१२ आश्विन २०७९ बुधबार
विचार

युरोपमा भीषण गर्मी: जलवायु परिवर्तनको प्रकोप

युरोप महादेश अहिले भीषण गर्मीको मारमा परेको छ। सन् २०२२ को सुरुवातसँगै युरोपका विभिन्न स्थानमा वर्षा तथा हिमपातमा आएको भारी कटौतीले वायुमण्डलमा जलवाष्पको मात्रामा कमी आइ सुक्खा मौसमी गतिविधि देखापरेको छ। साथै ग्रिष्मयाममा त्यहाँको वायुमण्डलीय तापमानमा अस्वाभाविक वृद्धिले भीषण गर्मी हुनुका साथै खडेरीले जनजीवन आक्रान्त बनेको छ। 

सामान्यतया समशीतोष्ण क्षेत्रमा अवस्थित युरोप महादेश ठन्डी र शीतल मौसमी गतिविधिका लागि प्रख्यात छ र त्यहाँ सूर्यको तापिलो राप र न्यानो न्यानो मौसमका लागि मानिस प्रतीक्षारत हुने गर्थे। तर यस वर्षको मौसमी गतिविधिले त्यहाँको जनजीवन अस्वाभाविकरूपले परिवर्तन भएको छ। र, त्यहाँका विभिन्न मुलुक इतिहासमै पहिलोपटक मौसमका नयाँ रेकर्ड कायम गर्न सफल भएका छन्।

संयुक्त अधिराज्यमा सामान्यतया जुलाइमा तापमान २० डिग्री सेल्सियस हुने गरेकामा गएको जुलाइमा ४० डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ। सन् १९३५ पछिको यो सबभन्दा बढी सुक्खा जुलाइ भएको बताइएको छ। गएको जुलाइमा त्यहाँ औसतको ३५ प्रतिशत मात्र वर्षा भएको जनाएको छ।

त्यस्तै इटालीमा इतिहासकै सबभन्दा बढी तापमान मापन भएको बताइएको छ। सन् २०२१ अगस्टमा त्यहाँ ४८.८ डिग्री सेल्सियस मापन गरेकामा यस वर्ष ४९.९ डिग्री सेल्सियस पुगी नयाँ रेकर्ड कायम भएको छ। त्यस्तै स्पेन, पोर्चुगल र फ्रान्सका विभिन्न स्थानमा वायुमण्डलीय तापमान ४९ डिग्री सेल्सियसको हाराहारीमा पुगेको समाचार छ। यसले त्यस क्षेत्रका विभिन्न स्थानमा तातो हावाको लहर अर्थात ‘लु’ चल्नाले जीवन आक्रान्त बनेको छ भने जंगलमा पटक-पटक आगो लागेको समाचार छ।

अत्यधिक गर्मीकै कारण युरोपका विभिन्न स्थानमा सयौँ मानिसको ज्यान गएको खबर छ। गर्मीले युरोपको विभिन्न स्थानमा खानेपानीको समस्या देख्न थालेको र कृषि जगत्मा पानीको ठूलो संकटले खेत सुक्न गई उब्जनीमा ह्रास आउन थालेको समाचार छ।

युरोपियन युनियन्स ज्वाइन्ट रिसर्च सेन्टरको भनाइअनुसार युरोपको करिव ६४ प्रतिशत भौगोलिक क्षेत्र खडेरीको चपेटामा परेको छ। मौसमी विश्लेषणअनुसार युरोपमा यस्तो मौसमी गतिविधि सन् १५४० पछिको भयाबह स्थितिमा भएको बताइएको छ। अर्थात गएको ५०० वर्षपछिको यो भीषण गर्मी र खडेरी हो। हुन त त्यसपछिका वर्षहरूमा पनि गर्मी र सुक्खापन नभएको होइन तर यति डरलाग्दो अवस्था नभएको बताइएको छ। वैज्ञानिक अध्ययनअनुसार युरोपको विभिन्न स्थानमा विगत केही वर्षदेखि वायुमण्डलमा जलवाष्पको मात्रामा कमी र सुक्खापन महसुस भइरहेको छ। यसको संकेत सन् २०१८ देखि प्रष्ट रूपमा देखिन थालेको उल्लेख गरिएको छ।

जलवायुविद्हरू युरोपमा यस्तो भीषण गर्मी र सुक्खा मौसमी गतिविधि देखापर्नुमा जलवायु परिवर्तन जिम्मेवार रहेको बताउँछन्। पृथ्वीमा जीवाष्म इन्धनको अधिक मात्रामा प्रयोगको परिणामस्वरूप कार्वन उत्सर्जनको साथै अन्य हरित गृह ग्यास अत्यधिक मात्रामा वृद्धिले पृथ्वीको वायुमण्डलीय तापमान बढ्न थालेको वैज्ञानिकहरूको ठहर छ। जुन पृथ्वीको पर्यावरण तथा सम्पूर्ण प्राणीका लागि खतराजनक छ।

वैज्ञानिकहरूको अध्ययन अनुसार पृथ्वीमा मानव जातिको सृष्टि र विकाससँगै १८औँ शताब्दीतिर भएको औद्योगिक क्रान्तिपश्चात यसरी हरित गृह ग्यासको उत्सर्जनमा अत्यधिक वृद्धि भएको हो। यही कारण वैज्ञानिकहरू पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिअगाडिको भन्दा १.५ डिग्री सेल्सियसले नबढ्ने गरी नियन्त्रणमा राख्ने पेरिस सम्मेलनमा विश्वव्यापी सहमति भएको बताउँछन्। यसो भए पनि पृथ्वीको औसत तापमान निरन्तररूपमा उकालो लागेको छ र यो सन् २०३० अगाडि नै १.५ डिग्री सेल्सियस नाघ्न सक्ने सम्भावना रहेको अमेरिकास्थित जलवायुसम्बन्धी अध्ययन संस्था नासाका वैज्ञानिक बताउँछन्।

यसै सन्दर्भ वैज्ञानिकहरू पृथ्वीकोे औसत तापमान वृद्धि १.५ डिग्री सेल्सियस भन्दा माथि र २.० डिग्री सेल्सियस नाघेको खण्डमा यसले विश्वमा ठूलो समस्या निम्त्याउने बताउँछन्। फ्रान्सस्थित युरोपियन सेन्टर फर जियोसाइन्स एन्ड इडुकेसनका मुख्य अनुसन्धानकर्ता जिउल जिवतका अनुसार यस्तो अवस्था सिर्जना भएमा यसले युरोपमा विशेषगरी मेडिटरेनियन क्षेत्रको आसपासको भेगमा विगत १० हजार वर्षमा नदेखेको प्राकृतिक प्रकोप देखापर्नेछ, जुन मूलतः कृषि जगत् तथा सामुद्रिक प्राणी जीवनका लागि महान् अभिशाप सिद्ध हुनेछ।

तसर्थ वैज्ञानिकहरू पृथ्वीको वायुमण्डलीय तापमान वृद्धिलाई खतराको संकेत दिँदै यसलाई नियन्त्रण गर्न जरुरी भएको बताउँछन्। यस सम्बन्धमा फ्रान्सका वैज्ञानिकहरूले कडा रूपमा प्रस्तुत हुँदै भन्ने गरेका छन् कि विश्वव्यापी रूपमा वायुमण्डलीय तापमान वृद्धि उकालो लाग्दै गरेमा जलवायु परिवर्तनकै कारण सन् २०५० सम्ममा युरोपको अधिकांश भागमा ४० डिग्री सेल्सियसभन्दा बढी तापमान हुन गई अत्यधिक गर्मीले जनजीवन कष्टकर हुनेछ।

यही बेला युरोपका जलवायुसम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिक टोलीको एक अध्ययनले पनि जलवायु परिवर्तनकै कारण युरोपको पश्चिम भेगस्थित एटलान्टिक महासागरको जलवाष्पयुक्त हावाको बहाव उत्तरी भेगतिर केन्द्रित हुँदै युरोपबाट टाढिँदै जाने सम्भावना रहेको जनाएको छ। यसले मेडिटरेनियन क्षेत्रको दक्षिण भेगमा अवस्थित युरोपका केही मुलुक वर्षामा न्यूनीकरणका साथै सुक्खा मौसमी गतिविधिले आक्रान्त हुने देखिन्छ। यस्तो मौसमी गतिविधिको निरन्तरताले कालान्तरमा ती क्षेत्र मरुभूमिमा परिणत हुन सक्ने सम्भावना रहेको वैज्ञानिकहरूको भनाइ छ। जुन युरोप महादेशका लागि अभिशाप सिद्ध हुनेछ।

इतिहास पल्टाउने हो भने पनि जलवायु परिवर्तनकै कारण कुनैबेला करिव १० हजार वर्षपहिला अफ्रिकाको उत्तरी भेग हराभरा भई कृषि उब्जनीका लागि प्रख्यात ठाउँ मानिन्थ्यो। तर अहिले मरुभूमिमा परिणत भएको छ। त्यस्तै भारतको पश्चिम राजस्थानस्थित थार मरुभूमि कुनैबेला हराभरा जंगलले भरिभराउ रहेको र त्यहाँ ताल तथा नदीहरू बहने गरेको बताइन्छ। तर पृथ्वीमा जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक प्रकोपले ती क्षेत्र मरुभूमिमा परिणत भएको वैज्ञानिकले उल्लेख गरेका छन्।

सामान्यतया पृथ्वीमा न्यून वायुमण्डलीय चापीय क्षेत्र भएको स्थानमा वायुमण्डलमा जलवाष्पको मात्रामा अभिवृद्धिले बादल लाग्ने र वर्षा तथा हिमपात हुने गर्छ। जुन हराभरा वातावरण र कृषि उत्पादनका लागि राम्रो मानिन्छ। तर जलवायु परिवर्तनका साथै पृथ्वीमा देखापर्ने विभिन्न प्राकृतिक प्रक्रियाका कारण पृथ्वीको मौसमी चक्रमा फेरबदल भई निम्न वायुमण्डलीय चापीय केन्द्र रहेको स्थानमा उच्च वायुमण्डलीय चापीय प्रणाली स्थापना हुन गएको खण्डमा त्यहाँ प्रचण्ड घामले गर्मी बढ्नुको साथै वर्षा सीमित हुन गई सुक्खा मौसम र खडेरी पर्ने गर्छ। निरन्तर रूपमा लामो अवधिसम्म यस्तै मौसमी गतिविधि कायम भएमा कालान्तरमा त्यस क्षेत्रमा पानीको आपूर्तिमा कमी आइ नदीहरू सुक्दै जाने र जमिन बाँझो हुँदै मरुभूमिमा परिणत हुने गर्छ।

हाल युरोपको विभिन्न स्थानमा वर्षामा आएको कमी तथा अत्यधिक गर्मी र सुक्खा मौसमले त्यहाँका नदीहरू अस्वाभाविकरूपले सुक्न थालेको खबर छ। जुन भविष्यका लागि खतराको सकेत हुन सक्ने वैज्ञानिकहरू बताउँछन्। त्यहाँका विभिन्न नदीमा घट्दो पानीको सतहले यातायातका साधनका रूपमा चल्ने पानीजहाज राम्रोसँग सञ्चालन हुन सकेको छैन भने पानीको अभावले कृषि जगत्मा नराम्रो असर पर्नुका साथै अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्न थालेको समाचार छ। यस्ता गतिविधिले भविष्यमा विश्वमा भयाबह स्थिति पैदा हुने सक्ने डर भएकाले वैज्ञानिकहरू समय छँदै जलवायु परिवर्तनको प्रभावलाई गम्भीररूपमा लिनुपर्ने र समस्या समाधानका लागि तयार हुनुपर्ने बताउँछन्।  (पूर्वउपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग)

प्रकाशित: ३ आश्विन २०७९ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App