६ माघ २०८२ मंगलबार
image/svg+xml
विचार

विद्रोहको विस्फोट

नांगो पहाडको ढाडजस्तो उडिलो कपालविहीन शिर मुसार्दै सात वर्षअघि उनी काठमाडौँको एउटा सिनेमा उत्सवमा उत्रिए। 'तपाईँका सिनेमामा के हुन्छ?' पर्यटन बोर्डको कौचमा एक्लै भेटिएका प्रख्यात भारतीय निर्देशक गोविन्द निहलानी मेरो कचिल्टो प्रश्नमाथि अपेक्षाविपरीत अत्यन्त गम्भीर भएका थिए। उनले भने, 'मेरा सिनेमामा एउटा अडान हुन्छ। स्वीकार्नुस्, नस्वीकार्नुस्, त्यसले तपाईँलाई निरपेक्ष रहन दिँदै दिँदैन।' नारीप्रधान सिनेमा उत्सवमा '१०८४ की मा' हेरेपछि उनको भनाइ मलाई साँच्चिकै सार्थक लागेको थियो।प्रिय र उत्कृष्ट

त्यसयता प्रिय सिनेमाका रूपमा बारम्बार मैले यो सिनेमा हेरेको छु। प्रिय र उत्कृष्ट एकै कुरा नहुन सक्छन्। प्रिय त्यस्तो चिज हुन्छ जससँग आत्मीयता बोध गर्न सकिन्छ। उत्कृष्टताका मापदण्डहरूसित आत्मीयता महसुस नहुन पनि सक्छ। निहलानीका सिनेमाचाहिँ मेरा लागि उत्कृष्टता र आत्मीयता दुवैका पर्याय हुन्। '१०८४ की मा' बाहेक 'आक्रोश' र 'अर्धसत्य' त्यस्ता सिनेमा हुन् जसले न्याय व्यवस्थाप्रति संवेदनशील सारा मानिसलाई रन्थन्याउँछ। मलाई यसैगरी रन्थनाउने नेपाली सिनेमा 'वासुदेव' पनि हो। 'आक्रोश' को नायक सिनेमाभरि एउटै संवाद बोल्दैन तर अन्त्यमा उसको आक्रोशले पूरै सामाजिक व्यवस्थालाई चुनौती दिन्छ। 'अर्ध सत्य'मा व्यवस्थाले सही मानिसलाई 'नपुंसक' बनाइरहेको मार्मिक कथाले मथिंगल हल्लाइदिन्छ।

पाँचपल्ट भारतीय राष्ट्रिय फिल्म पुरस्कार र पाँचैपल्ट फिल्म फेयर पुरस्कार पाएका निहलानी साहित्यिक कृतिमाथि सिनेमा बनाउन अत्यन्त निपुण मानिन्छन्। म्यागासेसे पुरस्कार विजेता बंगाली आख्यानकार महाश्वेता देवीको उपन्यासमा आधारित यस सिनेमाले बंगालमा नक्सलवादी आन्दोलनको पृष्ठभूमिमा छोरा मारिएपछि एउटी आमाभित्र जागृत न्याय चेतनाको कथा भन्छ। समाजका संघर्षशील वर्गको कथा तिनकै भूमिको स्थानीयता टिपेर कथ्न माहिर महाश्वेताको उपन्यासलाई निहलानीले प्राण भर्ने काम गरेका छन्।

सिनेमाको फ्लासब्याक शैलीले कथालाई मार्मिक तरिकाले उधिन्दै जान्छ। जन्मदिनमै छोरा मारिएपछि मात्र आमा सुजाता चटर्जीलाई थाहा हुन्छ, ऊ त गरिबको राज्य ल्याउन क्रान्तिमा होमिएको रहेछ। थानामा राखिएको छोराको लासको नम्बर हुन्छ, १०८४। आमालाई धोका दिएर परस्त्रीसँग सल्केको बाबु, कुहिएको खानदानी परम्परामा हुर्केर मातेका दाजु, भाउजू, दिदीप्रति ब्राती चटर्जीलाई वितृष्णा थियो। ती थोत्रो रीतका दास थिए। ऊ आमालाई असाध्यै माया गर्थ्यो जसका कारण घर छाड्न सकेको थिएन। छोराकी प्रेमिका नन्दिनी, छोरासँगै मारिएका साथी लाल्टु र सोमुकी आमालाई भेटेपछि सुजातालाई लाग्छ, उनी त तथाकथित पारिवारिक आदर्शको बन्दीमात्र रहिछन्। प्रहरी यातनाले विचरी नन्दिनीको आँखाको ज्योति गुमिसकेको थियो तथापि ऊ अत्याचारी व्यवस्थाविरुद्ध लड्न समर्पित थिई। यस प्रसंगले आमाको साँघुरो र स्वार्थी परिवेशको पर्खाल गर्ल्यामगुर्लुम ढालिदिन्छ। सिनेमामा त्यो प्रसंग अत्यन्त प्रभावशाली छ जब घरमा छोरीको स्वयम्बरको भोज चलिरहेको हुन्छ र आमाभित्र यो पाखण्डविरुद्ध अर्को युद्ध चलिरहेको हुन्छ। के ब्राती चटर्जीले यस्तै कामचोर, स्वार्थी, लम्पट र लुटाहाहरूको मोजमज्जाका लागि आफूलाई बलिदान गरेको थियो? होइन। उसले त गरिबको न्यायपूर्ण राज्य ल्याउन खोजेको थियो। आफैँभित्र एउटा युद्ध लड्दालड्दै आमा अचेत भएर ढल्न पुग्छिन्। जति पटक हेर्दा पनि यस दृश्यमा मेरो चेतना टक्क रोकिन्छ र सासै थुनिएलाझैँ हुन्छ। म त्यसैत्यसै भावविह्वल हुन्छु।

विद्रोहको विस्फोट

नेपालका महान् गद्यकवि गोपालप्रसाद रिमालले लेखेका छन्–
एक जुगमा एक दिन एक चोटि आउँछ
उलटपलट उथलपुथल हेरफेर ल्याउँछ।

अन्याय सहनेले एक हदसम्म सहन्छन्। तर, उनीहरूभित्र बिस्तारै ज्वालामुखी उम्लिरहेकै हुन्छ। जब व्यवस्था सर्वांग नांगो भएर उनीहरूको शिरमाथि गिर खेल्न थाल्छ, एक दिन तिनीहरूभित्र उम्लिरहेको ज्वालामुखी विस्फोट हुन्छ। त्यो कहिले वर्गीय युद्धका रूपमा प्रकट हुन्छ, कहिले आत्मसम्मानको युद्ध बनेर विस्फोट हुन्छ। राणाशाहीको अन्ध सत्ताविरुद्ध ००७ सालको क्रान्ति भयो। पञ्चायतविरुद्ध जनआन्दोलन र ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्ध अप्रिल आन्दोलन भयो। जनआन्दोलनले प्रजातन्त्र पुनर्स्थापना गर्योव। अप्रिल आन्दोलनले गणतन्त्र र धर्मनिरपेक्ष राज्य ल्यायो। यही गणतन्त्रभित्र पनि मधेस आन्दोलनले संघीयता ल्यायो। संघीयताभित्र पनि आत्मसम्मान पुनर्बहालीका लागि मधेसी र जनजातिहरू पहिचानको आन्दोलनमा होमिएका छन्। निरपेक्ष विरोध वा समर्थन दुवै गलत हुन्। तिनले हाम्रो मूल्यांकन पद्धतिलाई नै एकांगी बनाउँछन्। दुःखको कुरा, हाम्रा सत्तासीन यसबाट माथि उठ्न सकेनन्। स्वघोषित राष्ट्रवादीहरू मधेसी भन्नासाथ तिनको स्वाभिमानमाथि अराष्ट्रियताको कोर्रा हान्न थालिहाल्छन्। जातवादी राजनीतिको कोर्रा चलाउने सत्तासीनहरू आत्मसम्मानको समान अधिकार खोज्ने पहिचानको आन्दोलनलाई जातीय भनेर बदनाम गर्न खोज्छन्। कालाबजारियाका भरमा जसको सत्ता टिकेको छ, उसले सिमानामा बस्दाको यावत दुःख भोग्ने मधेसी समुदायलाई अराष्ट्रिय भन्नु र पहिचानवादी आन्दोलनलाई जातीय भन्नु सुहाउने कुरा होइन। पहिचानसँग विद्रोहको अर्को विस्फोट हुन बाँकी नै छ। त्यो हो, नाफाखोरहरूको कालाबजारविरुद्ध आन्दोलन।

