैले मातृऋण तिर्न कठिन छ। हरेक छोराछोरीले आमाको ऋण तिर्न नसकिने भएकै कारण आमाप्रति श्रद्धा प्रकट गर्ने गरिएको पाइन्छ।

माताको महिमा व्यापक र गहन छ। ऋग्वेदले उदरमा शरीरको धारण गर्ने माताको महत्व सर्वाधिक रहेको प्रष्ट पारेको छ। 'माता सम नास्ति शरीर पोषणम्' भनेर प्राणीका लागि माताले जस्तो हेरचाह र पोषण प्रदान गर्ने अरु कोही छैन भनिएको छ। जसले जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो मानेको छ। हाम्रो शास्त्र र संस्कारले मातृदेवो भवः भनेर आमालाई देवताका रूपमा सर्वप्रथम पुज्न सिकाएको छ। जीवनका कुनै पनि मोडमा आमाको सम्झना गरिनु स्वाभाविकै हो। 'आपदिमातैव शरणम्' भनेर कुनै आपतविपत् पर्दा हामी सर्वप्रथम आमालाई नै सम्झन पुग्छौँ। दुर्गाशप्तशतीमा मातालाई देवीका रूपमा चित्रण गरेर भनिएको छ– 'या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता।' आमालाई सदैव सम्मान र श्रद्धा गर्नुपर्छ। आमाको अपमान हुने बोली र व्यवहार गर्नु असल सन्ततिको व्यवहार होइन। सन्तान कपुत्र हुन सक्छ तर माता कुमाता हुन सक्दिनन्। त्यसैले शास्त्रमा भनिएकै छ– 'कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति।' घर पहिलो पाठशाला हो भने आमा पहिलो गुरु पनि हुन्। त्यसैले आमाको महत्व र सर्वव्यापकतालाई सामान्य र सीमित दृष्टिले हेर्न मिल्दैन।

त्यसैले बाँचुञ्जेल मात्र नभएर मृत्युपश्चात् पनि आमाप्रति श्रद्धाभाव सम्मान गर्ने प्रचलन नेपाली संस्कृतिमा परम्परादेखि नै चलिआएको छ। आमा हुनेहरु यस दिन आमालाई भेटी मिठाइ, कपडा वा फलफूल दिने गर्छन् भने आमा नहुनेहरु काठमाडौंको पश्चिम दिशामा पर्ने मातातीर्थ कुण्ड पुगेर स्नान गर्छन् जहाँ ठूलो मेला लाग्छ। आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् र श्राद्ध गर्छन्। त्यहाँ रहेको कुण्डमा निश्चलभावले हेरेमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनश्रुति पनि पाइन्छ।

अचेल हाम्रो समाजमा आमाबाबुलाई घृणा गर्ने प्रवृत्ति बढेका कारण बुढ्यौली अवस्थामा सहाराहीन भएर सडकमा माग्नुपर्ने तथा वृद्धालयमा सन्तानको मायाबाट वञ्चित भएर दिन गुजार्नुपर्ने बाध्यतामा छन् कैयन् आमाबा। यसप्रकारको कार्यले आमाप्रतिको आस्था र मानसम्मानमा ठेस पुगेको प्रतीत हुन्छ। समाजमा बाँचुञ्जेल आमाबाबुलाई हेरविचार नगर्ने तर मरेपछि धूमधामले श्राद्ध गर्ने परिपाटी पनि नपाइएको होइन। यो पक्कै पनि नराम्रो प्रवृत्ति हो। अर्कोतिर उच्चशिक्षा अध्ययन र रोजगारीका कारण टाढा टाढा भएका सन्ततिले सामाजिक सञ्जालमार्फत् भए पनि आफ्ना आमाबालाई सम्झने गरेको पाइन्छ। आमा धरतीझैँ सहनशील छिन्। आमाको त्याग, तपस्या, समर्पणका कारण हरेक सन्तति जीवनको गन्तव्यमा पुग्न सफल भएका छन्। हाम्रो सफलता र उन्नतिका पछाडि आमाको हात रहेकै छ। त्यसैले हामीले जीवनभरि जति सेवा गरे पनि आमाको ऋण तिर्न सक्दैनौँ। वर्षमा एकदिन औपचारिकरूपमा आमाको सम्मान गरेरमात्र हुँदैन यहाँ हरेक दिन मातृदिवस बन्नुपर्छ। सन्ततिले आफ्ना आमाबाबुको उचित हेरचाह गर्नुपर्छ। मुखले बोलेरमात्र हुँदैन, व्यवहारमा पनि आमाबाप्रति त्यत्तिकै श्रद्धा, सम्मान, आदर, हेरचाह हुनुपर्छ। उनीहरुको पालनपोषणमा कुनै कमी गर्नुहुँदैन। यसो गर्न सकेमा मात्र हामीले आफ्नो मातृ एवम् पितृऋण तिर्न सक्छौँ। तबमात्र मातृदिवस मनाउनुको औचित्य सार्थक र सान्दर्भिक हुन्छ।

प्रकाशित: २३ वैशाख २०७३ २१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %