आफूअन्तर्गत शिक्षा प्रशासनका कर्मचारीको नियतबारे स्पष्ट भएर पनि नदेखेको र थाहै नभएको अभिनय गरेर भ्रष्ट प्रशासकले चढाएको भेटीमा रमाउने सरकारलाई त्यहाँभित्रको तमाम नियतबारे कसैले शिक्षा दिनुपर्ला जस्तो लाग्दैन। मुहान नै धमिलो भएपछि धारामा शुद्ध पानी खोज्नु भनेको मुर्खता नै रहेछ। शिक्षालाई व्यापार–व्यवसाय बनाएको, निजीकरणलाई प्रश्रय दिएको त शिक्षकले हैन। सरकार स्वयम् नै राजनीतिक पार्टीहरुको प्रतिनिधि हो। शिक्षकलाई राजनीतिमा धकेलेर लडाउने अनि लडिसकेपछि आफैं चिप्लिएर दुर्गति भएको भन्न सक्ने खेलाडीहरु सरकारमा नभएका होइनन्। सक्षम, योग्य र दक्षभन्दा चाकडी, चाप्लुसी, अक्षम एवम् भ्रष्टहरुबाट शिक्षालाई सुधार गर्न खोजियो र गलत बाटो रोजेकै कारणले सरकारी नियतमाथि शंका उब्जेको हो। तथ्यहरुले यही प्रमाणित गरेका छन्। यहाँ दुर्नियतको राज चलेको कुरा जगजाहेर छ, फूलबुट्टा होइन।
यसरी सरकार, राजनीतिकर्मी तथा उच्च शैक्षिक प्रशासकतर्फ फर्किएर त्यस क्षेत्रको नियतबारे चर्चा उठाउँदा शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय तथा कार्यान्वयन तहका संलग्न सबैलाई सुक्ष्म विश्लेषण गर्नैपर्छ। शिक्षक स्वयम् आलोचित भएका छन्। यहाँ शिक्षकहरुको नियतबारे प्रश्न उठाउने गरेको पाइन्छ। जागिरे मनस्थिति बोकेर समय कटाउने अभ्यासमा संलग्न शिक्षकहरुले राजनीतिक झोला बिसाएनन् भनेर आरोप लगाइने गरिएको छ। वास्तविकताभित्र सत्यता छैन भन्न सकिन्न। नतिजा र सरकारी विद्यालयको अवस्थाले आफैं प्रमाणित गरिरहेका छन्। तर सबै शिक्षकमा यो लागु छैन। राम्रो गर्नेहरुको चर्चा बजारमा सुन्न सकिन्छ। प्रशंसा र प्रोत्साहन पनि भएका छन्। यिनलाई सकारात्मक र सुनियतपूर्वक हेरिनुपर्छ।
त्यस्तै विद्यार्थीमा पनि समस्या नभएको होइन। आधारभूत तहबाटै रोजगारमूलक शिक्षा चाहिएको छ। अभिभावक आफ्नो सन्तानले चाँडै आर्थिक उपार्जन गरेको, कमाइ गरेको हेर्न चाहन्छन्। यहाँ देखिएको नियत सफा छैन। पढ्ने, सिप सिक्ने, ज्ञान आर्जन गर्ने समयमा कमाई खोज्ने अभिभावक र त्यही मार्गमा हिँड्ने विद्यार्थी, जसलाई पास चाहिने, ज्ञान र सिप होइन। कक्षा चढ्नुपर्ने, आफ्नो हैसियत र स्तरवृद्धिसँग भन्दा अन्यत्र बढी ध्यान दिने र सारमा नियत नै गलत बोकेको कारणले शैक्षिक स्थितिमा सुधार जटिलता भएको हो। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ जस्ता संस्था सामाजिक भावनाको जगमा बन्ने भएकाले उनीहरुको नियत अलि भिन्न हुन्छ।
त्यहाँ राजनीति र सामाजिक विचारको सेवासहित मिश्रण पाइन्छ। त्यो सुधारमा केन्›ित हुँदैन पनि। बिनाआर्थिक फाइदा समाजसेवा भनेको क्षणिक हुन्छ। ऐच्छिक हुन्छ। त्यति जिम्मेवार पनि देखिँदैन। त्यहाँको नियत अलि भिन्न हुन्छ नै। शिक्षामा प्रत्यक्ष संलग्न अंगहरु शिक्षा प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय र नियत एकै हुनुपर्छ। सफा हुनुपर्छ। हामी राम्रा नियतबाट शैक्षिक सुधारको अपेक्षा गर्छौं।
शिक्षिका, भीमदेव प्रवि, गोकर्णेश्वर नपा, काठमाडौं
प्रकाशित: २२ वैशाख २०७३ २३:५७ बुधबार