न्याय चेतना

न्यायको चेतनाले मान्छेलाई निडर र आत्मिकरूपले शक्तिशाली बनाउँछ। निहलानीको सिनेमामा आमा सामाजिक न्यायका पक्षमा सक्रिय हुँदै जान्छिन्। न्यायपूर्ण समाजका लागि छोराको बलिदानको कथा सुनेपछि र नन्दिनीको संगतपछि आन्दोलनकारी नितुको हत्या गरेर भाग्दै गरेको अपराधीलाई ज्यानकै मूल्यमा बहादुरीपूर्वक समाउन सफल हुन्छिन्। यो उत्प्रेरणादायी दृश्यले दर्शकको सुषूप्त न्याय चेतनालाई हल्लाउँछ। छोरा मारिएको २३ वर्षपछि एक दिन फेरि नन्दिनीसँग उनको भेट हुन्छ। बिहे नगरी बसेकी उसले न्यायको लडाइँलाई नै जीवनसाथी बनाई। सबैभन्दा महत्वपूर्ण कुरा, आमाको सामाजिक न्यायको लडाइँमा उनका क्रूर पतिले पनि साथ दिन थाल्छन्।

क्यारियरको थालनीमा निर्देशक निहलानी आफैँ छायाँकार भएकाले यसको छायांकन आकर्षक र भावपूर्ण छ। कथा वाचनसँगै क्यामेराको पर्दा भावपूर्ण तरिकाले खुल्दै जाने यसको शैली अझ आकर्षक छ। आमाको चरित्रमा जया बच्चन, नन्दिनीको भूमिकामा नन्दिता दास र सोमुकी गरिब आमाको भूमिकामा सीमा विश्वासको भावपूर्ण अभिनयको प्रशंसा जति गरे पनि कम लाग्छ। समीक्षकहरूले यसलाई हेर्नैपर्ने भारतीय सार्थक सिनेमाको सूचीमा राखेका छन्।

निहलानी यसलाई 'कम्युनिस्ट फिल्म' मान्दैनन्। आमाको सामाजिक जागरणमा नक्सलवादी आन्दोलन माध्यममात्र भएको उनको कथन छ। तथापि यो न्यायको लडाइँप्रति सहानुभूति जगाउने सिनेमा अवश्य हो। निहलानीको सिनेमा त्यस वर्गमा पर्दैन जुन हेरिन्छ र सिनेमाको अन्त्यसँगै सबै सकिन्छ। उनका सिनेमाको प्रभाव हलबाट बाहिर निस्केपछि सुरु हुन्छ। त्यसले दर्शकलाई रन्थनाउँछ, हिर्काइरहन्छ र समाजतिर फर्केर सहस्र प्रश्न गर्न लगाउँछ। त्यस्तो प्रश्न जसले नैतिक अडानलाई बलियो बनाउँछ र अघि बढ्न घच्घच्याइरहन्छ। भौतिक हिंसाभन्दा मानसिक हिंसा देखाउने उनका सिनेमाका प्रमुख पात्रहरू आफूभित्र 'आगो' बोकेर हिँडिरहेका हुन्छन्। खासमा, निहलानीका पात्रहरूले भारतका मात्र नभई हाम्रै समाजका हेपिएका, थिचिएका र दबाइएका मानिसहरूको प्रतिनिधित्व गर्छन्। ब्राती चटर्जी होस् वा नन्दिनी, व्यवस्थाद्वारा सताइएको न्यायप्रेमी प्रहरी अधिकारी होस् वा निर्दोष आदिवासी कैदी, उनका पात्रले हामीलाई क्रूर सत्यसँग साक्षात्कार मात्र गराउँदैनन्, संघर्षका लागि निरन्तर प्रेरणा पनि दिन्छन्।

प्रकाशित: ९ वैशाख २०७३ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App